सरकारले पारित गर्‍यो चार नीति, स्वास्थ्यमा १० प्रतिशत बजेट छुट्याउनुपर्ने

मन्त्रिपरिषद् सामाजिक समितिको मंगलबार बसेको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पेस गरेका नीति पास गरेको छ।

काठमाडौँ– सरकारले चारवटा महत्त्वपूर्ण नीति पारित गरेको छ। गृहमन्त्री बालकृष्ण खाँणको संयोजकत्वमा रहेको मन्त्रिपरिषद् सामाजिक समितिको मंगलबार बसेको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पेस गरेका दुई/दुई वटा नीति पास गरेको हो।

स्वास्थ्य मन्त्रालयले पेस गरेका राष्ट्रिय स्वास्थ्य वित्त रणनीति, २०७९-२०८९ र स्वास्थ्य क्षेत्रको लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति, २०७८ पारित भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गणेश पाण्डेयले जानकारी दिए।

त्यस्तै, समितिले ज्येष्ठ नागरिक मन्त्रालयले पेस गरेका राष्ट्रिय बालबालिका नीति, २०७९ र अपांगता भएका व्यक्तिसम्बन्धी राष्ट्रिय नीति, २०७९ पास भएका सचिव पाण्डेयले जानकारी दिए।

मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको समितिको बैठकले पारित गरेको राष्ट्रिय स्वास्थ्य वित्त रणनीतिमा स्वास्थ्यमा कूल बजेटको १० प्रतिशत लगानी पुर्‍याउनु पर्ने उल्लेख छ।

स्वास्थ्य क्षेत्रको लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीतिमा महिला, बालबालिका, मधशी, दलित, पिछडिएको क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरूलाई पनि स्वास्थ्यमा समान अधिकारको विषय उल्लेख गरिएको छ।

बालबालिका नीतिमा उनीहरूका चार अधिकारको ग्यारेन्टी गरिएको छ। बाँच्न पाउने अधिकार, संरक्षणको अधिकार, विकासको अधिकार र सहभागिताको अधिकारलाई नीतिमा उल्लेख गरिएको छ।

अपांगता भएका व्यक्तिसम्बन्धी राष्ट्रिय नीतिमा अपांगको सबै निकायमा पहुँच, रोजगारीको व्यवस्था, सहुलियतको व्यवस्था र स्वास्थ्य उपचारबारेको विषय मुख्य रूपमा प्राथमिकताका साथ राखिएको छ।