नसर्ने रोगको ‘महामारी’: अस्वस्थ जीवनशैलीले देखाउँदैछ अस्पतालको बाटो

पछिल्लो समय नेपालमा हुने कुल मृत्युमध्ये ७० प्रतिशतभन्दा बढी नसर्ने रोगबाट हुन्छ। मुख्य नसर्ने रोगमा क्यान्सर, मधुमेह, हृदय र श्वासप्रश्वाससम्बन्धी हुन्, जसको कारण अस्वस्थ जीवनशैली हो।

काठमाडौँ— भोजपुर घर भएका रामदेव रोक्का (३५) तीन वर्षअघि घरैमा एक्कासि ढले। उनी केही दिनदेखि बिरामी थिए। शरीर सुन्निएको थियो। पिसाब राम्रोसँग भइरहेको थिएन।

परिवारले उनलाई गाडीमा राखेर भोजपुरदेखि भक्तपुरको शहीद धर्मभक्त प्रत्यारोपण केन्द्र पुर्‍याए। उनी मिर्गौला रोगी भएको यसअघि नै पत्ता लागेको थियो। अहिले भने दुवै मिर्गौलाले काम गर्न छाडेका रहेछन्।

उनकी श्रीमती सरिताका अनुसार मिर्गाैलासम्बन्धी समस्या तीन वर्षअघि नै पत्ता लागेको थियो। औषधि खाइरहेका थिए, तर नियमित थिएन। “सधैँ औषधि मिलाएर खानुहुन्न थियो। कहिले न कहिले छुटिहाल्थ्यो,” उनी भन्छिन्।

सरिताले नै श्रीमानलाई मिर्गौला दिइन्। अस्पताल भर्ना गरेको चार महिनापछि मिर्गौला प्रत्यारोपण भयो। त्यही कारण भक्तपुरमै डेरा लिएर बसेका छन्। सरिता नजिकैको मन्टेश्वरीमा पढाउँछिन्।

रामदेव वैदेशिक रोजगारीका क्रममा पाँच वर्ष मलेसिया बसे। स्वास्थ्य बिग्रिँदै गएपछि नेपाल फर्किएका थिए। नेपाल फर्किएपछि मादक पदार्थ पिउँथे।
अहिले उनलाई आफ्नो जीवनशैलीप्रति पछुतो छ। “मेरो स्वास्थ्य यसै पनि राम्रो थिएन। त्यसमा ध्यान नदिनु, मादक पदार्थ पिउनु नै ठूलो गल्ती भयो,” उनी भन्छन्, “मेरो गल्तीको परिणाम पूरै परिवारले भोगिरहेको छ।”

रामदेव प्रतिनिधि पात्र हुन्। नेपालमा नसर्ने रोगबाट मृत्यु हुनेको संख्या ठूलो छ।

नेपाल हेल्थ रिसर्च काउन्सिलले प्रकाशित गरेको ‘नेपाल बर्डेन अफ डिजिज २०१९’ अध्ययनअनुसार नेपालमा सन् २०१९ मा मृत्यु भएका कुल एक लाख ९८ हजार ३३१ मध्ये ७१ प्रतिशत नसर्ने रोगबाट पीडित थिए। २१.१ प्रतिशत संक्रामक रोग, मातृ, शिशु तथा पोषणजन्य कारण तथा ७.८ प्रतिशत दुर्घटनाबाट मृत्यु भएको थियो।

के–के हुन् नसर्ने रोग?
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र सरकारको अध्ययनअनुसार नेपालमा मुख्य चार वटा गैरसंक्रामक अर्थात्, नसर्ने रोग छन्। ती हुन्– हृदय रोग, क्यान्सर, श्वासप्रस्वास सम्बन्धी र मधुमेह। यसका अतिरिक्त मिर्गौला रोग, मानसिक रोग, मुखसम्बन्धी रोग, मोटोपन, श्रव्य तथा दृश्यसम्बन्धी रोग, मस्तिष्क, नशा तथा मेरुदण्डसम्बन्धी रोग पनि गैरसंक्रामक हुन्।

हेल्थ रिसर्च काउन्सिलको अध्ययनअनुसार नसर्नेमध्ये हृदय रोगका कारण मृत्यु हुने धेरै छन्। कुल मृत्युको २४ प्रतिशत हृदय रोगका कारण हुन्छ। हृदय रोगबाट मृत्यु हुनेमा पुरुष २६.८ प्रतिशत र महिला २०.७ प्रतिशत छन्।

श्वासप्रश्वाससम्बन्धी समस्याबाट हुने मृत्यु दोस्रो धेरै अर्थात्, कुल मृत्युको १६.३ प्रतिशत छ। जबकि, सन् १९९० मा यो संख्या ६.१ प्रतिशत मात्रै थियो।
स्केमिक हृदय रोग (मुटुमा रगत जाने नलीमा अवरोध) हुँदा छाती दुख्ने र हृदयाघात हुने हुन्छ। मोटोपना, धुम्रपान, उच्च रक्तचाप, तनाव, मधुमेह यसका कारण हुन्। कुल मृत्युको १२.३ प्रतिशत स्केमिक हृदय रोगबाट हुन्छ। सन् १९९० मा यो संख्या ४.० प्रतिशत मात्रै थियो।

क्यान्सर, दीर्घकालीन श्वासप्रश्वास सम्बन्धी समस्या, मधुमेहजस्ता रोगको मुख्य कारण धुम्रपान, उच्च रक्तचाप, वायु प्रदूषणलगायत हुन्। धुम्रपानका कारण १७.७ प्रतिशतको मृत्यु भएको छ। उच्च रक्तचापका कारण १२.३ प्रतिशत, घरायसी वायु प्रदूषणका कारण ११.२ प्रतिशत र बाह्य वायु प्रदूषणका कारण ९.३ प्रतिशत मृत्यु भएको छ।

स्वास्थ्य सेवा विभागको वार्षिक प्रतिवेदनअनुसार पछिल्ला वर्ष नसर्ने रोगहरूको संख्या बढ्दो छ। उक्त प्रतिवेदनले महिलालाई स्तन र पुरुषलाई फोक्सोको क्यान्सर धेरै रहेको देखाएको छ। क्यान्सरको दर पछिल्लो ३५ वर्षमा तीव्र रूपमा बढेको पनि उल्लेख छ। हेल्थ रिसर्च काउन्सिलले पाँच हजार ५९३ जनामा गरेको अध्ययनअनुसार ग्रामीण क्षेत्रका मध्यम वर्गीय परिवारका ४० वर्षमुनिका महिला तथा पुरुषमा धेरै समस्या छ। 

क्यान्सर र मिर्गौला रोगी बढ्दै
क्यान्सर रोग विशेषज्ञसमेत रहेका वीर अस्पतालका प्राडा विवेक आचार्य पनि पछिल्लो समय क्यान्सरका बिरामीको संख्या बढेको बताउँछन्। दुई दशक अघिसम्म वीर अस्पताल, चितवनको भरतपुर र भक्तपुरको क्यान्सर अस्पतालमा मात्र क्यान्सर उपचार हुन्थ्यो। 

त्यसबखत उपचारमा आउनेको संख्या थोरै थियो। “पहिले भरतपुरमा १८ सयसम्म, भक्तपुरमा दुई हजार र वीरमा १२ सय जति बिरामी आउँथे। अहिले वीरमै झन्डै दुई हजार क्यान्सरका नयाँ बिरामी आउँछन्। जबकि, वीर अस्पतालमा सानो सेवा छ,” प्राडा आचार्य भन्छन्।

अहिले अन्य अस्पताल तथा मेडिकल कलेजमा पनि क्यान्सर पहिचान हुन थालेको हुँदा क्यान्सरका बिरामी थप बढेको आचार्यको भनाइ छ। नेपालमा प्रत्येक वर्ष २० हजारभन्दा बढी क्यान्सरका नयाँ बिरामी पहिचान हुन्छ। “केही अध्ययनले बर्सेनि ३० हजार नयाँ रोगी हुने देखिए पनि २० देखि २२ हजारसम्म आउँछन्,” उनी भन्छन्।

पहिले पाठेघरको मुखको क्यान्सर लागेर अस्पताल पुग्ने महिला धेरै थिए। पछिल्लो समय शहरी क्षेत्रमा बस्ने महिलाहरूमा स्तन क्यान्सरको समस्या देखिने गरेको छ। पुरुषहरूमा फोक्सो र आन्द्राको क्यान्सर धेरै देखिन्छ। खानपान र व्यायाममा ध्यान दिँदा क्यान्सरको जोखिम ६० प्रतिशत कम हुने प्राडा आचार्य बताउँछन्। 

यस्तै, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको मिर्गौला प्रत्यारोपण विभागका प्रमुख न्युरोलोजिस्ट डा. पवनराज चालिसे पछिल्लो समय मिर्गाैलासम्बन्धी समस्या लिएर आउनेको संख्या पनि बढेको बताउँछन्। जनसंख्या बढेसँगै रोगीको संख्या पनि बढ्दा अस्पतालमा चाप हुने उनको भनाइ छ।

बढ्दो शहरीकरण र जीवनशैलीमा परिवर्तनले रोगीको संख्या पनि बढेको डा. चालिसे बताउँछन्। “पहिले हैजा, क्षयरोगलगायत सर्ने रोगहरू लिएर आउने धेरै थिए। विभिन्न औषधि र खोपले त्यस्ता रोग कम भए। अहिले नसर्ने रोगको समस्या लिएर आउनेले नै अस्पताल भरिन्छ,” उनी भन्छन्।

मधुमेह र उच्च रक्तचापजस्ता समस्यामा सधैँ औषधि खानुपर्ने झन्झट ठानेर अस्पताल नजाने पनि धेरै जना छन्। यस्ता समस्यामा समयमै औषधि सेवन नथाल्दा थप समस्या निम्तिने डा. चालिसे बताउँछन्। 

जोखिम कारकहरूलाई नियन्त्रण गरेर नसर्ने रोगहरूको रोकथाम र नियन्त्रण गर्नुपर्ने सार्वजनिक स्वास्थ्य विशेषज्ञ डा. अरुणा उप्रेती बताउँछिन्। यसका लागी नियमित स्वास्थ्य परीक्षण, स्वस्थ जीवनशैली अपनाउने र जनचेतना अभिवृद्धि गर्ने उपायहरू अपनाउनुपर्छ।

“स्वस्थ जीवनशैली अपनाउने हो भने रोग लाग्ने जोखिम निकै कम हुन्छ। अहिले त सानै उमेरदेखि अस्वस्थ खानेकुरा, अस्वस्थ जीवनशैली भइरहेको छ। जसले ६०–७० वर्षको उमेरपछि हुनुपर्ने रोग अधबैँसे उमेरमै हुने गरेको छ,” डा. उप्रेती भन्छिन्।