फिटनेसमा रुचि राख्ने युवाका लागि रन क्लबहरू स्वास्थ्य र सामाजिक सम्बन्ध बढाउने महत्त्वपूर्ण माध्यम बनेका छन्। कोभिड-१९ महामारीपछि रन क्लबप्रति युवाको आकर्षण बढ्दै गएको छ।
काठमाडौँ— मीनभवनकी अधिश्री मल्ल एक वर्षअघि तौल घटाउन जिममा कडा व्यायाम गर्थिन्। त्यहाँको व्यायामले शरीरमा समस्या ल्यायो। मांसपेशी जकडिने, शरीर दुख्ने, चलाउनै गाह्रो हुनेजस्ता समस्याले सताउन थाल्यो। यसपछि उनले दौडलाई आफ्नो व्यायामको माध्यम बनाउने योजना बनाइन्।
तर एक्लै दौडन उनलाई असहज र असुरक्षित महसुस हुन्थ्यो। यही द्विविधाबीच एकदिन उनले इन्स्टाग्राममा एउटा ‘रनिङ क्लब’ शुरू हुन लागेको जानकारी देखिन्। यस्ता क्लबमा उनीजस्तै दौडन चाहनेहरू संगठित रूपमा दौडने गर्छन्।
त्यसयता उनी हरेक हप्ता क्लबले आयोजना गर्ने दौडमा निरन्तर सहभागी छिन्। “क्लबमा दौडन थालेपछि शारीरिक रूपमा स्वस्थ त भइन्छ नै, सबैभन्दा ठूलो कुरा त एक्लै दौडनसक्ने आत्मविश्वास विकास भएको छ,” उनी भन्छिन्।
रनिङ क्लबका कारण बढेको आत्मविश्वासका कारण नै जेठमा भएको ‘वान रन’ अन्तर्राष्ट्रिय दौड प्रतियोगितामा सहभागिता हुन सकेको उनी बताउँछिन्। २१ किलोमिटरको त्यो हाफ म्याराथन दौडमा कुनै पदक नजिते पनि शुरूमा एक किलोमिटर पनि दौडन नसक्ने उनले २१ किलोमिटर पूरा गर्दा आफूमा ठूलो परिवर्तन भएको महसुस गरिन्। “यो मेरो लागि गर्वको कुरा हो र मैले आफैँमा ठूलो परिवर्तन महसुस गरेकी छु,” उनले आफ्नो अनुभव सुनाइन्।
यो परिवर्तन रनिङ क्लबमार्फत नियमित दौड अभ्यासले सम्भव भएको उनले बताइन्। शुरूमा छोटो दूरी पार गर्न पनि हम्मेहम्मे पर्ने उनलाई क्लबको सहकार्य, मार्गदर्शन र निरन्तर अभ्यासले गर्दा आत्मबल र अनुशासन विकास भएको छ। “रनिङले मलाई शारीरिक तन्दुरुस्ती त दिएको छ नै, आत्मविश्वास र सोच्ने तरिका पनि फेरिएको छ,” अधिश्री भन्छिन्।

अधिश्रीजस्तै बानेश्वरका अनुराग रोकाया पनि रनिङ क्लबले आयोजना गर्ने दौडमा सहभागी भइरहन्छन्। उनी आठ महिनादेखि रनिङ क्लबमा नियमित दौडिँदै आएका छन्। खेलकुदमा रुचि राख्ने उनी आफ्नो फिटनेसप्रति सचेत छन्। तौल घटाउन दौडन चाहन्थे, तर निरन्तरता दिन गाह्रो थियो। आठ महिनाअघि उनले पनि इन्स्टाग्राममार्फत रन क्लबबारे थाहा पाएपछि सहभागी हुन थालेका हुन्।
उनका अनुसार जिम वा अन्य व्यायाममा व्यक्ति एउटा निश्चित लक्ष्य राखेर एक्लै हुन्छ, तर समूहमा दौडनुको अनुभव फरक हुन्। उनी समूहमा दौडिदा अरूलाई हेरेर पनि दौडन प्रेरणा मिल्ने, थाक्दा पनि हिम्मत आउने र निरन्तरता दिन सकिने अनुभव सुनाउँछन्।
“यो भनेको स्वास्थ्य सँगसँगै रमाइलो गर्ने ठाउँ हो। जहाँ कुनै समयसीमा हुँदैन, निस्फिक्री तोकिएको दिशा पूरा गर्ने र आनन्द लिने हो,” उनी समूहमा दौडिनुको फाइदाबारे भन्छन्, “यसले सामाजिक सम्पर्क बढाउँछ। विभिन्न क्षेत्रबाट आएकाहरूसँग घुलमिल हुँदा धेरै कुरा बुझ्न पाइन्छ। अझ अरूलाई हेरेर आत्मबल बढ्छ। दौडपछिको खुशी र सन्तुष्टि पनि यो मन पर्नुको अर्को कारण हो।”
अनुरागले गएको पुसमा सम्पन्न पोखरा अन्तर्राष्ट्रिय पूर्ण दौड प्रतियोगिता (फुल म्याराथन) पूरा गरे। यो प्रतिगितामा उनी उत्कृष्ट २५ मा आउन सफल भएका थिए। यसबाट आत्मविश्वास र आत्मबल बढेको उनको अनुभव छ।
अहिलकोको व्यस्त जीवनशैलीमा शारीरिक र मानसिक स्वास्थ्य सन्तुलनमा राख्न दौड राम्रो उपाय बनेको छ। यसैलाई संगठित रूपमा विस्तार गर्दै स्वास्थ्यसम्बन्धी काम गर्ने संस्थाले रन क्लब सञ्चालन गरिरहेका छन्। यस्ता क्लबहरूमा विभिन्न उमेर, वर्ग र समूहका मानिसहरू एकै ठाउँमा सहभागी भई साप्ताहिक वा नियमित रूपमा एकसाथ दौडने, एक अर्कालाई प्रेरित गर्ने गर्छन्। यस्ता क्लबको प्रचलन देशका अन्य शहरमा पनि शुरू भएको छ।
रन क्लबहरू निःशुल्क छन् र सबै उमेर समूहका मानिसका लागि खुला रहेका हुन्छन्। यहाँ शुरूआत गर्दै गरेका, नियमित दौडने व्यक्ति वा अनुभवी व्यक्तिहरू मिलेर दौडन्छन्। यसका साथै अन्य फिटनेससम्बन्धी प्रशिक्षण पनि दिइन्छ।
यसले मानिसलाई नकारात्मक सोचबाट बाहिर ल्याउने, सामाजिक रूपमा घुलमिल हुने, सम्पर्क बढाउने र अभ्यासको वातावरणलाई निरन्तरता दिन प्रेरणा मिलिरहने अर्थ रन क्लबका संस्थापक प्रकृतार्थ घिमिरे बताउँछन्। उनका अनुसार क्लबमा दौडन मात्र नभई, शारीरिक र मानसिक रूपमा स्वस्थ्य रहन, आफूलाई प्रेरित गर्न आउने गर्छन्।

अर्थ क्लब शुरू भएको एक वर्ष भइसकेको छ र प्रत्येक शनिबार बिहान ७ बजे हुने दौडमा २०० जनासम्म सहभागी हुन्छन्। “पछिल्लो समय मानिसहरू स्वास्थ्यप्रति सचेत हुन थालेका छन्। शारीरिक तन्दुरुस्ती र जीवनशैली सुधार्ने प्रयोजनले व्यायामप्रति आकर्षण बढ्दो छ,” घिमिरेले भने, “यसैलाई थप संगठित, प्रेरणादायी र समुदायसँग मिल्ने बनाउने उद्देश्यले रन क्लबको शुरूआत गरेका हौँ।”
यस क्लबमा सामान्यतया ५ देखि ६ किलोमिटरसम्म दौडने गरिन्छ, जसमा १५ वर्षदेखि ६० वर्षसम्मका व्यक्तिहरू सहभागी हुन्छन्। १८ देखि २२ वर्ष उमेर समूहको उपस्थिति बाक्लो भए पनि पछिल्लो समय गृहिणी र आमाहरूको संख्या पनि बढ्दै गएको उनले बताए।
उनका अनुसार क्लबले स्थानीय तहसँग समन्वय गरेर सुरक्षित रुट तय गर्ने र आकस्मिक मेडिकल सेवाको समेत व्यवस्था मिलाएको हुन्छ।
किन आवश्यक छ रन क्लब?
शहरीकरण, अव्यवस्थित जीवनशैली र तनावले मानसिक स्वास्थ्य समस्या बढिरहेको सन्दर्भमा रन क्लबहरू शारीरिक तन्दुरुस्तीका लागि मात्र नभई सामाजिक सम्बन्ध र मानसिक सन्तुलनका लागि पनि आवश्यक बन्दै गएका छन्। स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्था 'मेल्टडाउन'का संस्थापक तेन्जिङ धान्देन गुरुङका अनुसार रन क्लबहरूले व्यक्तिलाई नियमितता, आत्मविश्वास, सामाजिक सम्पर्क र सकारात्मक सोच विकास गर्न सहयोग गर्छन्।
“नियमित शारीरिक गतिविधि र सामाजिक सम्बन्धले डिप्रेसनको जोखिम घटाउने र समग्र मानसिक स्वास्थ्यमा सकारात्मक असर पार्ने कुरा विभिन्न अध्ययनहरूबाट पुष्टि भइसकेको छ,” गुरुङले भने, “संगठित रूपमा दौडिदा शारीरिक गतिविधिको माध्यमबाट मानिसहरूलाई प्रत्यक्ष भेटघाट र गहिरो सम्बन्ध निर्माणतर्फ प्रेरित गर्छ, जसले तनाव र चिन्ता कम गर्न पनि मद्दत गर्छ।” विशेष गरी युवा, महिला र मानसिक स्वास्थ्यमा संघर्ष गरिरहेकाहरूका लागि यस्ता क्लबहरू प्रभावकारी र परिवर्तनकारी बन्न सक्ने उनको विश्वास छ।
डेढ वर्षअघि पाँच जना सदस्यबाट शुरू भएको मेल्टडाउनमा आज हरेक बुधबार बिहान हुने दौडमा १५० जनाभन्दा बढी मानिसहरू नियमित सहभागी हुन्छन्, कहिलेकाहीँ यो संख्या ३०० सम्म पुग्छ। हालसम्म तीन हजारभन्दा बढी व्यक्ति क्लबसँग जोडिसकेका छन् भने करिब ४० प्रतिशत महिला र ६० प्रतिशत पुरुष छन्। सहभागीहरूमध्ये ८० प्रतिशत २० देखि ४० वर्ष उमेर समूहका छन्।

नेपालमा रन क्लबको विकास
नेपालमा रन क्लब संस्कृतिको विस्तार कोभिड-१९ महामारीपछि भएको ‘आरटी हन्डरेड रन क्लब’का संस्थापक सिजन अधिकारी बताउँछन्। कोरोना महामारीले अधिकांश मानिसलाई स्वास्थ्य र जीवनशैलीप्रति सोच्न बाध्य बनायो, जसले गर्दा समूहमा व्यायाम गर्ने प्रचलन बढेको उनको भनाइ छ।
“अहिले ग्रुप रन वा रन क्लबको अवधारणा लोकप्रिय बन्दै गएको छ,” अधिकारीले भने, “यद्यपि, धेरै मानिसहरू पहिले पनि व्यक्तिगत रूपमा दौड अभ्यासमा संलग्न थिए। तर त्यो अभ्यास एक्लै वा केही साथीहरूसँग सीमित थियो। अहिले भने स्वस्थ रहन वा सामाजिक घुलमिलका लागि जुनसुकै क्षेत्रबाट मानिसहरू आउन थालेका छन्।”
स्वस्थ जीवनशैली, मानसिक सन्तुलन र सामाजिक सम्बन्धका लागि दौड एक सहज र प्रभावकारी माध्यम बन्न थालेसँगै रन क्लब जस्ता समूहगत अवधारणाले स्थान लिँदै गएको उनले बताए। उनका अनुसार अहिले काठमाडौँ उपत्यकामा यस्ता क्लब सीमित (तीन वटा) छन्। पछिल्लो समय फिटनेसका लागि दौडप्रति चासो दिनेको संख्या बढेसँगै यस्ता क्लबहरूको संख्या बढ्दै जाने देखिन्छ।
फिटनेस ट्राकिङ एप स्ट्राभाले सार्वजनिक गरेको वार्षिक रिपोर्टले पनि समूहगत फिटनेस उल्लेखनीय वृद्धि भएको देखाउँछ। रिपोर्टका अनुसार सन् २०२४ मा विश्वभर रन क्लबहरूको संख्या ५९ प्रतिशतले वृद्धि भएको छ ।
समूहमा गरिएको दौडले एकल दौडको तुलनामा बढी प्रशंसा भएको, बढी दौडन सफल भएकोले फाइदाजनक रहेको प्रतिक्रिया मिलेको रिपोर्टमा उल्लेख छ। साथै, रन क्लबहरू व्यायाम गर्ने ठाउँ मात्रै नभएर नयाँ साथीहरू भेट्ने थलोसमेत बनेका छन्। सन् २०२४ मा सर्वेक्षण गरिएका प्रयोगकर्तामध्ये ५८ प्रतिशतले रन क्लबमार्फत नयाँ साथी बनाएको बताएका छन्।
अमेरिका, अस्ट्रेलिया, जापान, जर्मनी जस्ता देशहरूमा रन क्लबको प्रचलन लामो समयदेखि रहँदै आएको छ। यी देशहरूमा क्लबहरूले हप्तामा १-२ पटक दौड, फिटनेस प्रशिक्षण, सामाजिक कार्यक्रम, र म्याराथन तयारी जस्ता विविध गतिविधि सञ्चालन गर्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
