नेपाललाई लेग स्पिनरको संकट, सन्दीपको विकल्पमा तयार पारिएकै थिएनन् खेलाडी

केही समय अघिसम्म राष्ट्रिय क्रिकेट टोलीमा स्पिन आक्रमणको नेतृत्व 'गुगली बोई' सन्दीप लामिछानेले गर्थे। क्यानले उनको विकल्पमा लेग स्पिनर तयार नगर्दा अहिले नेपालको बलिङ आक्रमण नै कमजोर भएको छ।

काठमाडौँ- हरेक स्वरूपको क्रिकेट प्रतियोगितामा बलिङको शुरूआत प्राय: तीव्र गतिका बलरबाट हुन्छ। तर, समग्रमा बढी विकेट लिने खेलाडीको सूचीको अग्रपंक्तिमा स्पिनर छन्।

टेस्ट क्रिकेटमा सबैभन्दा बढी विकेट लिने बलर श्रीलंकाका मुथैया मुरलीधरन हुन्। दोस्रो स्थानमा अष्ट्रेलियाका शेन वार्न छन्। मुरलीधरन अफ ब्रेक हुन् भने वार्न लेग स्पिनर। एक दिवसीय अन्तराष्ट्रिय (ओडीआई) मा बढी विकेट लिने पनि मुरलीधरन नै हुन्।

टी२० अन्तराष्ट्रियमा बढी विकेट लिनेको शीर्ष दुई र तीन नम्बरमा पनि स्पिनर छन्। दोस्रो नम्बरमा बंगलादेशका बायाँ हाते अर्थोडक्स सकिब अल हसन र तेस्रोमा अफगानिस्तानका लेग स्पिनर राशिद खान छन्।

नेपाली क्रिकेटमा ओडीआई र टी२० आई दुवैमा बढी विकेट लिने खेलाडीको शीर्ष स्थानमा लेग स्पिनर सन्दीप लामिछाने छन्। सन् २०१८ मे ३१ मा आईसीसी विश्व ११ बाट वेस्ट इन्डिजविरुद्धको खेलमा पहिलोपटक टी२०आई डेब्यू गरेयता उनले २९ इनिङ्समा ६९ विकेट लिएका छन्। त्यही वर्ष अगस्ट १ मा नेदरल्यान्ड्सविरुद्ध ओडीआईमा डेब्यू गरेका उनले ४३ इनिङ्समा ८५ विकेट लिएका छन्।

बलात्कार अभियोगमा पूर्पक्षका लागि थुनामा पठाइएका सन्दीप अहिले टिममा छैनन्। उनी नेपाली राष्ट्रिय क्रिकेट टोलीका एक्ला लेग स्पिनर थिए। उनी नहुँदा पछिल्ला ओडीआईमा कप्तान रोहित पौडेलले कुशल भुर्तेललाई ‘पार्ट टाइमर लेग स्पिनर’को रूपमा प्रयोग गरे।

नामिवियाको विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लब मैदानमा भएको विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको पछिल्लो त्रिकोणात्मक सिरिजमा नेपाललाई लेग स्पिनरको अभाव खड्किएको पूर्वराष्ट्रिय खेलाडी सन्जम रेग्मी बताउँछन्। स्कटल्यान्ड र नामिबियासँग दुई खेल मात्र खेलेका भुर्तेल विकेटविहीन भएका थिए।

“अहिलेको परिस्थितिमा जेनुइन लेग स्पिनर टिमको अक्सिजनजस्तै भइसक्यो। तर, हामीले विकल्प खोजेका छैनौँ। सन्दीप हुँदा नै हामीले विकल्प खोजेर ब्याक अप तयार गर्नुपर्ने थियो”, उनी भन्छन्, “सन्दीप अहिले टिमबाहिर छन्। उनको स्थानमा ब्याट्सम्यानलाई पार्ट टाइमको रूपमा प्रयोग गर्नेभन्दा नियमित लेग स्पिनर खोज्नुपर्छ।”

नेपालले अन्तराष्ट्रिय क्रिकेट खेल्न थालेदेखि नै राष्ट्रिय क्रिकेट टोलीमा लेग स्पिनरको कमी थियो। सन् १९९६ मा पहिलोपटक अन्तराष्ट्रिय प्रतियोगिता खेल्दा नेपालसँग लेग स्पिनर नै नभएको त्यसबेलाका उपकप्तान एलबी क्षेत्री बताउँछन्। सन् १९९९ मा उनकै कप्तानीमा राष्ट्रिय टिममा डेब्यु गरेका जयप्रकाश सर्राफ नेपालका पहिलो लेग स्पिनर हुन्।

पूर्वराष्ट्रिय खेलाडी रेग्मीका अनुसार बलिङ आक्रमणमा विविधता ल्याउन ‘प्लेइङ इलेभेन'मा लेग स्पिनर आवश्यक हुन्छ। “नेपाली टोलीको छनोटकर्ताहरू आक्रमणमा किन विविधता चाहँदैनन्? यदि चाहन्छन् भने छनोटकर्ताले जिल्लामा रहेका हामीजस्ता छनोटकर्तालाई किन लेग स्पिनर खोज्न किन लगाएनन्? किन लेग स्पिनर प्रयोग गर्न खोजेनन्?,”  उनी भन्छन्।

अहिले राष्ट्रिय टोलीबाट खेलिरहेका स्पिनर सागर ढकाल र ललित राजवंशी बायाँ हाते अर्थोडक्स हुन्। नेपालमा बायाँ हाते अर्थोडक्सकै बाहुल्य छ। यसअघि राष्ट्रिय टोलीमा पर्ने गरेका सुशन भारी, साहब आलम, बसिर अहमद, कुशल मल्ल सबै बायाँ हाते अर्थोडक्स हुन्। नेपाली टोलीका संकट मोचक मानिएका वसन्त रेग्मी र शक्ति गौचन पनि बायाँ हाते अर्थोडक्स नै थिए।

राष्ट्रिय टिममा बेलाबेला पर्ने गरेका पवन सर्राफ अफ ब्रेक हुन्। पार्ट टाइम बलर दीपेन्द्रसिंह ऐरी र देव खनाल पनि अफ ब्रेक हुन्। पूर्वखेलाडी सञ्जम रेग्मी र अलराउन्डर तथा पूर्वकप्तान पारस खड्का अफ ब्रेक बलिङ गर्थे।

परम्परागत रूपमै नेपाली राष्ट्रिय टोलीमा लेग स्पिनर निकै कम छन्। जयप्रकाशबाहेक राजकुमार प्रधान र सन्दीप लामिछाने मात्र नियमित लेग स्पिनर थिए। प्रधान र लामिछाने दुवै जनाले राष्ट्रिय टोलीबाट प्रभावशाली प्रदर्शन गरेका थिए।

प्रधान रोजगारीको सिलसिलामा मलेसिया, कतार र जापान पुगेका कारण उनले नेपाली टोलीबाट नियमित खेलेनन्। उनले सन् २००८ मा एसीसी ट्रफी एलिट कपअन्तर्गत हङकङविरुद्ध खेलेपछि पाँच वर्ष राष्ट्रिय टिममा परेनन्। प्रधानले ४१ वर्षको उमेरमा सन् २०१४ मा एसीसी प्रिमियर लिगमा अन्तिमपटक मौका पाएका थिए। त्यसपछि पनि राष्ट्रिय टोलीमा फर्किने कोशिश गरे। तर, बायाँ हाते अर्थोडक्स शक्ति र वसन्तले टोलीमा नियमित स्थान बनाइसकेका थिए भने अर्का लेग स्पिनर कुमार थापा पनि राष्ट्रिय टोलीको क्याम्पमा थिए। त्यसैले राजकुमारले फेरि अवसर पाएनन्। यद्यपि, नेपाल क्रिकेट संघ (क्यान)का छनोटकर्ताले कुमारलाई कहिल्यै प्रयोग गर्न चाहेनन्। 

कुमारले अन्तिमपटक इनरूवामा करिब दुई वर्षअघि भएको मनमोहन मेमोरियल राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता खेलेका थिए। उमेरले तीन दशक पार गरिसकेका उनी राष्ट्रिय टोलीमा नपर्ने छाँटकाँट देखेपछि क्रिकेटबाट टाढिन थालेका छन्।

“लेग स्पिनर भनेको अन्य स्पिनर जस्तै त हो नि भन्ने मानसिकता हाबी भयो। त्योबेला शक्ति र पछि वसन्तजस्ता युवा खेलाडीले टोलीमा नियमित स्थान बनाउन थालिसकेका थिए। त्यसैले होला म पनि टोलीमा पर्न छाडेँ र मेरो स्थानमा कुनै लेग स्पिनर आएनन्,” राजकुमार भन्छन्।

लेग स्पिनरको दबदबा
कुनै समय भारतको निकै चर्चित पत्रिका ‘क्रिकेट सम्राट’ मा प्रकाशित एउटा लेखमा भनिएको थियो, "अफ स्पिनको तुलनामा लेग स्पिनमा विविधता छ। तर, त्यसमा पूर्णता हासिल गर्न निकै गाह्रो छ। त्यसैले लेग स्पिनरको भविष्य उज्ज्वल छैन।"

यस लेख प्रकाशित भएको केही वर्षपछि विश्वमा दुई लेग स्पिनर शेन वार्न र अनिल कुम्बलेको उदय भयो। १९४ ओडीआई खेलेका वार्नले २९३ विकेट लिए। यस्तै, ७३ टी२० खेलमा ७० विकेट लिए।

कुम्बलेले सन् २००७ मा बर्मुडासँग अन्तिम ओडीआई खेलेका थिए। उनले २७१ खेलमा ३३७ विकेट लिएका थिए। त्यस्तै ५४ टी२० मा ५७ विकेट लिएका थिए। 

हाल छिमेकी देश भारतको लेग स्पिनको ‘डिपार्ट’ युजवेन्द्र चहलको काँधमा छ। उमेरले ३२ वर्ष कटिसकेका उनले ६७ ओडीआईमा ११८ विकेट लिइसकेका छन्। यस्तै, ७० टी-२० आईमा ८७ विकेट लिएका छन्।

टी२० आईको बलरतर्फ आईसीसी विश्व वरियतामा अहिले तीन जना लेग स्पिनर शीर्ष तीनमा छन्। पहिलो स्थानमा श्रीलंकाका वानिन्दु हसरंगा, दोस्रोमा अफगानिस्तानका राशिद खान र तेस्रोमा इङ्ल्यान्डका आदिल राशिद छन्।

इन्डियन प्रिमियर लिग (आईपीएल) मा लेग स्पिनरबिना कुनै पनि टोलीको कल्पना गर्न सकिँदैन। प्राय: हरेक आईपीएल टोलीमा लेग स्पिनर या चाइनाम्यान छन्। आईपीएलमा दबदबा भने भारतीय लेग स्पिनरहरूकै छ। युजवेन्द्र चहल, राहुल चाहर, रवि बिश्नोई, अमित मिश्रा, श्रेयस गोपाल, राहुल टेवाटिया, मयांक मार्कण्डे, कर्ण शर्मा, मुरुगन आश्विनलगायतले प्रभाव देखाइरहेका छन्। 

लेग स्पिनरले रन जोगाउन नभइ विकेट लिन खोज्ने क्रिकेट विश्लेषकहरू बताउँछन्। त्यसैले उनीहरूले सीमित अवसरहरू पाउन थालेको धेरैको भनाइ छ। कुम्बलेले एक अन्तर्वार्तामा भनेका थिए, “म पहिलो ओभर खेल्ने ब्याट्सम्यानलाई पूरै ओभर खेलाउने प्रयास गर्थेँ। यसका लागि मैले ओभरको लगभग हरेक बललाई सोही तरिकाले फ्याँक्थेँ। म बढीमा एक ओभर प्रयोग गर्थेँ। अहिलेको टी-२० को युगमा बलरहरूले एकै ओभरमा विभिन्न तरिका प्रयोग गर्छन्। विशेष गरी लेग स्पिन बलिङका लागि धेरै धैर्य र नियन्त्रण चाहिन्छ। अहिले त्यस्तो देखिँदैन।”

लेग स्पिनर भेट्नै मुस्किल
नेपालमा लेग स्पिनरको संख्या निकै कम छ। अहिले खेलिरहेकामध्ये दुई जना विक्रम भुसाल र मौसम ढकाल राष्ट्रिय टोलीको ढोका ढक्ढकाइरहेका छन्। २३ वर्षीय भुसालले अन्तिमपटक नेपालमा आयोजना भएको प्रो-क्लब च्यामपियनसिपमा खेलेका थिए। उनले पाँच खेलमा पाँच विकेट लिएका थिए।

अर्का लेग स्पिनर २१ वर्षीय ढकालले यसै वर्षको प्रधानमन्त्री कप ओडीआई प्रतियोगितका ६ खेलमा सर्वाधिक १५ विकेट लिएका थिए। सशस्त्र प्रहरी बल (एपीएफ)बाट घरेलु प्रतियोगिता खेलिरहेका ढकाल सन्दीपको विकल्प बन्न सक्ने राष्ट्रिय टोलीका सदस्य शरद भेषवाकर बताउँछन्। “मौसम एक राम्रो र क्षमता भएको लेग स्पिनर हो। तर, उनलाई कसरी र कहाँ प्रयोग गर्ने भन्ने कुरा महत्त्वपूर्ण हो। मौसमले भविष्यमा राम्रो प्रदर्शन गर्ने क्षमता राख्छन्।”, उनी भन्छन्।

पूर्वखेलाडी सञ्जम तीव्र गतिको बलरमा जस्तो लेग स्पिनरमा उमेरले फरक नपार्ने बताउँछन्। “तीव्र गतिको बलरलाई गतिले फरक पार्छ। उमेर ढल्किँदै गएपछि उनीहरू दौडिन सक्दैनन्। तर, लेग स्पिनमा उमेरले केही फरक पार्दैन। जति उमेर ढल्कियो त्यति नै माझिँदै जान्छन्”, उनी भन्छन्। 

विश्व क्रिकेटमा लेग स्पिनर ‘बोनस पोइट’ बनिरहेका छन्। नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जगत टमाटा पनि नेपाली क्रिकेटमा लेग स्पिनर आवश्यक रहेको बताउँछन्। “नेपाली क्रिकेटलाई पहिलादेखि नै लगभग स्पिनर बलरले धानिरहेको छ। तर, पछिल्लो समय पुरुष क्रिकेटमा लेग स्पिनर पाउन गाह्रो हुँदै गइरहेको छ। महिला टोलीको कुरा त परकै हो। टोलीमा एक लेग स्पिनर हुने हो भने त्यो बोनस पोइन्ट बन्न सक्छ”, उनी भन्छन्। 

करिब आधा दशक नेपाली लेग स्पिनको ‘डिपार्ट’ सम्हालेका सन्दीप थुनामा रहेका कारण चाँडै क्रिकेटमा फर्किने अवस्था छैन। यता, यू-१९ प्रतियोगितामा मिडियम फास्ट बलिङ गर्दै सिनियर टोलीमा टेकेका भुर्तेललाई पार्ट टाइमर लेग स्पिनर बनाउँदा ओपनिङ ब्याटिङ खलबलिएको छ। त्यसैले भुर्तेललाई पुनः ब्याट्सम्यानकै भूमिकामा फर्काउनुपर्ने र नियमित लेग स्पिनर तयार पार्नुपर्ने सन्जम बताउँछन्।