सलिनाले काठमाडौँको नाम त सुनेकी थिइन्, तर देख्न पाएकी थिइनन्। काठमाडौँ कस्तो होला भन्ने सधैँ उनको दिमागमा घुमिरहन्थ्यो। अनि १४ वर्षकी सलिनाले भलिबल सिक्न काठमाडौँ जाने सपना बनाइन्।
काठमाडौँ– वैशाख १० गतेदेखि दशरथ रंगशालामा सञ्चालित आठौँ केएनपी नेरोल्याक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा न्यू डायमन्ड युथ स्पोर्ट्स क्लबले तेस्रो स्थान हासिल गर्दा टिमकी एक सदस्यको प्रदर्शनले सबैको ध्यान खिच्यो। आर्मीविरुद्धको प्रतिस्पर्धामा न्यू डायमन्डकी सलिना बुढामगर ‘प्लेयर अफ द म्याच’ घोषित भइन्।
सलिनाको शक्तिशाली स्पाइक र कोर्टमा देखिएको आत्मविश्वासले नेपाली भलिबलमा उदीयमान नयाँ प्रतिभाको संकेत दिएको छ। उनी भलिबल खेलाडी बन्ने सपना लिएर करिब चार वर्षअघि रोल्पाबाट काठमाडौँ आइपुगेकी हुन्। न्यू डायमन्ड युथ स्पोर्ट्स क्लबमा आबद्ध भएपछि उनले आफ्नो जीवन नै भलिबललाई सुम्पिएका प्रशिक्षक कुमार राईको साथ पाइन्।
“शुरूमा आउँदा सलिनासँग भलिबलको नियम र खेल्ने सीप केही थिएन, उनको अग्लो कद मात्रै चित्तबुझ्दो थियो,” प्रशिक्षक राई सम्झन्छन्, “खेलप्रतिको लगाव भए पनि शून्यबाट सिकाउनुपर्दा एक वर्ष निकै गाह्रो भयो।”
निरन्तरको प्रशिक्षण र सलिनाको लगावले बिस्तारै खेल कौशल निखारिँदै गयो, अग्लो कदको फाइदा उठाउँदै स्पाइक गर्न सक्षम बनिन्। सलिना अहिले न्यू डायमन्डकी भरपर्दो ओपन स्पाइकरका रूपमा स्थापित छिन्।
राष्ट्रियस्तरका खेलमा सलिनाको अनुभव धेरै लामो छैन, तर प्रभावशाली छ। २०७९ सालमा भएको प्रथम सहाना प्रधान यू१९ महिला भलिबल प्रतियोगितामा ‘उत्कृष्ट स्पाइकर’ घोषित भएकी थिइन्। यसैका आधारमा उनले माल्दिभ्समा सम्पन्न काभा यू२० महिला च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाइन्। यद्यपि, टिमको समग्र प्रदर्शन औसत रह्यो। सलिनाले आफ्नो तर्फबाट भने उत्कृष्ट प्रयास गरेकी थिइन्।
यसअघि न्यू डायमन्डबाट राष्ट्रिय टोलीमा पुग्ने खेलाडीको कमी छैन। प्रतिभा माली, रेश्मा भण्डारीजस्ता खेलाडीले राष्ट्रिय टिमबाट खेल्ने र नेतृत्व गर्ने अवसर पनि पाइसकेका छन्। हाल रमिला तण्डुकार, सलिना श्रेष्ठ, सुमित्रा रेग्मी र प्रगति नाथ राष्ट्रिय टोलीबाट खेलिरहेका छन्। सलिना पनि तिनै अग्रज खेलाडीको बाटो पछ्याउने सपना बुनेर संघर्षरत छिन्।
सलिनाको संघर्ष
लुम्बिनी प्रदेशको पहाडी जिल्ला रोल्पामा जन्मेकी सलिना बाबुआमाको एक्ली सन्तान हुन्। तर सानै छँदा बाबु र आमाको सम्बन्धविच्छेद भयो। आमाले आफूसँगै उनलाई माइतीमा लगेर राखिन्।
घरपरिवारबाट अलग भएपछि सलिनाकी आमा ऋतुलाई आर्थिक समस्याले च्याप्न थाल्यो। आर्थिक संकटको सकसपछि विदेश जाने निचोडमा पुगिन्। सलिना त्यतिबेला ४ वर्षकी मात्र थिइन्। जन्मेको केही समयमै बाबाको मायाबाट वञ्चित सलिना आमाको ममताबाट पनि टाढिनु पर्यो। त्यसपछि उनका लागि बाबुआमा दुवै मावलकी हजुरआमा बनिन्।

हजुरआमा जताजता जान्थिन् सलिना उतैउतै पुग्थिन्। हजुरआमा मेलापात, गाईबस्तुको पछि लाग्थिन्, अनि सलिना हजुरआमाको। सलिना ८ वर्षकी भइसकेकी थिइन्, पढाइ भने लथालिङ्गै थियो। उनलाई नेपाली वर्णमालासमेत राम्रोसँग आउँदैनथ्यो। सलिनाकी आमा विदेशबाट चार वर्षपछि फर्किएर आइन्। गाउँकै श्री बराहक्षेत्र आधारभूत विद्यालयमा एलकेजीमा भर्ना गरिदिइन्।
भलिबल मोह
सलिनाकी दिदी पर्ने अनुस्का बुढामगर भलिबल खेल्थिन्। अनुस्काले सलिनालाई पनि भलिबल खेल्ने ठाउँमा सँगै लान्थिन्। गाउँका दाइदिदी खेलिरहेको एक छेउमा बसेर हेर्दाहेर्दै कति बेला भलिबलप्रति मोह बढ्यो उनलाई पत्तै भएन। अनि उनी पनि दाइदिदीसँगै भलिबलमै रमाउन थालिन्।
हजुरआमाले ‘छोरीमान्छे भएर भकुन्डो खेल्नु हुँदैन’ भनिरहन्थिन्। तर सलिनाको भलिबलप्रतिको मोह झन्झन् बढिरहेको थियो। “जति हजुरआमाले खेल्न नजानू भन्नुहुन्थ्यो, त्यति म भलिबलतिर आकर्षित भइरहेकी थिएँ, खेल्ने समय भयो कि दगुरिहाल्थेँ,” उनी भन्छिन्।
गाउँकै सुनिल दाइलाई न्यु डायमन्ड युथ स्पोर्टस् क्लबबारे थाहा रहेछ। एक दिन उनी दिदीसँग खेलिरहेकी थिइन्। भलिबलप्रतिको लगाव देखेर सुनिलले सलिनालाई सोधे, “भलिबल खेल्न काठमाडौँ जान्छौ?”
उनले केही नसोची जवाफ दिइन्, “जान्छु।”
सलिनाले काठमाडौँको नाम त सुनेकी थिइन्, तर देख्न पाएकी थिइनन्। काठमाडौँ कस्तो होला भन्ने सधैँ उनको दिमागमा घुमिरहन्थ्यो। १४ वर्षकी सलिनाले भलिबल सिक्न काठमाडौँ जाने सपना बनाइन्। घुम्ने रहर पनि पूरा हुन्थ्यो। सुनिलले सलिनाकी आमा ऋतुलाई उनको खेल अझै राम्रो बनाउन काठमाडौँ लैजान सुझाए।
सानै उमेरमा छोरीलाई एक्लै काठमाडौँ पठाउन परिवारले चाहेन। खेलकै लागि हो भने स्थानीय कुनै क्लबमा लगाइदिने ऋतुको सोच थियो। तर सलिना न्यु डायमन्ड स्पोर्टस् क्लबमा आउन जिद्दी कसिन्। काठमाडौँ नलगे नपढ्ने भन्दै घुर्क्याइन्। तब परिवार उनलाई काठमाडौँ पठाउन राजी भयो।
२०७८ साल कोरोना महामारीको समय थियो। राम्रोसँग बाटाघाटा खुलिसकेका थिएनन्। यति बेलै हो पहिलोपटक सलिनालाई लिएर ऋतु रोल्पादेखि काठमाडौँ हानिएको। आउँदाआउँदै दुई दिन बाटो बन्द भइदियो। सलिना त्यो क्षणलाई सम्झिन्छन्, “दुई दिन त्यहीँ गाडीमा सुत्ने, खाने गर्नुपर्यो। खानेकुरा पनि पाइएन। त्यो समय निकै गाह्रो भएको थियो।”
काठमाडौँ पहिलोचोटि टेक्दा सलिना असाध्यै खुशी भएकी थिइन्। ठूल्ठूला घर, गाडी, झिलिमिली पसल उनका लागि रमणीय दृश्य थिए।
न्यु डायमन्ड युथ स्पोर्टस् क्लबका प्रशिक्षक कुमार राईलाई भेटी सलिनाको पढाइ र खेलबारे ऋतुले विस्तृतमा खुलाइन्। न्यु डायमन्ड स्कुल पढ्ने, होस्टलमा बस्ने अनि क्लबमा भलिबल प्रशिक्षण लिने बन्दोबस्त भयो। त्यसपछि ऋतु गाउँ फर्किइन्। सलिनालाई नौलो ठाउँमा पहिलोचोटि परिवारबिना एक्लै बस्दा डरसँगै न्यास्रो लागि रह्यो।

पहिलो वर्ष प्रशिक्षणमा निकै सकस भएको उनी बताउँछिन्। प्रशिक्षक राईलाई पनि जथाभावी खेल्ने उनको बानी सुधार्नै मुस्किल पर्यो। भलिबलमा हातखुट्टा दुवैको नियमपूर्वक प्रयोगको महत्त्व हुन्छ। उनी हातको नियम सम्झिँदा खुट्टाको बिर्सिने, खुट्टाको सम्झिँदा हात बिर्सिने गर्थिन्।
“मैले एक समयमा त अब सक्दिनँ सिकाउन भनेर हार मानिसकेको थिएँ। तर बिस्तारै लय समातेर खेललाई राम्रो बनाउँदै गइन्,” प्रशिक्षक राई भन्छन्, “अहिले सलिना न्यु डायमन्डकै उत्कृष्ट खेलाडी हुन्।”
प्रशिक्षक कुमार राईको प्रशिक्षण र सलिनाको मिहिनेतले खेलमा निखार आयो। राईले सलिनाजस्तै बाआमा साथमा नभएका, आर्थिक समस्याले खेल्न नसकेका धेरैलाई निःशुल्क प्रशिक्षणका साथै अभिभावकको जिम्मेवारी निभाउने प्रयास गरिरहेका छन्।
“आफ्नो परिवार छोडेर यहाँ आएर मिहिनेत गरिरहेका छन्, सबैलाई म आफ्नै छोरी मान्छु। उनीहरूको बा भएर दिन सक्ने ज्ञान, सीप, उनीहरूको भविष्य उज्यालो बनाउन जे, जति गर्नसक्छु म गर्छु,” उनी भन्छन्।
पहिलो प्रतियोगिता अनि अवार्ड
प्रशिक्षण लिन थालेको एक वर्षसम्म प्रशिक्षक राईले सलिनालाई कुनै प्रतियोगितामा समावेश गराएनन्। २०७९ सालमा भएको छैटौँ केएनपी नेरोल्याक राष्ट्रिय महिला भलिबलमा पहिलो पटक सलिनाले सहभागी हुने मौका पाइन्। उनका लागि कोर्ट नयाँ अनुभव थियो। अनुभवी खेलाडीसँग प्रतिस्पर्धा गर्नुपर्ने चुनौती। खेल हेर्न आएका दर्शकको भिड।
शुरूआतमै यस्तो माहौल देख्दा उनलाई दबाब महसुस भयो। प्रशिक्षकको हौसला, साथीहरूको साथले आत्मविश्वास बढ्यो त्यसपछि डर हराउँदै गएको उनको अनुभव छ।
फाइनलमा नेपाल एपीएफ क्लबलाई पराजित गर्दै न्यु डायमन्ड विजेता बन्यो। यही खेलबाटै उनले ‘इमर्जिङ खेलाडी’को अवार्ड प्राप्ति गरिन्। पहिलो पटकको सहभागितामै आफ्नो क्लब विजेता हुनु र आफूले इमर्जिङ खेलाडीको अवार्ड पाउनु जीवनको सबैभन्दा खुशीको पल भएको सलिना सुनाउँछिन्।

अहिलेसम्म उनले काभा यू२० महिला च्याम्पिएनसिप, १६औँ डोर्पाटन होङवाङजी कप, प्रथम सहाना प्रधान यू१९ महिला भलिबल, छैटौँ केएनपी नेरोल्याक राष्ट्रिय महिला भलिबल, बागमती प्रदेश न्यू डायमन्ड कप च्याम्पियनसिप खेलिसकेकी छन्। उनले मुख्यमन्त्री कप, राष्ट्रिय महिला भलिबल प्रतियोगिता, २०८१ लगायत धेरै प्रतियोगिता न्यु डायमन्डबाट खेलिसकेकी छिन्।
उनले प्रथम सहाना प्रधान यू१९ महिला भलिबलमा ‘उत्कृष्ट स्पाइकर’, बागमती प्रदेश न्यु डायमन्ड कप र छैटौँ केएनपी नेरोल्याकमा ‘इमर्जिङ खेलाडी’को अवार्ड, मुख्यमन्त्री कप र लामाचौर कप भलिबलमा ‘बेस्ट स्पाइकर’, न्यु डायमण्ड यू१८ महिला भलिबलमा ‘बेस्ट सर्भिसर’ र आठौँ केएनपी नेरोल्याक राष्ट्रिय प्रतियोगिताको तेस्रो स्थानको खेलमा ‘प्लेयर अफ द म्याच’को उपाधि पाइन्।
राष्ट्रिय टोलीको सपना
न्यु डायमन्डकी कप्तान सलिना श्रेष्ठ भन्छिन्, “सलिना (बुढामगर) ले खेलेको देख्दा मलाई उत्प्रेरणा मिल्छ, टिमलाई सधैँ अघि बढाउने कोशिश गर्छिन्। उनले यसरी मिहिनेत गर्दै गइन् भने प्रतिभा मालीले झैँ एक दिन देशको नाम चम्काउने छिन्।”
सलिना बुढामगरको अबको योजना पनि राष्ट्रिय टोलीमा समावेश हुनु हो। देशको जर्सी लगाएर भलिबलको कोर्टमा उत्रिने उनको इच्छा छ। राष्ट्रिय टिममा मुख्य स्पाइकरका रूपमा खेलिरहेकी सरस्वती चौधरी विदेश गएपछि स्पाइकरको खाँचो बढेको छ।
अन्तर्राष्ट्रियस्तरमा भलिबलको प्रभावलाई थप सशक्त बनाउन सलिनाजस्ता खेलाडीलाई राष्ट्रिय टिममा स्थान दिनुपर्ने प्रशिक्षक राई बताउँछन्। उनका अनुसार भलिबलको स्तर उकास्न सलिनाजस्ता खेलाडीको उत्कृष्ट कौशलको सदुपयोग आवश्यक छ।
त्यसो त, उनलाई अन्य विभागीय टोलीबाट पनि प्रस्ताव आइरहेकै छन्। तर जान मन गरेकी छैनन्। राष्ट्रिय टोलीबाहेक अरू क्लबमा नजाने, बरु करियर न्यु डायमन्डलाई नै समर्पित गर्ने उनको चाहना छ। “जति खेल्छु सके राष्ट्रका लागि खेल्छु, कि त न्यु डायमन्डका लागि खेल्छु अन्य क्लबबाट खेल्दिनँ,” सलिना भन्छिन्, “मेरो खेलको शुरूआत न्यु डायमन्डबाट भएको हो र अन्त्य पनि न्यु डायमन्डबाट गर्नेछु।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
