मिर्गौला प्रत्यारोपणको प्रतीक्षामा रहेका ९० प्रतिशत बिरामी अंगदाता नपाएर ज्यान गुमाउँछन्। मस्तिष्क मृत्यु कार्यक्रम सफल भए सुश्रीताजस्तै धेरैले जीवनदान पाउन सक्छन्।
काठमाडौँ– ‘मिर्गौला फेल हुनुले के जनाउँछ?’
सात वर्ष अघिसम्म सुश्रीता थापालाई यो विषय थाहा थिएन।
एक दिन उनी एक्कासि बेहोस भइन्। आमा सुशीलाले नजिकैको क्लिनिकमा पुर्याइन्, तर त्यहाँको आकस्मिक उपचारले काम गरेन। क्लिनिकका स्वास्थ्यकर्मीले सुझाए, “गम्भीर समस्या भएजस्तो छ, अस्पताल लैजानू।”
सुशीला अक्कबक्क परिन्। कहाँ लैजाने? तिनै स्वास्थ्यकर्मीले उपाय बताए, “टिचिङ लैजानू।”
उनी ट्याक्सी चढेर महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुगिन्। सुश्रीतालाई आकस्मिक कक्षमा भर्ना गरियो। सम्पूर्ण जाँचपछि चिकित्सकले सोधे, “सुगर र प्रेसरको बिरामी हो?”
सुश्रीताले ‘होइन’ भनेपछि फेरि सोधे, “एकदम धेरै पेनकिलर खाने गरेकी छ्यौ?”
उनले फेरि ‘होइन’को संकेत गरिन्।
डाक्टरले शंका गरे, “त्यसो भए जंकफुड धेरै खाने बानी रहेछ, पानी पनि प्रशस्त नपिउने होला!”
१९ वर्षकी सुश्रीता त्यसअघि सिकिस्त बिरामी परेकी थिइनन्। सुगर र प्रेसरजस्ता समस्या थिएनन्। उनीहरू अनुमानसमेत गर्न सकिरहेका थिएनन्– चिकित्सकले ‘मेडिकल हिस्ट्री’ किन सोधिरहेका थिए।
आमाछोरी दुवै सामान्य समस्या भएको ठानिरहेका थिए। अनेक प्रश्न र लामो भूमिकापछि डाक्टरले सुनाए, “दुवै मिर्गौला फेल भएछ, अब डायलासिस गर्नुपर्छ।”
उनीहरूलाई थाहा थिएन, ‘मिर्गौला फेल हुनुले के जनाउँछ?’ “सामान्य अपरेसन गरेपछि ठिक होला भन्ने सोचेको थिएँ, तर यो ठूलो रोग रहेछ,” सुश्रीता पहिलोपल्ट अस्पताल भर्ना भएको दिन सम्झन्छिन्।
यो सात वर्षअघिको कुरा थियो।
त्यसपछि उनलाई क्याम्पसबाट फर्किंदा हरेक दिन साथीहरूसँग खाएको पानीपुरी, चटपटे र चिप्सलगायत ‘जंक फुड’ सम्झिँदा पश्चात्ताप भयो। बारम्बार शौचालय जाने झन्झटले पानी कम पिउने बानी सम्झेर आफैसँग रिस उठ्यो। त्यतिञ्जेल ढिलो भइसकेको थियो। “त्यो लापरबाही सम्झँदा अहिले पनि आफैसँग रिस उठ्छ,” उनी भन्छिन्।
पीडा
त्यसपछि सुश्रीताका दर्दका दिन शुरू भए। हप्तामा तीनचोटि डायलासिसमा सधैँ बेहोस हुने डर हुन्थ्यो। खाना पच्दैनथ्यो। पिसाब राम्रोसँग लाग्दैनथ्यो। हिँडडुल गर्ने शक्ति हराउँदै थियो।
छालाको रङ फेरियो। हातगोडा सुन्निनु सामान्यजस्तै हुनथाल्यो। पढाइ अनि भविष्यका सपना छुट्दै गए। उनको संसार नै डायलासिस कक्ष र घरको एउटा कोठामा सीमित भयो। “आफ्नो अनुहार ऐनामा हेर्न डर लाग्थ्यो, मैले धेरै वर्ष ऐनै हेरिनँ,” उनी भन्छिन्।
डायलासिसका बेला चिकित्सकले ‘अंगदाता भए प्रत्यारोपण गरेर जीवन सहज बनाउन सकिने’ आशा देखाए। बिडम्बना, बुबाले अंग दिन मानेनन्। आमा सुशीलाको रक्तसमूह मिलेन।
सुशीला छोरीको जीवन सहज पार्ने सम्भावित उपाय खोज्दै थिइन्, त्यही बेला डायलासिस गराउने ठाउँमा कसैले सुनायो, “अंगदाता नभएकाले मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अंग लिनमिल्ने रहेछ!”
उनी राष्ट्रिय मिर्गौला उपचार केन्द्रका डा. ऋषिकुमार काफ्लेलाई भेट्न पुगिन्। सरकारले २०७३ सालमै कानून बनाएपछि मस्तिष्क मृत्यु भएकाको अंग झिकेर प्रत्यारोपण गर्ने बाटो सहज भएको डा. काफ्लेले सुनाए।
कानूनअनुसार, अंगदाता नभएकाहरूले भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा नाम लेखाएर पालो कुर्नपर्छ।
पर्खाइ
सुशीला छोरीलाई लिएर नाम टिपाउन प्रत्यारोपण केन्द्र पुगिन्, तर शुरूमै अन्य ठाउँमा डायलासिस गराएकालाई नदिने भनेर पन्छाइयो। पछि डा. काफ्लेले सिफारिस लेखिदिएपछि नाम दर्ता त भयो, अंगका लागि पालो कुर्नेहरू नै ८०० जना नाघिसकेका थिए।
त्यस बेलासम्म जम्मा चार जनाबाट अंग झिकेर आठ जनामा मिर्गौला प्रत्यारोपण गरिएको थियो। पालो कुरेर बस्दा बिरामीको ज्यानै जाने जोखिम पनि थियो।
त्यही नाम लेखाउने सूचीमा रहेका एक जनाले सुनाए, “यहाँ पालो कुर्नेहरू कति धेरै मरिसके, यस्ती कलिली छोरी अंग नपाएर मर्ली, यहाँको भर परेर बस्नुभन्दा भारत जानू, त्यता सेटिङ मिलाउन सकियो भने अंग किन्न सकिन्छ रे।”
शुरूमा उनलाई झनक्क रिस उठ्यो। रिस नियन्त्रण गर्दै भनिन्, “भाग्य रैछ भने पाउली के रे!”
नाम लेखाएदेखि नै मिर्गौला पाउने आशामा सुशीला पटक–पटक प्रत्यारोपण केन्द्र पुग्न थालिन्। तर बिस्तारै आशा मर्दै जान थाल्यो। डायलासिस केन्द्रमा अघिल्लो हप्तासम्म आइरहेका मानिस अर्को हप्ता हुँदैनथे। हरेक हप्ता कोही न कोहीले ज्यान गुमाउँथ्यो।
हप्तामा तीन पटक गर्नुपर्ने डायलासिसले सुश्रीता शारीरिक मात्र होइन मानसिक रूपमै गल्दै थिइन्। “हरेक पटक जाँदा कोही न कोही मरिसकेको सुन्दा अब आफ्नो पालो आउँदैछ भन्ने लाग्यो,” सुश्रीता डायलासिस कक्षको पीडादायी दिन सुनाउँछिन्।
डायलासिस कक्ष चहारेरै चार वर्ष बित्यो। सुश्रीता एकदिन डायलासिस गर्न राष्ट्रिय मिर्गौला रोग केन्द्रमा गएकी थिइन्, साँझ करिब ५ बजेको थियो। त्यति बेला भक्तपुरस्थित मानवअंग प्रत्यारोपण केन्द्रका स्वास्थ्यकर्मीले फोनमा भने, “मस्तिष्क मृत्यु भएका व्यक्तिको अंग आउँदै छ, तुरुन्त आउनूस्।”
आमाछोरी हतारिँदै पुगे। त्यतिञ्जेल अन्य आठ जना बिरामी पुगिसकेका थिए। उनीहरूमध्ये त्यो अंग जो कोहीलाई मिल्न (क्रस म्याच भेरिफिकेसन) सक्थ्यो। तीमध्ये सुश्रीता मात्रै महिला थिइन्।
यो पनि: अंग नपाएर ज्यान गुमाइरहेछन् बिरामी, अलपत्र छ मस्तिष्क मृत्यु कार्यक्रम
उनीहरू अस्पतालमा भर्ना हुँदा अंग आइसकेको थिएन। बल्लबल्ल आएको अंग आफूमा नमिल्ला कि भन्ने चिन्ता सबैमा थियो। प्रत्यारोपणअघि गर्नुपर्ने महँगो जाँच गरेर सबै जना तयार भइसकेका थिए। “आठ जना बिरामीले आफैलाई मिलोस् भनेर कामना गरिरहेका थियौँ,” सुश्रिता त्यो दिन सम्झन्छिन्।
राति करिब १ बजे मस्तिष्क मृत्यु भएका व्यक्तिको अंग आयो। चितवनमा भएको बाइक दुर्घटनामा पोखरा घर भएका युवाको मृत्यु भएको रहेछ। सुश्रीताको जस्तै ती व्यक्तिको रक्त समूह पनि ‘ओ पोजेटिभ’ थियो। त्यो अंग सुश्रीता र अन्य दुई जनासँग ‘क्रस म्याच’ भयो। अंग प्रत्यारोपण नियमावलीको व्यवस्थाअनुसार, चिकित्सकले एउटा मिर्गौला सुश्रीता र अर्को ५२ वर्षीय पुरुषलाई दिने निर्णय गरे।
प्राप्ति
सुश्रीताले अंग पाउने निश्चित भयो, तर प्रत्यारोपण सफल होला कि नहोला दुविधा छँदै थियो। किनकि, अन्य मानिसबाट हालिएको अंगले ‘रेजेक्सन’ गर्नसक्ने चिकित्सकले सुनाएका थिए। “मलाई यो सबै सपनाजस्तै लागिरहेको थियो,” सुशीला सुनाउँछिन्।
भोलिपल्ट सुश्रीतालाई अपरेसन थिएटर पुर्याइयो। चिकित्सकले भने, “तिम्रो अपरेसन गर्ने डाक्टर मै हुँ, याद गर। अब लठ्याउछौँ, खासै केही हुन्न है नडराऊ।”
सुश्रीतालाई अपरेसन थिएटरभित्रको यही संवाद मात्र याद छ।
भित्र प्रत्यारोपण चलिरहँदा आमा सुशीलाका मनमा अनेक तर्कना चलिरहे। त्यो रात निकै लामो लाग्यो। अपरेसन थिएटर बाहिरभित्र गर्नेलाई सोधीखोजी गरिरहन्थिन्।
अन्ततः चिकित्सकले प्रत्यारोपण सफल भएको सुनाए। उनी ढुक्क भइन्। लामो सास फेर्दै छोरी होसमा आउने प्रतीक्षामा बसिन्।

सुश्रीता ब्युझिँदा अघिल्तिर आमा थिइन्। शरीर कताकता दुखेजस्तो भइरहेको थियो। “मम्मी मेरो अपरेसन भएको हो?” उनले आमालाई सोधिन्।
त्यो दिन २०७९ असार २३ गते बुधबार थियो।
अब नियमित डायलासिस गर्नुपर्ने झन्झट हट्यो। शरीरको दुखाइ पनि कम हुँदै गयो। आफूलाई स्वस्थ्य महसुस गर्न थालिन्। “स्वस्थ शरीर कस्तो हुन्छ भन्ने नै बिर्सिसकेको रहेछु, मिर्गौला हालेपछि मेरो शरीर हलुका भयो। मलाई त धेरै दिनसम्म विश्वास गर्नै गाह्रो भयो,” उनी भन्छिन्।
प्रत्यारोपण अघिसम्म उनले नयाँ जीवन पाउने सोचेकी थिइनन्। जागिर खान्छु भन्ने त कल्पना नै थिएन। तर अहिले उनी सामान्य जीवनमा फर्किसकेकी छन्।
घरनजिकैको बाइक शोरुममा काम गर्छिन्। त्यसले नियमित खानुपर्ने औषधिका लागि भरथेग गरेको छ। “जसोतसो अंग पाएर त बाँचे, तर मलाई अझै पनि त्यति बेला स्वास्थ्यको ख्याल नगरेकोमा पश्चात्ताप लाग्छ,” उनी भन्छिन्।
गुनासो
छोरीको जीवन बचाउन सकेकोमा सुशीला खुशी त छिन्, तर छोरीजस्ता हजारौँले अंग नपाएको यथार्थले पोल्छ। “मरेर जाँदा कसैलाई जीवन दिने त्यो मान्छे साँच्चिकै महान रहेछ, उसका परिवारको सोच राम्रो रहेछ, उनीहरूले स्वीकृति नदिएको भए मेरो छोरी कहाँ बाँच्थी र!” सुशीला भन्छिन्, “जलेर खरानी हुने अंगले कसैको जीवन बाँच्छ भने किन नदिने भनेर नाम लेखाएर आएको छु।”
मिर्गौला प्रत्यारोपणका लागि अंग प्राप्त गर्ने थोरैमध्येमा पर्छिन् सुश्रीता। अझ मस्तिष्क मृत्युबाट अंग पाउनु नेपालका लागि दुर्लभ घटना हो। यो कार्यक्रम शुरू भएयताका आठ वर्षमा जम्मा ६ जनाबाट मात्रै अंग झिकिएको छ।
मिर्गौलारोग विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठलगायतको टोलीले करिब तीन वर्षअघि गरेको अध्ययनले मधुमेहका ३० लाख बिरामीको आधारमा अन्तर्राष्ट्रिय तथ्यांकसँग तुलना गर्दा हरेक वर्ष झन्डै तीन हजार जनालाई मिर्गौलासम्बन्धी रोग लागेको देखाउँछ। अन्तिम चरणमा पुगेका र प्रत्यारोपणको प्रतीक्षामा रहेका ९० प्रतिशतले अंगदाता नपाएर ज्यान गुमाउँछन्।
अर्थात्, १०० मध्ये करिब १० जनाले मात्र प्रत्यारोपणका लागि अंग पाउँछन्। स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार, देशभर करिब आठ हजार बिरामी अंगदाताको पर्खाइमा छन्। भक्तपुरस्थित, प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु भएकाबाट निकालिएको अंग कुर्ने नै एक हजारभन्दा बढी छन्।
मिर्गौलारोगीको जीवनस्तर सुधार्न र डायलासिसमा भइरहेको सरकारी खर्च घटाउन प्रत्यारोपण नै उपयुक्त विकल्प हो। यसका लागि ‘मस्तिष्क मृत्यु कार्यक्रम’ प्रभावकारी बन्नसक्छ। मस्तिष्क मृत्यु भएका व्यक्तिबाट जेठ ११ गते अन्तिमपटक अंग झिकिएको थियो।
त्यसअघि, २०७९ असार २३ मा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अंग झिकिएको थियो। त्योबेला दुईमध्ये एउटा मिर्गौला सुश्रीतालाई प्रत्यारोपण गरिएको थियो। “आफू बाँचेकोमा खुशी छु, तर मिर्गौलारोगी हरेक दिन मरिरहेको सुन्दा नरमाइलो लाग्छ,” सुश्रीता कुराकानी टुंग्याउँछिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
