सामाजिक सञ्जालमा महिलामाथि अभद्र ‘ट्रोल’ बनाउने, स्त्रीद्वेषी अभिव्यक्ति दिने र कमेन्ट गर्ने गतिविधि चलिरहेको छ। यस्ता गतिविधिबाट अभिनेत्री, सामाजिक अभियन्ता र राजनीतिक दलका नेतासमेत पीडित छन्।
काठमाडौँ– एक टीभी कार्यक्रममा पूर्वयुवराज पारस शाहका छोरा हृदयेन्द्रबारे अभिनेत्री सुरक्षा पन्त भन्छिन्, “आउनुस् फिल्म इन्डस्ट्रीमा, राम्रो हुनुहुन्छ, लुक्स राम्रो छ। ... कुनै आर्टतिर लाग्नुभयो भने राम्रो हुन्छ। सिनेमा क्षेत्रमा पनि स्वागत छ।”
कार्यक्रम सञ्चालकले ‘कोही राजनीतिककर्मीको उहाँलाई राजा बनाए हुन्छ भन्ने अभिव्यक्ति मैले कहीँ पढेको थिएँ’ भनेपछि जवाफमा पन्त भन्छिन्, “अब राजा बनाउने भन्ने व्यवस्था त हामीले कहाँ स्वीकारेका छौँ! त्यो त भन्न सकिन्न।”
‘राजतन्त्र कि गणतन्त्र’ भन्ने प्रश्नमा पनि उनले गणतन्त्रको पक्ष लिइन्। उनको यही अभिव्यक्तिका कारण राजतन्त्रका समर्थकहरूले उनलाई ट्रोल मात्र गरेनन्, स्त्रीद्वेषी गाली नै गरे। उनीमाथि एकपछि अर्को अभद्र टिप्पणी गरियो। उनको समर्थनमा फेसबुक पोस्ट लेख्ने अर्की अभिनेत्री ऋचा शर्माविरुद्ध पनि यस्तै गाली बर्सियो।
राजनीतिक दलका महिला नेताले पनि यस्तो अभद्र टिप्पणी र गाली भोग्नुपर्छ। काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले गत वैशाख ११ गते एमालेले आयोजना गरेको ‘युथ सेलिब्रेसन’ विशेष कार्यक्रममा भनेकी थिइन्, “स्टन्ट गरेर देश बन्छ? स्टन्ट गरेर देश बन्दैन।”
उनले महानगर प्रमुख बालेन शाहलाई लक्षित गरेर उक्त अभिव्यक्ति दिएको धेरैको बुझाइ छ। यही भनाइका कारण डंगोल सामाजिक सञ्जालमा ‘ट्रोल’को शिकार बनिन्। उनको अभिव्यक्तिविरुद्ध ‘मिम’ पनि बने।
उनीविरुद्ध सामाजिक सञ्जालमा कटाक्ष गर्नेहरूले एमाले र अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको नाम जोडे। कसैले ओलीलाई ‘बा’ र डंगोललाई ‘छोरी’को रूपमा चित्रित गरिएका ‘एआई’बाट सिर्जित फोटो र भिडियो बनाए। डिप फेकमार्फत केहीले त डंगोल र ओलीको विवाहको फोटो पनि बनाए।
यसरी डंगोलविरुद्ध लाग्नेमा धेरैजसो राजतन्त्र र महानगर प्रमुख बालेन शाहका समर्थक देखिन्छन्। आफूलाई ‘राजावादी’ बताउने फैजी शाहीले फेसबुकमा डंगोलको डिपफेक भिडियो राखेर लेखका छन्, “मैँयाको यो नाच हेरेँ, उखाने केपीले कहीँ एआईलाई बन्द गर्छु नभनोस्।”
डंगोललाई अश्लील गालीगलौज गरिएका पोस्ट र कमेन्ट प्रशस्तै छन्। उनलाई अध्यक्ष तथा प्रधानमन्त्री ओलीकी ‘... छोरी’, ‘... नातिनी’ या ‘झोले’ जस्ता आरोप लगाउँदै गालीगलौज जनिने विशेषण प्रयोग गरिएको छ।
त्यसो त, स्त्रीद्वेषी टिप्पणी डंगोलकै पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री ओलीबाट पनि हुने गरेको छ। आफूलाई भेट्न आएका व्यक्तिसँग केही समयअघि ओलीले पूर्व शिक्षामन्त्री तथा सांसद सुमना श्रेष्ठतर्फ लक्षित गरेर ‘विदेशबाट घुम्न आएकी चेली फ्याट्ट मन्त्री भइछे’ भनेर अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा हालिएको थियो।
राजनीतिक दलका नेतासहित, आफूलाई सामाजिक अभियन्ता बताउने र अन्य व्यक्तिहरूले पनि बारम्बार स्त्रीद्वेषी अभिव्यक्ति दिन्छन्। गएको वैशाख १५ गते राजतन्त्रका समर्थकले गरेको तिनकुने केन्द्रित आन्दोलनपछि पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं बारम्बार यस्ता अभिव्यक्ति दिनेमा पर्छन्। २०७९ मंसिर ९ गते बैंक तथा वित्तीय संस्थाविरुद्धको आन्दोलनका क्रममा सिफलमा भएको सभामा उनले महिलाद्वेषी टिप्पणी गरेका थिए।
“नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले (युट्युबरहरूलाई) चिठी लेखेर पठाएको होइन? यहाँका चेलीबेटीलाई लिएर जानू। यी हाम्रा चेलीबेटी तीनचार दिनदेखि ननुहाई बसेका छन्। उनीहरूलाई लगेर बालकृष्णलाई...” त्यसपछि दुर्गा प्रसाईंले सार्वजनिक रूपमा प्रयोग गर्न नसकिने भाषा बोलेका थिए।
त्यसैताका प्रसाईंले (यूएईस्थित) दुबईका बाटामा नेपाली चेली ‘दुई दिराममा बिक्री भइरहेको’ बताएका थिए। प्रायः युट्युबरलाई लिएर हिँड्ने प्रसाईं सार्वजनिक ठाउँमा बोल्न नमिल्ने शब्दमा महिलाबारे टिप्पणी गर्थे र विभिन्न युट्युब च्यानलमा ती अभिव्यक्ति जस्ताको तस्तै राखिन्थे। अहिले भने प्रसाईं प्रहरीको हिरासतमा छन्।
पाँच वर्षअघि एउटा घटनामा गायिका आश्था राउतले पनि सामाजिक सञ्जालमा गालीगलौज खप्नुपरेको थियो। त्रिभुवन विमानस्थलमा ड्युटीमा खटिएका प्रहरीसँग अभद्र व्यवहार गरेको भन्दै उनी पक्राउ परेकी थिइन्। यसमा उनी ट्रोलको सिकार मात्र भइनन्, स्त्रीद्वेषी गाली नै खानुप¥यो। त्यसपछि उनले माफी मागेको भिडियो सामाजिक सञ्जालमा राखेकी थिइन्।
सामाजिक सञ्जालमा महिलामाथि अभद्र खालका ट्रोल बनाउने गतिविधि रोकिएको छैन। गालीगलौज र स्त्रीद्वेषी अभिव्यक्ति पनि प्रशस्तै देख्न सकिन्छ।
पुरुषप्रधान समाजको असहिष्णुता!
मानवशास्त्री सुरेश ढकाल जे भइरहेको छ, यसले सामाजिक सञ्जाल प्रयोगकर्ताको ‘पछौटे सोच’लाई चित्रण गर्ने बताउँछन्। यस्तो सोचका कारण महिला, पुरुष, नेता, जनता, कार्यकर्ता जोसुकै ट्रोल हुनसक्छन्।
यद्यपि, महिलाको सवालमा नेपाली समाज पितृसत्तात्मक मानसिकताबाट निस्कन नसकेको उनको भनाइ छ। “नेपाली समाज कहिले चाहिँ महिलाप्रति उदार, प्रगतिशील भयो र? अहिले समाज प्रतिगामी भएको मान्नुपर्छ,” उनी भन्छन्।
नाम उल्लेख नगर्ने शर्तमा एक जना सामाजिक–राजनीतिक विश्लेषक भन्छन्, “सुनिता डंगोल या भनौँ महिला राजनीतिज्ञलाई जहिल्यै पनि पुरुषप्रधान समाजले पुरुषको सबोर्डिनेट (सहायक)को रूपमा देख्न चाहन्छ, जब कोही महिला बराबरी अथवा च्यालेन्जको रूपमा प्रस्तुत हुन्छिन्, ती महिलामाथि पितृसत्तात्मक समाज खनिन्छ।” सुनिता डंगोल र सुमना श्रेष्ठका विषयमा पनि यही भएको उनले बताए।
नेपालको पहिलो जनआन्दोलनदेखि नै ‘आधुनिकता र महिला स्वतन्त्रता’को विषयमा अध्ययन गर्दै आएका अमेरिकी लेखक मार्क लिख्टी आफ्नो लेखमा ‘पेइङ फर मोर्डनिटीः वुमन एन्ड द डिस्कोर्स अफ फ्रिडम इन काठमाडौँ’मा लेख्छन्, “पुरुषप्रधान समाजको सार्वजनिक वृत्तमा कुनै पनि महिलाको उपलब्धि, उठानलाई पुरुषको हार अथवा पतनसरह मानिन्छ।”
मध्यम वर्गीय परिवारबाट उठ्न थालेका महिलाका लागि आधुनिकता विरोधाभासपूर्ण बनेको उनले उल्लेख गरेका छन्। राजनीति होस् वा अन्य व्यावसायिक करिअर, स्वतन्त्रता उपयोग गर्ने महिलाले वाहवाही र घृणा दुवै खेपिरहेको उनको भनाइ छ। सार्वजनिक वृत्तमा महिलाले आफ्नो क्षमताको प्रदर्शनीका लागि पाएको स्वतन्त्रता नै उनीहरूमाथि हुने हिंसा (विशेष गरीः यौनिक उपहास) को ‘इजाजतपत्र’ जस्तो बनेको समेत उनले जनाएका छन्।
राजनीतिक वृत्तमा यो प्रवृति अझ बढिरहेको मानुषीयमी भट्टराई बताउँछिन्। यस्तोमा आफ्नो मनोबल बलियो बनाउनुपर्ने उनको भनाइ छ। “बलात्कार (गर्ने) वा वेश्या (भन्ने) जस्ता धम्कीपूर्ण गाली सामाजिक सञ्जालमार्फत आउँछन्। राजकुमारी झाँक्री दिदी, सुनिता डंगोल, हिसिला यमी (आमा), मैले नै पनि तुच्छ गाली खेप्दै आएका छौँ,” उनी भन्छिन्।
महिलालाई निरुत्साही पार्न नियोजित योजना देखिने मानुषीको भनाइ छ। “इन्दिरा गान्धीलाई पनि गुन्गी गुडिया, चिक्टिक परेको र उनको पिताको छोरीको हिसाबले विशुद्ध रूपमा राजनीतिमा प्रवेश प्रमोट गरिएको थियो। तर जबपछि उहाँ बोल्न थाल्नुभयो, कठोर निर्णय गर्न थाल्नुभयो, त्यो पछिको इतिहास नै साक्षी छ,” उनी भन्छिन्।
सामाजिक सञ्जालमा गरिने अभद्र व्यवहारले नेपाली समाज र सञ्जाल दुवै अस्वस्थकर भएको मानुषीको तर्क छ। आलोचनात्मक हुनु र नकारात्मक हुनु फरक विषय भएको र महिला राजनीतिकर्मीले गैँडाको छालासरह कठोर तथा बलियो मानसिकता बनाउनुपर्ने उनी बताउँछिन्। “हामी एक ढिक्का हुन सकिरहेका छैनौँ। यसको एक मात्रै कारण छ, समर्थकलाई पनि हुने हमला। अभिनेतृ ऋचा शर्माले सुरक्षा पन्तको समर्थनमा बोल्दा उनीमाथि नै हमला हुन थाल्यो।”
मिडियाका गसिप पनि जिम्मेवार
मिडिया क्षेत्रमा मनोरञ्जन विधामा समाचारसँगै ‘गसिप’ चल्छन्। सेलेब्रिटीहरूको व्यक्तिगत जीवनका घटना गसिपका रूपमा प्रकाशन गरिन्छन्। गसिपमा सूचनामा मसला थपेर ‘पठनीय’ बनाइन्छ। यस्ता गसिप कति निजी र कति सार्वजनिक चासोको विषय हुन् भन्ने मिडियाले नै छुट्याएर नियन्त्रण नगरेको लेखक अर्चना थापा बताउँछिन्।
केही समयअघि मात्र मिडियामा नायिका अरुणिमा लम्साल, गायिक एलिना चौहानको सम्बन्धविच्छेदका समाचार आए। यस्ता गसिपका विषयलमा कति उत्तरदायी हुने भनेर मिडियाको भूमिकालाई पनि केलाउनुपर्ने थापाको भनाइ छ। “पहिले सामाजिक सञ्जालमा तर्क, वितर्क हुन्थे। त्यसबाट बहस अनि विचार निर्माण हुन्थ्यो। अहिले त्यो तुच्छ टिप्पणीमा परिवर्तन भएको छ,” उनी भन्छिन्।
कुनै महिलाले आफ्नो अभिव्यक्ति दिँदासमेत उनलाई चुप लगाउने स्थिति सामाजिक सञ्जालमार्फत हुन थालेको थापा बताउँछिन्। नेताहरूबाट अशोभनीय टिप्पणी हुने र मिडियाले ठाउँ दिने गर्दा त्यस्ता अभिव्यक्तिले प्रसय मिलिरहेको उनको भनाइ छ।
“महिला समानताको विषयमा संविधान बन्ने क्रममा धेरै कुरा राम्रो होला, महिलाले पाएको ३३ प्रतिशतको अधिकार बढेर ५० प्रतिशत होला भन्ने आशा थियो,” थापा भन्छिन्, “यसमा युवावर्गको महत्त्वपूर्ण भूमिका हुनेथियो। तर प्रविधिको पुहँचतालाई युवाले नै नेगेटिभ तरिकाले प्रयोग गरिरहेको छ, यो अपेक्षित थिएन।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
