घरेलु टोली पाकिस्तानविरुद्धको टेस्ट सिरिज इंग्ल्यान्डद्वारा ‘क्लिन स्विप’

मंगलबार सम्पन्न तेस्रो तथा अन्तिम टेस्टमा पाकिस्तानमाथि ८ विकेटको जित हात पार्दै इंग्ल्यान्डले सिरिज ३-० ले आफ्नो पोल्टामा पारेको हो।

घरेलु टोली पाकिस्तानविरुद्धको तीन टेस्ट सिरिजमा इंग्ल्यान्डले ‘क्लिन स्विप’ गरेको छ। 

मंगलबार सम्पन्न तेस्रो तथा अन्तिम टेस्टमा पाकिस्तानमाथि ८ विकेटको जित हात पार्दै इंग्ल्यान्डले सिरिज ३-० ले आफ्नो पोल्टामा पारेको हो।

जितका लागि १६७ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले चौथो दिनको पहिलो सेसनमा २८. १ ओभरमा २ विकेट गुमाउँदै १७० रन बनायो। 

इंग्ल्यान्डका लागि बेन डुकेटले अविजित रहँदै सर्वाधिक ८२ रन बनाए। उनले ७८ बलमा १२ चौका प्रहार गरेका थिए। कप्तान बेन स्टोक्सले अविजित रहँदै ४३ बलमा ३ चौकासहित ३५ रन बनाए। 

ज्याक क्राउली ४१ र रिहान अहमेदले १० रनको योगदान दिए।

पाकिस्तानका अब्रर अहमेदले १२ ओभरमा ७८ रन खर्चिएर २ विकेट लिए।  त्यसअघि कराँचीस्थित नेशनल स्टेडियममा टस जितेर ब्याटिङ रोजेको पाकिस्तान पहिलो इनिङ्समा ७९ ओभर ब्याटिङ गरेर ३०४ रनमा समेटिएको थियो।

जबाफी ब्याटिङमा आएको इंग्ल्यान्डले सबै विकेट गुमाउँदै ३५४ रन बनाएको थियो। पाकिस्तान पहिलो इनिङ्समा ५० रनले पछि परेको थियो। 

दोस्रो इनिङ्समा भने पाकिस्तान २१६ रनमा समेटिएको थियो।