व्यस्त जीवनशैलीका कारण व्यायाम तथा खानपानको समय मिलाउन नसकेर शारीरिकसँगै मानसिक समस्याले गाँजेपछि पछिल्लो समय शहरी क्षेत्रका बासिन्दामा जिम, योग, जुम्बा र ध्यानको मोह बढ्दै गएको छ।
काठमाडौँ— काठमाडौँको नयाँबजारकी डा. अर्चना बुढाथोकी (३३) विगत १३ वर्षदेखि लगातार फिटनेस क्लब गइरहेकी छन्। उनी विद्यार्थी जीवनमै शारीरिक व्यायामका लागि क्लबमा जोडिएकी थिइन्। उनलाई जिमभन्दा पनि सामूहिक व्यायाम मन पर्छ, किनकि हप्ताभर फरक–फरक क्रियाकलाप गराइन्छ। जसले पूरै शरीरको व्यायाम हुने उनको अनुभव छ।
व्यायामले शारीरिक तथा मानसिक स्वास्थ्यका साथै आत्मविश्वास पनि बढेको उनले बताइन्। “व्यायामपछि सेरोटोनिन र डोपामाइन जस्ता ह्याप्पी हर्मोन रिलिज हुने भएकाले तनावमुक्त र आरामदायी अनुभव हुन्छ,” उनले भनिन्।
काठमाडौँको बालुवाटार बस्ने सञ्जु नेपाल (४८) पनि फिटनेस क्लबसँग जोडिएको १५ वर्ष भयो। उनी मोटोपना घटाउने उद्देश्यले फिटनेस क्लबमा जोडिएकी थिइन्। “३० वर्ष कटेपछि शारीरिक व्यायाम गर्न जरुरी छ भन्ने सुन्थेँ, मैले पनि शुरू गरेँ,” उनले भनिन्, “अहिले त व्यायाम नगरी मन नै मान्दैन।”
व्यायाम गर्दा स्वस्थ र स्फूर्त महसुस हुने, बलको काम गर्न पनि सहज हुने, काममा मनलाग्ने गरेको उनी बताउँछिन्। आफूलाई हालसम्म जटिल स्वास्थ्य समस्या नदेखिएको उनको भनाइ छ। सुखी र स्वस्थ जीवनका लागि शारीरिक व्यायामसँगै सन्तुलित आहार पनि आवश्यक रहेको उनको बुझाइ छ।
काठमाडौँकै विकल्प मार्भिक गुरुङ (२०) भर्खरैबाट जिम जान थालेका छन्। शारीरिक सुगठनका लागि जिम जाने गरेको उनी बताउँछन्। “साथीहरू जिम जाने गर्थे, अनि म पनि यतिकै बस्नुभन्दा जिम जानु ठीक लाग्यो र जोडिएको हुँ। मलाई मसल भनौँ राम्रो शरीर बनाउनु छ। जिम गएपछि त स्वास्थ्य पनि राम्रो भइहाल्छ,” उनले भने।

पछिल्लो समय स्वास्थ्य, तौल गडबढका समस्या तथा साथीभाइको साथ लागेर फिटनेस सेन्टर धाउनेको संख्या बढिरहेको कमलपोखरीस्थित बानु फिटनेसका प्रशिक्षक पायस राजभण्डारी बताउँछन्। कतिपय घरमै व्यायाम थाले पनि विधि नजान्दा र निरन्तरता दिन नसकेपछि फिटनेस क्लब आइपुग्छन्। युवायुवती भने शारीरिक आकार र बनावट सुगठित बनाउन आउँछन्।
“व्यायामले तनाव कम गर्ने, शारीरिक स्वास्थ्य राम्रो हुने भएकाले अधिकांश मानिस क्लब जाने गरेका छन्,” प्रशिक्षक राजभण्डारीले भने, “हाम्रो क्लबमा पनि तनाव कम गर्न, मोटोपना घटाउन र शरीरलाई मेन्टेन गर्नका लागि आउँछन्।”
क्लबमा फरक–फरक खालका व्यायाम हुन्छन्। क्लबहरूले सामूहिक व्यायाम, जिम, जुम्बा, कार्डियोलगायत विकल्प दिन्छन्। व्यक्तिहरू पनि उमेरअनुसार फरक–फरक व्यायाम गर्न मन पराउँछन्।
अधिकांश महिला मोटोपना घटाउन र स्वस्थ रहन सामूहिक व्यायाम तथा कार्डियो गर्छन्। १८ देखि २५ वर्ष उमेर समूहका महिला भने कार्डियोसँगै जिम र बक्सिङ बढी रुचाउँछन्। पुरुषहरूले बक्सिङ र जिम मन पराउने उनको भनाइ छ।
कोभिड महामारीको प्रभाव, साथीको देखासिकी, सामाजिक सञ्जालमा राखिने भिडियोबाट प्रभावित भएर फिटनेस क्लब पुग्नेको चाप बढेको कारण नै शहरी क्षेत्रमा नयाँ–नयाँ फिटनेस सेन्टर खुल्ने क्रम बढेको छ। पछिल्लो समय मानिसहरू शारीरिक व्यायामसँगै मानसिक स्वास्थ्य र खानपानमा पनि ध्यान दिन थालेको जानकारहरू बताउँछन्।
होलिस्टिक लाइफ हेल्थ कोच प्रेरणा शाहका अनुसार व्यस्त जीवनशैलीका कारण व्यक्तिगत समय छुटाउन नसक्दा, व्यायाम, खानपान र मानसिक तनाव कम गर्ने उचित तालिका नहुँदा, विशेषगरी शहरी क्षेत्रका बासिन्दाले शारीरिक तथा मानसिक समस्याको सामना गर्नुपरिरहेको हुन्छ। त्यसैले स्वास्थ्यप्रति सचेत मानिसहरू जिम, योगलगायतका शारीरिक व्यायामका साथै मानसिक स्वास्थ्यका लागि ध्यान गर्ने गरेको उनले बताइन्।
उनले २० वर्षदेखि जीवन सन्तुलन, पोषण, शारीरिक व्यायामबारे सिकाउँदै आइरहेकी छन्। उनको संस्था लक्जरी योगीमा बुझ्न आउनेहरू १५ देखि ८० वर्षसम्मका हुन्छन्, तर अधिकांश केही न केही रोग वा अन्य शारीरिक समस्याबाट जुधिरहेका हुन्छन्। “नेपालमा अधिकांश नागरिक खेतीकिसानी गर्ने हुनाले रोगको जोखिम कमै हुन्छ। विशेषगरी शहरी क्षेत्रमा रहेर बलको काम नगर्नेहरूलाई भने समस्या हुन्छ। यस्ता मानिस जति सचेत हुनुपर्ने, त्यति भएका छैनन्,” उनले भनिन्।

न्युट्रिसन तथा डाइट क्लिनिककी न्युट्रिसियन कन्सल्टेन्ट अर्शा प्रधानका अनुसार क्लिनिकमा आउनेमध्ये अधिकांश ४० वर्षभन्दा माथिका हुन्छन्। उनीहरू मोटोपना घटाउने उपाय खोज्दै आइपुग्छन्। “हाम्रोमा १३ वर्षको बालकदेखि ७५ वर्षसम्मको पनि आउनुहुन्छ। तर मोटोपना घटाउन र शारीरिक समस्यालाई मेन्टेन गर्न आउने धेरै छन्,” उनले भनिन्, “यसमा पनि बढीजसो महिलाहरू मोटोपनाको समस्या लिएर आउनुहुन्छ। बच्चा जन्माएपछि र पीसीओएसजस्ता महिलामैत्री रोगका कारण तौल बढेको महिलाहरू पनि धेरै छन्।”
यसरी आउनेहरूलाई उनको क्लिनिकले शारीरिक जाँच गरी आवश्यकअनुसार पोषणयुक्त खानेकुरा, आवश्यक व्यायाम गर्न र जीवनशैलीबारे बताउने गर्छ। “यसले आफ्नो तौल घटाउने, बढाउने वा आकारमा ल्याउने र शारीरिक समस्यालाई सन्तुलन गर्न मद्दत हुन्छ,” उनले भनिन्।
प्रधानका अनुसार अहिले मानिसहरू आफ्नो स्वास्थ्यलाई लिएर सजग भएका छन्। तर अधिकांश मानिस शारीरिक समस्या देखिइसकेपछि मात्रै स्वास्थ्यलाई लिएर सचेत हुने गरेका छन्।
योगदेखि साउन्ड हिलिङसम्म
आर्किटेक्टर क्षेत्रमा करिब १० वर्ष बिताएकी यात्रा शर्मा पछिल्लो समय योग थेरापिस्टका रूपमा परिचित छिन्। बच्चा जन्मिएपछि बढेको मोटोपना घटाउन योगका लागि जान थालेकी उनले जागिरै छोडेर योग स्टुडियो खोलेकी छन्। “मैले योग शुरू गरेपछि भावनात्मक र शारीरिक रूपमा परिवर्तन महसुस गरेँ। घरायसी र अफिसको कामबाट दिक्दार भएकी मलाई योग क्षेत्र राम्रो लाग्यो,” उनले भनिन्।
योग गर्न थालेपछि थकान र तनाव कम भएको महसुस भएको शर्मा बताउँछिन्। शारीरिक व्यायाम मात्र नभई मानसिक स्वास्थ्यको पनि आवश्यकता महसुस गरेर पछिल्लो समय मानिसहरू योग, ध्यान, साउन्ड हिलिङतर्फ आकर्षित हुने गरेको उनको भनाइ छ। “तर शारीरिक व्यायामलाई जसरी नै मानसिक स्वास्थ्यलाई ध्यान दिने कमै छन्,” उनी भन्छिन्।

योगमा जोडिएपछि पनि युवायुवती र काममा बाँधिएकाहरूले निरन्तरता दिन नसकेको उनी बताउँछिन्। “योग गर्न आउने धेरै छन्। बुझेर वा निरन्तरता दिनका लागि भन्दा पनि केही समय सिकौँ न त भनेर आउने हुन्छन्,” उनी भन्छिन्, “विषेशगरी बच्चा भइसकेका महिला र ४० वर्ष उमेर पुगेका पुरुषको संख्या धेरै छ।”
उनका अनुसार तनाव कम गर्न, गहिरो निन्द्रा तथा सकारात्मक सोचका लागि भन्दै साउन्ड हिलिङ गर्नेको प्रचलन पनि बढेको छ। ध्वनि र कम्पनको प्रयोग गरेर आराम प्रदान गर्ने, तनाव कम गर्ने र समग्र स्वास्थ्यमा सुधार ल्याउने एक अभ्यास हो साउन्ड हिलिङ। यसमा बज्ने बाउल, घण्टीको प्रयोग गरिन्छ, जसले एकाग्रता ल्याउन सहयोग गर्छ र शारीरिक तथा मानसिक रूपमा सकारात्मक प्रभाव पार्न सक्छ।
धेरैले तनावमा हुँदा वा अशान्त हुँदा शान्त बनाउन साउन्ड हिलिङ लिने गरेका छन्। यसले मानसिक स्वास्थ्य राम्रो बनाउने साउन्ड हिलर अमोगरत्न शाक्य बताउँछन्। उनका अनुसार साउन्ड हिलिङको महत्त्व बुझ्ने क्रम भर्खरै शुरू हुँदै छ। अहिले अधिकांश विदेशीहरूले यसको प्रयोग गर्ने गरेका छन्।
तर नेपालमा भने यसबारे कमै जानकार रहेको उनले बताए। मानसिक समस्याबाट गुज्रिएका मानिस नै हिलिङका लागि आउने गरेका उल्लेख गर्दै उनले भने, “शारीरिक व्यायाम जतिकै आवश्यक हो साउन्ड हिलिङ पनि। तर मानिसहरूले अझै नबुझेर महत्त्व दिइरहेका छैनन्।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
