एकीकृत समाजवादीभित्र रामकुमारी झाँक्रीको उकुसमुकुस

भ्रष्टाचार मुद्दा लागेका पार्टी अध्यक्षमाथि नैतिकताको प्रश्न उठाउँदा रामकुमारी झाँक्रीलाई चेतावनीयुक्त स्पष्टीकरण सोधेको एकीकृत समाजवादी कारबाहीको निर्णय गर्न भने हच्किइरहेको छ, किन? 

काठमाडौँ– २०७८ भदौ २ गते, निर्वाचन आयोगमा भीडभाड थियो। एमालेमा अध्यक्ष केपी शर्मा ओलीसँग पानी बाराबार अवस्थामा पुगेको सम्बन्ध सुधारको कुनै गुञ्जायस नदेखिएपछि माधवकुमार नेपाल समूह एमाले विभाजन गरेर नयाँ पार्टी दर्ता गर्ने निधोमा पुगेको थियो। त्यही क्रममा निर्वाचन आयोग परिसरमा स्कर्पियोबाट उत्रिएका नेपाललाई रामकुमारी झाँक्रीले हात समातेर आयोग भवनतिर लैजाँदै गरेको तस्वीर सार्वजनिक भएको थियो।

वर्षौंदेखि माधवकुमार नेपालका असाध्यै निकट भनेर चिनिएका नेताहरू निर्वाचन आयोग परिसरमा नदेखिएको अवस्थामा झाँक्री नै थिइन् जसले उनलाई आडभरोसा दिएर एमालेबाट ‘विद्रोह गर्ने’ कदममा पूर्ण आडभरोसा दिएकी थिइन्। त्यसैले त यो तस्वीर कैयौँ दिनसम्म सामाजिक सञ्जालमा चर्चाको विषय बनिरह्यो। यस्तो चर्चा जसले अबको राजनीति युवाले नेतृत्व गरेको र पुरानो पुस्ताले त्यसलाई पछ्याएको हुनुपर्ने सन्देश दिइरहेको थियो। अनि भरोसायोग्य ठानिएका वरिष्ठहरूले साथ छोड्दा मोर्चा सम्हाल्ने झाँक्री जस्ता युवाकै पार्टीमा बोलवाला हुनेछ भन्ने आशा पनि जगाएको थियो। 

हुन पनि तत्कालीन नेकपा (एमाले र माओवादी एकताबाट बनेको दल) मा आएको विभाजन निर्वाचन आयोगले नेकपाको दर्ता खारेज गरेपछि एमालेमा सरेको थियो जहाँ केपी शर्मा ओली र माधवकुमार नेपाल–झलनाथ खनाल समूहबीचको संघर्ष अन्ततः २०७८ भदौ २ को पार्टी विभाजनमा पुगेको थियो। र योसँगै को–को एमाले छाडेर नयाँ पार्टी (नेकपा एकीकृत समाजवादी) जालान् भन्ने चासो थियो। हिजो नेपाल समूहबाट महाधिवेशनमा पदाधिकारी भएकादेखि उनकै छत्रछायामा राजनीतिक जीवन सपारेका नेताहरू नयाँ पार्टीमा आउलान् या नआउलान् भन्ने व्यग्र प्रतीक्षा आमरुपमै देखा परेको थियो।

तर त्यस्ता धेरै नेता नेपालसँग देखिएनन्। एमालेभित्रको संघर्षमा नेपाल–खनाल पक्षमा लागेका भीम रावल, अष्टलक्ष्मी शाक्य, रघुजी पन्त, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्टलगायत नेताहरू त्यो घडीमा पछि हटे र राजनीतिक जीवनको सुरक्षा खोजेर एमालेमै बस्ने निर्णय लिए। लामो समयदेखि नेपालपक्षमा मुखरित अष्टलक्ष्मी शाक्यले नै नेपाललाई साथ दिइनन्। बरु त्यहीबेला उनलाई बागमती प्रदेशको मुख्यमन्त्री बनाउन एमाले नेता डोरमणि पौडेलले राजीनामा दिएरै बाटो खोलिदिए जसलाई धेरैले अन्तिम घडीमा नेपाल समूह छाडेर ओलीलाई साथ दिएका कारण उनले पाएको पुरस्कारको रूपमा पनि चर्चा गरे। 

नेपालका असाध्यै निकटमा पर्थे योगेश भट्टराई। उनीहरूको सम्बन्ध कतिसम्म गाढा भन्ने २०७६ साउनमा प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमै प्रकट भएको थियो। त्यो दिन समितिमा पर्यटनमन्त्री रहेका भट्टराईले, नेपाल आफ्नो नेता मात्र  नभई गुरु नै भएको बताएका थिए। उनले २०४३ सालको घटना स्मरण गर्दै आफू मृत्युको मुखमा पुगेका बेला नेपालको एक स्पर्शले आफूलाई बाँच्ने शक्ति प्रदान गरेको स्मरण गरिरहँदा माधव नेपाल भावुक भएका थिए। त्यसपछि दुवै नेताले गहभरि आँसु बनाएका थिए। सामाजिक सञ्जालतिर बेलाबेला घुमिरहने माधव नेपाल रुँदै गरेको भिडियो त्यही दिनको हो। 

तर नेपालले एमाले विभाजन गरेर एकीकृत समाजवादी बनाउँदा तिनै भट्टराईले पनि साथ दिएनन्। अहिले एकीकृत समाजवादीको महासचिव रहेका घनश्याम भुसाललेसमेत त्यसबेला नेपाललाई साथ दिएका थिएनन्। र त्यो पृष्ठभूमिमा अघि सर्ने झाँक्री नै थिइन् जसले हात समातेरै नेपाललाई डोर्‍याएकी, संकटमा सबै आडभरोसा दिएकी थिइन्। 

एमाले विभाजनबाट नवगठित पार्टी एकीकृत समाजवादीमा झाँक्री सचिव बनिन्। २०७८ असोज ७ गते बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले १८ सदस्यीय पदाधिकारी बनाउँदा उनलाई सचिवको जिम्मेवारी तोकेको थियो। यसपछि उनलाई बधाईको ओइरो लाग्यो, अनि पार्टीलाई शुभकामनाको। एमाले विभाजन र नयाँ पार्टी गठनको औचित्य पुष्टि गर्न झाँक्रीले निरन्तर एमाले अध्यक्ष ओलीको भण्डाफोर गरिरहिन्। यसबाट पार्टीभित्र उनको स्वीकार्यता यसरी बढ्यो कि लगत्तै उनलाई पार्टीले गठबन्धन सरकारमा शहरी विकासमन्त्री बनाएर पठायो।

नेतृत्वसँगै सम्बन्ध चिसो
झाँक्रीको यस्तो निडर परिचय एमाले विभाजनका बेला मात्र देखिएको होइन। खासमा विद्यार्थी राजनीतिदेखि नै उनमा कडा मिजास र निडर शैली थियो। त्यो मिजास र शैली उनका सार्वजनिक अभिव्यक्तिमा देखा पर्थ्यो। राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनविरुद्ध २०६२/६३ को जनआन्दोलनको पृष्ठभूमि बन्दै गर्दा विद्यार्थी आन्दोलन र त्यसको नेताका रूपमा उनले देखाएको सक्रियताको चर्चा अहिले पनि हुने गर्छ। 

यिनै कारण पनि नवगठित पार्टी एकीकृत समाजवादीको ‘फेस भ्याल्यु’ झाँक्रीलगायतले नै सिर्जना गरेका थिए। उनी मन्त्री बन्दा कतिपयले त्यसको सही मूल्यांकन भएको टिप्पणी गरे। तर गठबन्धनमा आलोपालो मन्त्री बनाएर सबै नेतालाई भाग पुर्‍याउने विकृत अभ्यास संस्थागत भएको त्यो बेला उनले आफ्नै पार्टीभित्र अरूलाई पालो दिन बीचमै मन्त्री पद छाड्नुपर्‍यो। सम्भवतः यहीकारण २०७९ असार १२ गते शहरी विकास मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा आफूले गरेका कामहरूको जानकारी गराउँदा झाँक्रीले आँखाबाट आँसु झारेकी थिइन्। 

यो घटना त्यही ‘टर्निङ पोइन्ट’ थियो जहाँबाट एकीकृत समाजवादीका नेता–कार्यकर्ताले नै उनलाई मन्त्री छाड्दा पीडा भएको भन्दै पदलोलुपको आरोप लगाउन थाले। अनि मन्त्री पद बीचमै छाड्नुपर्दा असन्तुष्ट देखिएकी झाँक्री त्यसपछि पार्टीमा पहिलेजस्तो सक्रिय हुन छाडिन्। त्यसबीचमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी उनी एमालेका गोकर्ण विष्टसँग पराजित भइन्। यसबीचमा पार्टीमा सक्रियता कम र नेतृत्वका चित्त नबुझेका कुरामा बोलिहाल्ने स्वभावका कारण पार्टी नेतृत्वसँग उनको सम्बन्धमा चिसोपन देखिइरह्यो। गत महाधिवेशनमा उनी पार्टीको पदाधिकारीसमेत बन्न सकिनन्। उनले पार्टीमा महिला उपाध्यक्षतर्फ उम्मेदवारी दिए पनि नेतृत्वसँगको चिसो सम्बन्धको परिणाम केन्द्रीय कमिटीमा भएको पदाधिकारीको निर्वाचनमै उनी पराजित भइन्।

स्पष्टीकरण प्रकरण: न बोक्न न छोड्न सक्ने अवस्थामा पार्टी
निडर मात्र होइन, मुखर नेताको छवि बनाएकी झाँक्री यहीकारण बेलाबेला विवादमा पनि पर्दै आएकी छन्। एमालेमा संघर्ष चुलिएका बेला तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीका बारेमा गरेको टिप्पणीबाट सिर्जित तरंग त्यसको एउटा उदाहरण हो। यसपटक भने उनी आफ्नै पार्टी नेतृत्व, अध्यक्ष माधवकुमार नेपालबारे गरेको कडा टिप्पणीका कारण पार्टीभित्र विवादमा तानिएकी छन्। 

१६ वर्षअघि प्रधानमन्त्री रहँदा नेपालले गरेको एउटा निर्णयबाट भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ र यसले नेपालको राजनीतिक जीवनमा अहिलेसम्मकै ठूलो संकट निम्त्याएको छ। एकीकृत समाजवादी पार्टीमा पनि उनी पक्षका नेताहरूलाई यो मुद्दाले असाध्यै अप्ठेरोमा पारेको छ। आर्थिक अनियमितताको प्रसंगमा धेरैले शंकासमेत नगर्ने नेपाल आफ्नो राजनीतिक जीवनको उत्तरार्धमा आएर भ्रष्टाचार मुद्दा खेप्न बाध्य हुनु जति अप्रत्याशित थियो, एकीकृत समाजवादीभित्र उनकाबारे झाँक्रीले गरेको टिप्पणी पनि त्यस्तै अप्रत्याशित हुन पुग्यो। गत असार १४ गते झाँक्रीले दिएको ‘मरेको सिनो बोकेर हिँड्न नसकिने’ अभिव्यक्ति नेपाल र पार्टी पंक्तिको घाउमा नुनचुक छर्किए झैँ बन्न पुगेको छ। 

काठमाडौँमा युवा संघ नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनेकी थिइन्, “म त भन्छु अर्ली महाधिवेशन गरौँ। कानूनी र संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो। कैयौँ पार्टी सदस्यहरूमा पनि समस्या आएकै छ। अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन।”

यही अभिव्यक्तिका कारण एकीकृत समाजवादीले उनलाई स्पष्टीकरण सोधेको छ। पार्टीको केन्द्रीय अनुशासन आयोगले पार्टी हितविपरीत अभिव्यक्ति दिएको भन्दै उनलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन असार १८ गते पत्र लेखेको थियो। प्रवक्ता प्रकाश ज्वालाले झाँक्रीको नाम नलिई विज्ञप्ति निकालेर पार्टी नेतृत्व र निर्णयको भावनाबाहिर गएर अभिव्यक्ति नदिन चेतावनीसमेत दिए। तर झाँक्रीले स्पष्टीकरण नदिएपछि असार २४ गते सात दिन समय थप गरियो। त्यो समय सोमबार सकिएको छ, झाँक्रीले स्पष्टीकरण बुझाएकी छैनन्। 

तीन दिने स्पष्टीकरण सोधेको एकीकृत समाजवादीले त्यसलाई बढाएर सात दिन पुर्‍याए पनि झाँक्रीमाथि कुनै कारबाही भने अघि बढाएको छैन। त्यसको कारण हो– सार्वजनिक रूपमा बनेको झाँक्रीको हक्की छवि र कारबाही गरिहाले त्यसले पार्टीमा पर्न सक्ने प्रभावको आकलन। हुन त एकीकृत समाजवादीभित्र नेताको कमी छैन। तर जनतासँग सम्बन्ध टुटिसकेका, नयाँ पुस्ताको भाषा र शैली थाहै नपाएका कैयौँ पाका नेताहरूको बोलवाला भए पनि उनीहरूमा ‘फेस भ्याल्यु’ छैन। उनीहरूभन्दा आमरूपमा पनि लोकप्रिय झाँक्री नै छिन्। लोकतन्त्र र गणतन्त्रबारेको बुझाई अनि त्यसको प्रतिरक्षामा कुरा राख्न सक्ने उनको मुखर शैलीले उनलाई नयाँ पुस्तामा पनि अरूभन्दा धेरै चिनाएको छ। यो पार्टीप्रतिको धरेथोर आकर्षण झाँक्रीजस्ता नेताकै कारण हो भन्नेमा सम्भवतः पार्टी पंक्ति बेखबर छैन। त्यहीकारण उनलाई कारबाही गर्ने निर्णय गर्दा सार्वजनिक रूपमा दिनुपर्ने जवाफबाट पार्टी पंक्ति झस्किएको हुनुपर्छ। 

झाँक्रीले नेतृत्वबारे जे बोलिन्, भाषा वा शैली जस्तो भए पनि उनले गलत भने नबोलेको बुझाई पार्टीभित्रै पनि छ। किनभने भ्रष्टाचारको मुद्दा नै लागिसकेपछि नेपाल स्वयंले नैतिकता देखाएर नेतृत्व छाड्ने अपेक्षा थियो। २०६४ को संविधानसभा निर्वाचनमा एमालेले खराब नतिजा ल्याउने प्रष्ट भएपछि उनले पार्टी महासचिवबाट राजीनामा दिएका कारण पनि उनीसँग नैतिकताको अपेक्षा गर्नेहरू धेरै थिए। तर यतिबेला उनी पदकै लोभ गरिरहेका छन्। सांसदबाट निलम्बन भइसक्दासमेत संसदीय दलको नेता र पार्टी अध्यक्षमा कायम छन्। 

झाँक्रीको भनाइको सार त्यही कुरा गलत हो भन्ने थियो। भ्रष्टाचार मुद्दा बोकिरहेका नेपालले अब नेतृत्वबाट अलग हुनुपर्ने अथवा त्यसका लागि उनलाई बाध्य पार्नुपर्नेमा पार्टी पंक्ति भने त्यसका लागि आवाज उठाउने झाँक्रीलाई कारबाही गर्ने बाटोमा लाग्ला? त्यो अवस्थामा झाँक्रीको कदम के होला? यही प्रश्नमा झाँक्री र एकीकृत समाजवादीको राजनीतिक भविष्य निहित देखिन्छ।