सात वर्षअघि नेपाललाई ओडीआई मान्यतासम्म पुर्याउने क्यानडाविरुद्धको खेलकै झल्को दिने गरी स्कटल्यान्डविरुद्ध ब्याट र बलबाट सनसनीपूर्ण प्रदर्शन गरेका करणले १३ पटक तीन वा त्योभन्दा धेरै विकेट लिएका छन्।
काठमाडौँ– “रिमेम्बर द नेम– द ओडीआई म्यान करण केसी,” पारस खड्काले जेठ १९ गते मध्यरात हुनै लाग्दा फेसबुक स्टेटस लेखे।
करण केसीको आक्रामक ब्याटिङमा नेपालले स्कटल्यान्डलाई उसैको मैदानमा भएको एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई)मा एक विकेटले पराजित गरेको थियो। २९७ रनको लक्ष्य भेट्याएको नेपालले ओडीआईमा सफलतापूर्वक पछ्याएको यो सबैभन्दा उच्च रन हो। उक्त सनसनीपूर्ण खेललगत्तै पारसले फेसबुकमा करणको प्रशंसा गरेका थिए।
पारसले किन करणलाई ‘द ओडीआई म्यान’ भने त?
करण कुनै एक खेलको प्रदर्शनकै कारण मात्र चम्किएका होइनन्। उनले नेपालको राष्ट्रिय टोलीबाट क्रिकेट खेल्न थालेको १० वर्ष भइसकेको छ। यस अवधिमा नेपाली क्रिकेटले जहाँ–जहाँ खुट्किलो नाघेको छ, त्यहाँ–त्यहाँ उनले प्रभावशाली प्रदर्शन गरेका छन्।
नेपाल अहिले दोस्रो पटक आईसीसी क्रिकेट विश्वकप लिग–२ खेलिरहेको छ। अघिल्लो पटक लिग–२ का अन्तिम १२ खेलमध्ये ११ खेल जितेर नेपालले ओडीआई स्टेटस जोगाएको थियो। तर यसपटक शुरूदेखि नै धर्मराएको छ।
स्कटल्यान्ड भ्रमण गर्नुअघि नेपालले खेलेका तीन श्रृंखला बिर्सनलायक रहे। ती श्रृंखलाका १२ खेलमध्ये नेपालले दुई खेल मात्र जित्यो भने, दुई वटा नतिजाविहीन रहे। स्कटल्यान्डसँग खेल्नुअघि आठ देश संलग्न लिग–२ को अंक तालिकामा ६ अंकसहित नेपाल अन्तिम स्थानमा थियो।

स्कटल्यान्डलाई पराजित गरेपछि नेपाल ८ अंकसहित सातौँ स्थानमा उक्लिएको छ। तर नेपालले सिधै ओडीआई स्टेटस जोगाउँदै विश्वकप छनोट प्रतियोगितामा पुग्न शीर्ष चार स्थानमा पर्नुपर्छ। पछिल्लो समय लय गुमाएको नेपालका लागि स्कटल्यान्डविरुद्धको खेल ‘टर्निङ’ हुनसक्ने राष्ट्रिय टोलीका पूर्वखेलाडी मनोज कटुवाल बताउँछन्।
एउटै खेलले भविष्य निर्धारण नगर्ने पूर्व सहायक प्रशिक्षकसमेत रहेका कटुवालको भनाइ छ। “हाम्रा खेलाडीले ३०० हाराहारीको ठूलो लक्ष्य पनि भेटाउन सक्ने क्षमता देखाएका छन्। यहाँबाट नेपाली टोलीको मनोबल फर्किन सक्छ,” उनी भन्छन्, “तर एउटा जित हेरेर बाँकी खेलमा पनि त्यस्तै नतिजा आउँछ भन्न सकिँदैन।”
नेपालको लय फर्काउँदै स्कटल्यान्डविरुद्ध संघर्षपूर्ण जित दिलाउन शुरूआती ब्याटरको भूमिका राम्रो रह्यो। तर अन्तिम क्रममा आएर करणले जसरी ब्याटिङ गरे, नेपाली दर्शकका लागि अविश्वसनीयजस्तै रह्यो।
इनिङ शुरूआत गर्न आएका कुशल भुर्तेल र आसिफ शेखले ७२ रनको साझेदारी गरेर आधार बनाएका थिए। कुशलले ४४ बलमा ५३ रन बनाए। त्यसपछि भीम सार्कीले ४० र कप्तान रोहित पौडेलले ३७ रन बनाउँदै नेपाललाई अगाडि बढाए। तर १५२ रनमा तेस्रो विकेट गुमाएको नेपालले १९२ रन बनाउँदा ७ विकेट गुमाएपछि दबाबमा परेको थियो।
आठौँ विकेटका लागि गुल्सन झा र करणले ६० रनको साझेदारी गर्दै नेपाललाई २५२ रनमा पुर्याए। गुल्सन ३० बलमा ४२ रन बनाउँदै बाहिरिए। त्यसपछि करणले सन्दीपसँग नवौँ विकेटका लागि ३८ रनको साझेदारी गरे। अन्तिम ब्याटरको रूपमा रिजन ढकाल क्रिजमा आउँदा नेपाललाई ७ रन आवश्यक थियो।

अन्तिम दुई ओभरमा २५ रन चाहिएको थियो। साफयान सरिफको ४९औँ ओभरमा करणले दुई छक्कासहित १८ रन प्रहार गरेपछि नेपाल जिततर्फ लम्कियो। नेपालको सात विकेट गुम्दा ३९औँ ओभरमा क्रिज प्रवेश गरेका करणले ४१ बलमा ६५ रनको अविजित इनिङ खेले। उनले करियरकै पहिलो ओडीआई अर्धशतक बनाए।
यो जितले नेपाली टोलीको उत्साह फर्काए पनि यात्रा लामो छ। चालु लिग–२ मा १३ खेल खेलेको नेपालले अझै २३ खेल खेल्न बाँकी छ। अब नेपालले जितलाई निरन्तरता दिनुपर्नेछ। यस्तोमा करणजस्ता खेलाडीको भूमिका महत्त्वपूर्ण हुने राष्ट्रिय टोलीका पूर्वखेलाडी कटुवाल बताउँछन्।
नेपाली टोलीलाई करणले धेरै पटक अप्ठ्यारो परिस्थितिबाट निकालेको कटुवालको भनाइ छ। “करण राम्रो अलराउन्डर हो। म त उसको फ्यान नै हो,” उनी भन्छन्, “उसले राम्रो ब्याटिङ गर्नसक्छ, तर पुछारको क्रममा मात्र आउने हुँदा मौका कमै पाउँछ।”
ओडीआई स्टेटस दिलाउने त्यो प्रदर्शन
करण केसीको उपनाम हो– भ्यालेन्टाइन ब्वाई। भ्यालेन्डाइन डेको दिन भएका नेपालका खेलमा उनको प्रदर्शन राम्रो छ। सन् २०१८ को भ्यालेन्टाइन डे, अर्थात् फेब्रुअरी १४ भने नेपाली क्रिकेट इतिहासमा सम्झना भइरहने छ।
त्यो दिन नेपाल डिभिजन–२ अन्तर्गत क्यानडाविरुद्ध एक दिवसीय खेल्दै थियो। डिभिजन–२ मा नेपाल, क्यानडा र नामिबियाको समान ६ अंक थियो। नामिबियाले ४ अंक भएको यूएईविरुद्ध खेल्दै थियो। चार वटै देशमध्ये नेपालको रनरेट सबैभन्दा कमजोर थियो।
विश्वकप छनोट प्रतियोगितामा पुग्न र ओडीआई मान्यताको सम्भावना कायम राख्न नेपाललाई जित्नै पर्ने दबाब थियो। पहिला फिल्डिङ गरेको नेपालले क्यानडालाई १९४ रनमा रोक्यो। तर ब्याटिङ धर्मरायो। नेपालले १४४ रनमा ९ विकेट गुमाइसकेको थियो र जितका लागि ४७ बलमा ५१ रन आवश्यक थियो।
क्रिजमा करण केसी र सन्दीप लामिछाने थिए। सन्दीपले १८ बलमा ५ रन बनाउँदै करणलाई साथ दिए। करणले ३१ बलमा ४ छक्का र ३ चौकाको मद्दतमा ४२ रन बनाएर नेपाललाई जितसम्म पुर्याए। जितसँगै नेपाल ओडीआई विश्वकप छनोट प्रतियोगितामा पुग्यो। यही जितले नेपालका लागि ओडीआईको ढोका खुल्यो।

भ्यालेन्टाइन डेको संयोग यतिमा मात्र सीमित छैन। पाँच वर्षपछि नेपालले लिग–२ अन्तर्गत २०२३ फेब्रुअरी १४ मा नामिबियाविरुद्ध कीर्तिपुरमा ओडीआई खेलेको थियो। सो खेलमा करणले बलिङमा गतिलो प्रदर्शन गरेका थिए। उनले १० ओभरमा ६१ रन दिएर ५ विकेट लिएका थिए।
उक्त खेलमा नेपालले २८६ रनको विशाल लक्ष्य सफलतापूर्वक पछ्याएको थियो। कुशल भुर्तेलले करियरकै पहिलो र अहिलेसम्मको एक मात्र शतक बनाउँदा नेपाल ८ विकेटले विजयी भएको थियो।
ब्याटिङमा पनि करणले १२ बलमा नटआउट २० रन बनाउँदा २ छक्का र १ चौका प्रहार गरेका थिए। तर म्यान अफ द म्याच भने कुशल भएका थिए।
बिर्सनलायक डेब्यू, सम्झनलायक करियर
करण केसीले २०१५ जनवरी १७ मा युगान्डाविरुद्ध खेल्दै राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए। तर उनको डेब्यु गतिलो हुन सकेन। उनी लगातार दुई खेलमा विकेटविहीन भए।
डिभिजन–२ अन्तर्गत भएको युगान्डाविरुद्धको खेलमा १४७ रनको झिनो लक्ष्य पछ्याएको नेपाल २ रनले हारेको थियो। करणले ७ ओभरमा २७ रन खर्चिंदा विकेट लिन सकेका थिएनन्। ११औँ नम्बरमा ब्याटिङ गरेका उनले ५ बलमा एक चौकाको मद्दतले नटआउट ५ रन बनाएका थिए।
त्यसको भोलिपल्ट डिभिजन–२ कै दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई २ विकेटले हरायो। करण फेरि विकेटविहीन भए। तर किफायती बलिङ गर्दै ७ ओभरमा ३ मेडन राखेर १० रन मात्र दिए। यही प्रदर्शनका कारण उनले तेस्रो खेलमा पनि मौका पाए।
त्यही प्रतियोगिताको तेस्रो खेल नेपालले २०१५ जनवरी २० मा क्यानडाविरुद्ध खेलेको थियो। त्यस खेलमा करणले १० ओभरमा २६ रन दिँदै ५ विकेट लिए। क्यानडा मात्र ११४ रनमा समेटियो। त्यसपछि करण नेपाली टोलीको स्थायी सदस्य नै बने।
प्रतियोगितामा नेपालका तर्फबाट सोमपाल कामीले ६ खेलमा सबैभन्दा धेरै ११ विकेट लिएका थिए। समग्रमा उनी प्रतियोगिताकै धेरै विकेट लिनेको सूचीमा पाँचौँ स्थानमा थिए। उनले अघिल्लो वर्ष नै नेपालका तर्फबाट बंगलादेशमा भएको टी२० विश्वकप खेलिसकेका थिए।

करण भने ६ खेलमा ९ विकेट लिँदै नेपालका तर्फबाट दोस्रो धेरै विकेट लिने खेलाडी बने। समग्रमा उनी प्रतियोगिताको धेरै विकेट लिने खेलाडीको सूचीमा सातौँ स्थानमा थिए। डेब्यु प्रतियोगितामा उनले नेपालका अनुभवी वसन्त रेग्मी, पारस खड्का, सागर पुनजस्ता बलरले भन्दा बढी विकेट लिएका थिए।
उनले अहिलेसम्म नेपालका लागि ५८ ओडीआईमा ८१ विकेट लिएका छन्। उनको इकोनोमी ५.१० छ। त्यस्तै, ४२ इनिङमा ब्याटिङ गर्दा एक अर्धशतकसहित ५३७ रन बनाएका छन्।
उनले ओडीआईमा तीन पटक ५ विकेट लिएका छन्। तीमध्ये नेपाल एक खेलमा हारेको छ। उनले कीर्तिपुरमा नामिबियाविरुद्ध २०२३ मा र अमेरिकाको टेक्सासस्थित परल्यान्डमा ओमानविरुद्ध २०२२ जुन ९ र १४ मा भएका खेलमा ५ विकेट लिएका थिए। जुन ९ को खेलमा भने नेपाल पराजित भएको थियो।
उनले ओडीआईमा पाँच पटक ४ विकेट र पाँचै पटक ३ विकेट लिएका छन्। पाँच पटक ‘म्यान अफ द म्याच’ भएका छन्। तीमध्ये स्कटल्यान्डविरुद्धको पछिल्लो खेलबाहेक सबै म्यान अफ द म्याच बलिङमा गरेको प्रदर्शनका आधारमा पाएका हुन्।
स्कटल्यान्डसँग भने बलिङबाट २ विकेट लिनुका साथै ब्याटिङमा आक्रामक ६५ रन बनाएर नेपाललाई जितसम्म पुर्याएका थिए। उनी चार पटक विदेशी भूमि र एकपटक घरेलु मैदान कीर्तिपुरमा भएको ओडीआईमा म्यान अफ द म्याच हुन सफल भएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
