नेपाल टी-२० लिग : पोखरामाथि जनकपुरको जित

जितसहित जनकपुर २ अंकसहित तालिकाको तेस्रो स्थानमा छ। पोखरा भने पाँचौँ स्थानमा रहेको छ।

काठमाडौँ- जनकपुर रोयल्सले नेपाल टी-२० लिगमा विजयी शुरूआत गरेको छ। आइतबार सम्पन्न दिनको दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ५ विकेटले पराजित गर्दै जनकपुरले सुखद शुरूआत गरेको हो।

पोखराले दिएको १३९ रनको लक्ष्य जनकपुरले १७.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो। जनकपुरका लागि मध्यक्रमका सन्दीप जोराले अविजित रहँदै सर्वाधिक ४० रन बनाए। उनले ३० बलमा २ चौका र ३ छक्का प्रहार गरे।

ओपनर सागर पुनले ३५ बलमा ५ चौका र २ छक्कासहित ३८ रन बनाए। चाडविक वाल्टनले १९ रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

पोखराका लागि जाहिर खानले सर्वाधिक ३ विकेट लिए। उनले ४ ओभरमा ३७ रन खर्चिए। शरद भेषवाकर र मौसम ढकालको नाममा भने १/१ विकेट रह्यो।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको पोखराले ओपनर आशिफ शेखको अर्धशतकमा १९.४ ओभरमा सबै विकेट गुमाउँदै १३८ रन बनाएको थियो। उनले ३९ बलमा ४ चौका र २ छक्का प्रहार गरेका थिए।

सिद्धार्थ लोहनीले १६ बलमा ४ छक्कासहित २९ र तल्लोक्रमका प्रतिश जिसीले १८ बलमा ४ छक्कासहित २८ बनाए। अमिर हाम्जाले १८ रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

जनकपुरका केसरिक विलियम्सले सर्वाधिक ३ विकेट लिए। उनले ३.४ ओभरमा १९ रन खर्चिए। पवन सर्राफ शरफुदिन असरफ र ललित राजवंशीले २/२ विकेट लिए। यता सोमपाल कामीको नाममा १ विकेट रह्यो।

जारी प्रतियोगितामा पोखराको यो लगातार दोस्रो हार हो। यसअघि पोखराले उद्घाटन खेलमा काठमाडौँ नाइटसँग २६ रनको हार बेहोरेको थियो।

जितसहित जनकपुर २ अंकसहित तालिकाको तेस्रो स्थानमा छ। पोखरा भने पाँचौँ स्थानमा रहेको छ।