राजा कसरी आउने हुन्? राजाको फेरि किन आवश्यकता पर्यो? कुन साइतमा दरबार प्रवेश गर्ने हुन्? कसैलाई तान्त्रिक विश्वासबाहेक यान्त्रिक जानकारी छैन।
चैत्र १५ गतेको तीनकुने घटनापछि राजावादीले ‘ओभरटेक’ गर्ने चर्चा ओझेलमा पर्दै गएको छ। चर्चा पूरै मत्थर भएको भने हैन। राजा आउने चर्चा चुलिएकै छ। राजा आएर कतिखेर नारायणहिटी दरबार प्रवेश गर्ने हुन्, कौतूहल बाँकी नै छ। यसै पनि अन्धविश्वास, जादु–टुनाले ग्रस्त नेपाली समाज यस्तै कुरामा आश्वस्त हुनु अनौठो पनि होइन। लामो एकात्मक, एकतन्त्रीय राजतन्त्रात्मक व्यवस्था खेपी ल्याएको अर्थमा कुनै तान्त्रिक विधि–विधानबाट राजा आइहाल्छन् कि भन्ने विश्वास सर्वसाधारणमा नहट्नु स्वाभाविकै हो।
राजा कसरी आउने हुन्? राजाको फेरि किन आवश्यकता पर्यो? कुन साइतमा दरबार प्रवेश गर्ने हुन्? कसैलाई तान्त्रिक विश्वासबाहेक यान्त्रिक जानकारी छैन। तर राजावादीले राजा आउने पक्कापक्की ठान्छन्। राजा चाहनेहरूले राजा ल्याउन ‘मिडिया ट्रोल’ गरिरहेकै छन्।
राजा ल्याउने सूत्र
राजा ल्याउने केही सूत्र नभएको भने होइन। यसमध्ये ‘नवीन समझदारी’ शब्दावली विशेष चर्चामा छ। ज्ञानेन्द्रकै आशीर्वचनमा गठित नवराज सुवेदीको राजा ल्याउने समितिले यो सूत्र खोकिलामा च्यापेको छ। सुवेदी नजरबन्दमा परेपछि जगमान गुरुङ नामका स्वघोषित नेपाल ऋषिले राजा ल्याउने खुँडा उठाएको घोषणा गरेका छन्। यो सूत्रको कार्यक्रमिक रूपरेखाअनुसार राजनीतिक दलहरूले सहमतिसाथ राजालाई पुनर्स्थापित गरिदिनु पर्ने भन्ने छ। यस्तो नवीन समझदारी नभए के हुने कुनै ठेगानको कुरा छैन। सुवेदी समितिकै ‘हर्कुलस’ सदस्य ‘जनकमान्डर’ दुर्गा प्रसाईंको कुरा अलग्गै छ। उनले भन्दै आएका छन्, ‘किङ इज किङ’। राजा आउँछन्, दरबार पस्छन्, श्रीपेच लगाउँछन्, गद्दीमा बस्छन्, राजदण्ड चलाउँछन्, यस्तै यस्तै। तर राजा ल्याउने चैत्र १५ गतेको ‘नालापानी’को युद्ध छोडेर त्यस युद्धका जनकमान्डर ‘कालापानी’पारि बेपत्ता भैसकेका छन्।
राजावादी हौसिए
राजावादीहरू यति हौसिएका छन् कि ज्ञानेन्द्रको अगाडि–पछाडि स्वाभाविक फुँदा जोडेको हेर्न र सुन्न चाहँदैनन्। ‘पूर्व राजा’नामको फुँदा नै खारेज गरिसकेका छन्। उही जमानाको शास्त्रीय र राजकीय नाम ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकार’ भन्न सुन्न र लेख्न चाहन्छन्। उनीहरूको हौसला बुलन्द गरेको ज्ञानेन्द्रको पछिल्लो वाणीले थियो। परम्परागत प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा ज्ञानेन्द्रले छोटो प्रतिपक्षी-सन्देश प्रसार गरेका थिए। कुशासनले जन्माएको वितृष्णा सम्बोधन गरेजस्तो गर्दा प्राण वायु आएजस्तै सर्वसाधारणमा पर्न गयो। यही वाणीले राजावादीको पुनर्जलीय उपचार हुन पुग्यो। र, गत फागुन २५ गते ज्ञानेन्द्रको राजधानी आगमनमा स्वागतार्थ मानिसको कुँडुलो लाग्यो। अप्रत्याशित यस्तो दृश्य देख्दा ज्ञानेन्द्र फुरुङ्ग भए। राजावादी हौसिने नै भए।
नारायणहिटी कोतपर्वपछि पुनः राजा बनेका ज्ञानेन्द्रको कार्यकालमा पनि ‘जयजयकार’ भएकै थियो। देशका विभिन्न शहरमा ‘नागरिक अभिनन्दन’ र स्वागतमा भीड 'कुँडुल्येकै' थियो। तर लगत्तै दोस्रो जनआन्दोलनमा त्यो भीड प्रतिकार गर्न नसकी दुला पसिसकेको थियो। तर सत्ता बाहिर रहँदा पनि उनको स्वागतमा यो हदको भीड जम्नु चानचुने कुरा थिएन। यति हुँदा ज्ञानेन्द्रलाई गद्दी पाउन आइतबार नलाग्ने ठहर भएर पुलकित हुनु अन्यथा होइन।
तेस्रो ‘एटेम्प्ट’
ज्ञानेन्द्रको गद्दी आरोहणको यो तेस्रो एटेम्प्ट (प्रयास) हो। पहिलो गद्दी आरोहण मोहनशमशेरले जुराए। दोस्रो गद्दी आरोहण राजा वीरेन्द्रको वंशनाशपछि अपुतालीमा आइलाग्यो। तेस्रो एटेम्प्ट यस्तै उस्तै काकतालीमा आइलाग्यो भने विश्वमा भएका आश्चर्यमध्ये अर्को आश्चर्यचकित पार्ने गणित हुनेछ। यस्तो आश्चर्य सोम शर्माको सातुको सपना कथासँग संयोग मिल्नेछ। सपना देख्ने र कल्पना गर्ने हरेकलाई छुट हुन्छ नै। यसमा ज्ञानेन्द्र अपवाद होइनन्।
फणीन्द्र बा र डन्डे माइला
बिजुली पत्रिका पोर्टलमा कसैले यस्तो लेखेको पढेको छु: ‘ज्ञानेन्द्र शाह धनाढ्य व्यक्ति हुन्। उनको धनमाथि धनको रास छ, खर्च गर्ने ठाउँ छैन। उनी उद्योगी, व्यापारी हुन्, दौलतको कुनै कमी छैन। कमी छ त केवल एउटा गद्दीको।’ यस्तै उस्तै।
यसै सिलसिलामा यहाँ एउटा प्रसंग जोड्न चाहन्छु। उति बेला धरान नगरमा ज्ञानेन्द्रकै हाराहारीमा आए/नआए पनि निकै सम्पन्न फणीन्द्र प्रसाद आचार्य नामका व्यक्ति थिए। पुस्तैनी जमिनदार त छँदै थिए, यसका अतिरिक्त सिनेमा हल, चामल मिल, स–मिल लगायत उद्योग, ट्रक यातायात, ‘क’ श्रेणीको कन्स्ट्रक्सन कम्पनीसहित अनेक बन्द व्यवसाय थियो। धन, दौलत र ऐश्वर्यको कुनै कमी थिएन। पञ्चायती कालखण्डमा मनले खाएका पञ्चहरूलाई निर्वाचनमा जिताउन खुलेर आर्थिक सहयोग गर्थे। यसैले पञ्चहरूका लागि ‘फणीन्द्र बा’ नामबाट प्रख्यात थिए। आजका एमालेजनका निम्ति ‘केपी बा’भन्दा आदरणीय।
उनले सहयोग गरेका पञ्चहरू एक से एक मन्त्री भए। यसपछि उनलाई पनि लाग्यो होला यो कर्म आफै किन नगर्ने? उनले भन्ने गर्थे, ‘मैले सघाएका नांगाबुंगाहरू झन्डावाल गाडीमा सरर्र हिँड्छन्।’ यसपछि उनलाई झन्डावाल गाडीको चस्का लाग्यो होला। अनि पञ्चायतकलादेखि बहुदलीय कालखण्डसम्म निर्वाचन लडिरहे, तर सधैँ पराजित भए।
आचार्यको निजी गाडी चलाउने डन्डे माइला नाम गरेका ड्राइभर थिए। गाडी चढ्ने बेला सधैँ माइलालाई सोध्ने गर्थे, ‘ए डन्डे यो गाडीमा के कमी छ?’ ड्राइभर डन्डेले रेडिमेड जवाफ दिनु पर्थ्यो। ‘बा यो गाडीमा झन्डाको कमी छ।’ यसरी प्रत्येक पटक जबाफ फर्काउँदा यो वाक्य किस्सा नै बन्यो। तर बाको झन्डा लगाउने इच्छा कहिल्यै पूरा भएन।
रहलपहल
वंशज वा जन्मसिद्ध झन्डा हाल्न नपाउनेलाई त यति सारो झन्डाको मोह हुन्छ भने वंशाणुगत झन्डा लिएर जन्मेका ज्ञानेन्द्रलाई नपाउँदा खपिनसक्नु हुने नै भयो। दुई–दुई पटक गद्दीको स्वाद लिएकालाई फेरि पनि बिर्ता फर्काउने चस्का लाग्नु स्वाभाविकै हो। यस्तै मेलोमेसोमा राजावादीसँगको हारगुहार हो। तर कमल थापादेखि राजेन्द्र लिंदेनसम्म आइपुग्दा पनि डन्डे माइलाको रेडिमेड उत्तरभन्दा भिन्न हुन सकेको होइन। ज्ञानेन्द्रलाई गद्दी दिलाउन नयाँ नौतुन माइलाहरू पनि आउँछन्, जान्छन्।
एकाध वर्षदेखि चर्को रूपमा सक्रिय दुर्गा प्रसाईं नयाँ डन्डे माइलाको भूमिकामा थिए। राजाको सारथि नै भएको स्वघोषणा गरेका थिए। तर मध्य चैत्रको तीनकुने घटनापछि लापत्ता छन्। डन्डे माइलाले त इमानदारीपूर्वक उत्तर दिन्थे। तर, यी राजावादीहरू ‘राजा आऊ देश बचाऊ’को नाराभित्र स्वार्थको रोटी सेक्न अभ्यस्त छन्। आफ्नो प्राण सबैको लागि प्रिय हुन्छ। तर राजालाई प्राण दिन्छु भन्दा पत्याउने पूर्वराजा अब कति चोटि बेवकुफ हुन्छन् होला?
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
