थबाङको घाउमा जापानी डाक्टरको मलम

डा. र्‍युचिकी इसिदा ४० वर्ष आफ्नो देश जापानमा सेवा गरेपछि अवकाश प्राप्त जीवन बिताउन नेपाल आए। १६ वर्षदेखि थबाङमा बसेर उनले त्यहाँको अस्थायी स्वास्थ्य चौकीलाई अस्पतालमा परिणत गरेका छन्।

थबाङ (रोल्पा)– रातभरको झरीपछि गत वैशाख ८ गते दिउँसो थबाङको आकाश खुलेको थियो। आकाशजस्तै हाँसिरहेका जापानिज चिकित्सक डा. र्‍युचिकी इसिदा (८२) थबाङमै भेटिए। उनी ‘होम स्टे’मा थिए।

डा. इसिदा १६ वर्षदेखि थबाङवासीको उपचारमा आफ्नो जीवन सर्मपित गरिरहेका छन्। पाँच वर्षअघि थबाङमा भेटिँदा उनले जापानदेखि थबाङसम्मको आफ्नो कथा बताएका थिए। त्यो कथाले थबाङको मुस्कान फर्काइरहेको महसुस गराउँथ्यो।

उनले त्यस बेला टहरामा रहेको जलजला अस्पताल तथा अनुसन्धान केन्द्रलाई ठूलो रूप दिने योजना सुनाएका थिए। गाउँमै विशिष्टखाले स्वास्थ्य सेवा दिने पकिल्पना थियो। उनी बिरामीको उपचारमा दिनरात खटिएकै थिए, अस्पतालको ठूलो भवन बनाउन नेता र जनप्रतिनिधिहरूलाई पनि घच्घचाइरहन्थे।

पाँच वर्षपछि थबाङमा १५ बेडको अस्पताल तयार भइसकेको छ। यो भवन गत वैशाख ६ गतेदेखि सञ्चालनमा आएको हो। त्यही दिन डा. इसिदाको एउटा सपना पूरा भयो। तर यहाँका नगरिकलाई विशिष्टकृत उपचार प्रदान गर्ने सपना बाँकी नै भएको बताइरहेका थिए। अब कसरी विशिष्ट सेवाहरू प्रदान गर्न सकिन्छ भन्ने पनि सुनाएका थिए।

त्योभन्दा अघि डा. इसिदाको नेपाल–सम्बन्ध र युद्धले घाउ छाडेको गाउँमा उनको प्रवेशको रोचक कथा बुझ्नुपर्छ।

जापानबाट युद्धका बस्तीतिर
एउटा सम्पन्न राष्ट्रको नागरिक र अवकाशपछिको समय। धेरैको चाहना बाँकी जीवन परिवारसँग बिताउने हुन्छ। तर अर्थाेपेडिक चिकित्सकका रूपमा ४० वर्ष काम गरेका डा. इसिदाले त्यस्तो आराम चाहेनन्।

उनी जापानको सुखसयल र सम्पन्नता छाडेर विकासोन्मुख देशको कुनै दुर्गम गाउँतिर निस्किए, त्यो पनि सशस्त्र संघर्षले दुखिरहेको बस्तीमा। त्यो बस्ती थियो रोल्पाको थबाङ, जुन ठाउँ सशस्त्र संघर्षको बेला माओवादी विद्रोहीहरूको आधारक्षेत्र मानिन्थ्यो। उनी त्यहाँ पुग्दा संघर्ष त सकिएको थियो, घाउहरू बाँकी थिए।

केले उनलाई त्यो बस्तीसम्म डोहोर्‍यायो त? किन त्यहीँको माटोमा बाँकी जीवन बिताउने प्रण गरे?

उनी ४० वर्षअघि मेडिकल विद्यार्थीका रूपमा पहिलो पटक नेपाल आएका थिए। त्यस बेला भर्खर २१ वर्ष लागेका लक्का जवान थिए। मेडिकल शिविर चलाउँदै उनी नेपालका गाउँहरूमा पुगे।

नेपालमा क्षयरोग व्याप्त थियो। क्षयरोगको खोप लगाउने अभियानका क्रममा पाल्पाको तानसेन पुग्दा उनले वर्षाैंदेखि रोग पालेका बिरामीहरू देखे। उनीहरूले कहिल्यै स्वास्थ्योपचार पाएका थिएनन्। यो दृश्यले उनको मन कुँडियो। त्यही बेला उनले प्रण गरेछन्, “कुनै दिन नेपाल फर्किएर दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्नेछु।”

त्यसपछिका ४० वर्ष जापानमै चिकित्सका रूपमा काम गरे। अवकाशपछि आफ्नो बाचा सम्झिए। अनि ६० वर्षको उमेरमा नेपालतिर हिँडे। “कुनै समय म नेपाल फर्कन्छु भनेर पहाडी भेगका नेपालीसँग मैले बाचा गरेको थिएँ” उनी भन्छन्, “त्यही बाचा सम्झेर म नेपाल आएँ।”

थबाङ

२०६५ सालमा नेपाल आएपछि करिब वर्षदिन काठमाडौँको वीर अस्पताल र रुकुमको चौरजहारी अस्पतालमा काम गरे। चौरजहारी अस्पतालबाट छिमेकी जिल्ला रोल्पाको थबाङ पुगे। स्वास्थ्य शिविरका क्रममा थबाङ पुगेका उनले त्यसैलाई आफ्नो मुकाम बनाए।

द्वन्द्वका क्रममा त्यहाँबाट सरकारी कार्यालय र स्वास्थ्य चौकीसमेत बिस्थापित भएका थिए। युद्धविरामपछि सानो अस्थायी छाप्रोमा स्वास्थ्य चौकी राखिएको थियो। एक जना सीएमए थिए। “शान्ति प्रक्रियापछि राज्य पक्षबाट यहाँको स्वास्थ्य क्षेत्रमा ध्यान पुगेको थिएन,” उनी भन्छन्।

युद्धका क्रममा घाइते र अंगभंग भएकाको अवस्था दयनीय थियो। स्वास्थ्य चौकीमा आधारभूत उपचारसमेत हुने अवस्था थिएन।

थबाङ पुगेपछि एक दिन उनले महिलाहरूले जंगलमा गएर बच्चा जन्माउनुपरेको सुने। उनको मनमा चिसो पस्यो। स्वास्थ्य सेवाको आवश्यकता यही गाउँमा भएको ठाने। अनि उनको मन थबाङमै अडियो।

अस्थाई स्वास्थ्य चौकीदेखि अस्पतालसम्म 
उनी थबाङ पुग्दा अस्थाई स्वास्थ्य चौकी थियो। त्यसमा एक जना स्वास्थ्यकर्मी थिए। सिटामोलजस्ता सामान्य औषधि मात्र पाइन्थ्यो। उपचार गर्नुपरे एक दिन हिँडेर सदरमुकाम लिबाङ पुग्नुपर्थ्यो।

डा. इसिदाले थबाङमा उपचार मात्र थालेनन्, स्वास्थ्य चौकीलाई रूपान्तरण पनि गर्दै गए। जापान सरकारबाट आफूले पाउने पेन्सनबाट औषधि र उपकरणहरू थपे। उपकरण ल्याउन आफैले २० लाखसम्म खर्च गरेको बताउँछन्। उनको तदारुकतापछि सरकारले पनि बजेट थियो। उक्त अस्थाई स्वास्थ्य चौकी जलजला अस्पताल तथा अनुसन्धान केन्द्रमा परिणत भयो।

जलजला अस्पताल निर्माणका क्रममा डा. इसिदा। फाइल तस्वीर

अस्पतालले ओपीडी, मिनी अपरेसन थिएटर, एक्स रे, भिडियो एक्सरे, अल्ट्रा साउन्ड, ल्याबलगायत सेवा दिन थाल्यो। तर अस्पताल भने टहरामै थियो। टहरामै भए पनि स्थानीयले जटिलबाहेक स्वास्थ्य उपचार गाउँमै पाउन थाले।

तर डा. इसिदा यतिमै चित्त बुझाएर बसेनन्। यो उपचार थबाङवासीले मात्र हैन, पूर्वी रोल्पा र रुकुमका नागरिले पनि पाउनुपर्छ भन्ने लाग्यो। अनि ठूलो अस्पताल बनाउन पहल थाले।

अहिले रोल्पाको थबाङमा १४ करोड लागतमा १५ बेडको अस्पताल तयार भएको छ। “अस्पतालका केही काम बाँकी नै छन्, तर सञ्चालनमा आएको छ,” उनी भन्छन्।

अस्पतालमा डा. इसिदासहित थबाङकै पूर्वसांसद सन्तोष बुढा मगरकी छोरी डा. शिला बुढा र अन्य चार जना स्वास्थ्यकर्मी कार्यरत छन्। अस्पतालमा अझै दुई जना एमबीबीएस डाक्टर र नर्सहरू आवश्यक भएको उनी बताउँछन्।

यो क्षेत्रमा धेरैजसो क्षयरोगका बिरामी छन्। प्रत्येक हप्ता एक जना नयाँ क्षयरोगी थपिन्छन्। यहाँ उनले क्षयरोगको विशेष अस्पताल बनाउन खोजेका छन्। क्षयरोग परीक्षण गर्ने मेसिन अस्पतालमा छैन।

उनले थबाङमा सेवा गरेको १८ वर्ष भइसकेको छ, तर बिरामीसँग शुल्क लिँदैनन्। बरु बाहिर गएर उपचार गर्नुपर्ने बिरामीलाई आर्थिक सहयोग गर्छन्। जापान सरकारबाट आफूले पाउने गरेको पेन्सन पनि बिरामी र न्यून आय भएका स्थानीयका लागि खर्चिन्छन्।

डा. इसिदा नेपाली नागरिकता चाहन्छन्। जीवनका २० वर्ष नेपालमा बिताएपछि नेपाली भएर यहीँको माटोमा अस्ताउने चाहने भएको उनको भनाइ छ। नागरिकता माग्दै धेरै नेतासमेत भेटिसकेका छन्।

थबाङकै माटोमा विलिन हुने इच्छा
डा. इसिदाले थबाङलाई आफ्नो घर ठानेका छन्। थबाङवासी पनि उनलाई आफ्नै डाक्टर ठान्छन्।

थबाङ गाउँपालिका अध्यक्ष ऋषिकेश बुढा मगर युद्धबाट प्रभावित स्थानीयलाई डा. इसिदाले मल्हम लगाइदिएको बताउँछन्। उनकै कारण स्वास्थ्य सेवा स्थानीयको पहुँचमा पुगेको मगरको भनाइ छ। “विदेशी भएर पनि उहाँले यो ठाउँका जनतालाई जुन गुन लगाउनुभएको छ, हामीले जति धन्यवाद दिए पनि पुग्दैन,” उनी भन्छन्।

डा. इसिदालाई अब यहाँबाट फर्किएर नजान आफूहरूले पनि आग्रह गरिरहेको अध्यक्ष मगर बताउँछन्। “उहाँको चाहना पनि अन्तिमसम्म गाउँमा नै बस्ने भन्ने छ,” उनी भन्छन्, “यहाँको जनता पनि उहाँ बस्नुहोस् भन्ने चाहन्छन्।”

डा. इसिदा थबाङवासीको सेवा गरेर देहत्याग पनि यही माटोमा गर्ने इच्छा भएको बताउँछन्। उनी भन्छन्, “म यहीँको माटोमा विलिन हुन चाहन्छु। थबाङ छोडेर कतै जाने पक्षमा छैन।”

उनका श्रीमती र छोराछोरी भने जापानमै छन्। उनलाई जापान फर्कन भनिरहन्छन्। तर उनको मन थबाङमा बसेको छ। यहाँका जनताको सेवा गर्दा पाएको खुशीले जापानको सम्पन्न जीवनलाई बिर्साइदिएको बताउँछन्।

बेलाबखत जापान आउजाउ गरिरहन्छन्। “दुईचार वर्षमा एकचोटि परिवार भेट्न पुगिरहेको हुन्छु, तर यहाँको सम्झनाले मलाई गाउँ नै फर्काउँछ,” उनी भन्छन्।

उनकी श्रीमती पनि पाँच वर्षअघि थबाङ आइपुगेकी थिइन्। डा. इसिदाले उनलाई आफ्नो मृत्युपछि चिहान राख्ने ठाउँ देखाए। त्यो ठाउँ थबाङकै पुछारमा थियो। श्रीमानको अडान देखेर उनी अवाक भइन्।

आफू देश फर्कनै लाग्दा उनले श्रीमानलाई सोधेकी थिइन्, “घर कहिले फर्किने?”

तर डा. इसिदा मौन रहे।