पर्दा अगाडिभन्दा पछाडि छ भुटान

भुटानका प्रथम प्रधानमन्त्री जिग्मी पाल्देन दोर्जी वा दक्षिणी भुटानमा बसोबास बिस्तार गर्ने गर्जमान गुरुङको हत्या कसरी गरियो? पर्दापछाडि असंख्य रहस्यमयी कथाहरू छन्।

ड्रुक–युल/लेन्ड अफ द थन्डर ड्रागन! एन अन्स्पोइल्ड् कन्ट्री! लेन्ड अफ ह्यापिनेस!

यसरी देश–दुनियाँले अनेक नाम, उपनाम र विशेषणमा चिन्दै आएको भुटानभित्रका रहस्य एक होइन, अनगिन्ती छन्। जति विशेषता खोतले पनि घटनाक्रम र मुद्दाका कारण सन् ९० को दशकमा देश निकाला गरिएका १ लाखभन्दा भुटानी नागरिकका कारण राजनीतिक तहमा चिनिएको भुटान भने अलग छ। भुटानले आफूलाई विश्वमाझ ‘ग्रस नेसनल ह्यापिनेस’ (जीएनएच) बाट चिनाउन खोजे पनि ग्रस–नेसनल–हिपोक्रेसी उसको भिन्न चिनारी बनेको छ।

योपाला आफ्नो माटो र आफू हिँडेको भुटानी बाटोको अलग व्याख्या लिएर आएका छन्—बलराम पौड्याल, पूर्व मण्डल, साम्ची, बाँडा ब्लक, भुटान। १९५२, अक्टोबर २९ मा यही बाँडा गाउँमा जन्मेका उनी राजा–राज्यले तोकेको कर्तव्य निर्वाहका क्रममा २८ वर्षकै उमेरमा बाँडा ब्लकको मण्डल (१९८१–८९) बनेका थिए। नेपालमा स्थानीय तहको वडाध्यक्षझैँ कार्यकारी तहका यी प्रतिनिधि पात्रले स्थानीय ६९५ घर र त्यसभित्रको व्यक्ति जन्म–मृत्यु, अभिलेख, देवयानी सबै मामला हेर्नुपर्थ्यो। 

‘राजाले खटाएका मण्डल’ भए पनि बलराम र उनीजस्ता दर्जनौं ब्लकका मण्डलहरूको एउटै समस्या थियो—नेपालीभाषी हुनु। दक्षिणी भुटानमा बस्ने नेपालीभाषी ल्होत्साम्पामाथि थोपरिँदै गरेको चर्को शासकीय बुहार्तनमाझ मण्डल होस् वा देवान, मुख्तियार र राजपरिषद् सल्लाहकार नै किन नहोस्— कसैका निम्ति पनि ती दिनहरू त्यति सजिला थिएनन्।    

“दार्जिलिङ र तिब्बतको सीमावर्ती साम्चीको त्यो बाँडा गाउँमा मेरो घरमै एक रात प्रहरी जत्था आइपुग्यो। माथि साम्ची जिल्लाको जोङ्गदाको आदेशमा राजा जिग्मी सिङ्गे वाङचुकसँगको बैठकमा सहभागी हुन जानुपर्ने भन्दै प्रहरीले अलिक कडा उर्दी गरे। अनि उनीहरूसँगै जिल्ला सदरमुकामतिर लागेँ,”आफ्ना ती दिन, भुटानको आगत–विगत र पानीको फोकाझैं बिलाउँदै गएको भुटानी शरणार्थीको अधिकारमाथि ‘पर्दा पछाडिको भुटान’ पुस्तक लेखेर गफगाफमा आएका पौड्यालले सुनाए, “त्यही मौकामा जलढाका खोला तरेपछि म भागेर दार्जिलिङ (भारत) को सीमावर्ती गाउँ पुगेको थिएँ। १९८९, नोभेम्बर ३ पछिको मेरो जीवनको भोगाइ र अनुभव त्यही पर्दापछाडिको भुटान उत्खनन गर्नैमा केन्द्रित रह्यो। देखिने भुटान र नदेखिएको भुटानको सोधखोजपछि यो पुस्तक ल्याएको छु, पर्दापछाडिको दस्ताबेजझैँ।”

पेज टर्नर प्रकाशक रहेको पुस्तकको अंग्रेजी संस्करण ‘भुटान: बिहाइन्ड द कर्टेन’ पनि एकैसाथ प्रकाशित छ। यसअघि पौड्यालका ‘भुटान फर्कँदा’ (१९९५) र ‘भुटान हिजो र आज’ (२००१) पुस्तक प्रकाशनमा आइसकेका छन्। लेखक पौड्यालले ‘पर्दापछाडिको भुटान’ पुस्तकको प्राक्कथनमा भनेका छन्, “बाहिरी दुनियाँले देखेको भुटान केवल यहाँका शासकहरूले प्रस्तुत गरेको कागजी व्याख्यानको भुटान हो। वास्तविक भुटानलाई अझैसम्म पर्दापछाडि लुकाइएको छ।”   
⁎⁎⁎
भुटान पिपुल्स पार्टीका अध्यक्षसमेत रहेका पौड्यालले लेखेको ‘पर्दापछाडिको भुटान’मा लेखककै शब्दमा ८ वर्षको मेहेनत परेको छ। यो स्वाभाविक थियो कि अनेक तरतिबबाट पर्दा पछाडिको भुटानभित्रका तथ्य–तथ्यांक र प्रामाणिक दस्ताबेज बटुल्नै पनि समय लाग्यो नै। किनभने बलराम स्वयं तोदे खोला तरेर भुटानबाहिर आएको ३६ वर्ष भइसकेको छ। बाहिरिएपछि बाँडा ब्लकको मण्डल भएताका भन्दा निकै बढी भुटान चिनेका थिए उनले। त्यहाँ बर्षौंदेखि चलिरहेको सांस्कृतिक, जातीय र भाषिक सफायाको चित्र–चरित्र आफ्नो माटोबाट लखेटिएपछि तथ्य–तथ्यांकसहित पत्तो पाए।

३८ हजार ३ सय ९४ वर्ग किलोमिटरमा फैलिएको भुटानमा पूर्वी क्षेत्रतिर सार्छोप (छाङ्गलाभाषी), त्यसपछि पश्चिम/मध्योत्तर क्षेत्रमा ङालोङ्ग समुदाय र दक्षिणी भेगमा ल्होत्साम्पा (नेपालीभाषी) रहेको गुगल–विवरण मात्रै समेट्दा पर्दा पछाडिका अरू तस्बिर बाहिर आउन सक्ने थिएनन्। यस कारण आफू मण्डल भएताका देखिकै अनेक रहस्यमयी सत्य घटनालाई बलरामले पुस्तकमा जोडेका छन्। जस्तो— उनले आफू मण्डल हुँदा (१९८१–८९) सम्मको स्थिति सम्झेर भुटानको शासकीय चित्रलाई यसरी तथ्यांकमा सम्झेका छन्, “उस बखत बाँडा ब्लकमा जम्मा ६९५ घर र कुल जनसंख्या ४ हजार ९ सय ६५ थियो। तर, जोङ्गदा (जिल्ला अधिकारी) ले दिएको उत्तर पुस्तिकाअनुसार सरकारी कार्यका लागि सही तथ्यांक प्रयोग गर्नुपर्ने र विदेशी संस्थाका लागि अढाई गुणाभन्दा बढी अर्थात् ११ हजार ३ सय २७ जनसंख्या रहेको बताउनु भनी विवरण खुलाइएको थियो।”

बाँडा गाउँको सानो उदाहरण दिँदै भुटानलाई राष्ट्र मान्यताको तह र राष्ट्रसंघसम्म पुग्दा उसको तथ्य–तथ्यांक कसरी ‘मनपर्दी’ बनेको थियो भन्ने दृष्टान्त बलरामले पुस्तकमा समेटेका छन्, जुन आफैमा रोचक सामग्री बनेको छ। पुस्तकमा समेटिएको विवरणले भन्छ:

—सन् १९६१ मा भुटानमा प्रथम पञ्चबर्षिय योजना लागु हुँदासम्म भुटानसँग जनसंख्याको तथ्यांक थिएन।

—सन् १९७१ मा संयुक्त राष्ट्रसंघमा प्रवेश पाउन भुटानले प्रस्तुत गरेको जनसंख्या थियो १३ लाख थियो।

—१९८०/८१ को राष्ट्रिय जनगणनामा भुटानको कुल जनसंख्या ४ लाख ८४ हजार थियो।

—१९९०, २६ अक्टोबरमा भुटानका राजा जिग्मे सिंगे वाङचुकले भारतीय पत्रिका ‘सन्डे’लाई दिएको अन्तर्वार्तामा भुटानको जनसंख्या ६ लाख थियो।

—२००५ मे ३१ को पपुलेसन एन्ड हाउजिङ् सेन्सस अफ भुटानको तथ्यांकअनुसार ६ लाख ३४ हजार ९ सय ८२ थियो।

—२०२३ को स्टेटिस्टिकल एयर बुकअनुसार, २०१७ मा भुटानको जनसंख्या ७ लाख २७ हजार १ सय ४५ थियो। 

—गुगल (वल्र्डोमिटर) अनुसार, सन् २०२४ को भुटान जनसंख्या ७ लाख ९१ हजार ५ सय २४ थियो।

यस कारण ‘पर्दापछाडिको भुटान’झैँ पर्दापछाडिको जनसंख्या पनि छ भुटानसँग, जसमा उसले देश निकाला गरेका १ लाखभन्दा बढी ल्होत्साम्पाको गणना कहींकतै र कहिल्यै गरिएको छैन। 

⁎⁎⁎
एक शताब्दीअघि दक्षिणी भुटानमा नेपालीको बसोबास गराउने पात्र दालचन गुरुङ र पछि उनका छोरा गर्जमान गुरुङ देवान (जिल्लाधिस) को ‘इतिहास’ के–कस्तो छ? कहाँ लुकेर बसेको छ? 

यो सन् १९४४ आसपासको कुरा हो। त्यस बेला साम्ची क्षेत्र (अहिलेको साम्ची जिल्ला र छुका जिल्लाको फुन्छोलिङ सब–डिभिजनसहित २० वटा ब्लक) को रखवारी गर्ने काममा खटिएका गर्जमान गुरुङको आफ्नै सानसौकत थियो। तत्कालीन राजधानी पारो तथा भारतको कालेबुङसम्मै पुगेर कर र खजाना उठाउनुपर्ने जिम्मेवारी गर्जमानमा थियो। (सन् १८६५ मा भुटान र ब्रिटिस–इन्डियाबीच भएको सिञ्चुला सन्धिले भुटानको तत्कालीन कालेबुङ क्षेत्र भारतमा विलय भएको थियो।)

गर्जमानका पारदर्शी काम र प्रभावका कारण दरबारियाको एक तहमा उनी आँखाको तारो बनेका थिए। साम्ची सदरमुकामभन्दा एक माइल पश्चिम डाँडामा सौरेनी–कोठी नामको भव्य महल बनाएर बसेका गर्जमानका लागि यही महल उनको जीवन सिद्ध्याउने आधार बन्यो। खासमा भुटानमा राजपरिवार मात्रै बस्न मिल्ने ५२ ढोके महलको प्रतिरूप बनाएर गर्जमानले एक प्रकारको ‘चुनौती’ दिएका थिए। त्यही वर्षको दशैंताका भुटानी राजा जिग्मी वाङ्गचुकले गर्जमानलाई पारोमा भेट्न बोलाएका छन् भन्दै डाकियो र एउटा जोङ्ग (दरबार) भित्र लगियो। जोङ्ग बाहिरै आफ्ना भाइभारदार र सहयोगी राखेर भित्र गएका गर्जमान फर्केर बाहिर कहिल्यै आएनन्। उनलाई कुन मितिमा कसरी मारियो भन्ने किस्साहरू पनि फरक–फरक छन्, दन्त्यकथाझैँ।

दरबारिया षडयन्त्रमाझ गर्जमानको देह अलप भए पनि हालको साम्ची बजारभन्दा माथि सौरेनी डाँडामा ५२ ढोके सौरेनी–कोठी अझै पनि छँदैछ। यस्तै, साम्ची सीमावर्ती चामुर्ची नजिकै गर्जमान टी–स्टेट पनि यथावत् छँदैछ।

हत्या, आत्महत्या र बेपत्ताका अनेक कथाले भरिएको भुटानको शासन व्यवस्था यस कारण पनि बाहिरी जगतका लागि ‘रहस्यमयी’ छ। आवरणमा खुसी–सुखी राष्ट्रको रङरोगन भए पनि भुटानका प्रथम प्रधानमन्त्री (१९५२–१९६४) जिग्मी पाल्देन दोर्जीको हत्या किन र कसरी गरिएको थियो भन्ने उत्खनन आफैमा रोचक लाग्न सक्छ। लेखक बलराम पौड्यालले पर्दापछाडिका यस्ता कथाको धेरै तथ्यपूर्ण र केही कथा–कहानीजस्ता किस्सा पनि जोडेका छन्, जसले भुटानमा पनि संक्रमणकालिन न्यायदेखि बेपत्ता आयोग गठन हुनुपर्ने परिबन्दको घेरा बढाउने काम गरेको छ।

त्यसमा पनि सन् १९५८ को नागरिकता अधिनियमलाई सन् १९८५ मा संशोधन गरिएपछि सुरु भएको ‘भुटानीकरण’को कथा अर्कै छ। ४२ वटा फरक भाषा बोलिने मुलुकमा ‘एक भाषा एक भेष’को नीति अनिवार्य बन्नु र सिंगो देशमा ‘जातीमा ड्रुक्पा, भाषामा जोङ्गखा’को रणनीति लागु भएपछि उब्जिएको हाहाकारको स्थिति अर्कै छ। त्यसपछि सुरु भएको कुल राष्ट्रिय खुसी (जीएनएच) र देखावटी संवैधानिक निर्वाचन प्रणाली (२००८) ले भुटानलाई पर्दाबाहिर एउटा र पर्दाभित्रै अर्कै बनाउँदै लग्यो। 

⁎⁎⁎
जीवनमा सम्झने क्षणहरू अनगिन्ती छन्। बाँडा जुनियर हाई स्कुल बनाउने बेला ‘निर्माण सचिव’ बनेको देखि कुनै मध्यरात श्रीमती र छोराछोरी घरैमा छाडेर तोदे खोला तरेको क्षण। सरभाङ हत्याकाण्डमा मारिने २४ आफन्तीको स्मृतिदेखि सुनकोश नदीमा डुबाएर मारिएका महासुर बस्नेत सम्मको आर्तनाद अहिले पनि सपनीमा ऐँठन बनेर आइरहन्छ।

तैपनि सबैभन्दा चर्को सम्झनामा छन् त केवल दुई कुरा !

क) नोभेम्बर ३, १९८९ ख) ००११५८२

बाँडा गाउँबाट नोभेम्बर ३ को रातमा प्रहरीलाई छलेर नभागेको भए आज बलराम पौडेलको नामकाम के हुन्थ्यो होला? कि त उनी चेमगाङ्ग केन्द्रीय कारागारमै आजीवन कारावासमा हुन्थे होलान् वा महासुर बस्नेतझैं तोदे खोलामा मिलिसकेका हुन्थे! साम्ड्रूप जोङ्गखर जिल्ला, दालिम ब्लकका मण्डल भक्तबहादुर पोखरेलझैँ कुटपिटमै मारिने बेनामी–पात्र बन्न पुग्थे अथवा डिकलाई मंगरे गाउँका मनबहादुर मोते दमाई झैं मुसो मराइमा पर्ने थिए? सोबारे अहिलेसम्म कहीँकतै तथ्य सत्य निरूपण हुन सकेको छैन।

नियतिको खेलोमा परेर उनी अन्ततः शरणार्थी हुन नेपाल आइपुगे। 

अर्को स्मरणीय क्षण–बलरामले देश छाडेको एक महिनापछि, डिसेम्बर १४, १९८९ मा कालेबुङमा बज्ने एउटा स्थानीय प्रसारणको रेडियोमा खबर सुने, ‘‘बाँडा ए ब्लकका मण्डल बलराम पौड्यालको घर तथा सम्पत्ति राष्ट्रियकरण गरिएको छ, उनको ००११५८२ नम्बरको नागरिकता जफत(खारेज) गरिएको छ।’’

यसरी अनागरिक बनेका बलराम पौड्याललाई यतिका वर्षपछि, अहिले आएर के लाग्छ भने बेलैमा शासकको कुरा बुझिएन भने सिधासाधा नागरिकले दुःख पाउने रहेछन्। उनले भुटानी नागरिकता लिए पछिको एउटा राष्ट्रिय दिवसका अवसरमा तत्कालीन राजा जिग्मे सिङ्गे वाङचुकले उनीसँगै भनिसकेका रहेछन्, गुह्य कुरा। तर यो सन्देश न सार्छोपले बुझे, न ल्होत्साम्पाले। 

त्यो बेला राजा जिग्मेको भनाइ थियो, “म तपाईंहरू सबैलाई यो सूचित गर्न चाहन्छु कि, तपाईंहरू गहिरो जिम्मेवारीबोध, लगनशीलता, बफादारी, त्याग, शक्ति तथा हाम्रो प्रिय देशको भविष्यका आशा र सपनाका प्रति तपाईंहरूको प्रतिबद्धताप्रति म गौरवान्वित भएको छु। मैँले यो पनि सुनेको छु कि दक्षिण भुटानका हाम्रा केही बासिन्दाहरू आफूलाई असली भुटानी मान्दैनन्। कोही यस्तो सोचमा हुनुहुन्छ भने तपाईंहरू असली भुटानी मानिनुहुन्न। किनकि, दक्षिण भुटानमा बस्ने हाम्रा जनता नेपालका होइनन्, न तपाईंहरू भारतीय अथवा कालिम्पोङ वा दार्जिलिङवासी नै हो। (१९७८ डिसेम्बर १७, गेलेफू)

...दक्षिण भुटानका तपाईं जनताहरूले आफूलाई कहिल्यै पनि पराया ठान्नुहुन्न, किनभने तपाईं र तपाईंहरूका पुर्खाको जन्म भुटानमै भएको थियो। त्यसैले तपाईंहरू सबै भुटानी हो। आफूलाई यसै रूपमा स्वीकार गर्दै तपाईंहरू सबैले भुटानको हितका लागि काम गर्नुपर्छ। (१९७४, जनवरी १, साम्ची)” 

***

छलछामले भरिएको यो संकेत र सन्देश नबुझेरै दक्षिणी भुटानका ल्होत्साम्पाहरू जातीय सफाया बेहोर्नुपरेको यथार्थ आफ्नो ठाउँमा छ। तर, हक–अधिकार र पहिचानको यो लडाइँमा बलराम पौड्यालहरूले आखिरमा के पाए त? चुपै लागेर उतै साम्ची–गेलेफुतिरै जोङ्खा बोल्दै र बक्खुभित्र आफूलाई लुकाएरै हिँडिरहेको भए के हुन्थ्यो ? 

यो जिज्ञासा झर्न नपाउँदै बूढ्यौलीले थलिएका ७३ बर्से बलराम पौड्याल आवेशमा आए, “के यो हृदयमा पुस्तौँदेखि बस्दै आएको हरिलाई मारेर आफू मात्रै बाँच्नु? अहँ, सकिएन। हो, त्यही आफूले नसकेको इतिवृत्तिलाई पर्दापछाडिको भुटान कृतिमा समेटेको छु, मनन गर्नुहोला।”