तनाव लम्बिएमा आयातित वस्तु महँगिनुका साथै अनिश्चितताको मनोविज्ञानले नेपालभित्रै पनि वस्तु जम्मा गरेर कृत्रिम अभाव सिर्जना हुन सक्छ। यसले उपभोक्तामाथि प्रत्यक्ष आर्थिक भार थप्न सक्छ।
काठमाडौँ– दक्षिणी छिमेकी भारत र अर्को मित्रराष्ट्र पाकिस्तानबीच चर्किएको तनावले क्षेत्रीयस्तरमा चिन्ता बढाएको छ। भारतसँग ठूलो भौगोलिक सीमा साझेदारी र पाकिस्तानसँग पनि मैत्री सम्बन्ध कायम राखेको मुलुक नेपालका लागि यो तनावले आर्थिक, आपूर्ति प्रणाली र सुरक्षा सरोकारका क्षेत्रमा सम्भावित असरबारे चिन्ता थपेको हो।
दुवै देशले शनिबार साँझदेखि युद्धविरामकाे सहमति गरेका छन् तर तनाव स्थायी रूपमै रोकिने निश्चित भइसकेको छैन। यो तनाव लम्बिएमा क्षेत्रीयस्तरमा खाद्य, औषधि र इन्धनजस्ता अत्यावश्यक वस्तुको आपूर्तिमा समस्या देखिन सक्ने विश्लेषकको भनाइ छ। नेपालका लागि भारत प्रमुख व्यापारिक साझेदारका साथै वैदेशिक व्यापार मार्ग हो भने पाकिस्तानसँग नेपालको परस्पर मैत्री सम्बन्ध छ। तनावका कारण क्षेत्रीय रूपमा आर्थिक, सामाजिक र मानवीय सरोकारका सवालमा पर्ने समस्या नेपाललगायत छिमेकी मुलुकले पनि सामना गर्नुपर्ने हुन्छ।
नेपाल उद्योग वाणिज्य महासंघका मधेश प्रदेश अध्यक्षसमेत रहेका विश्लेषक अशोक टेमानीका अनुसार युद्ध लम्बिँदा क्षेत्रीयस्तरमा मुख्य रूपमा खाद्य, औषधि र इन्धनसँग जोडिएका समस्या देखा पर्न शुरू हुन्छ। भारतसँगको ठूलो व्यापारिक साझेदारीका कारण नेपालमा पनि आवश्यक दैनिक उपभोग्य वस्तुको अभाव र मूल्यवृद्धिजस्ता समस्या उत्पन्न हुन सक्छन्।
नेपालले तेस्रो मुलुकसँगको व्यापारका लागि प्रयोग गर्ने भारतका बन्दरगाहहरू (कोलकाता, हल्दिया र विशाखापटनम) भारतको पूर्वी क्षेत्रमा बंगालको खाडीमा अवस्थित भएकाले हालसम्म ती बन्दरगाहबाट हुने व्यापारमा चिन्ताजनक अवस्था आइनसकेको टेमानीको भनाइ छ। तर भारतको पश्चिमी क्षेत्र अहिले युद्ध प्रभावित भएकोले गुजरातबाट हुने व्यापारमा भने तत्कालै असर पर्न सक्ने सम्भावना रहेको उनले औँल्याएका छन्।
युद्ध लम्बिएमा आयातित वस्तु महँगिनुका साथै अनिश्चितताको मनोविज्ञानले नेपालभित्रै पनि वस्तु जम्मा गरेर कृत्रिम अभाव सिर्जना हुन सक्ने सम्भावनालाई पनि नकार्न नसकिने उनको भनाइ छ। यसले आम उपभोक्तामाथि प्रत्यक्ष आर्थिक भार थप्न सक्छ।
यद्यपि, आपूर्ति र पारवहनका मामिलामा विचार र कार्यपत्रहरू लेख्दै आएका उनले हालको तनाव चाँडै मत्थर हुने आशा व्यक्त गरेका छन्। अरू ‘प्लेयर’ यसमा सामेल हुने सम्भावना न्यून रहेको, चीनलगायत छिमेकी देश संयम र शान्तिको पक्षमा देखिएकाले चाँडै दुई मुलुकबीचको तनाव मत्थर हुने उनको आकलन छ।
मिडल इस्ट इनसाइट्स प्लेटफर्मकी संस्थापक डा. शुभदा चौधरीले समाचार संस्था बीबीसीसँगको कुराकानीमा भारत र पाकिस्तानबीचको द्वन्द्व लामो समयसम्म जारी रहेमा त्यसको छिमेकी मुलुकहरूमा फरक–फरक प्रभाव पर्ने बताएकी छिन्। उनले नेपालको ६० प्रतिशत व्यापार भारतसँग भएकाले यो प्रभावित हुन सक्ने र नेपालले बन्दरगाह तथा व्यापार मार्गहरूको सन्दर्भमा समस्याहरूको सामना गर्न सक्ने उल्लेख गरेकी छिन्। यस्तो अवस्थामा चीनले नेपालसँगको सम्बन्धलाई अगाडि बढाउन यो अवस्थाको फाइदा उठाउन सक्ने सम्भावना पनि उनले औँल्याएकी छिन्। “नेपाल र भारतबीच लामो सीमा छ र नेपाल यो तनाव कम होस् भन्ने चाहन्छ, जबकि चीनले नेपालसँगको सम्बन्धलाई अगाडि बढाउन यो अवस्थाको फाइदा उठाउन सक्छ,” उनले भनिन्।
सुरक्षा सरोकार र सतर्कता
भारतको जम्मू–कश्मीरस्थित पर्यटकीयस्थलमा पहलगाममा वैशाख ९ मा भएको आतंकवादी समूहको आक्रमणमा एक नेपालीसहित २६ जना पर्यटकको मृत्यु भएको थियो। उक्त घटनापछि भारतको केन्द्रीय सरकारका वरिष्ठ मन्त्रीहरूको कडा जवाफ दिने अभिव्यक्ति सार्वजनिक भएको थियो। यसैबीच बुधबार बिहान भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न ठाउँलक्षित हवाई आक्रमण थालेको थियो।

भारतको पहलगाममा भएको आक्रमणका लागि जिम्मेवार ठानिएका आतंकवादी समूहहरूका ९ वटा आधार केन्द्रलक्षित कारबाही गरेको भारतको दाबी छ। बिहीबार पाकिस्तानले पनि पश्चिमी भारतको विभिन्न ठाउँलक्षित हवाई आक्रमणका प्रयास गरेको छ। क्षतिको दुवै पक्षले फरक–फरक दाबी गरेका छन् तर स्वतन्त्र पुष्टि हुन सकेको छैन। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले विभिन्न स्रोतलाई उद्धृत गर्दै दिएको आँकडाअनुसार पाकिस्तानतिर भौतिक र मानवीय क्षति बढी भएको र भारतले पनि यस्ता क्षति बेहोर्नुपरेको देखिन्छ। भारत र पाकिस्तान दुइटै परमाणु अस्त्रसम्पन्न देश हुन्।
भारत–पाकिस्तान तनावसँगै नेपालको सुरक्षा सरोकार पनि बढेको छ। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को बैठकमा भारत र पाकिस्तानबीचको सिर्जित अवस्थालाई दृष्टिगत गर्दै सम्भावित समस्याप्रति सचेत भई आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उनले भारतमा बसोबास गर्ने सम्पूर्ण नेपालीको सुरक्षालगायतमा पर्न सक्ने असरप्रति सरकार गम्भीर हुनुपर्नेमा जोड दिए। सम्भावित प्रभावबारे सरकार सचेत हुनुपर्नेमा जोड दिँदै आवश्यक तयारी थाल्न सांसदले सुझावसमेत दिएका छन्।
नेपाली सेनाका पूर्वउपरथी विनोज बस्न्यातले भारत र पाकिस्तानबीचको तनाव ठूलो स्तरको युद्धको रूपमा नजाने अपेक्षा गरिए पनि नेपालमा गरिनुपर्ने तयारी, अध्ययन र कारबाही अपर्याप्त रहेको बताएका छन्। सन् १९४७ देखि समाधान हुन नसकेको विवादको जगमा घटनाहरू भएकोले यसको अन्त्य सजिलै नहुने र यसले नेपालमा दुई किसिमले बढी प्रभाव पार्ने उनको विश्लेषण छ।
पहिलो, भौगोलिक हिसाबले र दोस्रो, नेपाली नागरिकहरू कुनै न कुनै हिसाबले यो लडाइँमा सहभागी हुन सक्ने सम्भावनाले। भारतको विभिन्न स्थानमा, विशेष गरी सैन्य क्षेत्रमा, नेपाली नागरिकहरू रोजगारीका लागि गएका छन् भने भारतीय सेनामा ठूलो संख्यामा नेपाली युवाहरू 'गोरखा सैनिक' का रूपमा कार्यरत छन्। युद्धको अवस्था लम्बिएमा उनीहरूको जीवन र सुरक्षामा प्रत्यक्ष असर पर्न सक्छ।
बस्न्यातले नेपालले अहिलेको अवस्था हेरेर सबभन्दा पहिले आन्तरिक रूपमा आतंकवादी गतिविधि नियन्त्रणका लागि के गर्न सक्छ भन्नेमा ध्यान दिनुपर्ने सुझाएका छन्। उनका अनुसार नेपालसँग अहिले राष्ट्रका रूपमा र सार्कको अध्यक्षको रूपमा दुइटा पगरी भएकाले तटस्थ बस्नुभन्दा आतंकवादविरुद्धमा दृढताका साथ उभिनुपर्ने आवश्यकता छ। “राष्ट्रलाई पर्न सक्ने असरको मूल्यांकन गरेर र सार्कको अध्यक्षको नाताले हामी तटस्थ बस्नुभन्दा आतंकवादविरुद्ध उभिनुपर्छ, हाम्रो नीतिअनुसार आतंकवादलाई कहिले पनि कदर गर्दैनौँ,” उनले भने, “युक्रेनसँगको युद्धमा हामीले रसियाको विरोध गर्यौँ, किन भने स्वतन्त्र राष्ट्रमा कसैले हमला गर्यो भने विरोध गछौँ, यो घटनालाई लिएर नेपालले दृढ रूपमा आतंकवादी हमलाको विपक्षमा उभिनुपर्छ।”
यस्तो असहज अवस्थामा रक्षा संयन्त्र, प्रहरी र गुप्तचर संस्थाको भूमिका महत्वपूर्ण हुने बस्न्यातको भनाइ छ। नेपालभित्र अवैध रूपमा बसिरहेका मानिसको पहिचान गरी उनीहरू आतंकवादी गतिविधिमा संलग्न छन् कि छैनन् भन्नेबारेमा 'क्लिन आउट' गर्ने यो सही समय भएको उनको तर्क छ। “यसो गरेर क्षेत्रीय आतंकवादविरुद्ध हामीले टेवा पुर्याउँछौँ र अन्तर्राष्ट्रिय एन्टिटेरारिज्मका लागि पनि मद्दत गर्छौं,” उनले भने।

तनाव चर्केसँगै नेपाल-भारतको सीमावर्ती क्षेत्रमा दुवैतर्फ निगरानी र सुरक्षा जाँच बढाइएको छ। भारतसँगको खुला सिमानाका कारण हुन सक्ने सीमा घुसपैठको आशंकासहित सुरक्षा अधिकारीहरूले निगरानी कडा पारेको बताएका छन्।
गृह मन्त्रालयको निर्देशनपछि सुरक्षा निकायले सुरक्षा निगरानी बढाएका हुन्। सशस्त्र प्रहरी बल, नेपालले ४८ घण्टामा सीमा इलाकामा ३१२ वटा पट्रोलिङ र एक हजार ८४४ स्थानमा चेक प्वाइन्ट राखेको जानकारी दिएको छ। सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार, सीमामा गस्ती, पट्रोल तथा सुरक्षा जाँचलाई निरन्तरता दिइएको छ। भारतमा पनि नेपालतिरको सीमामा सशस्त्र सुरक्षा बल (एसएसबी) को सुरक्षा कडाइ बढाइएको छ। वीरगन्जसँग सीमा जोडिएको भारतीय शहर रक्सौलका पत्रकार दीपक अग्निरथले भारततर्फ पनि सुरक्षा कडाइ बढाएको र सीमा क्षेत्रमा दुवैतर्फका सुरक्षा निकाय विशेष सक्रिय भएको बताएका छन्।
नेपालमा तैनाथ एक जना भारतीय अधिकारीका अनुसार, पाकिस्तानी नागरिकलाई भारतबाट निकाला गर्ने आदेशपछि अवैध रूपमा भारतमा बस्दै आएका पाकिस्तानी नागरिक नेपालतिर लुकीछिपी प्रवेश गर्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन। यसले नेपालको आन्तरिक सुरक्षामा चुनौती थप्न सक्ने भएकाले सीमामा थप सतर्कता आवश्यक देखिएको छ।
शान्तिको आशा
भारत र पाकिस्तानबीच जारी तनाव तत्कालीन घटनाको प्रतिक्रियाबाट उत्पन्न भएको र युद्धको रूपमा बढ्नको लागि क्षेत्रीय, अन्तर्राष्ट्रिय र दुवै देशको आन्तरिक अवस्थाले समर्थन नगरेको जानकारहरू बताउँछन्। दक्षिण एशियाली सहयोग संगठन (सार्क) का पूर्वमहासचिव अर्जुनबहादुर थापा भारत-पाकिस्तानबीच जारी तनाव लामो समय नजाने र छोटोमै सकिनेमा आशावादी छन्।
“अहिले देखिएको तनाव सकियो भने त केही असर पर्ने कुरा भएन। अब लामै समयसम्म निरन्तर भइरह्यो भने दुर्भाग्यपूर्ण हुन्छ,” उनले भने। उनले भारतीय गोर्खाली सेनामा नेपाली संलग्नताका कारण नेपालीहरू पनि युद्धमा सहभागी हुन पुग्ने अवस्था आउन सक्ने र नेपालले सीमामा सतर्कता अपनाउनुपर्ने काम सरकारले गरिरहेको बताए। व्यापारमा तत्कालै ठूलो प्रभाव पर्ने सम्भावना भने उनले पनि नदेखेको बताए। “पाकिस्तानसँग ठूलो व्यापार छैन। भारतसँग भने ठूलो व्यापार छ। र, भारतसँगको व्यापारमा यस तनावले गर्दा धेरै प्रभाव पर्छ भन्ने छैन,” पूर्व परराष्ट्र सचिवसमेत रहेका थापाले भने। “खाडी देशहरूमा युद्ध भएको भए स्वाभाविक रूपमा तेलको आपूर्ति पनि प्रभावित हुन्थ्यो। अब भारतमा महँगी बढी भयो भने स्वाभाविक रूपमा आयात पनि महँगो हुने नै भयो। तर तनाव तत्काल ठूलो स्केलमै जालाजस्तो मलाई लाग्दैन।”
थापाको विश्लेषणमा पाकिस्तानको अर्थतन्त्र अहिले ठीक छैन र लामो समयसम्म लड्न उसलाई कुनै फाइदा छैन। भारतलाई पनि लडाइँ गरेर फाइदा हुनेवाला छैन। यसले दुवै देश लामो द्वन्द्वमा जाने सम्भावना कम रहेको देखाउँछ। “अनौपचारिक रूपमा उनीहरूबीच केही संवाद पनि भइरहेको भन्ने कुरा आएको छ। उसले यो गर्दा, मैले नि यसो गरिदिएँ भन्ने हिसाबले यो भएको हो। अंग्रेजीमा स्कोर सेटल गर्ने (देखाउने) भन्छन् नि, त्यही हो यो,” थापाले भने, “यो लामो समय जाला जस्तो लाग्दैन। र, जानु पनि हुँदैन। युद्ध सिद्धियोस् भन्ने हाम्रो चाहना पनि हो। नेपाल सरकारको चाहना पनि व्यक्त भएको छ। युद्ध हुनु कुनै पनि किसिमले राम्रो होइन।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
