बसवराजु हत्यापछिको हलचल र नक्सलवादीसँग नेपालको साइनो

नेपालमा ‘झापा विद्रोह’को प्रेरणा मानिने भारतको नक्सलवादी आन्दोलनले ६० वर्ष पूरा गरिसकेको छ। यसका महासचिव बसवराजु गत हप्ता भारतीय सुरक्षाकर्मीको कारबाहीमा मारिँदा केही समूहले नेपालमा विरोध जनाएका छन्।

काठमाडौँ– भारतीय सुरक्षाकर्मीले माओवादीविरुद्धको अभियानमा गतसाता ठूलो उपलब्धि हात पार्‍यो। नक्सलवादी–माओवादी नेता बसवराजु मारिए। भारतीय माओवादीको मेरुदण्ड मानिने ७० वर्षका बसवराजुबारे जानकारी दिने वा हत्या गर्नेलाई केन्द्र सरकारबाट १ करोडसहित कुल १० करोड भारु हाराहारी इनाम तोकिएको थियो।

मे २१ को बिहानीपख छत्तीसगढको नारायणपुर जिल्लास्थित अबुझमद इलाकामा नक्सलवादी र सुरक्षा बलबीच मुठभेड भएको थियो। त्यही मुठभेडमा नक्सलवादी नेता नम्बल्ला केशव राव उर्फ बसवराजुसहित २७ माओवादी मारिए।

भारतीय सञ्चारमाध्यमका अनुसार भिडन्तमा जिल्ला रिजर्भ गार्ड (डीआरजी)का दुई जवानको पनि मृत्यु भयो। मुठभेड स्थलबाट तीन वटा एके–४७ राइफल, चार वटा एसएलआर, दुई वटा रकेट लन्चरसहित पेस्तोल र विस्फोटक पदार्थको ठूलो भण्डार बरामद गरिएको स्थानीय प्रहरी अधिकारीले जनाएका छन्।

यस कारबाहीमा मारिनेमध्ये माओवादीको दण्डकारण्य विशेष क्षेत्रीय समितिका सदस्य जंगु नवीनबारे जानकारी दिनेलाई २५ लाख रुपैयाँ इनाम थियो। यस्तै, कम्पनी पार्टी समिति सदस्य (सीवाईपीसीएम) संगीता, भूमिका, सोमली र रोशन उर्फ टिपुको नाममा प्रतिव्यक्ति १० लाख रुपैयाँ इनाम थियो। बाँकी सदस्यको नाममा पनि ८ लाखसम्म इनाम तोकिएको थियो।

प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाहले यो कारबाही माओवादविरुद्ध निर्णायक भएको बताएका छन्। शाहले तीन दशकमा पहिलो पटक यति उच्च तहका नेता मारिएको समेत बताए।

मुठभेडलगत्तै शाहले नक्सलवाद उन्मूलनको लडाइँमा ऐतिहासिक उपलब्धि भएको भन्दै सामाजिक सञ्जाल एक्समा पोस्ट गरे। उनको पोस्टमा भनिएको छ, “नारायणपुरमा भएको एक अपरेसनमा, हाम्रा सुरक्षा बलहरूले २७ जना खतरनाक माओवादीहरूलाई निष्क्रिय पारेका छन्, जसमा सीपीआई (माओवादी)का महासचिव, शीर्ष नेता र नक्सल आन्दोलनको मेरुदण्ड नम्बाला केशव राव उर्फ बसवराजु पनि समावेश छन्।”

उनको पोस्टलाई रिपोस्ट गरेका प्रधानमन्त्री मोदीले थपे, “हाम्रो सरकार माओवादीको खतरा हटाउन र हाम्रा जनतालाई सुरक्षाको प्रत्याभूति गर्न कटिबद्ध छ।”

अमित साह

केही महिनाअघि गृहमन्त्री शाहले २०२६ मार्चसम्म देशबाट माओवादीको आतंक उन्मूलन गर्ने बताएका थिए। त्यति बेला उनले भनेका थिए, “आउँदो मार्चसम्म पूरा देशलाई रातो आतंकबाट मुक्त गर्ने काम भारतीय जनता पार्टीको सरकारले गर्नेछ। जो सरेन्डर गर्छन्, यहाँ मूलधारमा आउलान्। तर जो हतियार बोकिरहन्छन्, उनीहरुको मोर्चा सुरक्षाकर्मीले सम्हालिहाल्छन्।”

छत्तीसगढ–तेलंगाना राज्य सीमामा रहेको बस्तर क्षेत्रमा पर्ने करेगुट्टा पहाड र वरपर सुरक्षा बलले गत अप्रिल २१ देखि ‘ब्ल्याक फरेस्ट’ अपरेसन सञ्चालन गरेको थियो। भारतीय सुरक्षा बलले सन् २०२४ मा नक्सलवादविरुद्ध शुरू गरेको अभियानकै एक हिस्सा थियो ब्ल्याक फरेस्ट अपरेसन।

भाकपा (माओवादी) लाई सन् २००९ मा आतंकवादी घोषणा गर्दै तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहको सरकारले ‘ग्रिन हन्ट’ अपरेसन चलाएको थियो। त्यति बेला सिंहले माओवादीलाई आन्तरिक सुरक्षामा सबैभन्दा ठूलो चुनौती भएको बताएका थिए। यस्तै, २०१९ मा अमित शाहले गृहमन्त्रीको पदभार ग्रहण गर्दा नक्सल–माओवादलाई जम्मू–कश्मीरको आतंकवादभन्दा ठूलो खतरा भएको बताएका थिए।

दक्षिण एशिया आतंकवाद पोर्टलका अनुसार, सन् २००० को दशकदेखि यस द्वन्द्वमा चार हजार नागरिक, दुई हजार ७०० सुरक्षा बलका कर्मचारी र चार हजार ८०० नक्सलीसहित ११ हजार ५०० भन्दा बढीको मृत्यु भइसकेको छ। छत्तीसगढमा २०२३ डिसेम्बरमा भाजपा सरकार गठन भएपछि मुठभेडमा ३६५ जना नक्सलवादीको मृत्यु र एक हजार ३८२ जना पक्राउ परेका छन्।

छत्तीसगढ सरकारको आत्मसमर्पण र पुनस्र्थापना नीतिबाट प्रभावित भएर दुई हजार ३०६ नक्सलवादीले आत्मसमर्पण गरेका छन्। माओवादीका मुख्यसहित ठूला नेताको हत्या गरिएपछि पछिल्लो अपरेसनले भारतमा माओवादीलाई कमजोर बनाएको त्यहाँका सुरक्षा अधिकारी बताउँछन्।

छत्तीसगढ प्रहरीको कमान्डो युनिट नक्सली प्रभावित क्षेत्रमा निगरानी गर्दै। तस्वीर: इन्डिया टुडे

समाचार एजेन्सी पीटीआईसँगको कुराकानीमा नारायणपुर, बस्तर रेन्जका आईजीपी सुन्दरराजले बसवराजु विगत ४०–४५ वर्षदेखि माओवादी आन्दोलनको हिस्सा रहेको बताएका छन्। २०० भन्दा बढी नक्सलवादी आक्रमणमा बसवराजु संलग्न रहेको उनको भनाइ छ।

प्रतिबन्धित संगठन भाकपा (माओवादी)का महासचिव बसवराजु यसकै सैन्य शाखा– जनमुक्ति सेना (पीएलजीए)का ‘कमान्डर इन चिफ’ थिए। पछिल्ला वर्षहरूमा नक्सलवादी आक्रमणको योजना बनाउन उनले सक्रिय भूमिका खेल्दै आएको पनि सुन्दरराजले बताएका छन्।

बसवराजु संलग्न सन् २००४ मा कोरापुट (ओडिशा) मा भएको घटनामा तीन जनाको ज्यान गएको थियो, एक हजार अत्याधुनिक बन्दुकसहित ५० करोड रुपैयाँ मूल्य बराबरका हतियार लुटिएका थिए। उनी २००५ को जहानाबाद जेल ब्रेक (बिहार)मा पनि संलग्न थिए, जसमा माओवादी र कुख्यात अपराधिसहित ३८९ कैदी भागेका थिए।

यस्तै, ७६ जना सीआरपीएफ कर्मचारीले ज्यान गुमाएको सन् २०१० को दन्तेवाडा (छत्तीसगढ) नरसंहारमा पनि उनको हात थियो। वरिष्ठ कांग्रेस नेताहरूसहित २७ जना मारिएको सन् २०१३ को झिरमघाटी आक्रमण र २०१८ मा आन्ध्र प्रदेशमा एक विधायकको हत्यामा उनी संलग्न थिए। आईजी सुन्दरराज भन्छन्, “सुरक्षा बलद्वारा उनको हत्याले माओवादीहरूलाई ठूलो धक्का पुर्‍याएको छ।”

भाकपा माओवादी र बसवराजु
गगन्ना, बीआर दादा, प्रकाश, दरपु नरसिंहा रेड्डी आदि उपनामले परिचित  बसवराजु बीटेक इन्जिनियर हुन्। आन्ध्र प्रदेशको श्रीकाकुलम जिल्लाको जियानापेटा गाउँका उनले तत्कालीन क्षेत्रीय इन्जिनियरिङ कलेज, वारंगलबाट बीटेक डिग्री हासिल गरेका थिए।

विद्यार्थीकालदेखि नै वामपन्थी राजनीतिमा सक्रिय उनी सन् १९७० को दशकमा प्रतिबन्धित भारतीय कम्युनिस्ट पार्टी (पिपुल्स वार ग्रुप) मा सामेल भए। सन् १९८० मा श्रीकाकुलममा पिपुल्स वार ग्रुपको विद्यार्थी संगठन ‘रेडिकल स्टुडेन्ट्स युनियन’ (आरएसयू) र अखिल भारतीय विद्यार्थी परिषद् (एबीभीपी) बीच झडप भयो।

झडप हिंसात्मक बन्यो। आरएसयूका तर्फबाट सहभागी बसवराजुलाई प्रहरीले पक्राउ गर्‍यो। त्यस बेलादेखि उनी फेरि प्रहरीको नियन्त्रणमा परेका थिएनन्।

त्यसै समयदेखि बसवराजुले माओवादी आन्दोलनको आश्रय लिँदै हतियार उठाए र पूर्णकालीन रूपमा भूमिगत जीवन शुरू गरे। हिन्दुस्तान टाइम्सको एक रिपोर्टअनुसार सन् १९८७ मा पिपुल्स वारले उनलाई बस्तरको जंगलमा पठाएसँगै श्रीलंकाको सशस्त्र समूह ‘लिबरेसन टाइगर्स अफ तमिल इलम’ले छापामार तालिम दियो। पछि उनी संगठनमा विस्फोटक तथा सैन्य रणनीति विज्ञका रूपमा चिनिन थाले।

बसवराजु

सन् १९९२ मा पिपुल्स वार ग्रुपको केन्द्रीय समिति गठनको निर्वाचनमा उनी केन्द्रीय सदस्य चुनिए। त्यही बेला उनका साथी मुपल्ला लक्ष्मण राव उर्फ गणपति समितिका सचिव बने।

पार्टीभित्र बसवराजुको प्रभाव बढ्दै गयो। उनले विभिन्न क्षेत्रहरूमा छुट्टाछुट्टै सानाठूला नक्सलवादी समूहहरूलाई एकीकरण गर्न थाले। सन् २००४ मा पिपुल्स वार ग्रुप, भारतीय कम्युनिस्ट केन्द्र (एमसीसी) र भाकपा नक्सलवादी गाभिएर बनेको भाकपा (माओवादी)का उनी संस्थापक नेता थिए।

त्यसपछि केन्द्रीय सैन्य आयोगको सचिव बनेका बसवराजुले सन् २०१८ मा गणपतिलाई प्रतिस्थापन गरी भाकपा (माओवादी)को महासचिव बने। उनको मृत्युसँगै माओवादी आन्दोलन नै संकटको घडीमा पुगेको अनुमान गर्न थालिएको छ।

बीबीसी हिन्दीसँगको कुराकानीमा छत्तीसगढका एक प्रहरी अधिकारी भन्छन्, “केशव राव (बसवराजु)को हत्यापछि माओवादी संगठन नेतृत्वविहीन भएको छ। यस्तो अवस्थामा, तपाईं भन्न सक्नुहुन्छ कि यो माओवादीहरूको अन्त्यको शुरूआत हो। गृहमन्त्री अमित शाहले २०२६ मार्च ३१ सम्म देशबाट माओवादी हिंसा अन्त्य गर्न तोकेको समयसीमा अब पूरा भएको देखिन्छ।”

नक्सलवादी–माओवादी भेद
नक्सलवादी माओवादी दुवै आन्दोलन हिंसामा आधारित छन्। चिनियाँ नेता माओत्से तुङको राजनीतिक विचारधाराबाट प्रभावित आन्दोलनलाई माओवादी नाम दिइएको हो। यस्तै, नक्सलवादी भारतको पश्चिम बंगालका जमिन्दारहरूविरुद्ध किसान आन्दोलनसँग सम्बन्धित आन्दोलन हो। यो सन् १९६० को दशकमा पश्चिम बंगालको दार्जिलिङ जिल्लामा पर्ने नक्सलबारी गाउँबाट शुरू भएको थियो।

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)बाट अलग्गिएर चारु मजुमदारले कानु सन्याल र जंगल सन्थालसँग मिलेर सत्तामा रहेका र जमिन्दारविरुद्ध किसान विद्रोहको नेतृत्व गरेका थिए। यसलाई नक्सलवादी आन्दोलन भनियो। यो आन्दोलनको हिस्सा बन्नेलाई नक्सलवादी भनेर चिनिन थालियो। बिस्तारै यो आन्दोलन बिहार र झारखण्ड हुँदै ओडिसा, आन्ध्र प्रदेश र महाराष्ट्रसम्म पुग्यो।

छत्तीसगढको जंगलमा तालिम गर्दै नक्सली लडाकु। तस्वीर: एपी

१९७२ जुलाई २८ मा चारु मजुमदारको प्रहरी हिरासतमा मृत्यु भयो, त्यसपछि उक्त संगठनले ठूलो चुनौतीको सामना गर्नुपर्‍यो। फेरि १९७५ नोभेम्बर २९ मा संगठनका महासचिव जोहर उपनामले चिनिने सुब्रत दत्तको पनि हत्या भयो। त्यही समयमा बंगाल र अन्य राज्यहरूमा कयौँ नक्सलवादी संगठनका सदस्य प्रहरीसँगको भिडन्तमा मारिएका थिए।

कानु सन्यालले भने सन् १९७७ मा सशस्त्र क्रान्ति र कम्युनिस्ट विचारधारा नै परित्याग गरेर शान्तिपूर्ण व्यक्तिगत जीवनमा फर्किए। धेरै पछि सन् २०१० मा उनले आत्महत्या गरे, यद्यपि यसमा कतिपयले आशंका व्यक्त गर्छन्। जंगल सन्थाललाई भने गिरफ्तारीपछि अलिपुर सेन्ट्रल जेलमा राखिएको थियो। उनलाई सशस्त्र क्रान्ति र कम्युनिस्ट विचारधारा परित्याग गरे आम माफी दिने आश्वासन दिइएको थियो। तर, उनले अस्वीकार गरे। जेलबाट छुटेपछि रक्सीको कुलतमा फसेका उनको सन् १९८८ डिसेम्बरमा मृत्यु भयो।

प्रमुख तीन नेताको अवसान हुँदासम्म नक्सलवाद आन्दोलन दर्जनौँ स–साना समूहमा विभक्त भइसकेको थियो। त्यसमध्येको एक भाकपा (माले– लिबरेसन) विनोद मिश्रको नेतृत्वमा शान्तिपूर्ण संसदीय राजनीतिमा फर्कियो। अहिले भारतको लोकसभामा यसको दुई सिट तथा बिहार र झारखण्ड विधानसभामा क्रमश: ११ र दुई सिट छन्।

विभिन्न आरोह अवरोह छिचोल्दै नक्सलवादी आन्दोलन र भारतीय कम्युनिस्ट पाटीहरू गाभिएपछि भाकपा (माओवादी) बन्यो। त्यसैलाई भारतमा नक्सलवादी तथा माओवादी दुवै नाम दिने गरिएको छ।

उनीहरूको दबदबा भएको भूभागलाई ‘रेड करिडोर’ भनिएको छ, जसमा छत्तीसगढ, झारखण्ड, ओडिसा, बिहार, महाराष्ट्र, आन्ध्र प्रदेश र पश्चिम बंगालका केही भाग समावेश छन्। प्राकृतिक स्रोतसाधनले भरिपूर्ण हुनुका साथै घना जंगल र चुनौतीपूर्ण भूभागले यस क्षेत्रलाई लामो समयसम्म द्वन्द्वको केन्द्रबिन्दु बनाएको छ।

नक्सलवादीको नेपाल साइनो
झापाको काकरभिट्टाबाट जम्मा ७ किलोमिटर दूरीमा छ नक्सलबारी। त्यहाँका किसान एकजुट भएर जमिनदारविरुद्ध सशस्त्र ढंगले विरोध गर्न थालेपछि त्यसको असर नेपालमा पनि पर्‍यो। 

मनमोहन अधिकारी नेतृत्वको पूर्वकोशी प्रान्तीय कमिटीबाट अलग्गिएर झापा जिल्ला कमिटीले कोअर्डिनेसन केन्द्र झापा गठन गरेका थिए। यसको संयोजक राधाकृष्ण मैनाली थिए। यो समूहमा मोहनचन्द्र अधिकारी, रामनाथ दाहाल, नेत्र घिमिरे, सीपी मैनाली, वीरेन राजवंशीलगायत थिए।

चारु मजुमदारको नेतृत्वमा नक्सलवादीहरूले गरेको आन्दोलनको सिको गर्दै कोअर्डिनेसन केन्द्र झापाले ‘वर्ग–शत्रु सफाया’ अभियान चलायो। राधाकृष्ण मैनालीले आफ्नो पुस्तक ‘नलेखिएको इतिहास’मा उल्लेख गरेअनुसार, त्यति बेला नक्सलवादी नेता मुनिलाल सिंहको सल्लाहबमोजिम नै झापाका कम्युनिस्ट नेताहरूले ‘जमिनदार र सामन्त’विरुद्ध अभियान चलाउने निष्कर्षमा पुगेका थिए।

“चारु मजुमदार र कानु सन्यालको नेतृत्वमा मुनिलालहरू विद्रोहको बाटोमा लागेका रहेछन्, उनले हामीलाई नेपालमा पनि तत्काल विद्रोह गर्नुको विकल्प नरहेको सल्लाह दिए,” मैनालीले लेखेका छन्, “आफ्ना अनुभव सुनाउँदै उनले विद्रोहको आवश्यकताबारे बताए। हामी विद्रोहका लागि स्क्वायड निर्माणलाई फैलाउने तयारीमा थियौँ। उनको सल्लाहले थप प्रोत्साहन मिल्यो, त्यसपछि हामी विद्रोह थालनी गर्ने सहज निष्कर्षमा पुग्यौँ।” (पृष्ठ १४)

उनीहरूले नक्सल आन्दोलनकै शैलीमा ‘झापा विद्रोह’को नाममा जमिन्दारविरुद्ध धावा बोल्न थाले। वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पनि ‘झापा विद्रोह’मा लागेका थिए। ती युवाले सामन्त भएको आरोप लगाएर केही सर्वसाधारणको ‘टाउको कटुवा’ अभियान नै चलाए। २०२८ देखि २०३० सालसम्म चलेको सो अभियान नै ‘झापा– विद्रोह’ नामले अहिलेसम्म चर्चित छ।

झापा विद्रोहका नेता रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठ प्रहरी कारबाहीमा मारिएका थिए। केपी शर्मा ओली भने धर्मप्रसाद ढकालको हत्या आरोपमा २०३० सालमा पक्राउ परेर १४ वर्ष जेल बसेका थिए। ओलीसँगै पक्राउ परेका मोहनचन्द्र अधिकारी पनि लामो समय जेल बसे।

त्यति बेला नक्सलवादीसँग जोडिएका नेपाली वामपन्थी दल तथा नेता अझै पनि नक्सलवादीको पक्षमा उभिन्छन्। भाकपा माओवादीका महासचिवसहितका नेता कार्यकर्ताको हत्याको विरोधमा राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालले बुधबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन नै गर्‍यो।

नेपालका वभिन्न ६ वटा कम्युनिस्ट पार्टीबीच दुई वर्षअघि गठबन्धन भएर बनेको हो क्रान्तिकारी मोर्चा। बुधबारको प्रदर्शनमा यसको ब्यानरमा लेखिएको थियो, “भारतीय कम्युनिस्ट पार्टी माओवादीका महासचिव क. नम्बाला केशव राव बसवराजु लगायतका नेताहरूको सामूहिक हत्याको विरोध गरौँ– फासिष्ट मोदी सरकारको भण्डाफोर।”