साढे ६ महिनामा ११ अर्ब १६ करोडको विद्युत् भारत निर्यात

नेपाल विद्युत् प्राधिकरणले साढे ६ महिनाको अवधिमा भारतलाई ११ अर्ब १६ करोड ३० लाख रुपैयाँ बराबरको एक अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट बिजुली निर्यात गरेको जनाएको छ।

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले साढे ६ महिनाको अवधिमा ११ अर्ब १६ करोड ३० लाख रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको छ। प्राधिकरणले जेठ १९ देखि पुस ३ गतेसम्म ११ अर्ब १६ करोड ३० लाख रुपैयाँ बराबरको एक अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट विद्युत् निर्यात गरेको हो।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षा यामको विद्युत् जेठ १९ गतेबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री शुरू गरेको थियो। भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने भएकोले यस अवधिमा विद्युत् बिक्रीबाट ६ अर्ब ९७ करोड ६९ लाख भारु नेपाल भित्रिएको छ।

शुरूमा दुईवटा जलविद्युत् केन्द्रहरूबाट उत्पादित दैनिक ३९ मेगावाट विद्युत् आइएक्समा बिक्री शुरू गरिएको थियो। त्यसपछि २७ जेठबाट ६ वटा जलविद्युत् केन्द्रबाट उत्पादित ३६४ मेगावाट बिजुली दैनिक रूपमा भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री गरिएको थियो। प्राधिकरणले गत १८ र ३० कात्तिकबाट थप दुई जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् निर्यात गर्न स्वीकृति पाएको थियो। योसँगै भारततर्फ निर्यात हुने विद्युत्को स्वीकृति क्षमता आठ जलविद्युत् केन्द्रबाट उत्पादित ४०८ मेगावाट रहेको छ।

प्राधिकरणले गत आर्थिक वर्ष २०७८/७९ को जेठ तथा असारमा २९ करोड ९१ लाख युनिट विद्युत् निर्यात गरी २ अर्ब ८३ करोड ८८ लाख रुपैयाँ आम्दानी गरेको छ। चालु आर्थिक वर्षको ५ महिनामा ८ अर्ब ३२ करोड ४२ लाख ४० हजार रुपैयाँ बराबरको एक अर्ब पाँच करोड ८६ लाख ३४ हजार युनिट विद्युत् निर्यात गरिएको प्राधिकरणले जनाएको छ।

चिसो बढेसँगै विद्युत् माग बढे पनि खोलानालामा पानीको बहाव घट्दा नदी प्रवाहमा आधारित जलविद्युत् केन्द्रहरूबाट उत्पादन कम भएसँगै विद्युत् निर्यात बन्द भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

कार्यकारी निर्देशक घिसिङले देशभित्रको उत्पादन घट्दा हिउँद यामको करिब चार महिनाको विद्युत् माग धान्न भारतबाट विद्युत् आयात गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको उल्लेख गरे। घिसिङले वैशाख अन्तिम तथा जेठको पहिलो हप्ताबाट फेरि विद्युत् निर्यात शुरू हुने बताए।

"देशभित्रको उत्पादन घट्दा आन्तरिक माग धान्न दैनिक रूपमा विद्युत् आयात शुरू भएको छ, विद्युत् आयात करिब ४ महिनासम्म रहने हाम्रो प्रक्षेपण छ, तर विद्युत् आयात परिमाण निर्यातभन्दा कम हुनेछ", कार्यकारी निर्देशक घिसिङले भने। विगतका वर्षहरूमा विद्युत् निर्यात परिमाण आयातभन्दा कम हुने गरेकोमा यस वर्षबाट निर्यात बढी र आयात कम हुने उनले बताए।

प्राधिकरणले आइएक्सको प्रतिस्पर्धी बजारमा विद्युत् बिक्री र खरिद गर्दै आएको छ। "आइएक्सबाट मात्र खरिद गर्ने या उत्पादकहरूसँग छोटो अवधिको विद्युत् खरिद सम्झौता गरी आयात गर्ने भन्नेबारेमा छलफल भइरहेको छ", उनले भने, "यसका लागि बजार अध्ययन गरिरहेका छौँ।"

प्राधिकरणका अनुसार आइएक्समा विद्युत् खरिद-बिक्रीका लागि २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत्को कारोबार गरिन्छ। त्यसैले हरेक ब्लकको मूल्य फरक–फरक हुने गरेको छ। प्राधिकरणले ३ पुससम्म निर्यात गरेको विद्युत्को औसत दर प्रतियुनिट आठ रुपैयाँ २२ पैसा रहेको छ।