विचार र दर्शन : क्रान्तिको पूर्वाधार

नेपालमा पनि सामाजिक, सांस्कृतिक र बौद्धिक लगायत क्रान्ति भएपछि मात्र आमूल परिवर्तन हुने सम्भावना देखिन्छ। त्यसको मूल आधार भने प्रस्ट दृष्टि र विचार नै हो।

राज्य र समाजको सञ्चालनमा वैचारिक पक्षलाई अचेल कम प्राथमिकतामा राखिएको देखिन्छ। भर्खरै सम्पन्न संघीय र प्रादेशिक निर्वाचन पूर्व दलहरूबीच भएका बेमेल गठबन्धन पनि सिद्धान्तहीन थिए। केवल शक्तिको स्वार्थका आधारमा सिर्जित कित्ताकाट थिए ती। विचारहीनताकै कारण चुनावको परिणाम आउनेबित्तिकै अनुमान बाहिरका घटनाक्रमहरू विकसित हुन थाले। जसको पनि सरकार बन्नसक्ने वा ढल्नसक्ने अवस्थाले पनि विचारहीनताको संकेत गर्छ।

राजनीतिक वृत्तको यो वृत्तिले मूलतः समाजकै वैचारिक धरातललाई प्रतिनिधित्व गरेको छ। विचार र सिद्धान्तका बहसहरू कहिले वैश्विक रूपमा, कहिले क्षेत्रीय त कहिले स्थानीय स्तरमा विभिन्न घटनाका तत्कालीन प्रतिक्रियाका रूपमा व्यक्त हुने गर्छन्। नेपालमा पनि विभिन्न कालखण्डमा विचारका बहस उठान र बैठान हुने गरेको देखिन्छ। अहिले भने वैचारिक विचलनको कालखण्ड गुज्रिरहेको प्रतीत हुन्छ। तर यसैमा टेकेर वैचारिक क्रान्ति सम्भव छ। आजको विचारहीनता नै त्यस क्रान्तिको उर्वर भूमि हो। यो आलेख त्यसैको उपज हो।

 कस्तो क्रान्ति? 
यदि क्रान्ति शब्दलाई 'छोटो समयमा ठूलो परिवर्तन' भनेर लिने हो भने क्रान्ति अनेक खालका हुन सक्छन्। राजनीतिक, सामाजिक, सांस्कृतिक, वैज्ञानिक, वैचारिक क्रान्ति आदी। आजको क्रान्तिको विषय चाहिँ राजनीतिक, सामाजिक र वैचारिक नै हो। कुनै पनि समाजमा क्रान्ति अर्थात् 'छिटै असाधारण परिवर्तन’ ल्याउनका लागि अनिवार्य सर्त उन्नत सामाजिक चेतना हो।  समाजको चेतना वृद्धि नभईकन ठूला परिवर्तन सम्भव हुँदैन। जस्तो कि, राजतन्त्र नेपालका लागि आवश्यक छैन भन्ने ठानेर नै राजा फाल्ने गरी नेपालमा माओवादी जनयुद्ध भएको हो। राजाविहीन लोकतन्त्र सम्भव छ भन्ने चेतना सर्वत्र जनतामा पुगेपछि मात्रै ६२/६३ सालमा देशभर १९ दिनसम्म जनता सडकमा उत्रेका हुन्। 

वैचारिक क्रान्ति भन्ने बित्तिकै कुन खालको विचार भन्ने प्रश्न उठ्छ। प्रगति उन्मुख या प्रतिगमन उन्मुख? समाजलाई विवेकशील र न्यायशील बनाउने हो भने समाजमा रहेका एकल जातिवाद, भाषावाद, नातावाद, वंशवाद, धार्मिक द्वन्द्व, लिंगभेद, बढ्दो धार्मिक असहिष्णुता, जनसंख्या वृद्धि र क्षेत्रीय सर्वोच्चताजस्ता उन्मादलाई कम गर्नेतर्फ समाजका चेतनशील वर्ग (खास गरी लेखक, पत्रकार, विद्वान, शिक्षक, प्राध्यापक, विकासे कार्यकर्ता तथा जनप्रतिनिधि) को प्रयास हुनुपर्छ। तर, समाजका यी समस्याहरू बुझ्नका लागि व्यक्ति संवेदनशील हुनुपर्छ। संवेदनशील मान्छे बनाउनका लागि माथि उल्लेख गरिएका चेतनशील वर्गले हरपल प्रयत्न गर्नुपर्छ। आफैँलाई पहिले विवेकशील र तार्किक बनाउनुपर्छ। 

समाजमा रहेका अनेकौँ समस्याबारे माथि उल्लेख गर्‍यौँ। यदि ती समस्या हाम्रा साझा समस्या हुन् भन्नेमा तपाईं सकारात्मक हुनुहुन्छ भने तपाईं पक्कै महात्मा गान्धी या नेल्सन मण्डेलाजस्ता व्यक्तिको पथमा आफूलाई पाउनुहुनेछ। हालसालै नेपालमा धेरै महत्त्वपूर्ण क्षणहरू आए, जसले देशको भावी दिशा निर्धारण गरे। सन् १९९० मा प्रजातन्त्रको पुन:स्थापना हुनु यस्तै एउटा क्षण थियो। 

नेपाली विद्रोहहरू 
त्यसपछि सन् १९९६ मा माओवादी विद्रोहको थालनी, सन् २००२ र २००५ मा राजाद्वारा आंशिक र पूर्णता ग्रहण, सन् २००६ को दोस्रो जनआन्दोलन, सोही वर्ष भएको विस्तृत शान्ति सम्झौता, सन् २००७ मा अन्तरिम संविधानको घोषणा तथा संघीयता र समावेशीकरणलाई थप उन्नत बनाउने मुद्दा बोकेर सन् २००७ मा शुरू भएको मधेश आन्दोलन छोटा अवधिमा भएका क्रान्तिका उदाहरण हुन्। पहिलो संविधानसभामार्फत माओवादीको सत्तारोहण र सन् २०१५ को भूकम्पको केही महिनापछि भएको नयाँ संविधानको घोषणासँगै संविधानमा असन्तुष्टि राख्दै पुनः एकपटक मधेशमा आन्दोलनको छिटा देखिए। 

यी सबै क्रान्ति राजनीतिक क्रान्ति हुन्। तर राजनीति क्रान्तिले मात्र समाज रूपान्तरण हुँदैन। नहुने रहेछ भन्ने अनुभवले नै देखायो। सबै खालका न्याय र समानताका लागि राजनीतिसँगै सामाजिक र सांस्कृतिक क्रान्ति पनि आवश्यक रहेछ। तर सामाजिक र सांस्कृतिक क्रान्तिको आधार फेरि पनि वैचारिक नै हो। देशको व्यवस्था बदलियो तर अवस्था बदल्नका लागि नेतादेखि राष्ट्रसेवक कर्मचारी र आम नेपाली जनतामा न्याय र समताको चेतना विकास हुन आवश्यक छ। 

विचारहीनताले जन्माउने कमसल नायक
वैचारिक बहसहरूको अभावमा नेपालमा बेलाबेला उदाएका या भेट्टाइएका नायकहरू पनि अन्ततः कमसल निस्किने गरेका छन्। त्यसले गर्दा आम मानिसमा निराशा र स्थापित विधि, व्यवस्था तथा मान्यताहरूप्रति नै तीव्र असन्तोष जन्माउने गरेको छ। यसले एउटा प्रतिक्रियावादी समाजको निर्माण गर्छ। यस्तो समाजमा सवालहरू धेरै हुन्छन् तर समस्या समाधानका उपाय या सूत्र हुँदैनन्।

आम नागरिकमा पार्टी र राजनीतिक दलप्रतिको वितृष्णा हटाएर विकास र परिवर्तनको लागि राजनीति हुनु पर्नेमा भ्रष्टाचार, सत्ता लालसा र कुलीन वर्गको उपभोग संस्कृतिले आज पनि आम नेपाली नागरिकहरूलाई निराश बनाएको छ। उपायहीन युवा शक्ति दिनहुँ रोजगारीका लागि अरूको देश बनाउन हिँडेका छन्। लाजमर्दो कुरा, नेपालका केही राजनीतिक नेताहरूले त यसलाई रोक्नुको सट्टा वैदेशिक श्रममा नेपाली युवा पठाउने कुरालाई चुनावी अजेन्डासमेत बनाए।    

सवाल लिएर घुमिरहेको पुस्तालाई विचारको हतियार दिन नसक्दा पनि यो अवस्था आएको हो। हजारौँ वर्षदेखिको उत्पीडनको जगमै आज गरिबी र बेरोजगारी बढेको हो। यदि देशका नागरिक विचारबाट दीक्षित हुन्थे भने सामाजिक उत्पीडनका कुरा बुझ्थे र त्यसको न्यूनीकरणमा लाग्थे। विचारको सञ्चार गर्ने विश्वविद्यालय, शैक्षिक प्रतिष्ठान, प्राज्ञिक थला, अनुसन्धान तथा वैचारिक बहस गर्ने व्यक्ति संस्थाहरू कमजोर हुँदा आएको नतिजा पनि हो यो।  

कार्ल मार्क्सले भने ‘सम्पूर्ण संरचना छिट्टै परिवर्तन हुनुपर्छ।’ विचारको हकमा पनि यो लागु हुन्छ। आजका युवाहरू पनि छिट्टै परिवर्तन चाहन्छन्। के तपाईं भ्रष्टाचार, बेरोजगारी र महँगीबाट छिटो परिवर्तन चाहनुहुन्न? इतिहास हेर्दा फ्रान्सको लुइस–१५ ले धेरै युद्ध लडेर फ्रान्सलाई दिवालियापनको छेउमा पुर्‍यायो। कुलीन वर्गको निरन्तर अत्याचार र शोषणले १७८९ मा फ्रान्सेली क्रान्तिलाई जन्म दियो। १९१७ मा रसियामा पनि विकार चरम सीमामा हुँदा युवा सडकमा उत्रिए। सन् २०१० मा मोहम्मद बोउजीजीको आत्मदाहले ट्यूनिसियाका जनतालाई सरकार विरुद्ध उक्सायो। खाद्यान्नको मूल्यवृद्धि, बेरोजगारी र अन्य समस्याले आगोमा तेल थप्यो। क्रान्तिको यो लहर उत्तर अफ्रिकी देश ट्यूनिसायाबाट इजिप्ट र लिबियासम्म कहिले पुग्यो, कसैलाई पत्तो पनि थिएन। यी आन्दोलनमा युवाहरूको सहभागिता उल्लेख्य थियो। 

अहिलेको आन्दोलनको सबैभन्दा ठूलो कुरा के हो भने संसारभरका युवाहरूले फेसबुक, ट्विटर, टिकटक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालमार्फत आन्दोलनलाई गति दिएका छन्। बढ्दो गरिबी, बेरोजगारी, सामाजिक विभेद, बढ्दो महँगी र भ्रष्टाचारले क्रान्तिलाई निम्तो दिइरहेको छ। 

न्याय प्रणालीमाथिको प्रश्न  
भर्खरै नेपालमा संघीय र प्रादेशिक सांसदहरू चुनिएर आएका छन्। तर ती बसै सांसद र सांसदसामु एउटा गम्भीर प्रश्न खडा छ,  देशको न्याय प्रणालीमा आम जनताको कति विश्वास छ? संसद्सामु सबैभन्दा ठूलो प्रश्न गिरेको न्याय प्रणालीको विश्वसनीयता कसरी कायम गर्ने भन्ने हो। सँगै, गरिबी, भोकमरी र भ्रष्टाचारको मुद्दा पनि हो। राजनीतिक संरक्षणका कारण आज पनि अख्तियार दुरुपयोग अनुसन्धानले भ्रष्टाचारीलाई कारबाही गर्न सक्दैन। उल्टै 'अख्तियार' नै भ्रष्टाचारमा संलग्न भएका आरोप लाग्छन्। त्यसो हुँदा यो व्यवस्थामा सुधार गर्नुपर्छ भन्ने प्रश्न उठेको छ। व्यवस्थाप्रति नागरिकको विश्वास कमजोर हुन थालेको छ। आक्रोश बढ्दो छ। गत चुनावमा जनताले केही नयाँ दललाई दिएको भोट भारले पनि त्यसतर्फ संकेत गर्छ। 

युवाको जोशविना युद्ध र क्रान्ति सम्भव छैन। पहिलो जनआन्दोलन, माओवादी आन्दोलन, दोस्रो जनआन्दोलन, मधेश आन्दोलन अथवा महिला दलित र जनजातिहरूले उठाएका अनेक आन्दोलनका पछाडि युवा नै थिए। ठूला बगावतहरूमा बलिदान दिने प्राय सबै युवा थिए। अतः देश आज त्यसतर्फ उन्मुख छ। तर त्यसका लागि स्पष्ट विचार र दर्शन आवश्यक हुन्छ। विचार र आदर्शबिनाको उत्तेजना र आक्रोशले सही दिशानिर्देश दिन सक्दैन। क्रान्तिका लागि पनि समाजमा वैचारिक पूर्वाधारको खाँचो छ।

भारतीय समाजवादी नेता जयप्रकाश नारायण राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, बौद्धिक, शैक्षणिक र आध्यात्मिक गरी सात क्रान्तिलाई क्रान्तिको पूर्णता ठान्थे। नेपालमा पनि सामाजिक र सांस्कृतिक र बौद्धिकलगायत क्रान्ति भएपछि मात्र आमूल परिवर्तन हुने सम्भावना देखिन्छ। तर त्यसको मूल आधार भने प्रस्ट दृष्टि र विचार नै हो।