नेपाल टी-२० लिग : लुम्बिनीको अपराजित यात्रा कायमै

लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको काठमाडौँले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन मात्रै बनाउन सक्यो।

काठमाडौँ– लुम्बिनी अलस्टारले नेपाल टी-२० लिगमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ। शुक्रबार सम्पन्न खेलमा लुम्बिनीले काठमाडौँ नाइट्सलाई ३५ रनले हराएको हो।

लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको काठमाडौँले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन मात्रै बनाउन सक्यो।

काठमाडौँका लागि अजमातुल्लाह उमरजाईले सर्वाधिक ३८ रन जोडे। उनले २९ बलमा ३ चौका प्रहार गरे। कमलसिंह ऐरी १० बलमा २ चौका प्रहार गर्दै १९ रनमा अविजित रहे। सुनम गौतम १८, अलेक्स ब्लेक ११ र बसिर अहमद १० रनमा आउट भए।

लुम्बिनीका हर्मित सिंहले सर्वाधिक ३ विकेट लिए। उनले ४ ओभर बलिङ गर्दै १ मेडनसहित ७ रन खर्चिए। किशोर महत, तिलक भण्डारी, ह्यारी टेक्टर र शैडली भ्यान शल्कविकले १/१ विकेट लिए।

त्यसअघि टीयू क्रिकेट मैदानमा पहिला ब्याटिङ थालेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५० रन बनायो।

लुम्बिनीका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४० रन बनाए। उनले २७ बलमा ३ चौका र १ छक्का प्रहार गरे। ओपनर लाहिरू मिलन्थाले १८ बलमा २ चौकासहित २५ रन बनाए।

शैडली भ्यान शल्कविक २१ रनमा अविजित रहे। कुशल भुर्तेल १९, अनिल शाह १३ र हर्मित सिंह १२ रनमा आउट भए।

काठमाडौँका अजमातुल्लाह उमरजाईले सर्वाधिक २ विकेट लिए। उनले ४ ओभरमा १२ रन खर्चिए। अभिनाश बोहोरा, अनिल खरेल, बसिर अहमद, सुनम गौतम र अलेक्स ब्लेकले १/१ विकेट लिए।

जितसँगै शीर्ष स्थानमा रहेको लुम्बिनीले १० अंक जोडेको छ। पराजित काठमाडौँ ४ अंकको साथ तेस्रो स्थानमा रहेको छ।