भैरव रिसाल स्वयं भन्ने गर्नुहुन्थ्यो—उमेर त एउटा अंक न हो, गणना मात्रै। तनमा बूढो देखिएर केही हुन्न, मन–बचन–कर्ममा बूढो बन्नुहुन्न।
रवीन्द्र पुरी
केही वर्षअघि प्रकृति र प्राकृतिक जीवनका बारेको एउटा आलेख निकै चर्चामा आएको थियो। ‘आँखा नगाडौं शिवपुरीमा’ शीर्षकको त्यो लेख पढिसकेर म फेरि पनि नतमस्तक बनेको थिएँ, लेखक भैरव रिसालप्रति। रेडियो वा अखबारी पत्रकारितामार्फत सदैव वातावरण, सम्पदा तथा संरक्षणको सरोकार उठाउने पत्रकार रिसालको दृष्टि र दर्शन यही लेखबाट पनि थाहा पाउन सकिन्छ, धेरै वटा सामग्री खोतल्नै पर्दैन। थानकोट मास्तिरको पहाडमा भर्खरै–भर्खरै चन्द्रागिरि केबलकार संचालनको चर्चा सुरु भएका बेला र धेरैजसोले यसको तारिफमा ताली बजाइरहेका बेला एक जना रिसाल पहिलो पटक यस्तो खालको विकासको विरोधमा उत्रिएको मैँले पाएँ।
रिसालले लेख्नुभएको थियो—“चन्द्रागिरि केबुलकार स्थापना र सञ्चालन हुँदा त्यो क्षेत्रको वन अत्यधिक विनाश हुँदैछ भन्ने कुरा देखिएको छ। शिवपुरीलाई पनि त्यही दुर्दशामा पुर्याउने? पानी, हावा, वायु, पहिरो, सुक्खा, खडेरी, आगलागी, पानीको मुहान आदि विषय पढेका र त्यही क्षेत्रमा दशकौँदेखि पसिना बगाएका विषयविद्हरू प्रकृतिलाई नबिगार्न आग्रह गर्छन् र भन्छन्–‘प्रकृति बिगार्ने बित्तिकै त्यसले पानीका बहावलगायत समग्र पानी प्रणालीलाई नै सिद्ध्याउँछ। प्राकृतिक रूपमा रहेको यो टापुलाई खनजोत गरी कङ्क्रिटमय पार्दा कालान्तरमा अकल्पनीय क्षति निम्तन सक्छ। तसर्थ प्रकृतिसँग ख्यालठट्टा गर्नु मूर्खता हुन जान्छ।”
यो पढेर म झनै प्रभावित भएको थिएँ। मसँग झन्डै ३ दशकयताको सम्बन्ध र भेटघाटमा भैरव रिसालका रसिला–भरिला कुराहरू नजिकैबाट सुन्न पाउँदै आएको थिएँ। आफू पनि प्रकृति र सम्पदा पक्षधर भएर हिँडिरहेको व्यक्ति भएका कारण रिसालजस्ता अग्रज अनुभवीको रायसुझावमात्रै पनि धेरै अर्थपूर्ण हुन सक्छ भन्ने मलाई लाग्दै आएको थियो र, छ।
उहाँले ‘आँखा नगाडौं शिवपुरीमा’ भन्दै लेख्नुभएको निचोडलाई मैँले अझै टिपोट गरेर राखेको छु, उहाँले लेख्नुभएको छ—“काठमाडौँ खाल्डोलाई प्राणवायु भर्ने शिवपुरीमा तीन/तीन वटा केबुलकारसहितका रिसोर्ट सञ्चालन गर्न दिने हो भने काठमाडौँ उपत्यका केही दशकमै मरुभूमिमा परिणत हुनेछ।”
अझ प्रकृति र मान्छेको सम्बन्ध, विवेक र बलमिचाइँको तर्कबारे रिसालजीले राख्ने धारणा सधैँ तरुण लाग्ने गरेको छ। उमेरमा शताब्दी छेउ पुगिसकेका व्यक्तिको सोच र चिन्तन सम्झँदामात्रै पनि आजको समय र पुस्तामा समेत त्यस्तो नवीन बिचार पलाउन नसकेको हो किझैं लाग्छ। एक प्रकारले जीवित छँदै ‘मिथ’ पात्रझैं बन्नुभएका रिसालको मन–बचन–कर्मको युवापन देखेर आजभन्दा १० वर्षअघि एउटा लेखमा साहित्यकार कमलमणि दीक्षितले भन्नुभएको रहेछ— छयासी बर्से युवक भैरवमा शुभकामना !
अरूबाट सुनेको र कहींकतै पढेको आधारमा रिसालजीको सामाजिक जीवन तथा सक्रियता २०१३ सालबाट सुरु भएको रहेछ— ‘हालखबर दैनिक’को रिपोर्टरका रूपमा। त्यो पनि जागिर खाने क्रममा आइपरेको काम! न हेडलाइन थाहा रहेछ, न बाइलाइन। पछि सरकारी निकायको राष्ट्रिय समाचार समितिमा झन्डै २२ वर्ष (२०४२ सम्म) काम गर्न पाएको अनुभवले उहाँमा पत्रकारिताको निखार ल्याएको हुनुपर्छ। मजस्तो अर्कै जीवन जगतको पात्रका लागि यदाकदा रेडियो सगरमाथामा ‘उहिले बाजेका पालामा’का किस्साहरू सुन्न पाउनु र किंवदन्तीजस्ता लाग्ने गफ सुन्न पाउनु पनि निकै ठूलो कुरा थियो। यिनै सरकारी संयन्त्रमा काम गरेका र पद्धतिगत कुरासमेत थाहा पाइसकेका व्यक्तिले ‘एसियाली मापदण्ड: मन्त्रीमण्डलको ठगी खाने भाँडो’ शीर्षकमा लेख छपाएर केही महिना जेल बस्नुपरेको हक्की इतिहास पनि साथैमा छ।
यो विविधता र सक्रियतामाझ २०६२ सालको जगदम्बाश्री पुरस्कार पाउँदा रिसालबारे गरिएको प्रशस्ति मलाई निकै राम्रो लागेको थियो जहाँ लेखिएको थियो— “गत आधा शताब्दीदेखि नेपाली छापादेखि विद्युतीय माध्यमसम्म पूर्ण रूपले संलग्न रही नेपाली पत्रकारितालाई सम्वर्द्धन गर्दै नेपाली भाषाको विकासमा अद्यापि उल्लेखनीय योगदान गरेबापत…!”
वामपन्थी विचार पक्षधर भैरव रिसालले राजनीतिक चेत र चेतनाको अन्तरमा राखेका कतिपय धारणा आफैंमा अनुकरणीय तथा हक्की लाग्ने गरेका थिए। विशेष गरी राजनीतिक वृत्तमा परिवर्तन र सुधारका निम्ति लागिरहेका नेताहरूलाई भैरव दाइले दिने गरेका सुझाव आफैंमा कडा प्रहारझैं लाग्ने गरेका थिए। एकताका भैरवले भारतीय थिचोमिचो र आपसी सम्बन्धमा रहने अडान–प्रतिबद्धताका मामलामा देखाउँदै आएको हेपाहा प्रवृत्तिबारे लेखेरै प्रतिवाद जनाउनुभएको थियो।
कपिलवस्तुको महलीसागर, रुपन्देहीको रसियावाल खुर्दलोटनजस्ता धेरै बाँध र बाँधजस्ता सडक बनाएर भारतले नेपालको सीमावर्ती भूभाग डुबानमा पारेकोबारे भैरवले लेखेरै आवाज उठाउनुभएको थियो। प्रधानमन्त्री ओलीलाई सम्बोधन गरेर लेखिएको भैरव रिसाल पत्र(आलेख)मा भनिएको थियो— “सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू, समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीको हटलाइन टेलिफोन नम्बर थिचिहाल्नुहोस् र भारतसँग जोडिएको तराईका डुबान क्षेत्रको हवाई निरीक्षण गर्ने प्रस्ताव राख्नुहोस्। दुवै प्रधानमन्त्रीले ती क्षेत्रहरूको सँगै अवलोकन गर्नुहोस् ताकि भारतीय प्रधानमन्त्री मोदीले पनि डुबानपीडित नेपालीको पीडा प्रत्यक्ष देखुन्। अनि उहाँका आँखा खुल्छन् कि?”
बन्द गरौं केबलकार !
यसरी एउटा बसाई वा लेखाइमा पूरा नहुने नाम हो भैरव रिसाल, जसले पुर्खादेखि चलिआएको पहिचान र रैथाने संस्कृति जोगाउने कुरा मात्रै गर्दै आउनुभएको थियो। हामीमध्ये धेरै सोच्छौं, विकास र सभ्यता निर्माण भनेको त्यही हो जो हामीले बनाएर दिन सक्छौँ, कृत्रिम रूपमै भए पनि रातारात खडा गर्न सक्छौँ। तर, त्यो होइन। भैरव रिसालका बुझाइमा यस्तो इतिहास र पहिचान, सभ्यता र गौरव त हामीसँगै छ, इतिहासदेखि छ। खाली त्यसलाई जोगाउन मात्रै सक्नुपर्यो।
हिजोआज हरेक पहाड र डाँडामा बन्दै गरेका केबल–कार र रिसोर्टहरू भित्रको तितो सत्य कतिसम्म हुन सक्ला—रिसालजीले भनिसक्नुभएको छ। उहाँले एउटा सन्दर्भमा शिवपुरी राष्ट्रिय निकुञ्जमा बन्नै लागेको केबल कार र निकुञ्ज लक्षित गरेर भनेको भए पनि यो यत्रतत्र सर्वत्र सबैतिर मिल्छ। प्रकृतिबिरोधी बन्न लालायित हामी सबैका लागि र विशेषतः आजको पुस्ताका लागि रिसालजीको यो विवेक र बुझाई मात्रै पनि काफी छ। उहाँले भन्नुभएको छ—“रिसोर्ट मान्छेले बनाउने हो तर, निकुञ्जहरू मान्छेले बनाउने होइन। यो त प्रकृतिले दिने उपहार हो। तसर्थ प्रकृतिमाथि आक्रमण नगरौँ, बरु संरक्षण गरौं। पैसा कमाउने मित्रहरू, यस कारण पनि शिवपुरी निकुञ्जमा आँखा नगाड्नोस्।”
स्वभावतः कोही व्यक्तिको मृत्युपछिको शोक–समवेदना र श्रद्धाञ्जलीका पुष्पगुच्छा धेरैजसो औपचारिकताझैँ हुन्छन्, लाग्छन्। तर, भैरव रिसालज्यूको सामयिक (म असामयिक भन्न चाहन्नँ) निधनको स्मरण मात्रैले गहिरो रिक्तताको अनुभव बोध हुन्छ। हुम्लामा उज्यालो कार्यक्रम होस् वा चेपाङ बस्तीमा रेडियो, बाजुराका स्कुलमा शब्दकोश होस् वा 'उहिले बाजेका पालामा'! यी यस्ता परिपूरक नामकाम हुन् कि भैरव रिसालको नश्वर चोला यो जगतमा आज नरहे पनि उहाँ सधैंसधैं बाँचिरहनुहुनेछ।
भैरव रिसाल भन्ने गर्नुहुन्थ्यो—‘उमेर त एउटा अंक न हो, गणना मात्रै। तनमा बूढो देखिएर केही हुन्न, मन–बचन–कर्ममा बूढो बन्नुहुन्न।’ साँच्चै, यो सत्प्रेरणा र सुविचार आफैमा सोचको सकारात्मकता थियो। यही सकारात्मक सोच–विवेक सकेसम्म म आफूमा ल्याउने प्रयास गरिरहेको हुन्छु, यो सबै भैरव रिसाल दाइको अन्तर्प्रेरणा हो, आशीर्वाद हो।
तन–मन–वचनले श्रद्धासुमन छ प्रिय भैरव दाइ!
(पुरी युनेस्को अवार्ड विजेता सम्पदाविद् हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
