प्रयोगशाला जसरी सञ्चालन गरे पनि मेरो अनुभवमा विज्ञान तथा अरू विषयका विद्यार्थीले सिक्नैपर्ने र धेरैभन्दा धेरै गर्नुपर्ने भनेको अभ्यास पेपर लेखनको हो।
मैले अमेरिकामा स्नातक तहमा अध्ययन गर्दा जीव विज्ञानको हर्मोन र व्यवहार भन्ने एउटा कक्षा लिएको थिएँ। कक्षाको आधा भाग प्रयोगशाला अध्ययनमा केन्द्रित थियो। हामीलाई प्रयोगशालामा भएका सामग्री, जनावर र पहिले भएका अनुसन्धानबारे जानकारी दिइसकेपछि अध्यापकले अरू कसैले गर्न नलगाएको काम लगाइन्। उनले हामीलाई भएकै सामग्री प्रयोग गरेर नयाँ अनुसन्धानको खाका तयार गर्न भनिन्। कक्षामा भएका सबै जनाले भएकै साधन, स्रोत र समयमा गर्न सकिने अनुसन्धानको खाका तयार गरे। हामी सबैले एक अर्कामाझ खाका प्रस्तुत गऱ्यौँ। सबैलाई मन परेका खाकामा ३-४ जना सम्मिलित भई बाँकी सेमेस्टरमा मिलेर साँच्चिकै अनुसन्धान गऱ्यौँ। त्यसमा गरिएका काम तथा हासिल गरेका नतिजाबारे पनि लेख्यौँ।
माथि दिइएको प्रणालीमा अनुसन्धानको खाका तयार गरेर प्रयोगशाला सञ्चालन गरे साँच्चिकै अनुसन्धान गर्न चाहिने गुणहरू सबै सिक्न सकिन्छ। पहिलो कुरो, अनुसन्धानमा के कुरा अहिलेसम्म थाहा छैन भन्नेबारे पत्ता लगाउन सिकिन्छ। यसको लागि पहिले भएका अनुसन्धान र त्यसबाट पत्ता लागेका कुराहरू थाहा हुनुपर्छ। यसको लागि कुनै पनि विषयमा भएका अनुसन्धानबारे बढीभन्दा बढी प्रकाशित कृति पढेर बुझ्नुपर्ने हुन्छ। त्यसपछि आफूसँग भएका स्रोत, साधन र समयको आँकलन गर्न सक्नुपर्छ। सोहीअनुरूप अनुसन्धानको खाका तयार गर्न जान्नुपर्छ। खाका बनाइसकेपछि अनुसन्धान गर्न अलि सजिलो हुन्छ। बेलाबखत अनुसन्धानमा अड्चनहरू आउँछन्। भनेजस्तो सामग्री र उपकरणले काम गर्दैनन्। कहाँ खराबी छ भनेर पत्ता लगाउँदै काम अगाडि बढाउनुपर्ने हुन्छ। अन्तिममा नतिजा विश्लेषण गरेर त्यसबारे लेख्नुपर्ने हुन्छ। यी सबै कुराको तालिम खासमा विद्यावारिधि गर्दा लिने हो। तर सानो स्वरूपमा तालिम दिन सक्नु नै राम्रो स्नातक कार्यक्रमको गुण हो।
स्नातक तहमा राम्रो प्रयोगशालाको तालिम दिन स्रोत र साधन अति आवश्यक हुन्छ भन्ने धेरैको तर्क छ। तर मेरो अनुभवमा कुनै पनि स्नातक कार्यक्रमको असीमित स्रोत र साधन हुँदैन। जस्तोसुकै विश्वविद्यालयले पनि स्रोतहरूलाई तानतुन गर्नैपर्छ। त्यसैले हामीले नेपालजस्तो सीमित स्रोत र साधन भएको ठाउँमा वुद्धि पुऱ्याएर काम गर्ने हो भने एकदमै राम्रो प्रयोगशाला र समग्रमा अनुसन्धानको तालिम दिन सक्छौं। यसका लागि माथि दिइएका अनुसन्धानमा आवश्यक तत्वहरूमा राम्रो मनन र तालिमको आवश्यकता पर्छ।
स्नातकमा प्रयोगशाला सञ्चालन गर्न राम्रो प्रयोगशालाको प्रयोगसम्बन्धी कार्यविधिको आवश्यकता पर्छ। एउटा कक्षाको कार्यविधि ५-१० पेज भए उत्तम हुन्छ। कार्यविधिले प्रयोगशालाको पृष्ठभूमि राम्रोसँग दिएको हुनुपर्छ। प्रयोगशालामा हुने प्रक्रिया र सामग्रीको जानकारी हुनुपर्छ। सोच्न बाध्य बनाउने खालका प्रश्नहरू पनि हुनुपर्छ। विद्यार्थीहरूलाई प्रयोगशालामा आउनुभन्दा पहिला नै कार्यविधि पढ्न लगाउनुपर्छ।
प्रयोगशाला सञ्चालन हुने ३-४ घण्टाको सुरूमा पृष्ठभूमिबारे सानो परीक्षा लिए अति उत्तम हुन्छ। प्रयोगशालाको समयमा विद्यार्थीहरूलाई सकेसम्म काममा व्यस्त राख्नुपर्छ। कक्षाको समय सकिएपछि वैज्ञानिक प्रकाशनको नक्कल गर्नेगरी प्रयोगशाला प्रतिवेदन र सकेको खण्डमा त्यसलाई प्रकाशन नै गर्न लगाउनुपर्छ। नेपाली शैक्षिक परम्परामा प्रयोगबारे लेख्न लगाउने प्रचलन छैन। मैले अमेरिकामा स्नातक तह पढ्दा हरेक कक्षा र प्रयोगशालामा कमसेकम एउटा एउटा लेख लेख्न लगाइन्थ्यो। यस्तो लेखले लेखाइको साथसाथै सोच्ने शक्तिको पनि विकास गर्छ। मेडिकल, विज्ञान र इन्जिनियरिङ सबै विषयमा बढीभन्दा बढी विद्यार्थीहरूलाई उनीहरूले गरेको कामबारे लेख्न लगाउनु पर्छ। लिबरल आर्ट्समात्रै नभएर प्राविधिक पढाइ हुने ठाउँमा प्रयोगशालाको कक्षामा त्यसउपर लेख्न लगाउनुपर्छ।
स्नातकमा प्रयोगशाला राम्ररी चलाउन राम्रो कार्यविधिको आवश्यकता पर्छ र त्यसलाई राम्रो बनाउन धेरै दृष्टिकोणबाट सोच्नुपर्छ। पहिलो त कुन कुन कुरा विद्यार्थीलाई प्रयोगशालामा गराउँदा पढाइमा सहयोग पुग्छ भन्ने छुट्याउन सक्नुपर्छ। दोस्रो कुरा, के सिकाउन खर्च कम लाग्छ, अथवा कुन-कुन उपकरण र सामग्री सस्तोमा पाइन्छन् ठम्याउनु पर्छ। यसको लागि देश विदेशमा विज्ञानका विभिन्न आयाम देखेको भए सहयोग पुग्छ। इन्टरनेटमा विभिन्न प्रयोगशालाका कार्यविधिहरू पाइन्छन्। प्रयोगशालाका कार्यविधिका संख्या असीमित छन्। आफूलाई कुन उपयुक्त हुन्छ छुट्याउन सक्नुपर्छ। कुन प्रयोगशालाको प्रयोग गर्ने भन्ने थाहा भएपछि कार्यविधि लेख्नुपर्छ। यसको लागि पनि भाषा राम्रो भएको शिक्षकको आवश्यकता पर्छ। आठदेखि दशवटा प्रयोगशालाका कक्षा बनाएपछि एउटा विषयको प्रयोगशाला तयार हुन्छ।
कम्युटर र जानकारीको यो जमानामा कहिलेकाहीँ त प्रयोगशालाका लागि उपकरण र सामग्रीको पनि आवश्यकता पर्दैन। कम्युटरबाट प्रयोगशालाको सिम्युलेसन गर्न सकिन्छ। आजकल क्लाउड ल्याबहरू सुरू भएका छन्, जसमा जो कोहीले टाढा कहीँ बसेर अनुसन्धानको काम रोबटलाई लगाउन सक्छन्। अझ कति जटिल प्रयोगशालाको घटना अध्ययन गर्न पनि सकिन्छ। यसरी प्रयोगशालाका काम विभिन्न तरिकाले आजकल गर्न सकिन्छ।
प्रयोगशाला जसरी सञ्चालन गरे पनि मेरो अनुभवमा विज्ञान तथा अरू विषयका विद्यार्थीहरूले सिक्नैपर्ने र धेरैभन्दा धेरै गर्नैपर्ने भनेको अभ्यास पेपर लेखनको हो। नेपालमा अध्ययन अध्यापनको शिलशिलामा यो गराउन नसके पनि प्रयोगशालाको कक्षामा भने अनिवार्य गराउनै पर्ने आवश्यकता देखिन्छ। लेखनले पढेको कुरालाई अभ्यासमा उतार्छ। अझ पेपर लेखनले आफ्नो सोच, आफ्नो काम स्रोतासमक्ष राख्न सहयोग पुर्याउँछ। जुन काम कसैले पनि पढ्दैन र सिक्दैन, त्यसको कुनै उपयोग हुँदैन। आफ्नो कामबारे गहन सोच विकास गर्न र अरू माझ पुर्याउन लेख्नै पर्ने हुन्छ।
वैज्ञानिक शोधपत्रको आफ्नै शैली हुन्छ। पहिले शीर्षक लेखिन्छ, जसले कामको सार बताउँछ। त्यसपछि ३००-४०० शब्दको सार लेखिन्छ। त्यसपछि परिचय, सामग्री तथा प्रक्रिया, नतिजा र अन्तिममा छलफल लेखिन्छ। कसरी शोधपत्र लेख्ने भन्नेबारे विभिन्न पुस्तक छन्। कसरी लेख्ने भनेर सिक्न त धेरै बेर लाग्दैन। तर अभ्यासचाहिँ धेरै कठिन हुन्छ। मेरो विचारमा तीन-चार वर्षको कडा अभ्यास पनि शोधपत्र राम्रोसँग लेख्न सिक्न अपर्याप्त हुन्छ। कति लेखक 'जिनियस' हुन्छन्, तर सबैको हकमा त्यस्तो हुँदैन।
धेरैका लागि लेखन कला हो, सीप हो। जसरी बाँसुरी बजाउन वर्षौंको अभ्यास चाहिन्छ, लेखन तिखार्न पनि वर्षौंको अभ्यास चाहिन्छ। मेरो अङ्ग्रेजी लेखनकै अभ्यासको कुरा गरौँ। बाह्र कक्षासम्म पढ्दा बुबाले एक वर्षमा कैयौँ महिना लेखनमा अभ्यास गराउनुहुन्थ्यो। कलेजमा पनि साठीभन्दा बढी पेपर लेखियो। विद्यावारिधिको समयमा पनि टन्नै लेखियो। त्यति गर्दा पनि मलाई कथाजस्तो बाटेर शोधपत्र लेख्न पछि पढाउने पेसा गर्दै लेख्न थालेपछि मात्र आयो।
नेपालमा कति जनाले वर्षमा कैयौँ पेपर अभ्यासबिना नै लेखेको देखिन्छ। यो अरूलाई लेख्न लगाएको ठगीको काम हो कि आफ्नै मौलिक काम हो ठम्याउन असमर्थ छु।
लेखनको तालिमबाहेक स्नातक तहमै विद्यार्थीले अनुसन्धानको खाका तयार गर्ने केही तालिम पाए अझै राम्रो हुन्छ। यस तालिमका लागि शोधपत्रहरू पढ्न सक्नुपर्छ। शोधपत्र पढ्न/सिक्न पनि अभ्यास चाहिन्छ। स्नातकोत्तर तहमा कमसेकम दुई वर्षसम्म बढीभन्दा बढी विभिन्न प्रकारका शोधपत्र पढ्न लगाइन्छ। हामी पनि एकदम उच्च कोटिको शिक्षा प्रदान गर्ने हो भने विद्यार्थीलाई जटिल शोधपत्र पढ्न लगाउन सक्छौं। यो खुबी सिकिसकेपछि मात्र विद्यार्थी लेखको सुरूमा बताएझैं अनुसन्धानको खाका तयार पार्न सक्षम हुन्छन्।
स्नातकको दोस्रो वर्षदेखि नै अनुसन्धानको खाका बनाउने तालिम दिन सकिन्छ। आठ-नौ वटा प्रयोगशालाका कक्षा संचालन गरेपछि तीन घण्टामा गर्न सकिने प्रयोगशालाको खाका विद्यार्थीलाई नै बनाउन लगाउन सकिन्छ। छोटो खाका भएकोले बनाउन पनि सजिलो हुन्छ। जटिल शोधपत्र नभएर साधारण प्रयोगशाला कार्यविधि पढ्दा पनि पुग्नेछ। ल्याबको खाका स्रोत र साधनभित्रै बनाउन लगाउनु पर्नेछ। त्यसको आधारमा विद्यार्थीहरूले सानो पेपर पनि लेख्न सक्छन्। यसरी हरेक कक्षामा खाका तयार गर्ने अभ्यास गरे अन्तिममा शोधपत्रको खाका तयार गर्न पनि सजिलो हुनेछ।
विदेश र नेपालको अनुभव सँगालेर योजना बनाउन सजिलो हुन्छ। यस्तो भए हुन्थ्यो भन्न सजिलो छ, तर यी योजनाहरूलाई यथार्थमा उतार्न निकै कसरत गर्नुपर्ने छ। काठमाडौं विश्वविद्यालयको बायोटेक्नोलोजी विभागको प्रयोगशालाहरूमा हामी यी योजनाहरूलाई साकार पर्न दत्तचित्त भएर लागेका छौं। पहिलेका उत्कृष्ट विद्यार्थीहरूले कार्यविधि तयार गरेका छन्। पेपर लेख्न सिकाउन सुरूमै एउटा किताब विद्यार्थीको हातमा ठम्याइदिएका छौँ। पेपर लेख्न पनि लगाएका छौँ। काम गर्दै जाँदा नसोचेको व्यवधान आउन सक्ने हुन्छ। अहिले एआईको प्रयोग बढ्दै गएका हुनाले पूर्ण रूपमा एआईको प्रयोग गरेर पेपर लेखिन सक्छ र त्यस्तो पेपरको अर्थ हुँदैन।
गल्तिबाट सिक्दै, बाधा व्यवधान चिर्दै हामी अगाडि बढ्न सक्नेछौँ। यो प्रणाली अरू विषयमा पनि लागु होस् भन्ने हाम्रो इच्छा हो। विज्ञानका अरू विषय, इन्जिनियरिङ र मेडिकलमा पनि यो व्यवस्था विभिन्न स्वरूपमा लागु गर्न सकिने छ भन्ने आशा छ। स्नातकको उल्लेख्य भाग ओगटेको प्रयोगशाला कक्षा उच्च कोटिको बनाउन सके विद्यार्थीको आकर्षण नेपाली कलेजमा बढ्न पनि सक्थ्यो होला।
(भट्टराई काठमाडौँ विश्वविद्यालय, बायोटेक्नोलोजी विभागका उप-प्राध्यापक हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
