दल, दल् र दल–दल

कुनै पनि नियुक्ति वा पदोन्नतिका लागि कि त पावरमा भएको वा आलोपालोमा पावरमा आउने रोलक्रममा रहेको पार्टीको ठप्पा शरीरको देखाउन हुने नहुने कुनै पनि भागमा लगाउनैपर्छ।

हाम्रा देशका मन्त्री तथा प्रधानमन्त्री भारत भ्रमणमा गएको बेला उताका माइबापसामु लम्पसार परेजसरी फाफुरा आफ्नो प्रिय रत्नपार्कमा लम्पसार परेको थियो। भनिरहनु नपर्ला, टोपीले मुख छोपेर ऊ कुनै फाइँफुट्टी फुर्ला, हाँकौँला, कतै छपाउँला र १५–२० दिनपछि आउने पारिश्रमिकले केही दिन ब्रोइलर कुखुरासँग चुस्स सोमरस घुट्क्याउँला भनेर घुटुघुटु थुक निल्दै थियो।

तर हाम्रा दर्शनाभिलाषीले दिल्लीमा भेट नपाएजस्तै फाफुराले पनि फाइँफुट्टी हाँक्ने केही विषय पाइरहेको थिएन। हाम्रा देश हाँक्नेहरूलाई सुशासन र विकास भनेको के हो भन्ने थाहा नभएजस्तै उसलाई पनि यो याम जाडो हो कि गर्मी भनेर थाहा भइरहेको थिएन। यस्तो मौसममा अक्सर अलि कडै फाइँफुट्टी फुर्ने उसको अनुभव छ।

तर यस पटकको फाइँफुट्टी भने ग्वार्कोको आकाशे पुलजस्तो भइरहेको थियो। आकार लेलालेला जस्तो हुने अनि फेरि ख्वार्ल्याम्म। यसरी पटक–पटक निर्माण र विनिर्माण गर्दागर्दै उसको दिन सांसदको अधिवेशन जसरी बिनाउपलब्धि समाप्त भयो। लोप्रेकान लगाएर फाफुरा आफ्नो डेराको कोठा पुग्यो। उसको अनुहार देखेरै फाफुरीले कुरो बुझिहाली।

‘केही फुरेन हैन त?’ उसले कर्के आँखाले हेर्दै सोधी। फाफुरा केही बोलेन। उसले लामो सास फेरेर भनी, ‘हेर फाफ्स, कहिलेसम्म यसरी आकाशे खेतीको भरमा बाँच्छौ? लेखेर केही हुँदैन। तिमी डलर आउने लेख लेख्न सक्ने ह्याउ भएको मानिस पनि परेनौ। कहिलेसम्म आफू पनि दुःख पाउँछौ, मलाई पनि दुःख भोगाउँछौ? त्यसैले मैले भनेको मान, थिंक बिग।’

फाफुराले भन्यो, ‘कुरो त तिम्रो ठिकै हो फाफुरी। तर के गर्ने?’

उसले भनी, ‘पोलिटिक्स। राजनीति गर फाफुरा, राजनीति। चामलको बोरामा घुन पसेजसरी कुनै राजनैतिक दलमा लुसुक्क छिर। राजावादीमा छिर्ने भए म सोर्सफोर्स लगाइदिन्छु क्यारे।’

फाफुरा उसको कुरामा गम्भीरतापूर्वक मनन गर्न थाल्यो। हुन पनि हो, विद्यार्थी, साहित्यकार, कर्मचारी, अभिनेता, गीतकार, संगीतकार, गायक, बेरोजगार, जग्गा दलाल, पुरेत, व्यापारी, उद्योगपति, प्राज्ञ, शिक्षक, साहित्यकार, पत्रकार, पाकेटमार, चोर, डाँका र स्वघोषित नागरिक हगुवालगायत जोसुकै हुन्– कुनै न कुनै राजनीतिक पार्टीमा आबद्ध नभई कसैले केही गरौँला भनेर नसोचे हुने भइसकेको छ। आफ्नो दुनो सोझ्याउन, कुनै पनि ठाउँमा नियुक्ति वा बढुवा पाउन आजकल कुनै न कुनै पार्टीसँग नजोडिई सुखै छैन।

प्रधान ‘अन्यायाधीश’, पुलिसको ‘खाइजी’, आर्मीको ‘सेनाखति’, विदेश जाने ‘लाजदूत’, कुनै पनि संस्थाको ‘महाबन्धक’ तथा ‘अदक्ष’, अख्तियारको ‘खायुक्त’, बर्खेच्याउ जसरी उम्रिएका अनेकौँ किसिमका प्रज्ञाप्रतिष्ठानका ‘नामाकूलपति’ र सदस्से लगायत अरू कुनै पनि नियुक्ति वा पदोन्नतिका लागि कि त पावरमा भएको वा आलोपालोमा पावरमा आउने रोलक्रममा रहेको पार्टीको ठप्पा शरीरको देखाउन हुने नहुने कुनै पनि भागमा लगाउनैपर्छ।

व्यापारी तथा उद्योगपतिले आफू सुहाउँदो आर्थिक नीति र बजेट ल्याउन, आफूले छलेका अर्बौंका कर लुकाउन र पचाउन नेतालाई छुस्स चन्दारूपी गंगाजल छर्किदिए पुग्ने भइसकेको छ। सबैभन्दा ठूलो कुरो, यिनको इमानको कुनै भाउ छैन।

पाएसम्म अर्बौं ज्यूनार गर्नेहरू नपाएको बेला चुत्थो दाम पनि छोड्न चाहिँ छोड्दैनन्। यिनको इमान जति सस्तोमा बिक्यो व्यापारी र बिचौलियालाई त्यति नै धेरै फाइदा हुन्छ। बाठा व्यापारी र उद्योगपति त हरामको कमाइबाट जोहो गरेको अकूत रकमको खोलो बगाएर कतैको टिकटै किनेर, चुनाव जितेर सांसद नै बन्न थालेका छन्। त्यति भएपछि कर छल्न पनि पाइयो, आफ्नो लागि पोसाउने नीति नियम बनाउन पनि पाइयो।

सबैभन्दा डरलाग्दो कुरा नै राजनीतिक संरक्षण भएको छ। त्यो प्राप्त भएको मानिस महादेवको वरदान पाएको भस्मासुरसरह हुन्छ। उसले प्रहरी न्याय, कानून अदालत कसैसँग पनि डराउनु पर्दैन। त्यसैले अब मान्छेका त नकुरा गरम, पानीमा पौडिने माछा, आकाशमा उड्ने चराचुरुङ्गी, घाँसपातमा घिस्रिने कीराफट्याङ्ग्रा, जंगली तथा घरपालुवा लगायत चिडियाखानाका जनावर, हावाका भाइरस तथा ब्याक्टेरिया, पशुपति र स्वयम्भूका बाँदर र बाटाका भुस्याहा कुकुर र बिरालाहरू पनि कुनै न कुनै पार्टीमा घुस्न थालिसकेका छन्।

त्यसले गर्दा एमालेको स्यालले कुखुरा लग्दा पनि पार्टीमा नलागेका गाउँलेले लखेट्न पाउँदैनन्। कांग्रेसको बाख्रासँग अपर्झट जम्काभेट हुँदा पार्टीमा नलागेको बाघले समेत म्याउँ गरेर सलाम ठोक्नुपर्छ। माओवादी छिरेको मुर्रालाई खेत जोताउन पाइँदैन। त्यो थारो भइसकेपछि पनि त्यसको ममचा बनाउन पाइँदैन। स्वतन्त्र पार्टीमा छिरेको लामखुट्टेले टोक्न आउँदा पनि घरमा झूल हाल्न, कछुवा वा अलआउट बालेर उसको टोक्ने र चुस्ने स्वतन्त्रता खोस्न पाइँदैन। समाजवादी, असमाजवादी लगायतका कुनै पनि दलसँग आबद्ध बहुला कुकुरले टोकेको मान्छेलाई टेकु अस्पतालमा रेबिजको सुई लगाउन दिइँदैन। 

त्यसैले फाफुरीले भनेको कुरा एकदमै समयसापेक्ष हो भन्ने कुरामा फाफुरा आश्वस्त भयो। उसले भन्यो, ‘तर फाफुरी, मजस्तो प्रखर वुद्धिटिबी मान्छे (अहिलेको कम्प्युटरको जमानामा जीबीको महत्त्व छैन, त्यसैले बुद्धिजीवी नभनेर आफूलाई फाफुराले बुद्धिटिबी भनेको हो) अर्थ न बर्थको कार्यकर्ता भएर त कुनै पार्टीमा छिरेर कामै छैन। कम्तीमा पनि कुनै पार्टीको प्रवक्ता, केन्द्रीय सदस्य वा उपसभापतिसम्म नभई त जात फाल्नु पार्टीको खोलमा भनेजस्तो हुन्छ।’ 

फाफुरीले लामखुट्टे मारेको भन्दा ठूलो आवाज निक्लने गरेर आफ्नो थाप्लो ठटाउँदै भनी, ‘तिमी कहिले अलि ठूलो कुरा सोच्छौ फाफुरा? कमसेकम ८४ को चुनाप जितेर उपप्रधानमन्त्री वा उस्तै परे प्रधानमन्त्री नै बन्ने सोच राख न। हर्क, दुर्गा र बालेनजति पनि ह्याउ छैन तिम्रो?’

फाफुराले आँखा चम्काउँदै तर अलि संशयपूर्ण स्वरमा सोध्यो, ‘एकै पटकमा प्रधानमन्त्री ताक्ने र भन्या? सकिएला?’

फाफुरीले सम्झाउने पाराले भनी, ‘ढुक्कै फाफुरा, ढुक्कै। हेर यो देशाँ प्रधानमन्त्री अथवा उपप्रधानमन्त्री बन्ने कुराको मापदण्ड चुत्थोभन्दा चुत्थो कायम भइसकेको छ। कस्ताकस्ता फुङ्गी र नालायकले ती पद पड्काएर देखाइसकेको छन्। ती हेरिकन त तिमी धेरै कम चुत्था छौ। मलाई तिम्रो नालायकीमा पूरा विश्वास छ। त्यसैले कसैको पुच्छर लाग्ने होइन फाफुरा, आफ्नै दल खोल्ने हो। अनि त्यसलाई राष्ट्रिय दल पनि बनाएर देखाउने हो बुझ्यौ?’

भ्यागुताले भुँडी फुलाएजसरी गमक्क परेर फाफुराले भन्यो, ‘तिमीले ठीक भन्यौ फाफुरी। लौ गम्भीरतापूर्वक लागौँ। हुन पनि हो। कस्ताकस्ताले पार्टी खोलिसकेका छन्। तिमीहामी त जे भए पनि गुदी र गिदी दुवै भएका मानिस हौँ।’ 

फाफुरा दम्पती आफ्नो उज्ज्वल भविष्यको खाका कोर्दै निदाए। भोलिपल्ट बिहान फाफुरा जोस र जाँगरले ओतप्रोत भएर पार्टी खोल्न उठ्यो। तर अघिल्लो दिन बेलुकीसम्म फर्स्ट लेडी बन्ने कल्पनाले उज्यालिएकी फाफुरी त बिजुलीको तारबाट करेन्ट लागेर भुईंमा पछारिएको सारुङजस्तो भएर कुनै अनलाइन पोर्टलमा एउटा समाचार पढिरहेकी थिई।

‘खोल्यौ पार्टी फाफुरा। गरेको गर्‍यै भयौ तिमीले राजनीति। तिमीहामीलाई गरिखान नदिने भए। हाम्रो योजनामाथि कुठाराघात भयो फाफुरा।’ उसले आफ्नो फोन फाफुरातिर हुर्‍याइदिई। फाफुरा अलमल्ल पर्दै त्यो समाचार पढ्न थाल्यो। दल खोल्न, चुनाव लड्न, सांसद हुन, मन्त्री तथा प्रधानमन्त्री बन्न केही मापदण्ड नतोकी नहुने भएको भन्दै सरकारले नयाँ कानूनको मस्यौदा प्रस्तावित गरेको रहेछ।

१. कुनै पनि नयाँ दल खोल्न चाहनेहरूले निम्नबमोजिमको लिखित प्रतिबद्धता गर्नुपर्ने छ।

वर्षमा कम्तीमा ६ वटा आन्दोलन, जुलुस र धर्नाजस्ता प्रजातान्त्रिक आचरणका साथ जनजीवन अस्तव्यस्त गर्न सक्ने ग्यारेन्टी दिनुपर्नेछ।

निकालिने जुलुसमा फकाएर, धम्क्याएर, अलमल्याएर, रक्सी वा मासु खुवाएर, खल्तीमा गैँडा, बाघ वा हात्तीजस्ता जनावर खुसुक्क हालिदिएर, राँगा खाँदेजसरी ट्रकमा हालेर वा कुनै पनि तरिकाले कम्तीमा २० हजार मानिस उतार्नुपर्नेछ। थोरै मान्छेलाई ल्याएर ढाँटौँला भन्ने नसोचे हुन्छ किनभने सरकारले भीडमा भएका मानिसको ठ्याक्कै संख्या पत्ता लगाउने उच्च र विकसित प्रविधि आयात गरेको छ। यस प्रविधिले पहिले जुलुसमा भएका सबैको हात र खुट्टाको संख्या गणना गर्नेछ। त्यसपछि त्यो संख्यालाई चारले भाग गरिनेछ। यसरी प्राप्त भएको योगफल सटीक र निर्विवाद हुनेछ।

सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गर्न दल सदैव तयार हुनुपर्नेछ। त्यसअन्तर्गत एक वर्षमा सरकारी वा निजी साना सवारीसाधन एक दर्जन, मझ्यौला सवारीसाधन आधा दर्जन र कम्तीमा दुई वटा बस वा ट्रक आगजनी गर्न सक्षम हुनुपर्नेछ।

यी मापदण्ड पूरा गर्नेलाई राष्ट्रिय दलको मान्यता दिइनेछ भने अरू स्वतः अराष्ट्रिय दल प्रमाणित हुनेछन्।

२. समानुपातिक वा प्रत्यक्ष निर्वाचित सांसद बन्नका लागि न्यूनतम योग्यता:

इच्छुक र प्रस्तावित उम्मेदवारको अधिकतम शिक्षा तीन कक्षा उत्तीर्ण हुनुपर्नेछ। त्यो पनि एकै पटकमा कक्षा चढेको हुनु हुँदैन, कम्तीमा चार वा पाँच वर्ष लगाएर परिपक्व भएको हुनुपर्नेछ। चार कक्षा चढेकाहरूको नाम स्वतः रद्द मानिनेछ। उम्मेदवार निरक्षर भए सबैभन्दा बढी ग्राह्यता दिइनेछ। 

ट्याक्सीटेम्पो चलाउनेलाई त अनुमतिपत्र दिँदा शुरूमा परीक्षणमा राखिन्छ भने देश चलाउनेलाई चाहिँ नाथे चुनाव जितेको भरमा एकैपटक स्थायी सांसद मानिने छैन। हरेक निर्वाचित सांसदलाई एक वर्ष परीक्षणकालमा राखिनेछ र निम्न क्षमता प्रदर्शन गरेपछि मात्र स्थायी मानिनेछ। 

मुसाको भाषामा राम्रो दखल भएको। ताकि परिआएको बेला सिंहदरबारका सिसिटिभी क्यामराका तार काट्न  त्यहाँका मुसासँग प्रभावकारी संवाद गर्न सक्ने। हार्ड डिस्क रिकभर नहुने गरी बिगार्नका लागि कम्प्युटरका भाइरससँग प्रगाढ मित्रता भएको हुनुपर्नेछ। 

सदन वा बाहिर कुनै पनि सार्वजनिक समारोहमा बेलाबेला नाक कोट्याउन पछि पर्नु हुँदैन। आफ्नै अनुहारमा भएको नाकको त्यति सानो पोरा सफा राख्न नसक्नेबाट देशका समस्या रूपी विकराल फोहोर सफा गर्ने अपेक्षा गर्न सकिँदैन। 

सदन चलेको कुल दिनमा कम्तीमा ७० प्रतिशत अनुपस्थित हुनुपर्ने छ। उपस्थित दिनमा पनि कुल समयमध्ये कम्तीमा ५० प्रतिशत निदाएको हुनु पर्नेछ। निदाएकामध्ये पनि उँघ्नेको, त्योभन्दा फ्वाँफ्वाँ हुनेको, फ्वाँफ्वाँ हुनेभन्दा र्‍याल चुहाउँदै घुर्नेको बढी मूल्यांकन हुनेछ।

प्रतिनिधि सभाका कुर्सीलाई उचालेर पछार्दा अधिकतम तीन पटकमा भाँच्न सक्नुपर्छ। 

एक अधिवेशन अवधिमा कम्तीमा १५ दिन संसद् अवरोध गर्नेमा सक्रिय भूमिका हुनैपर्छ।

यी बुँदामा खरो उत्रन नसकेकाहरूको पद स्वतः खारेज हुनेछ। यसरी रिक्त भएको निर्वाचन क्षेत्रमा पटक–पटक उपनिर्वाचन गरिनेछ। यसरी पटक–पटक गरिएका उपनिर्वाचनबाट राज्यको ढुकुटीमा भ्वाङ नपरोस् भन्नका लागि विशेष व्यवस्था गरिनेछ। सित्तैमा भोट हाल्न पाउँदा जनताले त्यसको महत्त्व नबुझी चोर फटाहा र नालायकहरूलाई मात्र जिताएका हुनाले भोटको महत्त्व बुझाउनका लागि अब उप्रान्त फोकटलालमा भोट हाल्न पाइने छैन। 

भोट हाल्न जाने हरेक नागरिकले एकपटक भोट हालेको रु १००० शुल्क तिर्नुपर्नेछ। आफ्नो रगतपसिनाको कमाइ खर्च भएपछि जनता जिम्मेवार भएर मतदान गर्न बाध्य हुनेछन्। एकभन्दा बढी भोट हाल्न चाहेमा हरेक थप भोटको थप रु पाँच सयका दरले थप्दै जानुपर्नेछ। मरेको बाबुआमा, दाजुभाइ, साथीको नाममा भोट हाल्न रु १५०० शुल्क लाग्नेछ। ज्यूँदै तर विदेशमा रहेकाहरूको प्रोक्सी भोट रु २००० तिरेर हाल्न पाइनेछ। हाल विद्यमान निःशुल्क भोट गर्न पाइने व्यवस्थामा पनि मानिसहरूले यसै पनि एकभन्दा बढी भोट हालेकै छन्। तसर्थ सित्तैमा हाल्ने गरिएका एकभन्दा बढी भोटका कारण भइरहेको राजस्व चुहावट रोकिनेछ। यसरी सशुल्क मतदानबाट राज्यको ढुकुटीमा जम्मा हुने विपुल धनराशि देश र जनताका लागि पटक–पटक अनिष्ट प्रमाणित भइसकेका तर भन्ने बेला तथाकथित विशिष्ट र पूर्व विशिष्ट भनिने अशिष्टको आजीवन भत्ता तथा सुविधामा समयसापेक्ष वृद्धि गर्नका लागि खर्च गरिनेछ। 

सशुल्क सबैभन्दा बढी भोट हाल्नेलाई उत्कृष्ट मतदाता घोषणा गरिनेछ र निजलाई गणतन्त्र दिवसका दिन खुलामञ्चमा राष्ट्रिय सम्मान तथा पदकले सुशोभित गरी २१ तोपको सलामी पनि अर्पण गरिनेछ। 

३. मन्त्री बन्नका लागि आवश्यक न्यूनतम योग्यता:

जुन मन्त्रालयको कार्यभार लिन चाहेको हो, त्यो सम्बन्धी विषयमा कुनै शिक्षा, अनुभव वा ज्ञान पटक्कै नभएको

व्यक्तिगत पिर्का र कैँची साथ लिएर हिँड्न सक्नेलाई प्राथमिकता।

व्यापारी, उद्योगपति, जग्गा दलाल, राजनीतिक पावर ब्रोकर तथा ठेकेदार बलिया भया प्रजा बलिया हुन्छन् भन्ने दिव्य ज्ञानलाई शिरोधार्य गरी तिनका हक र हितका लागि दत्तचित्त भएर कार्य गर्न सक्ने उच्च क्षमता हुनुपर्नेछ।

४. प्रधानमन्त्री बन्नका लागि आवश्यक न्यूनतम योग्यता:

शरीरको कम्तीमा पनि कुनै एक अंग प्रत्यारोपण भएको हुनुपर्छ।

गम्भीरता, जिम्मेवारी, परिपक्वता र जबाफदेहिता भन्ने कुरासँग जुगल भुर्तेल र कुशल भुर्तेलको जति नै नजिकको नाता हुनुपर्छ।

चुट्किला भन्न र हँसाउन जानेको हुनुपर्छ।

देश र जनताको जिम्मेवारी उचाल्न नसके पनि हरेक वाक्य बोल्दा एकपटक कुम उचाल्न सक्ने हुनुपर्छ।

बोलेको कुरामध्ये ९० प्रतिशत अस्पष्ट हुनुपर्नेछ।

चोरीचकारी, लुटपाट, कुटपिट, आशय करणी, यौन दुर्व्यवहार, ब्ल्याकमेलिङ वा अन्य कुनै फौजदारी कसुरको आरोप लागेको हुनुपर्नेछ। प्रमाणितै भएर मामाघर बसेको अनुभवीलाई विशेष ग्राह्यता।

राजको पालामा प्रधानमन्त्री बन्न पाउँ भनेर कमसेकम एकपटक मोहोर दाम चढाएको हुनुपर्नेछ।

कम्तीमा पाँच वटा पार्टी फेरेको अनुभव हुनुपर्नेछ।

५.  राष्ट्रपति पदका लागि आवश्यक न्यूनतम योग्यता

‘झिँगा हेर भित्तामा लड्दैपड्दै चढ्दै छ’ भन्ने हामी सबैले बाल्यकालदेखि सुनिआएको गीतको मर्मलाई आत्मसात् गरी प्रमाणित गर्न सक्ने। पटक–पटकको हारबाट पनि पटक्कै हतोत्साहित नभई दत्तचित्त भई लागेपछि लागेको लाग्यै गर्न सक्ने। 

भिटामिन सीले भरिपूर्ण अम्लीय रसले भरिएको, पहेँलो र हरियो रङ मिश्रित गोलो–गोलो सानो–सानो फलको गुण र सोको व्यापारबारे विशेष जानकारी भएकोलाई ग्राह्यता। 

यी सब आवश्यकतासहित सरकारले ल्याएको प्रस्तावको खाका पढेर फाफुराको आशा बाँसबारी र बालमन्दिरको जग्गा फिर्ता आउला भन्नेहरूको आशाजसरी नै फुस्स भयो। ती सबै मापदण्ड पूरा गरौँला भन्ने त फाफुराजस्ता मानिसले सात जुनीमा कल्पना नगरे भयो। राजनीति गरेर वरत्रपरत्र सुधारौँला, दल खोलौँला, दल्नुपर्ने ठाउँमा दल्नुपर्ने मानिसका दल्नुपर्ने अंगमा दल्नुपर्ने कुरा दलौँला भन्ने आशा पनि दलदलमा भासिएपछि फाफुराले लामो सास फेर्दै भन्यो, ‘अब अरू केही विकल्प नभएपछि तिमीले भनेजस्तै म पनि राजावादी नै पो हुनुपर्छ कि क्या हो फाफुरी?’