वालिङ नगरपालिकाले अन्य शिक्षक नपठाउँदा सौरीखाल्टा माइस्थान आधारभूत विद्यालय वर्षदिनयता एकजना शिक्षकका भरमा चलिरहेको छ।
वालिङ– स्याङ्जाको वालिङ–१४ स्थित सौरीखाल्टा माइस्थान आधारभूत विद्यालय एकजना शिक्षकका भरमा चलिरहेको छ।
कक्षा तीनसम्म पढाई हुने विद्यालयमा तीनजना शिक्षकको दरबन्दी छ। तर, वर्षदिनयता धनबहादुर हमालले मात्रै पठनपाठन गर्दै आएका छन्। “तीनजना शिक्षक दरबन्दी छ। तर, एक वर्षदेखि मैले मात्र पढाइरहेको छु”, उनले भने, “दरबन्दी काटिएको पनि छैन। अरू शिक्षक हाजिर हुन आएका छैनन्।” हमाल एक्लै तीनवटा कक्षा एकसाथ सञ्चालन गर्दै आएका छन्।
अघिल्लो कात्तिकसम्म दुई शिक्षक थिए। एकजना अवकाश भएपछि गत मङ्सिरदेखि आफू एक्लैले तीनवटा कक्षाका विद्यार्थी हेर्नुपरेको उनले बताए। “सबै बालबालिकालाई एउटै कोठामा राखेर कक्षागत समूह–समूह बनाएर पढाउने गरेको छु”, हमालले भने, “यसरी कति दिनसम्म चलाउने होला? सरोकारवाला निकायलाई जानकारी गराउँदा पनि पदपूर्ति हुन सकेको छैन।”
भौगोलिकरूपमा विकट ठाउँ भएकाले पनि अन्यत्रबाट यहाँ आउन शिक्षकले इच्छा नदेखाएको हुनसक्ने उनको भनाइ छ। विद्यालयमा हाल १२ छात्र/छात्रा अध्ययनरत छन्। “अवकाश लिन खोजेको थिएँ”, हमालले भने, “कसलाई छोडेर जाउँ, यस्तै अवस्थमाा छोड्दा अस्तब्यस्त हुन्छ, छोड्न सकिरहेको छैन।” काम विशेषले बिदा लिन पनि समस्या भइरहेको उनले सुनाए।
विद्यालयकै कामको सिलसिलामा कतै जान परेमा कार्यालय सहयोगी तथा गाउँका अभिभावक खोजेर बालबालिका हेर्ने जिम्मा लगाउनुपर्ने बाध्यता रहेको हमालले बताए। दरबन्दीअनुसारका शिक्षक नहुँदा विद्यालयमा समस्या आइपरेको वालिङ–१४ का वडाध्यक्ष बोधराज कुँवरले बताए। “अनुगमनका क्रममा विद्यालयमा जाँदा देखेको समाधानका लागि नगरपालिकाको शिक्षा शाखामा जानकारी गराउँदा पनि निकास निस्केको छैन” उनले भने, “नगरपालिकाले दरबन्दी मिलान गरेर छिटोभन्दा छिटो समस्याको समाधान गर्नुपर्छ।”
भौगोलिक विकटता र अपायकमा भएका कारणले पनि शिक्षक जान नखोज्ने भएकाले अब नाम नै किटान गरेर शिक्षक पठाउनुपर्ने उहाँको माग छ। भौगोलिक विकटताका कारण यहाँबाट अर्को विद्यालयमा बालबालिका पठाउन पनि कम्तीमा एकघण्टा लाग्छ। वालिङ नगरपालिका–१४ को अर्को विद्यालयमा समायोजन गर्दा पायक नमिल्ने समस्या छ।
वालिङ–१४ कै हुल्काङ वा भीरकोट नगरपालिका–९ को पिपलडाँडा माध्यमिक विद्यालयमा बालबालिका पठाउनुपर्ने हुन्छ। उक्त विद्यालय पुग्न बालबालिकालाई एक घण्टा लाग्छ। सौरीखाल्टा माईस्थान आधारभूत विद्यालय २०६६/६७ सम्म १–५ कक्षा सञ्चालनमा थियो। हाल १–३ कक्षामात्रै सञ्चालनमा छ। नगरपालिकाले उक्त विद्यालयमा अर्को शिक्षक नपठाएको शिक्षा अधिकृत गीता पाठकले बताइन्।
दरबन्दी मिलान सम्बन्धी कार्यविधि बनाउने काम अगाडि बढाएकाले अब छिट्टै समस्याको समाधान हुने उनको भनाइ छ। “विद्यार्थी संख्याको अनुपातमा कार्यविधिअनुसार दरबन्दी मिलानका लागि काम गरिरहेका छौँ”, उनले भनिन्, “त्यसलाई अन्तिम रुप दिएर अगाडि बढ्छौँ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
