नेपाल टी-२० लिग : ५ बल बाँकी छँदा फारवेस्टको जित

फारवेस्ट युनाइटेडले नेपाल टी-२० लिगमा काठमाडौँ नाइट्सलाई ४ विकेटले पराजित गरेको छ।

काठमाडौँ- फारवेस्ट युनाइटेडले नेपाल टी-२० लिगमा पहिलो जित निकालेको छ। सोमबार सम्पन्न खेलमा फारवेस्टले काठमाडौँ नाइट्सलाई ४ विकेटले पराजित गरेको हो। 

काठमाडौँले दिएको ९९ रनको लक्ष्य पछ्याएको फारवेस्टले ५ बल बाँकी छँदा ६ विकेट गुमाउँदै १०२ रन बनाएको हो।

फारवेस्टका लागि कप्तान हस्मतउल्लाह साहिदीले अविजित रहँदै अर्धशतक पूरा गरे। उनले ४९ बलमा ३ चौका र २ छक्का प्रहार गरे। ओपनर देव खनालले २८ बलमा २ चौकासहित १७ रन बनाए। भीम सार्कीले ११ रन बनाउँदा फारवेस्टका ४ खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन्।

काठमाडौँका लागि अनिल खरेलले सर्वाधिक २ विकेट लिए। उनले ४ ओभर बलिङ गर्दै १ मेडनसहित १० रन खर्चिए। रायन बर्ल, अजमतउल्लाह ओमरजाई, बसिर अहमद र अभिनाश बोहोराको नाममा समान १/१ विकेट रह्यो।

त्यसअघि टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको काठमाडौँले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९८ रन बनाएको थियो।

काठमाडौँका लागि एलेक्स ब्लेकले सर्वाधिक ४५ रनको योगदान दिए। उनले ३७ बलमा ५ चौका र १ छक्का प्रहार गरे। कप्तान ज्ञानेन्द्र मल्लले १३ रन बनाउँदा ओपनर सन्तोष कार्की १२ रनमा क्याच आउट भए। अन्य ब्याटरले भने दोहोरो अंकमा रन बटुल्न सकेनन्।

फारवेस्टका उमेर अलीले सर्वाधिक ३ विकेट लिए। उनले ४ ओभर बलिङ गर्दै १५ रन खर्चिए। भुवन कार्की र हस्मतउल्लाह साहिदीले समान २/२ विकेट लिए। शेर मल्लको नाममा भने १ रह्यो।

यसअघि फारवेस्ट लुम्बिनी अलस्टारसँग ६७ रनले पराजित भएको थियो। काठमाडौँले भने पहिलो खेलमा पोखरा एजेन्जर्समाथि २६ रनको जित निकालेको थियो। 

काठमाडौँ अंक तालिकाको तेस्रो स्थानमा छ। समान अंक भएको फारवेस्ट चौथो स्थानमा छ।