साप्ताहिक ब्रिफिङ: यातायात सिन्डिकेटमा दलको साथ, जटिल रोगका बिरामी नक्कली औषधिको फन्दामा

यो साता उकालोमा नेपाल प्रिमियर लिग : अपारदर्शिताको बलिङ, भ्रष्टाचारको ब्याटिङ, क्यान्सरलगायत जटिल रोगका औषधि दर्तामा सरकारको छेकबार, यातायात सिन्डिकेटमा दलहरूको साथ लगायतका खबर चर्चामा रहे।

साप्ताहिक ब्रिफिङमा यो साता चर्चामा रहेका खबरलाई समेटेका छौँ। यो साता नेपाल प्रिमियर लिगमा देखिएको अपारदर्शीता र भ्रष्टाचारबारेको समाचार सबैभन्दा बढी चर्चामा रह्यो। नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको एनपीएल गत मंसिर–पुसमा सम्पन्न भएको थियो। एनपीएलले नेपाली क्रिकेटलाई विश्वकै ध्यान खिच्ने गरी चर्चामा पुर्‍यायो। यस लिगले थुप्रै घरेलु प्रतिभालाई पनि बाहिर ल्यायो। एउटै टोलीले ६ देखि आठ करोड रुपैयाँ खर्च गरेको एनपीएलको समग्र कारोबार झन्डै एक अर्ब पुगेको अनुमान छ।

यति चर्चा बटुलेको एनपीएलको पहिलो सिजनमाथि अपारदर्शिता, बेथिति र मनोमानीका बाक्लो पत्र बसेको भेटिएको छ।  सबैभन्दा महँगो टिम पोखरा एभेन्जर्सलाई किन्ने सुबोध त्रिपाठी दुई वर्ष पहिलेसम्म भारतीय कम्पनी ‘सेभेन थ्री स्पोर्ट्स्’सँग आबद्ध रहेको भेटियो।

जसले २०७७ सालमा नेपाल टी२० लिग आयोजना गर्न क्यानसँग आठ वर्षका लागि ३२ करोड रुपैयाँको सम्झौता गरेको थियो। यही प्रतियोगितामा ‘स्पट फिक्सिङ’ भएको, त्यसमा पूर्वराष्ट्रिय क्रिकेटर महबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य (त्यो प्रतियोगितामा जनकपुर रोयल्सका खेलाडी) आदिल अन्सारीसहित पाँच जना संलग्न रहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानले देखायो। यसको योजनाकार नै सेभेन थ्री स्पोर्ट्स् रहेको खुल्यो।

यस्तै, एनपीएदलको प्रसारणका लागि पनि  प्रक्रिया छलेर ‘स्टार स्पोर्ट्स्’लाई जिम्मा लगाइएको थियो। यसबारे सार्वजनिक खरिद अनुगमन कार्यालयले मंसिर १२ गते क्यानलाई पत्र काटेर नेपाल प्रिमियर लिगको प्रत्यक्ष प्रसारण अधिकार खरिदका लागि कम्पनी/फर्म छनोट के कसो भएको भनेर प्रमाणित कागजात सात दिनभित्र पठाउन अनुरोध गरेको थियो।

यति मात्रै होइन, एनपीएलमा  गैरकानूनी ‘बेटिङ एप’  ‘वुल्फ ७७७’ लाई प्लाटफर्म दिइएको थियो। यो बेटिङ एप भए पनि बेटिङको विज्ञापन गर्न नपाइने भएकाले यही नाममा न्युजपोर्टल पनि चलाइएको छ। विज्ञापन नियमन ऐनको दफा ५ मा जुवा खेल्न–खेलाउन वा प्रचलित कानूनबमोजिम अनुमति नलिइएको चिट्ठा किन्न–किनाउन प्रोत्साहन गर्ने विज्ञापन गर्न नहुने उल्लेख छ। एनपीएलमा भएको अपारदर्शीताको फेहरिस्त थाहा पाउन पढ्नुहोस् आदित्य नेपालको रिपोर्ट, नेपाल प्रिमियर लिग : अपारदर्शिताको बलिङ, भ्रष्टाचारको ब्याटिङ

त्यसै गरी उकालो विशेषमा प्रकाशन भएको अर्को खबरले क्यान्सरलगायत जटिल रोगका औषधि दर्ता नहुँदा बिरामी कसरी नक्कली औषधि किन्न बाध्य छन् भन्ने देखाएको छ। सरकारले नयाँ बनेका प्रभावकारी औषधि दर्ता नगर्दा बिरामी कालोबजारीमार्फत भित्र्याइएका औषधि प्रयोग गर्न बाध्य छन्। त्यस्ता कतिपय औषधि नक्कली र गुणस्तरहीन हुन्छन्। त्यसकै कारण बिरामीले ज्यान गुमाउने गरेका छन्। क्यान्सरलगायत जटिल रोगका औषधि दर्तामा सरकारको छेकबारका कारण बिरामी नक्कली औषधिको फन्दामा कसरी परिरहेका छन् पढ्नुहोस् सागर बुढाथोकीको रिपोर्ट, क्यान्सरलगायत जटिल राेगका औषधि दर्तामा सरकारकाे छेकबार, बिरामी नक्कली औषधिको फन्दामा

साताका प्रमुख हेडलाइन:

देश–समाज

फलोअप– थापाथलीको ६ रोपनी जग्गा हडप्ने चौधरी ग्रुपको चलखेलमा सर्वोच्चले लगाइदियो अंकुश
थापाथली हाइटमा रहेको युनाइटेड मिसन टु नेपालको ६ रोपनी जग्गा हडप्न चौधरी ग्रुपले १९ वर्षदेखि गरिरहेको चलखेल सर्वोच्च अदालतले निस्तेज पारिदिएसँगै जग्गा अब सरकारको नाममा ल्याउने बाटो खुलेको छ।

रुसी सेनामा मारिएका ७३ नेपाली : खबर मात्र आयो, शव आएन
युक्रेनसँग लड्न रुसी सेनामा भर्ती भएका ७३ नेपालीको युद्धका क्रममा मृत्यु भइसकेको सरकारले नै पुष्टि गरेको छ। तर अहिलेसम्म एउटा पनि शव नेपाल ल्याइएको छैन।

यातायात सिन्डिकेटमा दलहरूको साथ, सरकार संरक्षक
कानूनी रूपमा सात वर्षअघि नै सार्वजनिक यातायातमा अन्त्य गरिएको सिन्डिकेट व्यवसायीहरूको बलजफ्तीले अझै कायम छ। दलको संरक्षण पाएका तिनै व्यवसायीलाई सरकारले पनि साथ दिएको छ, कसरी?

फन्टे खोलामा नगरपालिकाको मनोमानीः छोपिएको आधा भाग खुलाएर अलपत्र ​​​
दुई वर्षअघि ह्युमपाइप बिछ्याएर पुरिएको खोलालाई गत चैतमा गोदावरी नगरपालिकाले खुला गर्ने निर्णय गरेको थियो। तर खोलै पुरेर बनाइएको सडकको आधा भागबाट मात्र ह्युमपाइप निकालिएको छ।

सडक मर्मत र पूर्वाधार निर्माण गर्दा बनेका खाडल नागरिकलाई पासो
सडक मर्मत वा पूर्वाधार निर्माणका लागि खनिएका खाडलमा परी विगत पाँच वर्षमा २२ जनाको ज्यान गएको छ। सरकारले कडाइ नगर्दा अझै पनि विभिन्न प्रयोजनमा खनिएका खाडल नपुरी छाडिन्छ।

जैतुनको अध्ययनमा ठूलो लगानी, सम्भावना देखिएपछि मर्न छाडियो बोट
जैतुनको व्यावसायिक खेतीबारे अध्ययन गर्न सरकारले ठूलो लगानी गर्‍यो। त्यसपछि बाजुरालगायत ठाउँमा बिरुवा लगाउन करिब ९ करोड खर्च गरियो। अहिले जिम्मा लिने सरकारकै निकायलाई जैतुनबारे जानकारी छैन।

विचार-टिप्पणी

लैंगिक र यौनिक अल्पसंख्यकमाथिको हिंसाविरुद्ध निरन्तर दबाब आवश्यक
हिंसा र दुर्व्यवहार, सामाजिक बहिष्कार तथा राज्यबाटै बेवास्ताजस्ता कारणले यौनिक अल्पसंख्यकको दैनिकी संघर्षपूर्ण हुने गरेको छ। शारीरिकसँगै मानसिक पिडा र लाञ्छनाले यो समुदाय मूल प्रवाहमा आउन सकेको छैन।

एमालेको पुनर्जलीय उपचार
नेपालका सबै पार्टी वैचारिक, राजनीतिक तथा सांगठनिक तीव्र पुनर्गठनको पर्खाइमा छन्। तर पुस्तान्तरणको सामान्य मेलोमा पनि आग्लो हाल्ने नेतृत्वले पुनर्जलीय उपचारको आवश्यकता देखेकै छैन।

झोलेहरूका नाममा
नेपाली समाजमा स्वनामधन्य धेरै अग्रज छन्, जसले आफ्नै जीवनकालमा काँधको झोला बिसाएर पजेरोमा सुटकेस ‘लोड’ गराएका पनि त छन्!

नवनियुक्त गभर्नरजी, यी कुरामा ध्यान दिऊँ
नेपाल राष्ट्र बैंकले परिवर्तन तथा अद्यावधिक गर्ने मौद्रिक नीति एकाध व्यावसायिक घरानालाई फाइदा पुग्ने गरी चुहावट हुने र त्यसको असर सर्वसाधारणलाई पर्ने आरोप लाग्ने गरेको छ।

जीवनशैली

नसर्ने रोगको ‘महामारी’: अस्वस्थ जीवनशैलीले देखाउँदैछ अस्पतालको बाटो
पछिल्लो समय नेपालमा हुने कुल मृत्युमध्ये ७० प्रतिशतभन्दा बढी नसर्ने रोगबाट हुन्छ। मुख्य नसर्ने रोगमा क्यान्सर, मधुमेह, हृदय र श्वासप्रश्वाससम्बन्धी हुन्, जसको कारण अस्वस्थ जीवनशैली हो।

अटिजम भएका बालबालिकालाई कसले हेर्ने? काठमाडौँ महानगरको चासो
काठमाडौँ महानगरले अटिजम तथा डाउन सिन्ड्रम भएका बालबालिकाका लागि ६ वटा विद्यालयमा विशेष कार्यक्रम चलाउने भएको छ। ती विद्यालयमा विशेष संरचना पनि बनाइनेछ।

खेल

लिग २: त्रिकोणात्मक सिरिजमा नेपालले चारमध्ये तीन खेलमा नेपाल विजयी
आईसीसी क्रिकेट विश्वकप लिग२, स्कटल्यान्डमा सम्पन्न त्रिकोणात्मक एकदिवसीय शृंखलाअन्तर्गत नेपालले  चारखेलमध्ये तीन खेल जितेको छ। अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई १६ रनले पराजित गरेको थियो। पहिलो नेपालले खेलमा ५ विकेटले हराएको थियो।

स्कटल्यान्डसँगको पहिलो खेल नेपालले एक विकेटले जितेको थियो भने दोस्रो खेलमा २ रनको हार बेहोरेको थियो। नेपाल आठ राष्ट्र सहभागी लिग२ मा १६ खेलमा १२ अंकका साथ सातौँ स्थानमा छ।

विश्व

अहमदाबाद विमान दुर्घटना : एक जनाको जीवितै उद्धार

भारतको अहमदाबादमा भएको विमान दुर्घटनामा परी घाइते भएका एक जना व्यक्तिलाई जीवितै उद्धार गरिएको छ। बिहीबार दिउँसो १:३० बजे लन्डनका लागि उडेको एयर इन्डियाको बोइङ ७८७–८ ड्रिमलाइनर विमान सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केही बेरमै नजिकैको चिकित्सकहरूको होस्टलमा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो।

विमानमा सवार २४१ जनासहित होस्टलमा रहेका धेरै जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छन्। अनुसन्धानकर्ताले दुर्घटना स्थलमा पुगेर अनुसन्धान थालेका छन् भने उक्त घटनामा बाँचेका एक यात्रुलाई प्रधानमन्त्री नरेन्द्र मोदीले भेटेका छन्।

विमानमा २३२ यात्रु र १० जना चालक दलका सदस्य गरी जम्मा २४२ जना सवार थिए। एयर इन्डियाका अनुसार लन्डनको ग्याटविकका लागि उडेको उडान नम्बर एआई १७१ को उक्त विमानमा १६९ जना भारतीय, ५३ जना बेलायती, एक जना क्यानेडियाली र सात जना पोर्चुगाली नागरिक सवार थिए।