भारतको ओडिशामा पुटिनका आलोचकको रहस्यमय मृत्यु, छानबिन गर्दै प्रहरी

एन्टोब नेता एवं ठूलो व्यापारी मात्र थिएनन् उनी भ्लादिमिर क्षेत्रका विधायक र क्रेमलिन सरकारलाई समर्थन गर्ने संयुक्त रूसका सदस्य थिए।

भारतको ओडिशा प्रहरीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचक तथा धनाढ्य नेता पावेल एन्टोबको रहस्यमय मृत्युबारे अनुसन्धान शुरू गरेको छ।

६५ वर्षीय पावेल एन्टोब ओडिशाको रायगडस्थित एउटा होटलमा बस्दै आएका थिए। शनिबार होटलको तेस्रो तल्लाबाट खसेर एन्टोबको मृत्यु भएको थियो। एन्टोब होटलबाहिर रगतले लतपतिएको अवस्थामा फेला परेको थिए।

उनको मृत्यु हुनुभन्दा दुई दिनअघि सोही होटलमा अर्का रुसी नागरिक ६१ वर्षीय भ्लादिमिर बिदेनोभको पनि मृत्यु भएको थियो। बिदेनोभको हृदयाघातका कारण मृत्यु भएको बताइएको छ। बिदेनोभलाई होटलका कर्मचारीले बेहोस अवस्थामा फेला पारेका थिए। उनलाई अस्पताल पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए।

एन्टोब जन्मदिन मनाउन ओडिशा पुगेका थिए
प्रहरीका अनुसार एन्टोब आफ्नो ६६औँ जन्मदिन मनाउन बिदेनोभ र अन्य दुई रुसी साथीहरूसँग पर्यटक भिसामा रायगढ आएका थिए।

ओडिशा प्रान्तीय सरकारले पुटिनका आलोचक भनिने एन्टोब र अन्य रूसी नागरिकहरूको रहस्यमय मृत्युको सम्बन्धमा सीआईडी (अपराध शाखा)बाट अनुसन्धान गराउने निर्णय गरेको छ। ओडिशाका डीजीपी सुनील बंसलका अनुसार विदेशी नागरिकहरू संलग्न भएको मुद्दाको संवेदनशीलतालाई ध्यानमा राख्दै अनुसन्धान अपराध शाखालाई सुम्पिएको छ।

ओडिशा पुलिसले आफ्नो आधिकारिक ट्वीटर ह्यान्डलबाट गरेको ट्वीटमा लेखिएको छ, “ओडिशाका डीजीपीले रायगढ पुलिस स्टेसनबाट सीआईडीलाई अनुसन्धान हस्तान्तरण गर्न आदेश दिएका छन्। यी घटनाहरू रायगड जिल्लामा दुई रूसी नागरिकको अप्राकृतिक मृत्युसँग सम्बन्धित छन्।”

प्रहरीले सिसिटिभी फुटेज जाँच गर्ने, होटलका कर्मचारीलाई सोधपुछ गर्ने र पोस्टमार्टम रिपोर्टको पर्खाइमा रहेको बताउँदै अहिलेसम्म कुनै संकेत नभेटिएको बताएको छ। एन्टोबका साथमा आएका दुई स्थानीय ट्राभल एजेन्टहरू र छुट्टी मनाउन आएका अन्य दुई रुसी नागरिकसँग पनि प्रहरीले सोधपुछ गरेको छ।

पावेल एन्टोब को थिए?
एन्टोब नेता एवं ठूलो व्यापारी मात्र थिएनन् उनी भ्लादिमिर क्षेत्रका विधायक र क्रेमलिन सरकारलाई समर्थन गर्ने संयुक्त रूसका सदस्य थिए। मासु र ससेजको व्यापार गर्थे उनी। रुसले युक्रेनमा गरेको आक्रमणको ठूलो आलोचकसमेत थिए उनी। युक्रेनी मिडियाका अनुसार एन्टोबले सामाजिक सञ्जालमा युक्रेनमा रुसी आक्रमणको आलोचना गरेका थिए र यसलाई आतंकवादको संज्ञा दिएका थिए। तर, पछि उनले त्यो पोस्ट हटाए।

भारतस्थित रुसी दूतावासले ओडिशामा दुई रुसी नागरिकको मृत्युमा अहिलेसम्म कुनै आपराधिक सम्बन्ध नभेटिएको जनाएको छ। दूतावासको विज्ञप्तिमा भनिएको छ, “कोलकत्तास्थित रसियाको महावाणिज्य दूतावास यस विषयमा स्थानीय अधिकारीहरूसँग सम्पर्कमा छ। प्रहरीसँग उपलब्ध जानकारीअनुसार यसमा कुनै आपराधिक पक्ष भेटिएको छैन।”

राजनीतिमा आउनुअघि एन्टोबले ‘खाद्य प्रशोधन व्यवसाय भ्लादिमिरस्की स्ट्यान्डर्ट’ स्थापना गरेका थिए। र २०१९ मा फोर्ब्स पत्रिकाको रुसी संस्करणले उनलाई देशका सबै सांसद र वरिष्ठ अधिकारीहरूमध्ये सबैभन्दा धनी घोषित गरेको थियो। एन्टोबको मृत्युअघि रुसका धेरै प्रभावशाली व्यवसायीहरूको असामान्य परिस्थितिहरूमा मृत्यु भएको छ।

डीडब्लू हिन्दीको सहयोगमा।