रसिक दाजु, कहाँबाट लेख्न शुरू गरूँ!

अफसोच! रसिक दाजुमाथि आइपरेका अनेकौँ विषम परिस्थितिहरूमा पनि सशरीर मैले भेट्न यसकारण सकिन कि भेटेर मैले के भन्ने होला? सहानुभूतिले मनको घाउ निको पार्ला? अहँ अझै बल्झिन पो सक्छ।

गणेश रसिक दाजुसित पहिलो भेट पुतलीसडकस्थित शम्भु राई दाइले सञ्चालन गर्न भएको रेकर्डिङ स्टुडियोमै भएको हो। दिनबार त बिर्से। तर, साल भने पचासको दशकमध्येतिर पक्का हो। विद्यालयमा प्राथमिकदेखि माध्यामिक तहसम्म आफूले अध्ययन गर्दा पढिएका/गाइएका निकैवटा कक्षागत गीतका रचनाकार/संगीतकार/गायक/साहित्यकार र म जन्मनुपूर्व नै ‘लेकाली’ नामक साहित्यिक/सांगीतिक (साथीहरूसँग) समूह निर्माण मात्र होइन, चर्चाको चुलीमा पुर्‍याउन सफलमध्ये एक खम्बालाई आफ्नै सम्मुख देख्न, भेट्न र बोल्न पाउँदा लागेको खुसी शब्दमा वर्णन गर्न गाह्रो छ। 



दाजुको हेर्दै बोलिहाल्न असहज लाग्ने झरिलो व्यक्तित्व। तर, बोलिसकेपछि उहाँको सिर्जनाजस्तै सुललित र मिठासयुक्त बोली व्यवहारले जो कोही पनि मुग्ध हुन्थे भने म जाबो त नतमस्तक नहुने कुरै भएन। मिजासिलो बोलीसहित आफ्ना भाइबैनी पुस्तालाई गर्नुहुने माया र प्रदान गर्नुहुने हौसला मेरा लागि त आफैमा एक अनुपम प्राप्तिजस्तै भैहाल्यो। त्यो समय म घट्टेकुलो डेरामा बस्थेँ। यसै पनि बेरोजगार। जो आज पनि छु, आजन्म रहिरहने छु। बिहान–बिहान मानविकी (तत्कालीन आरआर) क्याम्पस धाउनु। स्नातक तहमा पढेजस्तो गर्नु। डेरा पुगेर उधारोपधारो गरेको खानापानीले पेट भर्नु। त्यसपछि काम के त? उही शम्भु दाइको स्टुडियोमा भएभरका हामी खुब साहित्य र संगीतमा ठूलै उधुम मच्याउँछौँ भनेर मरिहत्ते गरिहिँड्ने विशेष पूर्वतिरबाट यो सपनाको शहर छिरेकाहरू भेला हुनु। हल्ला गर्नु। शम्भु दाइको स्टुडियो मैला गर्नु। शौचालय दुर्गन्धित पारिदिनु। 



निकैवटा वर्ष यसरी बिताएपछि पो खुब महसुस भयो मलाई कि– ‘साहित्य र संगीत क्षेत्र र उहाँहरूजस्ता व्यक्तित्वलाई कसरी सम्मान गर्ने? सम्मानको स पनि नजानेको हामीजस्ता आलाकाँचा ठेट्नाहरूको त्यस्तो हर्कत् त्यत्रो समय कसरी झेल्नुभयो होला अग्रजहरूले? विशेष त शम्भु राई दाइले? होइट!’ त्यो उमेर र माहोल सम्झिँदा हिजोआज पनि कहिले लज्जाबोध हुन्छ त कहिले निर्दोषपनको माया पनि लागेर आउँछ। र, पनि यो साहित्य र संगीतको लतबाट उम्किएर अरू इलमतिर कहिल्यै लाग्ने सोच पलाएन। त्यो अर्को  आश्चर्यजस्तो पनि ठान्छु अचेल। दिनभरि कविता, गीत, संगीत भनेर कुदेको छ। रातभरि कि आफ्नैमा कि साथीकोमा भरसक रक्सी, चुरोट पिउँदै होहल्ला गर्दै  बसेको छ। अहिले सम्झिन्छु– धन्य हुन् ती घरबेटीहरू। जसले हामीजस्ता घामटहरूलाई डेरा दिनुभयो। अहिलेजस्तो भए दुई दिनमै कि प्रहरी हिरासत कि पोको पुन्तुरोसहित सडकतिरै भइन्थ्यो। धन्न केही पटकबाहेक प्रहरी खोरको अनुभव सँगाल्ने अवसर मिलेन। 



बीचमा रसिक दाजुसँग बाक्लो भेट भइरहनाले खुलेर बोल्न सक्ने भैसकेको थिएँ म। यस्तै माहोलमा गुज्रँदागुज्रँदै म स्नातकोत्तर अध्ययनको सिलसिलामा कीर्तिपुर डेरा सरेँ। डेरा बसेको घरमै रासनपानीको पसल थियो। त्यहीँबाट खानेचिज खपत गर्ने  क्रममा निकै छोटो समयमै साहुजीसँग मेरो हेमखेम बढ्यो। उहाँ पनि बडो रमाइलो स्वभावको हुनुहुन्थ्यो। उहाँको नाम हो– पुष्प श्रेष्ठ। कुराकानीकै क्रममा उहाँलाई अर्को एक जना दाइले मबारे सुनाइदिनुभएछ। बोल्दै जाने क्रममा एकदिन उहाँले नै भन्नुभयो– “ओ टीकाजी, तपाईं त गीतकार रे! लु एउटा गीति एल्बम निकालौँ हुन्न श्रेष्ठ, रसिक दाजु, सत्यकला नानालगायत त्यो क्यासेटमा सम्बद्ध सम्पूर्ण संगीतकार, गायकगायिका, वाद्यवादक एवं प्राविधिकहरूलाई एकमुष्ट आभार व्यक्त गर्छु। यसपछिका दिनहरूमा पनि कुनै साहित्यिक/सांगीतिक सभा समारोहहरूमा दाजुसित बाक्लै भेटघाट भैरह्यो। साठीको दशक वरिपरि नै हो जस्तो लाग्छ। उहाँ साझा प्रकाशनको महाप्रबन्धक बन्नुभयो। त्यो समय पनि उहाँको कार्यकक्षमा दुई–चार पटक भेट भयो। गीत रेकर्डिङकै क्रममा उहाँको गहनापोखरीस्थित निवासमा पनि पुग्ने अवसर जुरेको थियो। यही सिलसिलामा २०६८ सालमा पाँचथरको रवि निवासी साथीहरूको सक्रियतामा रवि साहित्य–संगीत र पर्यटन महोत्सव–२०६८ आयोजना भएको थियो। त्यो महोत्सवमा मलाई पनि निम्तो प्राप्त थियो। 



आज भने त्यहाँ दाजु र मेरो सानो तर बिझिरहने प्रसंग मात्र पुनः उप्काउन चाहन्छु। त्यो महोत्सवका लागि पुगेको दिन म रवि बजारबाट अलिक तल गाउँमा बसेको थिएँ। त्यसको कारण काठमाडौँदेखि नै घरबेटी दाइको साथ लागेर उहाँकैमा बस्न पुगेको हुँ। पर्सिपल्ट बिहान मात्र आयोजक साथीहरूसँग भेट भयो। र, उहाँहरूले नै रसिक दाजुलाई भेट्न जाने कुरो गर्नुभयो र हामी केहीबेरको हिँडाइपछि दाजु बस्नुभएको स्थानमा पुग्यौ। उहाँ बीच बजारमा बस्नुभएको रहेछ। पुगेपछि शिष्टाचार आदानप्रदान त हुने नै भयो। कुराकानी गर्दै जानेक्रममा त्यसै वर्ष प्रकाशित मेरो तेस्रो कृति गीतिसंगेरह ‘जुनको बस्ती’ दाजुलाई उपहार स्वरूप टक्र्याएँ। दाजुले पनि उहाँको गीतिसंग्रह ‘स्वाधीनताको पीडा’ मलाई उपहार दिनुभयो। यसो कृति पल्टाएर हेरेँ। त्यो कृति निमेषजी (निमेष रसिक राई) लाई समर्पण गर्नुभएको रहेछ। चिनजान बाक्लो भएपछि जो कोहीसँग पनि अलिक छिटो कुरो गरिहाल्ने बानी छ मेरो। समर्पणमा उल्लेखित भए अनुसार निमेषजी मभन्दा उमेरले दुई वर्ष सानो रहनुभएको कुरो फ्याट्टै बोलिहाले। बोलिसकेपछि पो यसो रसिक दाजुको अनुहारतिर नियाले। दाजुका दुवै आँखा पिखुवाको मुहानजस्तै भैसकेका रहेछन्। त्यो बेला पो आफैलाई भएभरको गाली गर्न मन लाग्यो। छिटो बोल्नुको बेफाइदा त्यो पलले ज्यादै धेरै अनुभूत गरायो। आफैलाई निकै दिन त के आजसम्म पनि त्यो पलको कारण थकथक लागिरहेकै छ।



काठमाडौँ बसाइको बाध्यता। कतिपय समय वा मोडमा त आफैले आफैलाई सम्झने फुर्सद पनि हुँदैन। तथापि, रसिक दाजुसँग जुनदिन मेरो औपचारिक परिचय भयो। त्यो दिनदेखि नै एउटा अग्रज दाजुले अर्को अनुजलाई गर्नुपर्ने मायामा कुनै कमी आएको मैले महसुस गर्न परेको छैन। लेखन सिकाइकै क्रममा मैले मेरो चौथो कृति ‘मुन्दुम र मालिंगो’ २०७१ सालमा प्रकाशित गर्न सफल भएँ। सौभाग्यवस् त्यो कृतिको लोकार्पण रसिक दाजुकै हातबाट सम्पन्न गर्ने  अवसर मिल्यो। उहाँले शुभेच्छा स्वरूप सकारात्मक टिप्पणी गरी मेरो मनोबल उच्च बनाइदिनुभयो। त्यसका लागि दाजुलाई सदा–सर्वदा यथोचित शब्द–सम्मान अर्पण गरिरहने छु। नेपाली साहित्य र संगीतमा जीवन समर्पण गर्नुभएका मात्र होइन। आफ्ना गुणात्मक/सिर्जनात्मक क्षमताको बलमा अधिकतम सफलता प्राप्त गर्नुभएका र यसै क्षेत्रका विभिन्न समयमा थुप्रै निकायहरूमा पदासिन हुन सफल व्यक्तित्व गणेश रसिक गणेश रसिक बन्न त्यत्ति सहज थियो? अवश्य नै थिएन। र, पनि उहाँले असहजतालाई आफ्नो क्षमताले सहज बनाएरै छाड्नुभयो। 



अफसोच! उहाँमाथि आइपरेका अनेकौँ विषम परिस्थितिहरूमा पनि सशरीर मैले भेट्न यसकारण सकिन कि भेटेर मैले के भन्ने होला? सहानुभूतिले मनको घाउ निको पार्ला? अहँ अझै बल्झिन पो सक्छ। जसरी रविमा मैले उहाँको घाउ बल्झाइदिएँ। जो बिस्तारै खाटा बस्दैथियो। त्यसैले त लाग्छ– रसिक दाजुबारे लेख्दै जाँदा एउटा महाकाव्य बन्ने खुराक मसँग पनि छ। तर, जो लेख्दा घाउहरू झन्झन् बल्झिन सक्छ। र नै त यो लेखको सिरानमै भनेको हुँ– रसिक दाजु! कहाँबाट लेख्न शुरू गरूँ हजुरलाई!