शिलालेख ‘ठड्याउन’ मात्रै खुल्यो कोरला नाका

‘कोरला नाका’ जम्मा एक दिनलाई खुल्यो, त्यो पनि काठमाडौँदेखि गृहमन्त्री लेखकलाई हेलिकप्टरमा ओसारेर। ठूलै होहल्ला भयो, तर सबै ‘देखाउने दाँत’ साबित भयो।

तस्वीर : देवेन्द्र/उकालो

कोरला (मुस्ताङ)— नेपाल–चीन सीमावर्ती नाका कोरला सञ्चालनमा तदारुकता देखाउँदै गृहमन्त्री रमेश लेखक गत कात्तिक १४ गते अध्यागमन कार्यालय उद्घाटन गर्न मुस्ताङ पुगेका थिए। हेलिकोप्टरमार्फत जिल्लाका प्रमुख अधिकारीसहित कोरला पुगेका गृहमन्त्री लेखकले एउटा प्रि–फ्याब भवनमा कार्यालय उद्घाटनको शिलालेख ठड्याए।

भन्सार, क्वारेनटाइनसहितका संरचनामा जिम्मेवारी तोकिएका आ‍ठ सरकारी कर्मचारी पनि नाका उद्घाटनका अवसरमा उपस्थिति जनाउन कोरला पुगेका थिए। केरुङ (रसुवा), तातोपानी (सिन्धुपाल्चोक) र यारी (हुम्ला) पछाडि चीनसँगको चौथो व्यापारिक नाका कोरला तत्काल सञ्चालनमा आइहाल्ने मन्त्री लेखकको घोषणामा ताली पिट्ने केही सरकारी कर्मचारी, प्रहरी र थोरै मुस्ताङवासी थिए। तिहारको मुखैमा ठूलै तामझाम र होहल्लाबीच गृहमन्त्री, जिल्लाका प्रमुख पदाधिकारीलगायत कोरला पुगेर द्विदेशीय व्यापार सम्बन्धबारे मन्तव्य दिए पनि त्यो माहौल मुस्किलले एक दिन मात्रै कायम रहन सक्यो।

“मन्त्री र उच्च पदाधिकारी केही घण्टा कोरला बसेर हेलिकोप्टरमै जोमसोम–पोखरा फर्किए, अनि कार्यालय सञ्चालनमा आएका कर्मचारी लोमान्थाङ हुँदै गाडीमा घर फर्किहाले”, लोमान्थाङ गाउँपालिकाका एक वार्ड सदस्य भन्छन्, “चाड (तिहार) सकिएपछि फर्किएर काममा आउँछौँ भन्थे, अर्को साल (२०८२) लागिसक्यो, कोही आएका छैनन्।”

स्थानीयका अनुसार त्यसयता नाकाको अध्यागमन कार्यालयमा तालाचाबी झुन्डिएको छ। निगरानी गर्न आएका प्रहरीका लागि टुसुक्क बस्ने ठाउँ पनि छैन न शौचालय, खानेपानीसम्मको प्रबन्ध गरिएको छैन। कोरलाको दशगजा पारि भने सूचना प्रविधिसहितको भन्सार कार्यालय, क्वारेनटाइन, एनिमल क्वारेनटाइन, प्रयोगशाला, कर्मचारी आवास, गोदाम, पार्किङसहित सुरक्षाकर्मीका लागि विशिष्ट आवास प्रबन्धसहितको संरचना तयार भइसकेको छ।

साथै, झन्डै ११०० घरपरिवारलाई यो नयाँ बसोबास क्षेत्रमा स्थानान्तरण गरेर चीनले कोरला नाकालाई थप प्रभावकारी बनाउन थालिसकेको छ। बसोबास प्रयोजनमा थप ५०० घर आगामी वर्षभित्रमा निर्माण भइसक्ने जनाइएको छ।

निर्माणाधीन सडक कालीकण्डकी–करिडोरको शुरूआती बिन्दुका कारण पनि कोरला नाका चर्चामा आएको हो। गण्डकी प्रदेशको नवलपुर, गैँडाकोटदेखि मुस्ताङको कोरलासम्म ४३५ किलोमिटर लामो सडकलाई कालीगण्डकी–करिडोर नामकरण गरिएको छ।

भू–रणनीति झल्कने नाका
पूर्वाधार तयार नभईकन कोरला नाकाबाट १४ किलोमिटर तल न्हेछुङमा सशस्त्र प्रहरी बलको स्टेसन(बीओपी) र त्यहीँ भन्सार कार्यालय स्थापना गर्दै माथि कोरला नाका खोलिहाल्नुमा भूराजनीतिक–कारण पनि थियो। त्यसमा पनि सरकार गठनको ५ महिना बितिसक्दा पनि दक्षिणी छिमेकबाट भ्रमणको निम्तो नआइरहेको पृष्ठभूमिमा उत्तरी छिमेक भ्रमणमा जान लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल कोरला नाका सञ्चालनमा ल्याउन निर्देश गरेका थिए। प्रधानमन्त्री ओली उक्त नाका सञ्चालनको एक महिनापछि गत वर्ष मंसिर १७ मा चीन भ्रमणमा गएका थिए।

परराष्ट्र मन्त्रालयमा दक्षिण एशिया महाशाखाका एक अधिकारीका अनुसार, ‘दक्षिणी छिमेकी भारतलाई देखाइदिन र उत्तरी छिमेकीसामु निकटस्थ बन्न’ कोरला नाका खोल्न लगाइएको थियो। “स्वयं सरकारका गृहमन्त्रीसहितका उच्च अधिकारी कोरला नाकामा पुगेर उद्घाटन गर्ने र समाचारमा छाउने प्रयोजन पूरा भए पनि नाका सञ्चालनमा पूर्वाधारसहितको सहज प्रबन्ध नरहेको भनेर गृह मन्त्रालयले हामीलाई लिखित/मौखिक अवगत गराउँदै आएको छ”, परराष्ट्रका ती अधिकारीले भने।

विशेषतः मानसरोवर जाने यात्रुका लागि कोरला सहज नाका हुन सक्ने र यसमा भारतीय यात्रु पनि आकर्षित हुने अनुमान गरिएको थियो। ‘निषेधित क्षेत्र’ तोकेको उपल्लो मुस्ताङ प्रवेशमा ५०० डलर शुल्क तोकिए पनि कोरला नाकामा अध्यागमन/भन्सारसहितको प्रबन्ध नभएका कारण कोही पनि त्यसतर्फ जान इच्छुक देखिएका छैनन्।

“पक्कै पनि कोरला नाका सञ्चालनमा केही पूर्वाधार निर्माण र तयारी बाँकी रहेको यथार्थ हो,” अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजाल भन्छन्, “यसो भन्दैमा कुनै प्राथमिकताबिना हतारमै उक्त नाका उद्घाटन गरिएको भने होइन।”

गत वर्ष कात्तिकमा कोरला नाका उद्घाटनमा सरिक महानिर्देशक रिजालले उक्त नाकास्थित अध्यागमन कार्यालयमा एक जना अधिकृतसहित चार जनाको दरबन्दी कायम रहेको र तत्काल द्वितर्फी यात्रु आवागमन नदेखिएको अवस्था रहेको जानकारी दिए। 

“कोरला नाकाबाट चीनको मानसरोवर जाने वा तल मुक्तिनाथ झर्ने यात्रुको आवागमन रहन्छ भन्ने हो। भिसा प्रदान गर्ने प्रक्रिया शुरू हुनासाथै राजस्व दाखिला हुने र यसका लागि बैंक स्थापना हुनुपर्ने हुन्छ,” महानिर्देशक रिजालले भने, “कोरलामा खानेपानीसहितको आवश्यक प्रबन्ध गर्न बाँकी छ। तर, धेरै काम अनलाइन सिस्टममा चल्ने भएकाले आवश्यक परिस्थितिमा नाका सञ्चालन हुन सक्ने अवस्थामा छ।”

कोरला नाका, अध्यागमनमा खटाइएका शाखा अधिकृत जीवन पौडेल अहिले व्यक्तिगत कामविशेषले पोखरा बस्दै आएका छन्। “म कोरला नाकामा चार दिन मात्रै हाजिर भएर परीक्षाका लागि पोखरा आएको छु, माथि पानी–बिजुलीसहित अरू पूर्वाधार बन्न बाँकी रहेको अवस्थामा तत्कालै माथि गएर काम गर्न सक्ने अवस्था छैन,” पौडेलले भने, “हाम्रा कर्मचारी अहिले सशस्त्र बीओपी रहेको न्हेछुङ(छोसेर)स्थित अध्यागमन कार्यालयमा बसेरै काम गरिरहेका छन्।” तर, न्हेछुङको अध्यागमन कार्यालयमा सोधिखोजी गर्दा त्यहाँ अध्यागमनका कोही कर्मचारी पनि भेटिएनन्।

मुस्ताङका जिल्ला प्रमुख अधिकारी विष्णुप्रसाद भुसाल पनि गत कात्तिकमा नाका उद्घाटनमा हेलिकोप्टर चढेरै जोमसोमबाट कोरला उत्रिएका थिए। “कोरला अध्यागमन कार्यालयमा आवश्यक पूर्वाधार छिट्टै तयार हुने भनेको हो, काम हुँदैछ,” भुसालले पनि गृह–कार्यशैलीको बचाउमा भने, “अध्यागमनमा खटाइएका अधिकृत साथीको परीक्षा छ रे। भन्सारका साथ पनि खटाएका छौँ। अब नाका सञ्चालनमा आउनेछ नै।”

चीन आइसक्यो, नेपाल हेरेको–हेर्‍यै
उपल्लो मुस्ताङ, लोमान्थाङमा १६ वर्षयता किराना पसल चलाइरहेका व्यापारी पासाङ वाङ्दीका अनुसार कोरला नाकामा चीनले भन्दा नेपालले आफ्नो तयारी र यात्रु आवागमनको प्रक्रियामा सहजीकरण गर्न सकेकै छैन। “नेपालको भन्सारले सबै प्रक्रिया रोकेको छ किनभने केही पनि तयारी छैन। भन्सार काट्नै मिल्दैन। नाकामा आवश्यक क्वारेनटाइन, खाद्य–नापतौल केही पनि तयार भएकै छैन,” वाङ्दीले सुनाए।

उनका अनुसार चीनपट्टिको नाका बजारमा बनेको ठूलो भवनमा नेपालतर्फका ६४ वटा पसल राख्ने स्टल दिइएको छ। त्यहाँ स्टलमा बिहान ९ देखि बेलुका २ बजेसम्म वारि लोमान्थाङ वा लो–घेकर दामोदर कुण्डदेखिका व्यापारी नेपाली सामान राखेर व्यापार गर्न पाउँछन्।

“व्यापारका लागि पारिसम्म जान हामीलाई पास दिइएको हुन्छ। मेरो पनि पसल त्यहाँ छ। चाउचाउ, चामल, चिउरा, बिस्कुट, चाँदीका सामान, तामाका भाँडा, गलैँचा आदि हामी बिक्रीमा लिएर जान्छौँ,” व्यापारी वाङ्दीले सुनाए, “तर, नेपालपट्टि अध्यागमन, भन्सारको केही काम नभएकाले उताबाट भने जति सामान ल्याउन सकिन्न। हातमा झोला बोकेर ल्याउने जति सामान मात्रै यता आउँछ।”

कोरला नाकाको नेपालपट्टि भने केही चिनियाँ तथा नेपाली व्यापारीले भुईंमा पाल बिछ्याएर वा खाटमा राखेका भरमा केही घरायसी सामान, बियर–वाइन, केटाकेटीका कपडा, जुत्ता–चप्पल बिक्रीमा राखेका छन्। “यही नाकासम्म रमिता हेर्न आउने नेपाली यात्रुले चिनियाँ चिनो भन्दै सामान किन्ने गर्छन्, दिनको २०/२५ हजार रुपैयाँको बिक्री हुने गरेको छ”, लो–घेकर दामोदर कुण्ड गाउँपालिकाबाट कोरला आएकी व्यापारी निंगा डोल्करले भनिन्, “अनि बेलुका भएपछि यहीँ टाँगिएको तम्बुमा आ–आफ्ना सामान राख्छौँ, रुँगुवा पनि कोही कोही बस्छन्। व्यापार गर्न त्यति सजिलो छैन।” 

लोमान्थाङ गाउँपालिका–१ मा पर्ने कोरला नाकामा नेपाल–चीन सीमावर्ती २४ नम्बर जंगेस्तम्भ राखिएको छ। नजिकै व्यापारीले भाडामा राखेको राष्ट्रिय झन्डा बोकेर स्तम्भ छेउछाउमा तस्वीर खिच्ने वा टिकटक बनाउने नेपाली पर्यटक थुप्रै भेटिने गरेका छन्। नाकामा सशस्त्र प्रहरीका दुई जवान निगरानीमा बसेका भेटिन्छन्, उनीहरू पनि आठ किलोमिटर तल नेचुङमा रहेको सशस्त्र पोस्टबाट बिहान ७ बजे आउँछन् र बेलुकी ५ बजेसम्म ड्युटी गर्छन्।

“नाकाको उद्घाटनचैँ राम्रैगरी भयो, गृहमन्त्री आएर भाषण नि गर्नुभयो”, लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टासी नोर्बु गुरुङ भन्छन्, “उता पारि चीनले भने सबै पूर्वाधार तयार गरिसक्यो। भन्सार, अध्यागमन, क्वारेनटाइन, सुख्खा बन्दरगाह सबै बनिसकेको छ। यता एउटा प्रतीक्षालय, शौचालय पनि छैन। माथिबाट सरकारले नगरेपछि हाम्रो केही नलाग्ने रहेछ।” 

नोर्बु यतिखेर कोरला नाका सञ्चालन र उचित व्यवस्थापन जुटाइदिन सिंहदरबारमा अर्थ, गृह र अरू सरोकारवाला मन्त्री भेट्न दौडधुप गरिरहेका छन्। मुस्ताङ निषेधित क्षेत्र भए पनि रसुवाको केरुङ नाकामा दिएजस्तै कोरलामा पनि चिनियाँ पर्यटकका लागि निःशुल्क भिसाको प्रबन्ध गरिनुपर्नेमा पनि बहस शुरू भएको नोर्बुले सुनाए।

कोरला नाकासमेत हेर्ने न्हेछुङस्थित बोर्डर आउट पोस्ट(बीओपी)का सशस्त्र प्रहरी निरीक्षक विष्णुहरि थापाका अनुसार, यो पोस्टमा अहिले २८ प्रहरी कार्यरत छन्। भन्सार र अध्यागमनका कर्मचारी पनि यहीँ बस्छन्। “स्रोतसाधनको कठिनाइमाझ यो भेगमा सेवा–सुरक्षाको जिम्मा पूरा गरिरहेका छौँ”, दुई महिनाअघि मात्रै मुस्ताङको हुम्दे बीओपीबाट न्हेछुङ आएका निरीक्षक थापाले भने, “यहाँको भौगोलिक विकटता र द्विदेशीय नाकाको संवेदनशीलतालाई ध्यानमा राखेर बीओपीले आफ्नो तहमा सकेको काम गरिरहेको छ।”

चीनपट्टि एकीकृत भन्सार कार्यालयको संरचना निर्माण भइसके पनि नेपालतिर भने व्यवस्थित भन्सार कार्यालयका निम्ति पहल मात्रै जारी छ। विगतको प्रतिबद्धताअनुसार, दशगजानजिकै एक हजार रोपनी जमिन भन्सारका नाममा ल्याउने प्रक्रिया पनि टुंगिएको छैन। यस कार्यमा नेपाल इन्टरमोडल ट्रान्सपोर्ट डेभलपमेन्ट बार्डले काम गरिरहेको छ। चीनतर्फ भने तिब्बत सिमाना नजिकै लिजी–नेचुङ बन्दरगाहसमेत सञ्चालनमा छ।

कोरला सीमावर्ती विन्दुमा तिब्बतको झोम्बा काउन्टी पर्छ। चिनियाँ राष्ट्रपति सी जिनपिङले २०१९ अक्टोबरमा नेपाल भ्रमण गर्दा यो कोरला नाका सम्बन्धित लिजी–नेचुङ व्यापारिक मार्ग खुला गर्ने र थप सहजीकरण गर्ने सम्झौता भएको थियो। मुस्ताङको सदरमुकाम जोमसोमबाट लोमान्थाङ हुँदै कोराला नाका पुग्न ११० किलोमिटर लामो दुई लेनको राजमार्ग अहिले सञ्चालनमा छ।