एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी

एकै शैक्षिक सत्रमा १३ जोडी जुम्ल्याहा विद्यार्थी हुनु दुर्लभ र गौरवको विषय भएको सिद्धार्थ आवासीय माध्यमिक विद्यालयले जनाएको छ।

तस्वीर : रासस

कावासोती– पूर्वी नवलपरासीको कावासोती–३ स्थित सिद्धार्थ आवासीय माध्यमिक विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी अध्ययन गरिरहेका छन्। 

नर्सरीदेखि कक्षा १० सम्म १३ जुम्ल्याहा जोडी रहेको संस्थापक प्रध्यानाध्यपक भोजराज दाहालले बताए। “विगतमा पनि जुम्ल्याहा विद्यार्थी पढ्न आउने गरेका थिए। एकैपल्ट यतिधेरै आएको पहिलो पटक हो”, दाहालले भने, “एउटै शैक्षिक सत्रमा १३ जोडी जुम्ल्याहा विद्यार्थी हुँदा गर्व लागेको छ।”

उनले जुम्ल्याहा जन्म आफैँमा दुर्लभ भएकाले जुम्ल्याहा विद्यार्थी आफ्नो विद्यालयको गौरव भएको उनको भनाइ छ। “हाम्रा लागि दुर्लभ मात्रै होइन ऐतिहासिक पनि हो, हामी यी नानी बाबुको अध्ययन अध्यापनमा कुनै कमी हुन नदिने गरेर लागेका छौँ”, दाहालले भने। विद्यालयका शिक्षकसँग पनि फरक अनुभव छ।

जुम्ल्याहा विद्यार्थीमा सहकार्य र प्रतिस्पर्धाको भावाना रहेको सामाजिक विषयका शिक्षक ईश्वर पौडेलले बताए। अनुहारमा एकरुपता भएकाले कहिलेकाहीँ झुक्किने गरे पनि जुम्ल्याहा जोडीसँग व्यवहार गर्न सजिलो हुने पौडेलले बताए। जुम्ल्याहा विद्यार्थी अन्यजस्तै पढाइ र अतिरिक्त क्रियाकलापमा अब्बल छन्। कक्षा १० मा अध्ययनरत दाजुबहिनी निहाल क्षेत्री र निहारिका क्षेत्री दुवैले जुम्ल्याहा भएर जन्मिन पाएकामा गर्व लागेको बताए।

एउटै कक्षाको पढाइ भएकाले घरमा अध्ययन गर्न सजिलो भएको र अभिभावकको माया बराबर पाउने उनीहरू बताउँछन्। कक्षा ८ मा पढ्ने रीतिका र रिया सापकोटा पनि जुम्ल्याहा दिदीबहिनी हुन्। “हामी एउटै कक्षामा अध्ययन गर्ने भएकाले कहिलेकाहीँ साथी र सरहरूसमेत झुक्किनुहुन्छ”, रियाले भनिन्।

शुरूमा हुर्काउन सम्स्या भए पनि दुवै सन्तानले सँगसँगै प्रगति गरेको देख्दा भने खुसी लाग्ने गरेको रिया र रीतिकाका बुबा रिसिकान्त सापकोटा बताउँछन्। “सँगै पढ्ने, सँगै खेल्ने, एकअर्काको भावना अरु बच्चाले भन्दा छिट्टै बुझ्ने भएकाले पनि रमाइलो लाग्छ”, उनले भने।

२०४६ सालमा स्थापना भएको विद्यालयले ३३औँ वार्षिकोत्सवमा जुम्ल्याहा सन्तान र उनीहरूका अभिभावकलाई सम्मान गरेको छ।