चीनका अन्तिम सम्राट पुयीलाई १० वर्ष जेल हालेपछि उनकै पुरानो दरबार नजिकको बगैँचामा माली बनाइयो। बाँकी जीवन मालीकै काम गरेर बिताए।
प्राचीनकालका एक शक्तिशाली राजाले आफ्नो विशाल मूर्ति बनाउन लगाएका हुन्छन्। त्यो मूर्तिमा उनले अरू राजाहरूलाई चुनौती दिँदै आफ्नो गुणगान लेखाएका हुन्छन्। यसैलाई लिएर प्रख्यात अंग्रेजी कवि पीबी सेलीले ‘ओजिमान्डियास’ नामको एउटा प्रख्यात कविता लेखेका छन्, जसको एक अंश छ:
‘ए राजाहरू, मेरो पराक्रम हेर र निराश बन।’
तर आज त्यो शक्तिशाली राजाको नामसमेत कसैलाई थाहा छैन। उनको त्यो विशाल मूर्ति बालुवाको बीचमा टुक्राटुक्रा बनेर भग्नावशेषको रूपमा लडेको छ। जति नै शक्तिशाली होस्, कोही पनि र केही पनि कालजयी हुँदैन। सबै आ–आफ्नो समयमा समयको मागसँगै उदाउँछन् र केही समयपछि बद्लिँदो परिस्थितिसँगै अस्ताएर जान्छन्।
विश्व इतिहास हेर्ने हो भने केही अपवादबाहेक कुनै पनि राजवंश ३०० वर्षभन्दा लामो समय टिक्न सकेको देखिँदैन। प्रायको आयु त १०० वर्ष पनि हुँदैन। राजवंशको उदय एउटा बलियो, धूर्त र महत्त्वाकांक्षी व्यक्तिबाट हुन्छ। राज्य जितेर, विद्रोह गरेर, सत्ता हत्याएर, मनोनीत भएर वा अर्को शक्तिशाली देशको राजाबाट राजा बनाइएर कुनै व्यक्ति राजा बनेको हुन्छ। यसरी राजा बनेका हुनाले आफ्नो गद्दी बचाउन, आफ्नो वंशको भविष्य निश्चित गर्न र सकेसम्म राज्यको बिस्तार गर्न राजा सधैँ चनाखो रहन्छ।
यीमध्ये कतिपय राजा सामान्य जीवनबाट माथि उक्लेका हुनाले देशको वास्तविकता र जनताको पीरमर्कासित परिचित पनि हुन्छन्। तर तिनका सन्तान दरबारभित्र, जनतासँगको सम्पर्कबाट टाढा बसेर सुखसयलमा हुर्कने हुनाले भोगी, बिलासी, कमजोर, घमन्डी, निरंकुश, असक्षम तथा देश/संसारको वास्तविकताबाट 'आउट अफ टच' हुँदै जान्छन् र यिनै कारण केही पुस्तापछि उक्त राजवंशको अन्त्य भई कि अर्को राजवंशको उदय हुन्छ कि गणतन्त्रको स्थापना हुन्छ। आधुनिक युगमा शिक्षा र जनचेतनाको विकाससँगै सबैजसो देशमा गणतन्त्रकै स्थापना भएको देखिन्छ।
राजवंशको औसत आयुको कुरा गर्दा प्राचीन मिश्र (इजिप्ट)बाट शुरू गरौँ। इतिहासकारहरूले प्राचीन मिश्रमा ३१ वटा राजवंशहरूले राज्य गरेको प्रमाण फेला पारेका छन्। तीमध्ये करिब चार हजार ५०० वर्षअघि चौथो वंशका राजाहरू स्नेफेरु, खुफु, जेदेफ्रे, खाफ्रे, बिखेरिस र मेन्कौराले अहिले इजिप्टमा भएका विशाल पिरामिडहरू निर्माण गर्न लगाएका थिए। करिब तीन हजार ३०० वर्षअघि १८औँ वंशका राजा आखेनआतेनले सूर्यको मात्रै पूजा गर्नुपर्ने नयाँ एकेश्वरवादी धर्मको स्थापना गर्न खोजे। यी कुनै पनि वंश २०० वर्षभन्दा लामो टिकेनन्। धेरैजसो त १०० वर्ष पनि टिकेनन्। आफ्नो समयमा जति नै शक्तिशाली भए पनि १०/१२ पुस्ता भन्दा पर गएनन्।
जुलियस सिजरको हत्यापछि उनको भतिज अगस्टसले ४८२ वर्ष पुरानो गणतन्त्र मासेर सिर्जना गरेको रोमन साम्राज्यमा पनि कुनै पनि वंशले १०० वर्षभन्दा बढी शासन गर्न पाएन। अगस्टसले स्थापना गरेको आफ्नै जुलियो-क्लडियन वंश ९५ वर्ष मात्रै टिक्यो। त्यस पछिका अन्य वंशहरूले क्रमशः २७ वर्ष, ९६ वर्ष, ४१ वर्ष, ६ वर्ष, २ वर्ष, १५ वर्ष र ३ वर्ष राज्य गरे। तीमध्ये धेरै सम्राट्हरूको हत्या भएको थियो। अन्तिम वंशको अन्त्य सँगै रोमन साम्राज्यको पनि अन्त्य भयो।
यो पनि– राजावादी नै देख्दैनन् राजतन्त्र फर्किने सम्भावना
हाम्रो उत्तर तर्फको छिमेकी राष्ट्र चीनतिर हेरौँ। पहिलो सम्राट् चीन् सि हुवाङले २२०० वर्षअघि स्थापना गरेको चीन नामक राजवंशदेखि बिसौँ शताब्दीको शुरूका दिनसम्म चीनमा आठ वटा शक्तिशाली राजवंशले राज्य गरे। 'चीन' राजवंश जम्मा १५ वर्ष मात्रै टिक्यो। त्यसपछि उदाएका राजवंशहरूमा हान् वंश २२६ वर्ष, सुइ वंश ३७ वर्ष, ताङ वंश २८९ वर्ष, सोङ वंश ३१९ वर्ष, युआन् वंश ९७ वर्ष, मिङ वंश २७६ वर्ष र किङ् वंश २६८ वर्ष टिके।
यी सबै वंशहरूको अन्त्य विशाल र रक्तपातपूर्ण जनविद्रोहबाट भएका थिए। मिङ वंशको स्थापना एउटा गरिब किसानको छोराले युआन वंशविरुद्ध धेरै लामो विद्रोह गरेर गरेका थिए। उक्त वंशको अन्त्य पनि त्यसरी नै रक्तपातपूर्ण विद्रोहबाट भयो। सन् १९१२ मा अन्तिम राजवंशको अन्त्यसँगै चीनमा गणतन्त्रको स्थापना भएको भयो। त्यो दिनपछि चिनियाँहरू कहिल्यै पनि पछाडि फर्केर जान चाहेनन्। फलस्वरूप, आज चीन विश्वको धनी, उन्नतिशील र शक्तिशाली राष्ट्रमा परिणत छ।
दक्षिण तर्फको छिमेकी राष्ट्र भारततिर हेरौँ। प्राचीन कालदेखि आधुनिक कालसम्म उदाएका र अस्ताएका भारतका अनेकन् राज्यहरूमा सैयौं वंशका हजारौँ राजाले राज्य गरे। तीमध्ये विशाल र शक्तिशाली राज्य बनाउन सफल भएका वंशहरूको मात्रै कुरा गरौँ। काल्पनिक राजा भरतको कुरै नगरौँ।
प्राचीनकालमा भारतलाई सबैभन्दा पहिले एक ढिक्का पार्ने मौर्य वंशबाट कुरा थालौँ। मौर्य वंशका सबैभन्दा प्रख्यात राजा सम्राट् अशोक थिए। धेरैले उनको नाम सुनेका छन्। धेरैलाई थाहा छैन कि शक्तिशाली मौर्य वंश इपु. ३२२ देखि इपु. १८५ सम्म जम्मा १३७ वर्ष मात्र टिकेको थियो। त्यसको करिब १४ सय वर्षपछि मुसलमानहरूले स्थापना गरेको विशाल राज्य सुल्तानत-इ-दिल्लीमा ५ वटा राजवंशहरूले राज्य गरे। माम्लुक वंश ८४ वर्ष, खल्जी वंश ३० वर्ष, तुघ्लग वंश ९४ वर्ष, सयिद वंश ३७ वर्ष र लोदी वंश ७५ वर्ष टिके। इ.स. १५२६ मा अन्तिम लोदी राजालाई जितेर बाबरले स्थापना गरेको मुगल साम्राज्यले दोस्रो पटक भारतलाई एक ढिक्का (दक्षिण भारतबाहेक) बनाउन सफल भए।
मुगल सम्राट्हरूमध्ये अकबर, जहाँगिर, शाहजहाँ र औरङ्ग्जेबको नाम त धेरैले सुनेकै छन्। तर त्यो शक्तिशाली मुगल साम्राज्य पनि ३३१ वर्ष मात्रै टिक्यो। त्यसमा पनि पछिल्लो १५० वर्ष त छिन्नभिन्न भएर नाम मात्रको साम्राज्य रह्यो। औरङ्ग्जेब पछिका केही बाहेक सबै मुगल सम्राट्हरू नाम मात्रका बादशाह थिए। दिल्लीभन्दा बाहिर उनीहरूको शासन चल्दैन थियो, अरू राजा स्थानीय रजौटाहरूको शासन चल्थ्यो। त्यसपछि अङ्रेजहरूले अहिलेको भारतको 'एकीकरण' नगरेका भए विशाल भारतको ठाउँमा आज १०/१२ वटा ससाना देशहरू हुने थिए।
युरोपमा पनि विभिन्न कालखण्डमा, त्यहाँका सानाठुला देशहरूमा कैयौँ राजवंशका सयौँ राजाले राज्य गरे। तीमध्ये संवैधानिक राजतन्त्र र आधुनिक लोकतन्त्रको जननी मानिने बेलायतको रक्तपातले भरिएको इतिहास हेरौँ। इ.स.को नवौँ शताब्दीको अन्त्यतिरका अल्फ्रेड द ग्रेटलाई सम्पूर्ण बेलायतको प्रथम राजा मानिन्छ। उनको वेसेक्स् वंशको राज्य १९५ वर्ष भन्दा बढी चलेन। त्यसपछि आजसम्म जम्मा ७ वटा वंशका राजाहरू बेलायतको राजगद्दीमा बसेका छन्।
नर्मन् वंश ६२ वर्ष, प्लान्टाजेनेट् वंश ३३१ वर्ष, ट्युडर वंश ११८ वर्ष, स्टुवर्ट् वंश १११ वर्ष, ह्यानोभर वंश १८७ वर्ष र सन् १९०१ देखि आजसम्म विन्ड्सर वंश। जर्मन मूलको ह्यानोभर वंशबाट मात्रै बेलायतमा संवैधानिक राजतन्त्र र लोकतन्त्रको स्थापना भएको हो। तर बेलायती जनताले राजाको निरंकुश शासनविरुद्ध पहिलेदेखि नै आवाज उठाउँदै आएका थिए। त्यसैको फलस्वरूप, आफूलाई दैवी शक्तिले राजा बनाएको दाबी गर्ने निरंकुश राजा चार्ल्स प्रथमको सन् १६४९ मा टाउको काटिएको थियो। त्यसको ३९ वर्षपछि उनका छोरा जेम्स द्वितीय देश छोडी भाग्नु परेको थियो।
अब हाम्रै देशमा फर्कौं। किरात काललाई नेपालको पहिलो ऐतिहासिक काल मानिन्छ। भनिन्छ २९ वटा किरात राजाहरूले ११ सय वर्ष राज्य गरे रे! तर शायद यसमा पूर्ण सत्यता छैन। कुनै पनि वंशले त्यति लामो अवधिसम्म राज्य गर्नु असम्भवजस्तै हुन्छ। शायद किरात भित्रकै विभिन्न वंशले डेढ दुई सय वर्ष गर्दै राज्य गरे होला। इसको तेस्रो शताब्दीमा बिहारको बैशालीबाट आएका लिच्छविले किरातलाई जितेर नेपालमा लिच्छवी वंशको जग बसाले।
लिच्छविले करिब ४०० वर्ष राज्य गरेको मानिन्छ। लिच्छवी राजाका ज्वाइँ अंशुवर्माले स्थापना गरेको ठकुरी वंशले अर्को ४०० वर्ष राज्य गरे। त्यसपछि बैशालीबाटै आएका मल्ल वंशका राजाहरूले ६०० वर्ष राज्य गरे। तर हाम्रो देशको इतिहास धेरैजसो किंवदन्तीमा आधारित भएको हुनाले यिनीहरू साँच्चिकै एउटै वंशका थिए वा भित्रैका बेग्लाबेग्लै वंशका थिए भनेर यकिन गर्न सकिँदैन।
गोर्खाका राजा पृथ्वीनारायण शाहले १८२५ सालमा काठमाडौँ कब्जा गरेपछि शाह वंशले २४० वर्ष राज्य गर्यो। तर बीचको १०४ वर्ष वास्तविक शासक राणा प्रधानमन्त्रीहरू नै भएको हुनाले राणा वंशलाई पनि राजवंश नै मान्नुपर्छ। राजा नभनिए पनि शक्तिले राणाहरू नै राजा थिए।
एक पटक सत्ताच्युत भएको राजवंश फेरि फर्केको आएको इतिहास बिरलै पाइन्छ। फर्केर आएकाहरू पनि लामो टिकेको इतिहास पाइँदैन। १९औँ शताब्दीमा शिक्षा, विज्ञान, प्रविधि र जनचेतनाको व्यापक बिस्तार भएसँगै संसारभर निरंकुश र जहानियाँ राजतन्त्रको अन्त्य हुन थाल्यो। समयको मागलाई लत्त्याएर जबरजस्ती सत्तामा बसेर निरंकुश शासन गर्न खोज्ने राजाहरूलाई जनताले देशबाट लखेटे, कतिको हत्या गरे।
पहिलो विश्व युद्धपछि सत्ताच्युत गरिएका जर्मनी, अस्ट्रिया र अत्तोमन साम्राज्य (हालको तुर्किए) का राजपरिवारहरू कहिले पनि देश फर्किन नपाउने गरी देश निकाला गरिए। रुसमा त ३०० वर्ष पुरानो रोमानोभ राजवंशको अन्तिम सम्राट् निकोलस २ लाई उनका सम्पूर्ण परिवारसहित एउटै कोठामा राखेर गोली हानी हत्या गरियो।
त्यस्तै, चीनका अन्तिम सम्राट् पुयीलाई १० वर्ष जेल हालेपछि उनकै पुरानो दरबारको नजिकको बगैँचामा माली बनाइयो। उनले बाँकी जीवन मालीको काम गरेरै बिताए। दोस्रो विश्व युद्धपछि सत्ताच्युत गरिएका इटालीका राजा पनि कहिल्यै देश फर्किन नपाउने गरी देश निकाला गरिए। इराकमा राजपरिवारको हत्या गरियो। इथियोपियामा सम्राट् हैली सिलासिको हत्या भयो। इजिप्ट, लिब्या, अफगानिस्तान र इरानका जनताले कहिल्यै पनि देश फर्किन नपाउने गरी राजालाई देश निकाला गरे।
फ्रान्समा २०० वर्षभन्दा बढी शासन गर्ने बुर्बों वंशका निरंकुश राजा लुइ सोह्रौँको टाउको काटिएको घटना विश्व इतिहासको महत्त्वपूर्ण माइलस्टोनमध्ये एक मानिन्छ। हुन त बिचरा लुइ सोझा र असल थिए भनिन्छ, तर आफ्नो पुर्खाले गरेका काला कर्तुतको सजाय उनले भोग्नुपर्यो। फ्रान्सेली राज्य क्रान्तिपछि संसारभर लोकतन्त्र र समानताको आवाज चर्को हुँदै गयो र निरंकुश राजतन्त्रहरू एकपछि अर्को गर्दै ढल्दै गए।
आज संसारमा पाँच वटा देशमा मात्रै सक्रिय राजतन्त्र छन्, बाँकी राजतन्त्र भएका देशमा पनि अधिकारविहीन, सेरेमोनियल र संवैधानिक राजतन्त्र छन्। देखावटी रूपमा भए पनि अधिकारविहीन राजाहरू लोकतन्त्रप्रति कटिबद्ध छन् किनकि राजनीतिमा सक्रिय भूमिका खेल्ने कोसिस गर्नासाथ त्यसको परिणाम के हुन्छ भन्ने तिनीहरूलाई थाहा छ।
एउटा अपवादको कुरा गरौँ– जापानको राजवंश। जापानमा एउटै परिवारले राज्य गरेको २६८५ वर्ष पुग्यो। तर यो कसरी सम्भव भयो? यति लामो समय राजतन्त्रको एउटा वंश टिक्नुका पछाडि के रहस्य छ? यसो हुनुको एउटै कारण छ। एक हजार वर्षयता जापानका सम्राट् राजकाजमा सक्रिय छैनन्। १९औँ शताब्दीसम्म उनको नाममा शोगनहरूले (नेपालका राणा प्रधानमन्त्रीहरू जस्तै) शासन गर्थे।
सक्रिय शासन नगरेपछि त्यहाँका राजाले गल्ती गर्ने कुरा पनि आएन। गल्ती नगरेपछि तिनलाई जनताले सत्ताच्युत गर्ने कुरा पनि भएन। हामीले पनि हाम्रो पूर्व राजालाई त्यो मौका दिएका थियौँ, तर उनलाई चित्त बुझेन। उनी सम्पूर्ण शक्ति आफ्नो हातमा लिएर मध्यकालीन राजाझैँ निरंकुश राजा बन्न चाहे। फलस्वरूप, नेपाली जनताले राजतन्त्र फाल्नु आवश्यक ठाने र फाले। शायद राजा वीरेन्द्र बाँचेर चुपचाप संवैधानिक भूमिका स्वीकार गरिरहेको अवस्था हुन्थ्यो भने शाह वंशीय राजतन्त्र फाल्नुपर्ने आवश्यकता हुँदैनथ्यो होला।
हाम्रो देशमा निरंकुश जहानियाँ राजतन्त्र अन्त्यको अन्त्य गरी गणतन्त्रको स्थापना भएको दुई दशक बित्नै लाग्दा पनि पूर्वराजा र उनका समर्थकले सक्रिय राजतन्त्रको पुनर्स्थापनाका लागि घरीघरी जमर्को गरेको देखिन्छ। उनीहरूले के बुझ्नुपर्छ भने शाह वंशीय राजतन्त्रको 'डेट एक्स्पायर' भइसक्यो। विश्वका अधिकांश राजवंश १०० वर्ष पनि टिक्न नसकेको इतिहास हुँदाहुँदै नेपालमा शाह वंशले २४० वर्ष टिक्नु सकेकोमै तिनका सन्तान/दरसन्तानले भाज्ञशाली ठान्नुपर्छ। आफ्नो पालो सकिएछ भनेर चित्त बुझाउनु पर्छ।
दोस्रो कुरा, लाखौँ नेपाली जनताले दशकौँ संघर्ष गरेर र हजारौँले ज्यान दिएर फालेको राजतन्त्र ८/१० हजार राजावादीहरूले राष्ट्रवादको नारा घन्काउँदैमा, देश बरबाद भयो भन्ने झूटो न्यारेटिभ दिएर मोटरसाइकल र्याली गर्दैमा फर्किँदैन। तेस्रो कुरा, हामी नेपाली धेरै सहनशील छौँ। तर अब फेरि दोहोर्याएर राजतन्त्रका अवशेष फ्याँक्नुपर्यो भने पहिलेझैँ सहनशील हुनेछौँ भनेर ग्यारेन्टी दिन सकिँदैन। कुन कुन देशका जनताले समयको माग नबुझ्ने राजालाई केके गरे भन्ने कुरा विश्वको इतिहास पढे छर्लङ्गै हुन्छ।
(उकालोको विचार खण्डमा छापिएका सामग्री लेखकका निजी हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
