आँप सिजनअगावै बजारमा, खाँदा स्वास्थ्यलाई लाभ कि हानि?

आँप यसपालि चैतदेखि नै बजारमा छ्यापछ्याप्ती पाइन थालेको छ। सिजनभन्दा निकै अगाडि कसरी बजारमा आउँछन्, यी आँप मानव स्वास्थ्यका लागि कति सुरक्षित छन्?

काठमाडौँ- गोठाटारमा फलफूल पसल सञ्चालन गरिरहेका सर्लाही कविलासीका अंकज साहले वैशाखयता तीन थरी आँप ल्याएर बेचे। यसअघि ल्याएर बेचेका पहेँलो रङ अनि करिब आधा किलोको अकारको आँपको नाम उनैलाई थाहा छैन।

“इन्डियन आँप भनेर नै हामीले बेच्यौँ, नाम थाहा भएन। अहिले बम्बई ल्याएको छु,” उनले भने, “ग्राहकको चाहना र सिजनअनुसार फलफूल हामीले ल्याउने हो, अहिले आँपको सिजन आएपछि बजारमा जस्ता किसिमका आइरहेका छन्, त्यस्तो ल्याउनै पर्‍यो।” उनले इन्डियन नाम नै दिएर बेचेको आँप हिमसागर हो।

शुरूमा महँगो हुँदा डेढ/दुई सय रुपैयाँ तिरेर प्रतिगोटा आँपसमेत किनेर लैजाने ग्राहक पनि आएको अनुभव फलफूल व्यापारीहरूसँग छ। पैसा हुनेहरूले त झोलाभरी लगे।

एक हप्ता अघिदेखि प्रतिकिलोको करिब डेढ सय रुपैयाँसम्ममा बम्बई आँप आएपछि भने सामान्य मानिस पनि आँप किन्न थालेका छन्। वैशाखयता ३५० रुपैयाँ प्रतिकिलोमा आँप बेच्न थालेका अंकज बिहीबार प्रतिकिलो १२० रुपैयाँमा बम्बई आँप बेचिरहेको बताए। गोठाटारमै फलफूल पसल चलाउने सर्लाहीकी सविता साहले भने यस वर्ष चैतदेखि नै आँप बेच्न थालेको बताइन्।

राष्ट्रिय फलफूल विकास केन्द्रका वरिष्ठ बागवानी विकास अधिकृत सूर्यप्रसाद बरालका अनुसार नेपालमा अगौटे जातको आँप पाक्ने स्वाभाविक समय अझै भइसकेको छैन। अगौटे जातमा गनिने बम्बई पहेँलो र हरियो (सबुजा) आँप तयार भएर बजार आइपुग्न अझै कम्तीमा एक हप्ता लाग्छ।

अर्थात्, यी जातका आँप बजारमा आएपछि नेपालमा बल्ल सिजन शुरू हुनुपर्ने हो। तर यसपालि यी जातका आँप आउनुभन्दा दुई महिनाअगावै बजारमा आँप उपलब्ध छ।

बरालका अनुसार बजारमा बम्बई आँप आफ्नो स्वाभाविक समयभन्दा कम्तीमा दुई हप्तापहिले नै आइसकेको छ। किनकि कसैकसैले अगावै टिपेर केमिकलको सहयोगले पकाएर बजारमा पुर्‍याउन सक्ने सम्भावना छ। तर अगौटे जातको आँपको सिजन सकिएपछि आउने मध्यम मौसमी आँप मालदह (मालदेव) पनि बजारमा छ्यापछ्याप्ती आइसकेको देख्दा भने आश्चर्य लागेको उनी बताउँछन्।

आँप उष्ण क्षेत्र (गर्मी ठाउँ) मा हुने फल हो। भारतीय उपमहाद्वीपमा धेरै गर्मी हुने दक्षिण भारतीय प्रान्तमा आँप तुलनात्मक रूपमा कम्तीमा दुई महिनाअगावै तयार हुन्छ। त्यस्ता आँप नेपाल र उत्तर भारतमा पाइनेभन्दा फरक रङ, आकार र सुगन्धका हुन्छन्।

विज्ञका अनुसार नेपालमा योपालि सिजनअगावै आइपुगेको आँप दक्षिण भारत र गुजरात प्रान्ततिरबाट बजारको मागअनुसार भित्रिएको देखिन्छ। भन्सार विभागको तथ्यांकले पनि बजारमा भारततर्फबाट भारी परिमाणमा आँप भित्रिरहेको देखाउँछ। हुन त, बेमौसमी आँप सिजन नहुँदा पनि छिटपुट आयात हुने गरेको छ।

चालु आर्थिक वर्षमा भने चैतदेखि आँपको आयात बढ्न थालेको भन्सार विभागको तथ्यांकले देखाउँछ। फागुनमा ११ हजार ३७५ किलो आयात भएर आएको आँप चैतमा बढेर एक लाख आठ हजार ५७७ किलो अर्थात् १०८.५७ टन भित्रियो। वैशाखमा त चैतको तुलनामा करिब ११ गुणा बढी एक हजार १९२.५ टन आँप आयात भएको छ। वैशाखमा भित्रिएको आँप भनेको १० टन अट्ने ट्रकमा करिब १२० खेप बराबर हो।

भारतबाट भित्रिएको आँपलाई बजारमा पुर्‍याउन पाक्न जरुरी हुन्छ। यसका लागि प्रयोग गरिने केमिकल ‘क्याल्सियम कार्बाइड’ हो। राष्ट्रिय फलफूल विकास केन्द्रका वरिष्ठ बागवानी विकास अधिकृत बरालका अनुसार यो केमिकलले आँपलाई स्वास्थ्यका लागि हानिकारक बनाइदिन्छ। कुन आँप आयो भन्दा पनि त्यो आँप कसरी पकाइयो भन्ने सवाल महत्त्वपूर्ण हुने बरालको भनाइ छ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का लागि आँपको अध्ययन गरेका बागवानी वैज्ञानिक मनीष त्रिपाठी पनि आँपको उपभोगमा क्याल्सियम कार्बाइड केमिकलको प्रयोग गम्भीर पक्ष भएको बताउँछन्।

विश्वव्यापी माग वृद्धिले फलफूल पकाउने क्रममा विषाक्त रसायनको प्रयोगलाई प्रेरित गरेको शोधमूलक जर्नल 'साइन्स डाइरेक्ट'मा प्रकाशित एक अनुसन्धानले देखाएको छ। २०७८ फागुन १६ मा प्रकाशित लेखमा भनिएको छ, “सामान्यतया प्रयोग हुने क्याल्सियम कार्बाइडमा आर्सेनिक तथा अन्य विषाक्त र क्यान्सरजन्य रसायनजस्ता अशुद्धता निरन्तर रूपमा पाइन्छ।”

लेखअनुसार छाला पोल्ने, छालाको जलन र सुजनजस्ता क्याल्सियम कार्बाइडको तीव्र प्रभावको अध्ययनसमेत गरिएको थियो। “हालैका समयमा, विशेषगरी विकासशील देशमा फलफूल पकाउन क्याल्सियम कार्बाइडको प्रयोग बढेको रिपोर्ट गरिएको छ, किनकि धेरै बिक्रेताले विषाक्त प्रभाव/जोखिमलाई नगण्य मान्न सक्छन्,” लेखमा उल्लेख छ। यसको दीर्घकालीन प्रभावमा क्यान्सर, हृदयरोग, मधुमेह जस्ता रोगहरूको सम्भावना पनि औँल्याइएको छ।

आँप प्रायः सबैलाई मन पर्ने फल हो, तर कुन प्रजातिको आँप कस्तो स्वाद र रूपरङको हुन्छ धेरैले थाहा पाउँदैनन्। यस्तोमा, पहेँलो र चहकिलो रङको आँपले ग्राहकलाई लोभ्याउँछ। जबकि, हरेक जातको आँपको आफ्नो मौलिक रङ हुन्छ। यसमध्ये थोरैको रङ मात्र प्राकृतिक रूपमा पहेँलो हुन्छ। क्याल्सियम कार्बाइडको प्रयोगले आँपको रङमा पहेँलोपना बढाइदिन्छ भने, कुनै–कुनैमा पहेँलोको सट्टा हलुका कालो रङ थपिन्छ।

नेपालमा फल्ने आँप
बागवानी वैज्ञानिक त्रिपाठीका अनुसार सबुजा, जर्दा, मालदह, बम्बई, चउसा आम्रपाली, गुलाबखास र दशहरी आँप अन्यभन्दा बढी स्वादिलो हुन्छ। यी सबै थरी आँपमा विशिष्ट सुगन्ध र गुलियोपना हुन्छ। गुलियोपना र हल्का अमिलोपनाको समायोजनसँगै नरम गुदीका कारण पनि फलमध्ये आँपको विशेष स्थान छ।

आँपसँग जोडिएको लोक मान्यतालाई उल्लेख गर्दै राष्ट्रिय फलफूल विकास केन्द्रको ‘फलफूलसम्बन्धी राष्ट्रिय तथ्यांक’मा ‘फलफूलको राजा’ भनी आँपलाई सम्बोधन गरिएको छ। जसअनुसार नेपालको सातै वटा प्रदेशमा आँप फल्ने तथ्यांक छ।

नेपालमा आँप उत्पादन हुने प्रमुख जिल्लाहरूमा झापा, मोरङ, सुनसरी, उदयपुर, सिराहा, सप्तरी, महोत्तरी, सर्लाही, धनुषा, बारा, पर्सा, रौतहट, धादिङ, नवलपरासी, कपिलवस्तु, रुपन्देही, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली र कञ्चनपुर पर्दछन्।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत राष्ट्रिय फलफूल विकास केन्द्रको ‘फलफूलसम्बन्धी राष्ट्रिय तथ्यांक, २०७८’ अनुसार वार्षिक रूपमा नेपालमा चार लाख ५३ हजार ४१६ मेट्रिक टन आँप उत्पादन हुन्छ। सबैभन्दा बढी सप्तरी र सिराहामा आँप उत्पादन हुन्छ। सप्तरीमा पाँच हजार हेक्टरबाट ३५ हजार मेट्रिक टन र त्यसपछि सिरहामा पाँच हजार हेक्टरबाट २० हजार मेट्रिक टन उत्पादन हुने गरेको सरकारी तथ्यांकले देखाउँछ।

नेपालका यी ठाउँमा पाइने आँप पनि पछिल्लो समय सिजनअगावै बजारमा देखा पर्ने प्रवृत्ति बढेको त्रिपाठी बताउँछन्। उनका अनुसार बम्बई नेपालमै हुने अगौटे जातको आँप हो। यो हरियो र पहेँलो दुई थरी हुन्छ। कलकतिया, अम्रपाली र मल्लिका लगभग थोरै अन्तरालमा मालदहसँगै आउने हो। ढिलो पाक्नेमा निलम, चौसा आदि हुन्।

व्यवसायीले यी आँपलाई छिटो बजारमा ल्याउन क्याल्सियम कार्बाइडको प्रयोग गर्ने उनको भनाइ छ। “बजारमा अहिले नै मालदह देखिन थालेको छ, त्यो अहिले कुनै पनि हालतमा तयार हुने जात होइन। तर, अगावै ल्याएर केमिकल हालेर मालदह ल्याएको भन्ने बुझ्न सकिन्छ,” त्रिपाठीले भने।