लुम्बिनीमाथि पोखराको ९ विकेटको जित

लुम्बिनीले दिएको १२८ रनको लक्ष्य पोखराले १८.२ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो।

काठमाडौँ– नेपाल टी-२० लिग प्रतियोगितामा पोखरा एभेन्जरले लुम्बिनी अल स्टार्सलाई हराएको छ। शनिबार टीयू क्रिकेट मैदानमा भएको खेलमा पोखराले लुम्बिनीलाई ९ विकेटले हराएको हो।

लुम्बिनीले दिएको १२८ रनको लक्ष्य पोखराले १८.२ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो। पोखराको जितका लागि आसिफ शेखले ६२ बलमा ७७ रन बनाए। ९ चौका प्रहार गरेका उनी नटआउट रहे। आरिफ शेखले २६ रनको योगदान दिए। ओपनर समित महर्जनले १३ रन जोडे।  लुम्बिनीका किशोर महतोले एक विकेट लिएका थिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीका लागि २१ बलमा तीन/तीन चौका र छक्का प्रहार गरेर ओपनर अमिर हम्जाले ३८ रनको योगदान दिए। सुनिल धमलाले १५ रन जोडे।  साड्ली भान स्केल्कवेकले १६ र योगेन्द्रसिंह कार्कीले १३ रन लिए। कप्तान दीपेन्द्र सिंह ऐरी र ह्यारि टेकटरले समान ११ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

पोखराका लागि जाहिर खान र विपिन खत्रीले समान ३/३ विकेट लिए। पराजित भए पनि लुम्बिनी ६ खेलबाट १० अंकसहित शीर्ष स्थानमै छ।पोखराले दुई खेल जितेर चार अंक बटुलेको छ।