सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक : अस्पताल

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ।

काठमाडौँ- वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको किस्ट मेडिकल कलेज, ललितपुरले जनाएको छ। अस्पतालका निर्देशक प्राडा. सुरज बज्राचार्यले जोशीको स्वास्थ्यमा उल्लेखनीय सुधार नआएकाले अवस्था चिन्ताजनक रहेको बताए।

लामो समयदेखि पोष्टेड तथा मुटुको समस्याबाट गुज्रिरहेका जोशीको स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गते अस्पताल भर्ना गरिएको थियो। रगत परीक्षणपछि उनमा डेंगीको संक्रमण पुष्टि भएको थियो।

उनको उपचार जारी रहँदा असोज २३ गते निमोनियाको संक्रमणका साथै मुटुको चालसम्बन्धी समस्या देखिएपछि सघन उचपार कक्षमा राखेर उपचार दिँदै आइरहेको अस्पतालले जनाएको छ।

जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन शुक्रबार निकालिएको बुलेटिन भनिएको छ, “उहाँलाई पहिलैदेखि पुरानो रोगले ग्रसित पारेको कारणले जतिसुकै औषधि चलाए तापनि शरीरले राम्रो ‘रिस्पोन्स’ नगरेको र आजदेखि ‘अल्बुमिन रिप्लेसमेन्ट’ गर्नका लागि उहाँलाई औषधि चलाइएको छ।”

अस्पतालले जोशीको छातीमा निमोनियाको संक्रमणका साथै पिसाबमा पनि संक्रमण देखिएकाले एन्टिबायोटिक्स दिइरहेको जनाएको छ। एक सय तीन वर्षीय जोशीको उपचारमा प्राडा. मिलेशजंग सिजापतिको नेतृत्वको टोली खटिएको छ।