सीप सिकाउने सरकारी–गैरसरकारी दर्जनौँ निकाय हुँदा पनि नेपाली बिनासीप वैदेशिक रोजगारीमा पुगिरहेका छन्। यसरी जाने श्रमिक खतरा, कठिन र फोहोर (थ्री–डी) काम गर्न बाध्य हुन्छन्।
काठमाडौँ– हातमा कुनै पनि सीप नलिएरै श्रमिकहरू वैदेशिक रोजगारीमा जाने अवस्थामा सुधार हुन सकेको छैन। चालू आर्थिक वर्ष (आ.व.) को वैशाख मसान्तसम्म वैदेशिक रोजगारीमा जान अन्तिम श्रम स्वीकृति लिएका ६ लाख ८५ हजार ९२४ श्रमिकमध्ये झन्डै १ लाख ६४ हजार जना अदक्ष अर्थात्, कुनै पनि सीप नजानेका थिए।
गत आ.व. २०८०/८१ मा सात लाख ४५ हजार श्रमिक वैदेशिक रोजगारीमा गए। तीमध्ये झन्डै डेढ लाख अदक्ष थिए। यो पुन: श्रमस्वीकृति लिएका (वैदेशिक रोजगारीबाट फर्केर फेरि जान खोज्ने)सहितको तथ्यांक हो। पहिलो चोटि वैदेशिक रोजगारीमा जानेहरूको तथ्यांक केलाउँदा अदक्ष श्रमिकको संख्या दोब्बर हुन आउँछ।
नेपालको आप्रवासन अवस्थाबारे आईओएमको पछिल्लो रिपोर्ट (२०२२)ले विगत २० वर्षमा वैदेशिक रोजगारीमा जाने अदक्ष कामदारको हिस्सा ५४.८ प्रतिशत रहेको देखाउँछ।
यसरी बिनासीप/तालिम रोजगारीका लागि विदेश पुगेका श्रमिकले अनेक दुःख भोग्ने गरेका छन्। यस्ता श्रमिक खतरा, कठिन र फोहोर (थ्री–डी) काम गर्न बाध्य हुन्छन्। शौचालय सफाइ, निर्माण तथा उत्पादन क्षेत्रमा जोखिमयुक्त तथा ४० डिग्री माथिको चर्को घाम र शारीरिक श्रम धेरै हुने काममा खटाइन्छ।
विदेशमा नेपाली श्रमिकले ज्यान गुमाउने विभिन्न कारणमध्ये कार्यस्थलमा हुने दुर्घटना पनि हो। यसको मुख्य कारण कामप्रतिको सामान्य दक्षता पनि नहुनु रहेको विभिन्न अध्ययन प्रतिवेदनहरूमा उल्लेख छ। मेसिनको प्रयोग गर्न नजान्दा मेसिनमै परेर अंगभंग हुनेदेखि ज्यानैसमेत जाने गरेको छ।
कठिन र जोखिमयुक्त कामले स्वास्थ्यमा समेत असर गर्छ। वैदेशिक रोजगार बोर्डका अनुसार विगत १५ वर्षमा वैदेशिक रोजगारीका क्रममा १४ हजार नेपालीको मृत्यु भएको छ। तीमध्ये कार्यस्थल दुर्घटनामा झन्डै एक हजारको ज्यान गएको छ। हृदयघात र बिरामी परेर ६ हजारभन्दा बढीको मृत्यु भएको छ।

वैदेशिक रोजगार बोर्ड, व्यावसायिक सीप विकास तालिम प्रतिष्ठान र गैरसकारी संस्थामा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना (सामी) ले श्रम मन्त्रालयसँग मिलेर वैदेशिक रोजगार केन्द्रित तालिम दिन्छन्। यसबाहेक उद्योग मन्त्रालय, महिला तथा बालविकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयले पनि तालिम दिन्छन्।
प्रदेश तह र स्थानीय तहबाट समेत तालिम दिने व्यवस्था छ। दर्जनौँ सरकारी संयन्त्र र निकायबाट तालिम दिइँदै आए पनि बिनासीप वैदेशिक रोजगारीमा जाने अवस्था कसरी आयो?
सीप सिकाइका ७० वर्ष
दक्ष श्रमिक उत्पादन गर्न सरकारी तवरमै सीप सिकाइको संस्थागत थालनी भएको झन्डै ७० वर्ष भइसकेको छ। २०१३ सालमा विराटनगरमा व्यावसायिक प्रशिक्षण केन्द्र स्थापना भएको थियो। १९९३ सालमा विराटनगर जुटमिल खोलिएको ३० वर्षपछि दक्ष श्रमिकको आवश्यकता महसुस गरेर केन्द्र स्थापना भयो।
त्यस्तै, २०३३ सालमा हेटौँडामा र २०३४ सालमा इटहरीमा श्रमिक आपूर्ति केन्द्र स्थापना गरियो। २०३४ सालमै काठमाडौँमा केश कर्तन तालिम केन्द्र खोलियो। विसं. २०४० को दशकसम्म आइपुग्दा देशभर १५ वटा श्रमिक आपूर्ति केन्द्र तथा व्यावसायिक सीप विकास तालिम केन्द्र स्थापना भइसकेका थिए।
छरिएर रहेका ती केन्द्रलाई एकीकृत गरी आ.व. २०६१/६२ मा विभागस्तरीय कार्यालयका रूपमा भैँसेपाटीमा व्यावसायिक तथा सीपविकास तालिम केन्द्र स्थापना भयो। २०७५ सालमा उक्त तालिम केन्द्रको नाम परिवर्तन गरी व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान राखियो।
प्रतिष्ठान मातहतका १३ केन्द्रलाई सम्बन्धित प्रदेश सरकारमा हस्तान्तरण गरिएको. छ। इटहरी तथा बुटवलस्थित व्यावसायिक सीप विकास तालिम केन्द्रलाई प्रतिष्ठानकै रूपमा श्रम मन्त्रालयमातहत राखिएको छ। प्रतिष्ठानलाई आन्तरिक र वैदेशिक श्रमबजार लक्षित सीपमूलक तालिम प्रदान गर्ने जिम्मेवारी छ।
प्रतिष्ठानको तथ्यांकअनुसार स्थापनाकाल (२०१३ साल)देखि आ.व. २०७८/७९ सम्म तीन लाख १८ हजार जनालाई सीप सिकाइएको छ। नयाँ भवन संरचना तयार गर्नुपर्दा त्यसपछिका दुई आ.व. कुनै पनि तालिम नदिइएको प्रतिष्ठानकी निर्देशक विन्दा आचार्य बताउँछिन्। चालु आ.व. २०८१/८२ मा भने पाँच हजार जनालाई तालिम सिकाउने लक्ष्य लिएको उनले जानकारी दिइन्।
प्रतिष्ठानले अन्तर्राष्ट्रिय श्रम बजारलक्षित भन्दा पनि आन्तरिक तथा स्वरोजगारसम्बन्धी सीप सिकाइमा जोड दिन्छ। “हामीले आन्तरिक बजारलाई आवश्यक पर्ने र स्वरोजगार केन्द्रित सीप दिँदै आएका छौँ,” आचार्य भन्छिन्।

सरकारले समग्रमा सीप सिकाउन थालेको लामो समय भए पनि वैदेशिक रोजगारीलाई नै लक्षित गरेको धेरै भएको छैन। करिब आठ वर्षदेखि मात्रै सरकारले वैदेशिक रोजगार बोर्डमार्फत सीप प्रदान गर्न थालेको हो। बोर्डले २०७४ देखि अहिलेसम्म २५ हजार ३३५ जनालाई मात्रै सीप सिकाएको छ।
कम संख्यामा मात्र तालिम हुँदा महालेखा परीक्षकको ६१औँ प्रतिवेदन २०८१ ले बोर्डको कोषमा रहेको रकमबाट वैदेशिक रोजगारीमा जानेलाई सीप सिकाउन उपयोग हुनुपर्ने सुझाएको थियो। त्यसपछि भने बोर्डले तालिमको संख्यामा केही वृद्धि गरेको छ।
यो आ.व. बोर्डले २१ हजार जनालाई सीप सिकाउने लक्ष्य लिएको निर्देशक तथा प्रवक्ता गुरुदत्त सुवेदीले जानरकारी दिए। जबकि, महिनामै ६० हजारसम्म युवा वैदेशिक रोजगारीमा जान्छन्।
सामी परियोजनाले गत वर्षसम्म सात हजार ९२० जनालाई वैदेशिक रोजगारलक्षित सीप सिकाएको छ। यो वर्षदेखि भने परियोजनाले उक्त शीर्षकको आफ्नो बजेट व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानलाई दिई त्यसैसँग सहकार्य गरिरहेको छ।
यसबाहेक, केन्द्र सरकारका विभिन्न मन्त्रालयसहित स्थानीय तह र प्रदेश सरकारले पनि नियमित रूपमै विभिन्न विषयमा तालिम प्रदान गर्दै आएका छन्। यद्यपि, आन्तरिक तथा स्वरोजगार केन्द्रित रहेर दिइने त्यस्ता तालिमले वैदेशिक रोजगार क्षेत्रको मागलाई खासै सम्बोधन गरेका छैनन्।
अहिले वैदेशिक रोजगार बोर्डले विभिन्न २० प्रकारका तालिम दिन्छ। निश्चित मापदण्डअनुसार छनोट भएका देशभरका १४९ ट्रेनिङ सेन्टरबाट निःशुल्क रूपमा तालिम दिइन्छ। तर ती तालिम परम्परागत भएको र गन्तव्य देशको वर्तमान रोजगारीको अवस्थालाई नसमेट्ने रिटर्नी माइग्रेन्ट नेपालका अध्यक्ष उत्तम अधिकारी बताउँछन्।
गन्तव्य देशको माग र आवश्यकतालाई मध्यनजर गर्दै सीप सिकाउने काम प्रभावकारी नभएको अधिकारीको भनाइ छ। बोर्डको पाठ्यक्रम र प्रदान गर्ने तालिम पनि समयानूकुल परिमार्जन गर्नुपर्छ। “सरकारले वैदेशिक रोजगारीमा जान चाहने युवाका लागि दिइने तालिमको ढाँचा गन्तव्य मुलकमा चाहिने अनुरूपको नभएर पुरानो खालको छ। यसमा परिमार्जन गर्नुपर्छ,” उनी भन्छन्।
बाध्यात्मक व्यवस्था नहुँदा बेवास्ता
वैदेशिक रोजगार ऐन २०६४ मा श्रमिकलाई सीप सिकाएर वैदेशिक रोजगारीमा पठाउनुपर्ने उल्लेख छ। ऐनको दफा ३० मा भनिएको छ, “कुनै सीपमूलक तालिम आवश्यक पर्ने काम गर्न वैदेशिक रोजगारमा जाने कामदारले नेपाल सरकारबाट मान्यताप्राप्त संस्थाबाट त्यस्तो तालिम लिनुपर्नेछ।”
तालिम आवश्यक पर्ने कामका लागि म्यानपावर कम्पनीले नै श्रमिकसँग सीप सिकेको प्रमाणपत्र माग्छन्। तर म्यानपावर कम्पनीले न ती प्रमाणपत्रको वैधानिकता, न त श्रमिकको सीप नै जाँच्छन्। कतिपय श्रमिक फर्जी प्रमाणपत्र देखाएर पनि विदेश जान्छन्।
यसरी जाँदा गन्तव्य देशमा समस्यामा पर्ने वैदेशिक रोजगार बोर्डका निर्देशक तथा प्रवक्ता सुवेदी बताउँछन्। “यहाँबाट कुक भनेर दक्ष जनशक्तिमा भिसा लगाएर जान्छन्, त्यहाँ काममा लागेपछि आफू केको कुक हो भन्ने नै चाल पाउँदैनन्। ड्राइभर बनेर गएको छ, गाडी चलाउनै आउँदैन। यस्ता धेरै उदाहरण छन्,” उनी भन्छन्।
सीप नसिकेर जाने श्रमिकहरू समस्यामा परेपछि उद्दार गरेर फिर्ता ल्याउनुपरेको धेरै घटना भएको सुवेदी बताउँछन्। “हातमा सीप नहुँदा भनेको जस्तो काम पाउँदैनन्। त्यसपछि जागिरै छाड्ने, अवैधानिक भएर बस्ने, विभिन्न समस्यामा पर्ने हुन्छ। अनि नेपाल फर्काइदेउ भनेर निवेदन दिन्छन्,” उनी भन्छन्।
वैदेशिक रोजगारीमा कामदारको दक्षताको आधारमा पारिश्रमिक तथा अन्य सुविधा निर्धारण हुन्छ। प्रविधिको तीव्र विकाससँगै पहिले हातले गरिने कतिपय काम अहिले मेसिनमार्फत गर्नुपर्छ। तर नेपाली श्रमिक अझै ‘पाखुरे बल’कै भरमा वैदेशिक रोजगारीमा गइरहेको सुवेदी बताउँछन्।
कतिपय श्रमिक त सिकिरहेको सीप बीचैमा छाडेर विदेश उड्छन्। “यसअघि हामीले सीप सिकेरै जानुपर्छ भन्ने कुरालाई जोड दिन पनि सकेनौँ, त्यसको परिणाम लेबर बेसमा मात्र जान थाले। अहिले त्यसको दुरगामी असर परिसकेको छ,” उनी भन्छन्।
सीप नसिकेका श्रमिक जाँदा रोजगारदाता र त्यहाँको सरकारको नजर पनि नेपालप्रति हेपाहा हुने सुवेदीको भनाइ छ। नेपालले अहिले त्यसको असर भोगिरहेको कारण बोर्ड र श्रम मन्त्रालय गम्भीर भएर लाग्नुपर्ने उनी बताउँछन्।
सरकारले अहिलेसम्म सबैखाले वैदेशिक रोजगारीका लागि सीप सिकेकै हुनुपर्ने बाध्यकारी व्यवस्था गरेको छैन। बाध्यकारी व्यवस्था हुनुपर्ने आवाज भने उठिरहन्छ। श्रममन्त्री शरतसिंह भण्डारीले नै सीप सिकेका व्यक्तिलाई मात्र वैदेशिक रोजगारीमा पठाउनुपर्ने अवस्था आइसकेको बेलाबेला बताउने गरेका छन्।
श्रम मन्त्रालय, प्रशासन तथा योजना महाशाखाका उपसचिव महेश पराजुली यो व्यवस्था लागू गर्ने कुरा उठे पनि अहिले सुस्ताएको बताउँछन्। “सीप सिकाएर मात्रै विदेश पठाउनुपर्छ भनेर अध्ययन तथा छलफल भएका थिए भन्छन्, तर अहिले त्यस्तो केही गृहकार्य छैन,” उनी भन्छन्, “सीप सिकाएर मात्र पठाउने प्रावधान ल्याए श्रमिक र सरकार दुवैका लागि हितकर हुन्छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
