हृदयाघातबाट बच्नका लागि चुरोट र सुर्ती खान कम गर्ने, उच्च रक्तचाप घटाउने, मधुमेह नियन्त्रण, कोलेस्ट्रोल नियन्त्रण, तनाव नियन्त्रण र मोटोपना कम गर्नुपर्ने चिकित्सकहरूको सुझाव छ।
काठमाडौँ– तन्नेरी अवस्थामा नै मानिसमा अहिले बढी हृदयाघात हुने गरेको पाइएको छ। मानिस तन्नेरी अवस्थामा नै निष्क्रिय जीवनशैली, चुरोट, सुर्ती तथा खैनीको अत्यधिक सेवन, मोटोपनाका कारणले हृदयाघातको समस्या बढिरहेको छ।
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा. चन्द्रमणि अधिकारी हृदयाघात हुने १२ प्रतिशत ४५ वर्षमुनिका युवा रहेको बताउँछन्। उनी भन्छन्, “युवामा बढ्दै गएको चुरोट तथा सुर्ती सेवनको कारणले हृदयाघातको समस्या बढ्दै गएको छ। खास गरी ४५ वर्ष मुनिका २० प्रतिशत युवामा हृदयाघात चुरोट र सुर्ती सेवन मुख्य कारक देखिएको छ।’’
उनका अनुसार अहिले अस्पतालमा हृदयाघात भएर आउने धेरै युवा चुरोट र सुर्ती सेवनका कारण भएको पाइन्छ। चुरोट र सुर्तीबाहेक युवामा बढ्दै गएको अस्वस्थ्य खानपान, मोटोपना, तनावजस्ता कारणले पनि युवा उमेरमा नै हृदयाघात हुने गरेको उनको तर्क छ।
चुरोट र सुर्तीका अलावा हृदयाघात वंशाणुगतका कारण पनि हुने गरेको चिकित्सकहरू बताउँछन्। चिकित्सकका अनुसार ४५ वर्ष कटेपछि जो कोहीले पनि वर्षमा एकपटक तथा धूममान गर्ने, कोलेस्ट्रोल बढी र मोटोपना भएका मानिसले भने एकपटक मुटुको जाँच गराउन आवश्यक हुन्छ।
खास गरी पुरुष ५५ र महिला ६५ वर्ष नाघेपछि, उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल मोटोपना, हर्मोन, चिल्लो खानापन, तनाब कारणले हृदयाघात हुने गरेको पाइन्छ।
जाडोमा हृदयाघात बढी
जाडोमा हर्मोनको कारणले पनि हृदयाघात हुनसक्छ। बिहान ८ बजेतिरको समयमा बढी हुने गर्दछ। शरीरमा हर्मोन बनिरहेका हुन्छन्। जाडो मौसममा बिहानको समयमा हर्मोनको सक्रियता धेरै हुने गर्छ।
हर्मोनको सक्रियता धेरै हुँदा उच्च रक्तचाप बढ्ने, मुटुको चाल बढ्ने हुन्छ। चिसो समयमा बेलामा मुटुको नशा साँघुरिएको छ भने मुटुको चाल बढ्दा मुटुलाई रगत पुग्दैन र त्यसलाई थाम्न नसक्दा हृदयाघात हुने गरेको केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. दीपंकर प्रजापति बताउँछन्।
“हर्मोन सक्रिय हुँदा बिहानीपख उच्च रक्तचाप हुने, मुटुको चाल बढ्नेजस्ता कारणले मुटुको नशा साँघुरो छ भने मुटुको चाल बढेको बेला रगत पुग्दैन,” उनले भन्छन्, “मुटु रोगीलाई बिहानको हिँडाइमा हृदयाघात हुने सम्भावना बढी हुन्छ।”
यस्तै, धेरैजसो आत्तिने, झगडा गर्ने बेला पनि मुटुको चाल र उच्च रक्तचाप भएर मानिसमा हृदयाघात हुने गरेको केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रजापतिले जानकारी दिए।
हृदयाघातबाट बच्नका लागि चुरोट र सुर्ती खान कम गर्ने, उच्च रक्तचाप घटाउने, मधुमेह नियन्त्रण, कोलेस्ट्रोल नियन्त्रण, तनाव नियन्त्रण र मोटोपना कम गर्नुपर्ने चिकित्सकहरूको सुझाव छ।
व्यायाम गर्नेमा कम हृदयाघात
नियमित व्यायाम गर्ने मान्छेमा भन्दा व्यायाम नगर्ने मान्छेमा हृदयाघात हुने सम्भावना रहेको केन्द्रका कार्यकारी निर्देशक डा. अधिकारीले बताउँछन्। उनका अनुसार सय जना व्यायाम गर्ने मान्छेमा एक जनालाई जीवनभर हृदयाघात हुन्छ भने व्यायाम नगर्ने मानिसमा सय जनामा १० जनामा हृदयाघात हुन सक्छ।
केन्द्रले तीन सय ४० जनामा गरेको अध्ययनमा हृदयाघात भएका ८८ प्रतिशतलाई छाती दुखेको थाहा भएको र २४ प्रतिशतले रोग मुटुको हो भन्ने थाहा पाउने गरेको पाइएको छ। नेपाली छाती दुखे भने ढिलो उपचारका लागि आउने गरेका उनले बताए। अध्ययनअनुसार ९२ प्रतिशत मानिस नजिकैको स्वास्थ्य चौकीमा पुगेको पाइन्छ।
लक्षण कसरी थाहा पाउने?
छाती भारी जस्तो हुने, छातीमा ढुंगा राखेको जस्तो लाग्छ, अलिकति हिँड्यो भने त्यो दुखाइ बढ्न जान्छ र आराम गर्यो भने कम हुन्छ। यस्तो हुनु भनेको नशा साँघुरो हुनु हो र मुटुलाई रगत पुगेको छैन भन्ने थाहा हुन्छ।
हृदयाघात हुने बेला रगत मुटुमा जान पाउँदैन। हृदयाघात भनेको मुटुमा रक्तसञ्चार नहुनु हो। त्यतिबेला दुखाइ निरन्तर भइरहन्छ र आराम गर्दा पनि कम हुँदैन।
दैनिक पाँच जना हृदयाघातका बिरामी
केन्द्रका निर्देशक डा. अधिकारीका अनुसार दैनिक सात सय जना बहिरङ्ग सेवामा मुटुका बिरामी आउने गर्दछन् भने आकस्मिक कक्षमा ५० भन्दा बढी मुटुका बिरामी आउने गर्दछन्। उनका अनुसार दैनिक पाँच जना हृदयाघातका बिरामी अस्पतालमा आउने गरेका छन्।
अस्पतालमा हृदयाघातका बिरामी २४ घण्टाभन्दा पछि आउने गरेका छन्। उनी जति छिटो बिरामी अस्पतालमा आए त्यति नै मुटुको नशा खोलेर मांसपेशीमा रगत सञ्चालन गर्न सकिने बताउँछन्। हृदयाघात भएका बिरामी १२ घण्टाभित्र अस्पतालमा आउने सके बचाउन सकिने उनको भनाइ छ।
केन्द्रले हृदयाघात भएका बिरामीलाई २४ घण्टा नै एन्जियोप्लास्टी (मुटुको नशा खोल्ने प्रविधि) गरेर बचाउने गर्दछ। हृदयाघात भएर आएको एक घण्टाभित्रमा बिरामीको एन्जियोप्लास्टी गर्न सकिन्छ।
एउटा एन्जियोप्लास्टी गर्नेका लागि एक लाख ५० हजार खर्च लाग्ने गर्दछ। तर, तिर्न नसक्ने गरिब असहायका लागि केन्द्रले विगत दुई वर्षदेखि भने निःशुल्क एन्जियोप्लास्टी गर्ने गरेको छ।
हृदयाघात भएको मानिसको मुटुमा रगतको आपूर्ति बन्द भएपछि मुटु दुख्न थाल्दछ। मुटुको मासु मरिसकुन्जेल छाती दुख्ने गर्दछ। केन्द्रले प्राइमरी एन्जियोप्लास्टी गरेका बिरामीलाई चार/पाँच दिनमै अस्पतालबाट घर पठाउने गरेको छ।
केन्द्रमा २४ घण्टा नै हृदयाघात भएका बिरामीको प्राइमरी एन्जियोप्लास्टिक गर्नका लागि १५ जना जनशक्तिसहित चार वटा शल्यक्रिया थ्रेयटर (क्याथल्याब) तयारी अवस्थामा राखिएको हुन्छ। केन्द्रमा प्रत्येक महिना ५० जनाको प्राइमरी एन्जिओप्लाष्टिक गरेर हृदयाघात भएका बिरामीलाई बचाउने गरेको उनले बताउँछन्। केन्द्रमा सन् २००६ देखि एन्जिप्लास्टिक हुँदै आएको छ।
पहिलो पटक हृदयाघात हुँदा १०० जनामध्ये २३ जनाको मृत्यु अस्पताल नपुग्दै हुने गर्दछ। हृदयाघात भएर अस्पताल आएका बिरामीमध्ये सात प्रतिशतको अस्पतालमै मृत्यु हुने गरेको छ। विगत १० वर्षको तथ्यांक हेर्दा अस्वस्थ्य खानपान र जीवनशैलीमा आएको परिवर्तनले हृदयाघात हुनेको संख्यामा दोब्बर वृद्धि भएको छ।
गंगालालमा सन् २०१२ मा चार सय ९५ जनामा हृदयाघात भएका थिए भने सन् २०१८ मा तीन गुणा बढेर एक हजार चार सय ६० पुगेको थियो। उनका अनुसार २०२० मा एक हजार छ सय ९८ र सन् २०२१ मा दुई हजार दुई सय ७३ जना अस्पतालमा भर्ना भएका छन्। विगत १० वर्षको तथ्यांक हेर्ने हो भने मुटु रोगका बिरामीमध्ये ५० प्रतिशत त हृदयाघात भएका बिरामी मात्र नै छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
