कतारका चोक–चौराहादेखि गल्ली-बस्तीसम्म नेपालीको प्रभाव छ। त्यहाँ हरेक दशैँमा जमरा राखेर पूजापाठ गरिन्छ। छतमा पानी राखेर भए पनि छठ पर्व मनाइन्छ। सम्भव भएसम्म यता मनाइने पर्व उता पनि मनाउँछन् नेपाली।
दुनियाँले श्रमिक दिवस मनाइरहँदा २००८ मे १ को राति १० बजे इतिहाद एयरलाइन्सको विमानबाट म कतार उडेको थिएँ। युनाइटेड अरब इमिरेट्सको अबुधावी अन्तर्राष्ट्रिय हवाई अड्डामा आठ घण्टाको पट्यारलाग्दो विश्रामपछि दोस्रो दिन कतारको राजधानी दोहा पुगेको थिएँ। कतारको ५० डिग्रीमा १५ महिना बिताएर २००९ अगस्ट ८ को बिहान १० बजे पुनः काठमाडौँ फिर्ता आएँ।
‘दू आखर परदेशसँ’ मेरो १५ महिने कतार प्रवासको रिपोर्ट अर्थात् रिपोतार्ज हो। त्यति बेला कतार मरुभूमिमा साढे तीन लाख नेपाली श्रम र पसिनासँग रियाल साट्दै थिए। यो पुस्तक साढे तीन लाख नेपालीको सुखदुःखको कथाव्यथा पनि हो।
२००७ को अन्त्यतिर जनकपुरकै प्राध्यापक डा. सूर्यनाथ मिश्र नेपाली नियोग प्रमुख भएर दोहा पुगिसकेका थिए, त्यो घडी त्यहाँको नेपाली श्रम बजारको अवस्था बिजोगलाग्दो थियो। कतार नियोगमा मुठीभर मानव तस्करहरूको रजगज थियो। सप्लाई कम्पनीको नाममा सिधासादा नेपालीलाई कतार ल्याउने, सप्लाइमा पठाउने अनि काम पाउन छाडेपछि बिचल्लीमा पारेर बेपत्ता हुने गर्थे उनीहरू। त्यसमा पनि त्यस अघिका कतार नियोगका प्रमुख र कूटनीतिक केही कर्मचारीसमेत मानव तस्कर पक्षधर रहँदै आएकाले श्रमिकहरूलाई न्याय पाउन निकै कठिन थियो।
राजदूत डा. मिश्रको नेतृत्वमा कतारबाट निस्कन थालेको कान्तिपुरको साप्ताहिक संस्करणले त्यहाँ हुने गरेको मानव तस्करीबारे मुखर रूपमा लेख्न थालेको थियो। त्यसो हुँदा, मानव तस्करहरूको एक समूह हाम्रो विरोधमा उत्रिएका थिए। आम श्रमिक भने हाम्रो पक्षमा थिए। नेपालमा भएको राजनीतिक परिवर्तनपछि माओवादीसम्बद्ध मजदुर संगठन र यसका नेता जनार्दन गिरीको चुरीफुरी बढ्न थालेको थियो। यसै क्रममा माओवादी नेता सिपी गजुरेल र मातृकाप्रसाद यादव माओवादीसम्बद्ध मजदुर संगठनको कार्यक्रममा सहभागी हुन कतार गएका थिए। कतारको सुदूर दुखानस्थित एक मजदुर क्याम्पमा आयोजित उक्त कार्यक्रममा माओवादीसम्बद्ध युवाहरूको एक समूहले मसँग दुर्व्यवहारसमेत गरे। ‘दुखानको दुःख’ शीर्षकमा उक्त घटनालाई किताबमा वर्णन गरेको छु।
त्यस बेलादेखि अहिलेसम्मै नेपालभरका सबै जिल्लाका लगभग सम्पूर्ण सांस्कृतिक समुदायका नेपालीहरू कतारमा आफ्नो योग्यता, क्षमताअनुसार श्रम गर्दै छन्। त्यहाँ नेपालीको दह्रो प्रभाव छ। कतारका चोक–चौराहादेखि गल्ली-बस्तीसम्म नेपालीको प्रभाव छ। त्यहाँ हरेक दशैंमा जमरा राखेर पूजापाठ गरिन्छ। छतमा पानी राखेर भए पनि छठ पर्व मनाइन्छ। सम्भव भएसम्म यता मनाइने पर्व उता मनाउँछन् नेपाली। दीपावलीमा देउसी खेलेर रमाइलो गरिन्छ। कान्तिपुरमार्फत हामीले प्रवासी नेपालीहरूका ती सम्पूर्ण गतिविधि साझा गर्यौं।
वर्षौदेखि गाउँ फर्किन नसकेका नेपालीहरूका लागि घरफिर्ती टिकटको जोहो गर्नसमेत हामीले पहल गर्यौं। हमाद अस्पतालमा महिनौँदेखि अज्ञात रहेका दुखियाहरूको कथा–व्यथा अखबारमा लेख्यौं। पीडा, पीडित र पीडकबारे नेपाली नियोग र उनका आफन्तहरूलाई जानकारी गरायौं। यसका अतिरिक्त नेपाली नियोगको गतिविधि, नेपालको विकासमा कतारस्थित नेपाली संघसंस्थाको योगदान, कतार मरुभूमिमा रोजीरोटी कमाउने श्रमिकहरूको सुखदुःखका साक्षी बन्यौं। सारांशमा भन्दा ‘दू आखर परदेशसँ’ कतार मरुभूमिमा रोजीरोटी कमाई रहेका नेपालीहरूको दुःखमात्रको कथा मात्र होइन, दुःखको महासागरबाट खुसीका मोती खोज्ने अकिंचन प्रयास पनि हो।
कतार पुग्नुअघि, यस मुलुकबारे मेरो मनमा कौतुहल, भय र आशंका मिश्रित ऊहापोह थियो। कतार टेकेपछि अर्कै दुनियाँमा आएको अनुभव भएको थियो। ५० डिग्रीको उमस (तातो र आर्द्रतायुक्त मौसम), बालुवाका कणमिश्रित तेज हवा, एकाकार शून्य आकाश! न चराचुरुङ्गीको कलरव, न कतै सरसताको नामोनिसान। चिल्ला सडकको बीचमा लगाइएका मौसमी फूलको फूलबारी र ठिङ्ग उभिएका खजुरको बोट देख्दा सुन्दर त लाग्थे तर, कागजको फूलझैं महसुस हुन्थ्यो।
मे महिनाको सुरुवातमा दोहा अवतरण गर्दा त्यहाँको तापक्रम ४८ डिग्री थियो। मुटु बलियो बनाएर जहाजबाट बाहिर निस्केको थिएँ। इँटाको जल्दो चिम्नीमा आइपुगेको जस्तो अनुभूति भएको थियो, तर हवाई अड्डाभित्र छिर्नेबितिक्कै शीतल भयो। सहकर्मी मित्र देवेन्द्र भट्टराई, कान्तिपुर कतार संस्करणका तत्कालीन साझेदार केदार ढकाल तथा कतार भूमिका पहिलो मित्र कृष्ण भट्टराई हामीलाई स्वागत गर्न एयरपोर्ट आएका थिए। उनीहरूसँग ल्यान्डक्रुजर गाडीमा बसेर सोपिटलस्थित कान्तिपुर प्रवास साप्ताहिक अफिस पुगेको थिएँ। त्यतिखेर बाहिरको तापक्रमबारे ज्ञातै भएन। उमेरमा कान्छा भए पनि देवेन्द्र मेरा पथप्रदर्शक, मित्र र सिनियर थिए। उनले पहिलो भेटमै सम्झाएका थिए, ‘‘बिरालोले बाटो काट्यो भन्ने यात्रा रोक्नु भएन। नभए समयमा कहीँ पुग्न सक्नु हुन्न।’’
देवेन्द्रको यस वाक्यको अर्थ मैले दोहा प्रवासको तेस्रो दिन मात्र बुझ्न सकें, जब गल्ली र सडकमा बिरालोको साम्राज्य मात्रै देखेँ। असलमा कतार सरकारले मुसा मार्न बिरालो ल्याएका रहेछन्, तर कतारका मुसा बिरालाभन्दा पनि बलिया रहेछन्। न मुसाको संख्या घटेको थियो, न बिराला छाँटिएका थिए।
म जुम्मा अर्थात् शुक्रवारको दिन कतार पुगेको थिएँ। शुक्रवार कतारमा कार्यरत विदेशीहरूको लागि विशेष महत्वको हुन्छ। छ दिन खर्चेको निरस समयलाई सरस बनाउने दिन। एक अर्कामा सुखदुःखका कुरा साटासाट गर्ने अनि गाउँबाट फर्केकासँग गाउँघरको हालखबर बुझ्ने दिन। सानातिना कामको भिसा खरिद–बिक्री गर्ने दिन। दुर्भाग्य, म पुगेकै दिन कतार सरकारले बिस्मिल्लाह चोकमा हुने जमघटमाथि रोक लगाएको थियो तर, बिस्मिल्लाहको जमघटमाथि रोक लगाए पनि नेसनल, जोयदा पार्क, तलवार गेट, सनैहिया, अलखोर, दुखान, जमाल आदि चोकमा नेपालीको जमघट उस्तै थियो। पहिलो दिन सनाहिया औद्योगिक इलाका गएको थिएँ।
दिनभरि प्रलय लीला मच्चाएका भगवान् भास्कर थकित बटुवाजस्तै अस्ताचलगामी क्षितिजलाई चुम्बन गर्न व्याकुल देखिन्थे। दिनभरि निरस देखिएको आकाशमा हल्का चहलपहल सुरु भएको थियो। भगवान् सूर्यलाई बिदाबारी गरी चराहरू आआफ्नो गुँडतिर फर्किरहेका थिए। अस्ताचलगामी सूर्यको सुनौलो प्रकाशमा नुहाएको बलदियाको सडक कल्पनाको इन्द्रलोकझैं लाग्थ्यो। प्रकाशको उज्यालोमा नेपालीहरूको अनुहार चम्किरहेका थिए। १७ वर्षीय लक्का जवानदेखि ५० वर्षीय प्रौढ एकै थलोमा भेला भएर रमाइलो गर्दै थिए। उमेर, भाषा, संस्कृति, जाति, वर्ग, क्षेत्र वा धर्मको बन्धन कहीँ कतै थिएन। एउटा समूहमा पान, चुरोटको दौर चलिरहेको थियो (सुर्तीजन्य पदार्थको सेवन हानिकारक छ), अर्कोमा कोल्डड्रिंक्सको सहपान। जीवित प्राणीको सम्पूर्ण लक्षण त्यहाँ व्याप्त थियो– नेपालीहरूको यस भीडमा। यहाँ मैले सिंगो नेपाल देशलाई एकाकार देखेको थिए।
‘नेपालको वास्तविक प्रतिबिम्ब हो– बलदियाको शुक्रवारे जमघट। पहाड, मधेस, हिमालको त्रिवेणी हो बलदिया। त्यहाँ हिन्दु, मुसलमान, पहाडी, मधेशी छुट्याउन गाह्रो थियो। हाम्रा नेताहरूले यस जमघटबाट धेरै कुरा सिक्न सक्छन्। उतिखेर मैले अखबारकै आफ्नो स्तम्भ ‘दू आखर परदेशसँ’ मा लेखेको पनि थिएँ, ‘बलदियामा देखिएको नेपाल काठमाडौँमा देखिनुपर्छ। त्यहाँको सद्भाव जनकपुरमा देखिनुपर्छ र त्यहाँ देखिएको सहकार्य पूर्व मेची देखि पश्चिम महाकालीसम्म देखिनुपर्छ।’
‘दू आखर परदेशसँ’ पुस्तकको विषयवस्तु झन्डै डेढ दशक पुरानो हो। त्यति बेला नेपालमा संविधान बनाउने अभ्यास भइरहेको थियो। आज संविधान कार्यान्वयन भएको झन्डै दशक हुन लागेको छ। अतः वर्णित विषयवस्तुमा परिवर्तन भएको होला। पात्रहरू परिवर्तित भएका होलान्। परिवेश बेग्लै भएको होला। यस दृष्टिले यो पुस्तक समयसापेक्ष नलाग्न सक्ला, तर संविधान जारी भई तीन तहको सरकार अस्तित्वमा रहे पनि नेपाली नागरिकमा व्याप्त असन्तुष्टि विषय वस्तुलाई समय सापेक्ष बनाएको छ भन्ने मेरो मान्यता हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
