बसिरहेका एक जोडी उठ्ने भए। अनि हामी त्यसैमा गएर बस्यौँ। मान्छे अरूलाई बसाउनभन्दा उठाउन चाहन्छ। मान्छे सामाजिक प्राणीभन्दा राजनीतिक प्राणी धेर हो कि!
यात्रा योजनाबद्ध भन्दा पनि झट्टपट्ट भएको आनन्द हुन्छ। हत्त न पत्त खरसाङबाट रेडियोको ड्युटी सकेर म र मनिष कानु दाइ दार्जिलिङ जान निस्कियौँ। बिहानै टलक्क घाम लागे पनि हिँड्ने बेला पानी फुस्फुसायो। उहिले खरसाङमा अधिक पानी पर्ने भएकोले अंग्रेजहरूले यो ठाउँलाई बंगालको चेरापूञ्जी भन्थे रे! हो नै रहेछ।
खरसाङबाटै दार्जिलिङको डाँडातिर आँखा डुलायौँ। घाम घमाइलो थियो। हामीले आफूलाई त्यतैतिर हिँडायौँ। खरसाङ बजारबाट पचास रुपियाँमा नै दार्जिलिङ पुग्नको लागि स्टेट बस पर्खिरहने फुर्सद थिएन। एउटा ट्याक्सी खाली आएको देख्यौँ, रोक्यौँ। हामीले सोध्नु अघि चालकले नै सोधे, "अन्त दा, डाज्लिङ हो?"
मैले उनले भनेको शब्दलाई बिस्तारै भनेँ, "दार्जिलिङ चाहिँ हो।" हामी सेकेन्ड सिटमा बस्यौँ। गाडीमा बस्दा म बस्न बसेको होइन सोच्न बसेको जस्तै भयो। दार्जिलिङ पहिले दोर्जेलिङ भनिन्थ्यो रे। जुन मैले सुनिनँ। किनकि त्यस समय कालमा थिइनँ। किन थिइनँ? कारण, त्यति बेला जन्मिइनँ। यसो किताबतिर दार्जिलिङ नामक इतिहास हेर्ने हो भने एक ठाउँ राजबहादुर राई लेख्नुहुन्छ, "दार्जिलिङलाई दोर्जेलिङ, दारज्युलिङ, दोर्लिङ, दुर्जयलिङ इत्यादि भनिए लेखिए तापनि सुन्नमा के पनि आएको छ भने दर्जीलिङमा प्रायः वर्षभरि नै सिमसिम पानी परिरहने हुनाले तथा साह्रै चिसो ठाउँ हुनाले अङ्ग्रेजहरूले यस ठाउँलाई ड्रिजलिङ एरिया भन्थे। यही शब्दबाट दार्जिलिङ भएको हो भनी एक जना बृद्ध ब्रिटिसले श्री एसके राईसित स्कटल्यान्डमा कुरा गरेका थिए।"
जे होस् मेरो समय कालमा आइपुग्दा दार्जिलिङ 'डाज्लिङ','डाजिङ' हुँदै 'डिजे'मा सांक्षेपीकृत भइसकेको छ।
घुम पुग्यौँ। उत्रेनौँ। गाडीबाट बाहिर हेरिरहेको थिएँ, अघिल्तिर रेल आउँदै थियो। दाइले फोटो खिचे। हाम्रै ठाउँको रेल, हामीले त फोटो खिच्न र हेर्न त सकिएको छ। चढ्न सकिएको छैन। ७,४०७ फिटको उचाइमा ब्रिटिसले लिक बिछ्याए। ४ जुलाई १८८१ सालमा रेल सिलगढी खरसाङ हुँदै दार्जिलिङसम्म ल्याइपुर्याए। लिकको छेउ लागेर सडक हुँदै बतासे पुग्यौँ, तर बतासे पसेनौँ। बतासेमा चिसो लाग्छ भनेर।
बतासे कहिले तातिएको छ? थाहा छैन। मलाई चिसो लागिरहेको थियो। दबाइ बोक्दै- खोक्दै दार्जिलिङ हिँडेको जो थिएँ। त्यसैले जोगिन खोजेको थिएँ। अघि धुवाँ उडाउँदै घुम पुगेको टोय ट्रेन अहिले फेरि अर्को इस्टीम इन्जिन बाफ उडाउँदै आइरहेको थियो। यही रेल चढेर मदर टेरेजा सन् १९४६-को सेप्टेम्बर महिनातिर दार्जिलिङ आएकी थिइन् रे। भनिन्छ दार्जिलिङमै मदरले गुरु-ज्ञान पनि पाएकी थिइन् रे!
दार्जिलिङमा जो पनि आए, उनीहरूले केके। पाए। ल्याए। लगाए। लगे।
दार्जिलिङमा अङ्ग्रेजहरू कसैले झारपात, रुख पात त कसैले कसैले चियापात उमारे। कसैले मधेसबाट यति माथि पहाडमा रेल उकाले। जसको सुसारे हाम्रै नेपालीहरू भए। नाटककार मनबहादुर मुखिया लेख्नुहुन्थ्यो-
'संसारभरी खुशी बाँड्छिन् पहाडकी रानी
तर टुहुरो झैँ रोइरहेछ आफ्नै काखकी नानी'
जाम्जिलिङ भनेर समेत चिनिँदै गरेको दार्जिलिङमा आज उस्तो ट्राफिक जाम थिएन। त्यसैले हामी दार्जिलिङ मोटर स्ट्यान्ड छिट्टै पुगेका थियौँ। मोटर स्ट्यान्ड भन्नासाथ भाषण सम्झना आउँछ। नेता सम्झना आउँछन्। अहिले यहाँ कोही नेता आएका थिएनन्। माइक घन्काएका थिएनन्। आखिर जहाँ पनि नेता आउने भनेको चुनाव आउने बेलामा नै हो। दुई भाइ यानेकी हामी दाजुभाइ चौरस्तातिर जान मोटरलाई स्ट्यान्डबाट दायाँ राखेर उकालो लाग्यौँ।
क्लब साइड जाने बाटो देख्दा मदन तामाङको याद आयो। गोर्खा लिगका नेता मदन तामाङ दिन दहाडै जनसभा गर्दागर्दै त्यहीँ मारिएका थिए। जसका कारण दार्जिलिङका जनताले एक योग्य नेता गुमाएका थिए। मदन तामाङलाई मैले कहिल्यै भेटिनँ। उनलाई पढेँ। सुनेँ। हेरेँ। घरीघरी युट्युब र फेसबुकमा मदन तामाङको भिडियो हेर्छु। धेरै भावुक हुन्छु। उनी नडराएर अघि आएर भनिरहन्थे, ''म त बेँड (बिँड) हो, जनता ताप्के हो। जनता तातोस्, म अगाडि छु। मेरो छाती अगाडि हुन्छ। युवाहरूको घिच्रो मुनी हुन्छ। मेरो घिच्रो माथि हुन्छ। निस्क। आँट गर। दरिलो खुट्टा टेक।''
अन्तमा उनकै घिच्रो अघि भयो, जसलाई खुकुरीको धारले रेटी गयो। डरको दार्जिलिङमा त्यसताक निडर कोही थियो भने उनै मदन थिए। दार्जिलिङमा कुनै नेताको मान थियो भने उनै मदन तामाङको थियो र छ। जो जहिल्यै प्रमाणसित बोल्थे। पहाडका बाघ भनिएका सुवासका पालामा पनि बोले। दाजुका पनि दाजु दरिएका विमल गुरुङको शासनकालमा पनि मदनले उनीहरूको पोल खोले। मलाई मदन नाम गरेको दुई जनामा निक्कै मोह जाग्छ। एक मुनामदनको 'मदन', अर्का यिनै 'मदन' तामाङ।
बाटो मुन्तिर सन्त रोबर्ट हाइ स्कुल देखिइरहेको थियो। मैले निबन्धकार राजनारायण प्रधान सम्झिएँ। नेपाली साहित्यका प्रतिष्ठित लेखक राजनारायण प्रधान कुनै समय यही विद्यालयका शिक्षक थिए। उनै राज सर महात्मा गान्धीलाई भन्थे, "नखाने चराजस्ता मरन्च्याँसे।" गान्धी सन् ४ जुन १९२५ मा दार्जिलिङ आएर पाँच दिन बसेका थिए। गान्धीजीले दार्जिलिङका जनतालाई तीन थोक उपदेशमा भनेका रहेछन्।
ती तीनमध्ये एक थियो, ‘रक्सी नपिउनु!’ गान्धीलाई मरन्च्याँसे चरा भन्ने राज सर आफै पनि मरन्च्याँसे चराजस्तै थिए, तर लेखनमा साह्रै दह्रा थिए। गान्धीजीको तीन मध्ये एक सन्देशलाई कहिल्यै नटर्ने जिद्दी थिए उनी। राज सरले मज्जाले नै रक्सी पिए। उकालो उक्लिएर दायाँ नै तेर्सिनु पर्ने हामी बायाँ तेर्सिएछौँ। चौरस्ता हिँडेको, 'जुहु' (चिडियाखाना) तिर'पो पुगेछौँ। हामीले बाटो बिर्सिएछौँ। जीवनमा बरु मान्छे बिर्सिनु तर बाटो कहिल्यै नबिर्सिनु। अभर परिन्छ। बाटो बिर्सिएपछि मैले यस्तै सम्झिएँ। दाइले सोधे, "भाइ हामी त जुहुतिर पो आइपुग्यौँ त?" मैले भनेँ, "दाइ हामी जुहुमा आउन होइन, बस्नसम्म सुहाउने छौँ।" दाइ हाँसे। हामी चौरस्तातिर फर्कियौँ।
भर्खरै गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन (जीटीए) ले आफ्नो प्रशासनिक क्षेत्राधिकारभित्र सम्पूर्ण सरकारी र गैरसरकारी कार्यालय, संस्थान, दोकानपाट इत्यादितिर बोर्डहरू अनिवार्य रूपमा नेपालीमा लेख्नुपर्ने विज्ञप्ति जारी गरेको थियो। बोर्डभन्दा पहिला बोलीमा काम हुनुपर्ने हो। हामी अहिले कति नेपाली बोल्छौँ? हामी बोर्डहरू हेर्दै हिँड्यौ। तर नेपाली भाषामा उस्तो प्रयोग भएको देखिएन। दार्जिलिङमा नेपाली भाषा प्रयोग गरिने र नगरिने विषयमा नै राजनीति हुने गर्छ। आन्दोलन हुन्छ।
सन् २०१७ को १०४ दिनको गोर्खाल्यान्ड आन्दोलन पनि बंगालले पहाडका विद्यालयमा जबरजस्ती बंगला भाषा थोपर्यो भन्ने निहुँबाटै सुरु भएको थियो। केन्द्र सरकारले हालै जनगणनामा जातीय जनगणना समावेश गर्ने निर्णय गरेको छ। अब फेरि पनि पहाडमा गोर्खा/नेपाली लेख्ने विषयमा गिजलो हुनेछ र स्वतः नेपाली भाषा बारेको विवाद पनि बिउँतने छ। जब जब दार्जिलिङमा भाषाको कुरा आउँछ, तब तब यसलाई निहुँ बनाइन्छ। यही निहुँमा कोही नेता कुर्सी चढ्छन् त कोही कुर्सीबाट झर्छन्। दार्जिलिङको मूल राजनीतिक मुद्दाको मुटु पनि माटो, भाषा र जाती नै हो, गोर्खाल्यान्ड दाबीको लागि। बेरस्ता भड्की हिँडेका हामी चौरस्ता पुग्यौँ।
मेरा एक जना साथी थिए। उनी नेपाली शब्दको पैरवी गर्दै मलाई भन्थे, "चौरस्ता होइन चौबाटो भनौँ।" मैले भनेँ, 'चौबाटो!' तर भनिरहन भने मन लागेन। भाषा भनेको शब्द मात्र होइन, ध्वनि पनि हो। ध्वनि भनेको मोहनी पनि हो। वाणी बानी पनि त हो। दार्जिलिङ बजार, डेल कर्नर, थर्न कटेज, चोक बजार हुँदै अहिले यो ठाउँलाई चौरस्ता भनिन्छ। यही नै प्यारो छ। चौरस्तामा खाली बेन्ची बिरलै पाइन्छ। हामीले एउटा खाली बेन्ची पाएका थियौँ, तर त्यसमा बसेनौँ। बसिरहेका एक जोडी उठ्ने भए। पर्ख्यौँ अनि हामी त्यसैमा गएर बस्यौँ। मान्छे अरूलाई बसाउन भन्दा उठाउन चाहन्छ। मान्छे सामाजिक प्राणी भन्दा राजनीतिक प्राणी धेर हो कि!
हामी दाजुभाइ बसेको बायाँपट्टि एक जोडा आइ बसे। मेरो आँखा त्यतै फसे। तर उनीहरूले मलाई देख्छन् कि भन्ने डरले आँखा यताउता दगुराई बसेँ। हिँड्ने बेला अफिसमा साथीहरूले मनिष दाइलाई सुझाउँदै थिए, "वियोगीलाई चौरस्तामा पुगेर पनि कविता लेख्न नदिने बरु कविता लिएर आउने बनाउने है!' साथीहरूको कविताको अर्थचाहिँ कविता नामको कुनै मायालु व्यक्तित्व रहेछ!
मैले केटी होइन, उभिएको भानुभक्तको सालिक हेरिरहेँ। उभिएको भानु हेरिरहँदा लाग्यो, "ए...कवि हुनु, ती माथि आदिकवि, महान् कवि हुनु त बिजोकै छ बरै! बिच बाटोमा उभ्याउँछन्। हावाहुरी। घाम पानी केही नभनी उभिएको छ, उभिएको छ। त्यो पनि काखीमा रामायण च्यापेर। न कसैले पढिदियोस्, न सुनिदियोस्। मान्छेले यसरी बाटोमा उभ्याउनु भन्दा मनमा नै बसाए हाम्रा 'जातीय कवि' कति माथि हुँदा हुन्!
दाइले आफ्नो फोटो खिच्न लाए। मैले पोजपोजमा खिचिदिएँ। फोटो हेरेर चित्तै बुझाएनन् र भने- भएन। 'जोक्स भन्ने'को झैं निस्कियो। मैले दाइलाई भनेँ, "यो जोक्स भन्नेकै शहर हो। हम जाएगाको। तपाईँ र म पनि हम जाएगा।" हुन त यति बेला 'हम जाएगा' छैनन्। उनका जोक्सचाहिँ छन्। अथवा उनको जोक्सजस्तै हामी छौँ। एक समयमा दार्जिलिङमा यस्तो चर्चित थोक थियो, त्यो हम जाएगाको जोक्स नै थियो।
सानामा हामी हम जाएगालाई होम जयगा भन्थ्यौं। हामी "दिस् इज अ तीतेपाती, यसलाई छोइस् भने पुग्छस् माथि। दिस् इज अ लेउ, अहिले पुग्छस् पल्लो छेउ!" भन्दै हिँड्थ्यौँ। डा.हर्कबहादुर छेत्री पनि गोर्खाहरूको उदाहरण दिँदा हम जाएगाको एउटा जोक्स भनिरहन्छन्, ''एक दिन हम जाएगाले अङ्ग्रेज टुरिस्ट घुमाउँदै लगेछ। अगाडि चिप्लोबाट थिएछ। अब अङ्ग्रेजीमा चिप्लो छ भनेर कसरी भन्ने? आएन भन्न। बस्यो वाक्य। पर्यो फसाद। त्यसपछि टुरिस्टलाई उभ्याइराखेर अघिल्तिर गएर हम जाएगा लडेछ र उठीवरी अङ्ग्रेजलाई भनेछ, "लाइक दिस्!" डा.हर्कबहादुर छेत्री भन्छन्, "हाम्रा जनताहरू एउटै बाटोमा पनि कति लाइक दिस् भइरहन्छन्?"
हम जाएगाको कुरा भइरहेको बेला मनिष दाइ मलाई हजमोला झिकेर दिन्छन्। अघि पनि दाइले दुई तीन वटा हजमोला खुवाइसकेका थिए। दाइको पेटको समस्या छ कि कसो? जवाफमा दाइले हजमोलाको विज्ञापन सुनाउँछन्, "जे आउँछ मजाले पचाउँछ।" दाइको व्यापारिक विज्ञापन सुनेपछि भन्छु, "हजमोलाको त विज्ञापन नै मीठो छ, हजमोला भन्दा पनि।"
हामी महाकाल धाम गएनौँ। मनिष कानु दाइले भनेँ, "मैले खाजामा अन्डा खाएको छु!' ननभेजी दाइ डराए। के भगवान् भीगन थिए अनि छन् र?" भगवानका अघि डराउने जुन चलन छ, त्यसैलाई दाइले पालन गरे। मैले पनि दाइकै निर्णय प्रतिपालन गरेँ। हामीले बाटो मुनीबाटै महाकाल बाबालाई ढोग गर्यौँ। सायद ढोग गर्दा पनि त्यति बेला केही माग्यौँ। यति बेला बिर्सिएँ। मैले सोचेँ, "के मान्छे माग्ने हो?" फेरि कोही एक निर्दिष्ट व्यक्ति वा समुदायलाई मात्र मान्छेले किन 'माग्ने' भन्छ? जबकि उ आफै पनि त माग्ने नै छ। यहाँ हर कोही माग्ने छ। मन बाहिर होस् या मनमनै होस्। होइन त?
मालरोडतिर मोडियौँ। यो त्यही मालरोड थियो, जहाँ अङ्ग्रेजहरू उपनिवेश कालमा घोडा दगुराउँथे। रेस लाउँथे। हामी मालरोड अलि परसम्म पुगिराखेर फर्क्यौं र चौरस्तामा नै आएर बस्यौँ। यताउता आँखा डुलायौँ। चौरस्ताको खुल्ला स्थानमा मायालु जोडीहरू माया बुनिरहेका थिए। कम्तीमा सुइटर उनिरहेका भए जाडोमा लगाउन त हुन्थ्यो। तर के प्रेम गर्नेहरूलाई जाडो हुँदैन? हेर्नेहरूलाई त पक्कै हुन्छ। कारण मलाई जाडो भइरहेको थियो। प्रेममा न लाज हुन्छ, न डर। मात्र रहर हुन्छ। चौरस्ताको चौरमा बसिरहेका र अङ्गालिएर हिँडिरहेकाहरूलाई हेर्दा यस्तो लाग्छ। प्रेम खुल्लाबाट सुरु हुन्छ र साँघुरिएर सकिन्छ। जमानामा केटाहरूले केटीहरूलाई दार्जिलिङ घुम्न जाऊँ भनेर प्रस्ताव गर्दा तिनले "दार्जिलिङ कस्तो छ?" भनेर सोध्थे रे! अनि केटाहरूले गीत गाउँदै भन्थे रे-
'‘दार्जिलिङ शहर
बत्तीको लहर
वैकुण्ठै जस्तो छ!’’
अचेलका बोइफ्रेन्डहरूले गर्लफ्रेन्डहरूलाई के भनेर दार्जिलिङ ल्याउँदा हुन्? फकाउँदा हुन्? सायद अहिलेकारहरूले फकाउनुको साटो झुक्क्याउँदा हुन्। उसो त फकाउँदा पनि कतिले झुक्क्याउने नै हुन्! यस्तै केही सोच्दै थिएँ, तीन वटा मात्र खुट्टा भएको एउटा कुकुर छेवैमा आयो। चार वटाले हिँड्ने कुकुर तीन वटा खुट्टाले हिँड्न मजबुर थियो। देखेरै माया लाग्यो। मान्छेको दुःख देख्दा मात्रै मान्छेको मन दुखे। मान्छेको मन, मन नभएर घन होझैं लाग्यो। तर हामी दुवैको मन दुख्यो। मनिष दाइले फोटो खिचे। कुकुर झन् हाम्रा खुट्टामा दलिन खोजिरह्यो। शायद उ भोको थियो या प्यासी, हामीले उतिखेर बुझ्न सकेनौं। उसले हामीलाई हेरिरह्यो। कुकुर कुकुरसित दूर भएर मान्छेसित नजिक हुन चाहँदो रहेछ।
चौरस्तामा स्थानीयहरू भन्दा पनि कहाँकहाँका मान्छे धेर देखिन्थे। दार्जिलिङ पर्यटकीय स्थल हुनुको परिचय यही हो कि! तर हाम्रै ठाउँमा हामी नै हराउँदा कस्तो कस्तो लाग्दो रहेछ। यस्तो लाग्दो रहेछ कि यहाँ 'अरुहरू' आउन्, तर हाम्राहरू नहराउन्। यहाँ घुम्नेहरू नै धेर आउँछन्, हुन्छन्। एक जनाले मलाई भन्नुहुन्थ्यो, "अरुअरुहरू घुमिघुमी खाने भइसके। हामीहरू बसेर खाने पनि भइसकेका छैनौँ।"
दुई बज्न लागेको थियो। हामीलाई भोकले गाँज्यो। थुक्पा खोज्दै दोकान धुइँधुइँती चहार्यौँ। एक समयमा तिन ताकका नेता जिन्हाले दार्जिलिङकै होटेलमा खाजा होइन प्रेमिका पाए रे। पछि उनैलाई श्रीमती बनाए रे। हामीचाहिँ दुई बटुका थुक्पा पाइरहेका छैनौँ गाँठे। कि खोज्न नजान्ने हामी नै पो गठ्ठे हौँ कि! बल्लतल्ल उकालो ओह्रालो गरेर बजार तलनेर एउटा थुक्पा दोकान फेला पार्यौँ। थुक्पा वाह! गर्ने खालको थिएन। आ…भोजन भन्दा पनि भोक मीठो भन्दै हसुर्न खोज्यौँ। सकेनौँ। अन्तमा दुवैले उबार्यौँ। फुरुमा त्यतिकै छाड्यौँ। पैसा खेरो फाल्यौँ। रुपियाँको माया लाग्यो। फ्याँकिएको थुक्पाको दया लाग्यो।
चौरस्ताको बेन्चीमा हामी फेरि बस्यौँ। पहिले यहाँको बेन्चीमा बस्न अङ्ग्रेजले मात्र पाउँथे रे! हाम्राहरूले पाउथेनन् रे। हाम्राहरू त बनाउँथे मात्र। हाम्राहरूले पाए पनि बस्न भ्याए पो। अहिले बस्न पाएको र भ्याएको मचाहिँ सोच्छु, "बस्न पाउनु नै बाँच्न पाउनु कहाँ हो र!" बिमार हुँदा जाती हुनको लागि आएर बस्ने ठाउँ मानिएको यो दार्जिलिङ अहिले आफै बिमार हुन्छ। मारमा हुन्छ। मझधारमा हुन्छ। पहिले दार्जिलिङ अर्कै थियो तर आफ्नै थियो। अहिले दार्जिलिङ अर्कै छ, तर आफ्नै छैन। पहिला दार्जिलिङको जताततैबाट हिमाल देखिन्थ्यो। अहिले हिमाल होइन, होटेल देखिन्छ। टाइगर हिल नै पुग्नुपर्दैन थियो। अहिले कता कताबाट मात्र हिमाल देखिन्छ। हिमाल उसै पनि जलवायु परिवर्तनले पग्लिरहेको छ।
यहाँ होटेल र घरहरू मात्र अग्लिरहेको छ। खापैखाप। थाकैथाक। चिया उद्योग भन्दा पनि होटेल व्यवसाय जेठो मानिने दार्जिलिङमा अघि हामी होटेल खोज्दै हैरान। सायद हाम्रो हैसियत अनुसारको होटेल थोरै छ।
समय निक्कै घर्काइसकिएको थियो। त्यसैले हाम्रो घुमाइ यतिमै सकेर फर्काइ भयो। आउँदा दार्जिलिङ टु सिलगढी जाने ट्याक्सीमा चढ्यौँ। हामी यतातिर ट्याक्सी/कारलाई गाडी पनि भन्छौं। गाडीमा हामी खास्सै कुरा गरेनौँ। गलेका थियौँ। दाइ सुते। म पनि घरी सुतेँ, घरी उठेँ। दार्जिलिङमा हुँदा आकाशमा धुम्म भएर डम्मटम्म भएर बादल बसेको थियो। सोनादा (सुनदह) पुग्दा अघिदेखिको आकाशको बादल, पानी भएर खसेको थियो। गाडी तेज रफ्तारमा थियो। गाडीमा कम यात्रु भएकाले ड्राइभरलाई रोडका अरू गाडीहरू भन्दा अघि हुने हतार थियो। पेसेन्जर भनेको मान्छे होइन, पैसा मात्र हुन् भनेजस्तो गर्छन् कतिपय ड्राइभर। तर पनि गाडीमा नचढे पनि धर छैन। चढे पनि भर छैन। हामी तर सकुशल घर आइपुग्यौँ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
