भुक्तमान: श्रीमतीको मिर्गौला उपचारमा एक दशक

हामी जहिले पनि कमजोर प्रणालीको चर्चा गर्छौं, तर त्यसको गहिरो असर कसरी पर्छ भन्ने कुरा गम्भीरतासाथ बुझ्दैनौँ।

पुस्तकको रूपमा मानिसले मानिसकै कथा देख्ने र लेख्ने हो भन्छन् कतिपय सर्जक, पाठक र समीक्षक। तर कहिलेकाहीँ जीवन आफै यति कठोर र प्रताडित हुन्छ कि त्यो कथा नलेख्ने हो भने तिनले इतिहासमै ठाउँ पाउँदैनन्। हाम्रो समाजमा कहिलेकाहीँ लेखिएको पीडामय कृतिलाई कल्पनाको कोटिमा राखिन्छ, तर 'भुक्तमान' त्यस्तो कृति होइन। 

कुनै तात्त्विक, सैद्धान्तिक र साहित्यिक शैलीमा सजाइएको कथा होइन भुक्तमान, बरु जिउँदो पीडाको लेखाजोखा हो। लोग्नेले श्रीमतीको जीवन बचाउन गरेको दशक लामो अनवरत संघर्षको दस्ताबेज हो। यसलाई पढ्दा पाठकको हृदयमा गहिरो पीडा जागृत हुन्छ किनभने यो पीडा केवल लेखकको होइन। धेरै वा थोरै हामी सबैले सामना गर्नुपर्ने यथार्थ हो। 

धिरेन्द्र सिनालद्वारा लेखिएको यो पुस्तक कुनै विशिष्ट ढाँचाको आत्मकथा नभएका कारण यसमा सौन्दर्यशास्त्रका परिकल्पनाहरूको बिछट्ट प्रस्तुति छैन। यसमा सत्य, यथार्थ र अनुभूतिको सीधा चोटहरू छन्। यो कथा हो लोग्ने र परिवारको, जसले परिवारमा पुरानो खुसी फर्काउन आफ्नो जीवनको सबैभन्दा कठिन यात्रा गर्छ। लेखककी श्रीमती सोनुको मिर्गौला फेल भएपछि सुरु गरेको यो यात्रा नेपालबाट भारतसम्म विस्तार हुन्छ। चिकित्सकको सल्लाह, सरकारी प्रक्रिया, आफन्तको अपेक्षा, समाजको व्यवहार, सरकारी नीतिको असफलता र अन्ततः राज्यप्रतिको निराशा पुस्तकका विषयवस्तु हुन्। यी सबै कुराले पुस्तकलाई कठोर सत्यको दरिलो दस्ताबेज बनाएको छ।

श्रीमतीको ज्यान बचाउन लेखकले गरेका प्रयासहरूले सरकार, नीति, समाज र सम्बन्धप्रति धेरै प्रश्न खडा गर्छन्, जो सामान्य आँखाले बुझ्न र देख्न नसकिने तहमा रहेका हुन्छन्। नागरिकको स्वास्थ्य, शिक्षा र जनकल्याणकारी कार्यक्रमको नाममा अर्बौँ खर्च गर्छ सरकार। तर जब कुनै नागरिकले ती सेवा लिन प्रयास गर्छ, तब पाउँदैन। तब नागरिकले यति बुझ्छ कि ती सेवा नीति बनाउनेहरूकै लागि मात्र सहज छ। त्यो सेवा लिन सक्ने ल्याकत सर्वसाधारणमा छैन वा त्यस्तो संरचना निर्माण गरिएको छ। 

प्राय: हामी निःशुल्क मिर्गौला उपचार, सहयोग रकम, स्वास्थ्य बिमाजस्ता योजनाका समाचारहरू पढिरहन्छौँ। तर तिनको कार्यान्वयनमा देखिने जटिलता, अपारदर्शिता, शक्ति केन्द्रितता र अनुत्तरदायित्वले गर्दा ती योजना आम नागरिकका लागि बोझ बन्न पुग्छन्। भुक्तमानले यसै कुरालाई स्पष्ट रूपमा उजागर गरेको छ। सरकारले बनाएका नीतिहरू कागजमा मात्र कार्यान्वयन छन्। व्यवहारमा त नागरिकले बाँच्नका लागि सरकारमा आशभन्दा आफ्नै प्रयासमा भर पर्नुपर्छ।

आफ्नी श्रीमतीको उपचारका लागि भारतका विभिन्न सरकारी अस्पताल धाउँछन् लेखक। भारतमा पनि सरकारी अस्पतालका कमजोरीहरू छन्। त्यहाँ पनि कुनै कुनै चिकित्सक असहयोगी छन्, तर लेखकका अनुसार तुलनात्मक रूपमा उनीहरूले देखाएको सहानुभूति र प्रणालीगत सहजता नेपालमा भन्दा सहज छ। आफ्नो देशमा भने सत्तामा बस्नेहरू र पहुँच भएकाका लागि स्वास्थ्य सेवा अधिकार र आम नागरिकको लागि कृपाजस्तो देखिन्छ। मिर्गौला दिने आफन्तहरू प्रधानमन्त्रीका लागि भने दुई दुई पटक भेटिन्छन्, गरिब नागरिकका लागि नभई नजिकका नातेदार पनि पछि हट्छन्। 

समाजको अर्को विडम्बना सम्बन्धको असलियत हो। शुरूमा सबै आफन्त र साथीभाइ सहयोगी देखिन्छन्। जब जीवन मरणको अवस्था आउँछ, सहयोग चाहिन्छ, त्यति बेला ती सम्बन्धहरू विभिन्न बहाना गर्दै दूरी बढाउन थाल्छन्। उनीहरू सहानुभूति दिन्छन् तर सामान्य पहलसमेत गर्दैनन्। मानवीयताको जतिसुकै प्रचार गरिए पनि व्यवहारमा त्यो बिरलै भेटिन्छ। लेखकको पीडा यही हो। राज्यले नीतिअनुरूप सेवा प्रदान गर्न सकेन। समाजले आवश्यक सहयोग दिन चाहेन। आफन्तहरूले सहयोगको ठाउँमा सल्लाह र सुझावको चाङ लगाए। 

हामी जहिले पनि कमजोर प्रणालीको चर्चा गर्छौं, तर त्यसको गहिरो असर कसरी पर्छ भन्ने कुरा गम्भीरतासाथ बुझ्दैनौँ। पीडा भोगिरहेको मानिसको आँखाबाट देखिएको राज्य र समाजको परिकल्पना गर्न सक्दैनौँ। जति नजिकबाट पीडा देखिन्छ, त्यति नै वास्तविकता पनि गहिरोसँग महसुस गर्न सकिने हो। लेखकको मित्र भएको नाताले पनि कहिलेकाहीँ उनका गुनासा सुनेको थिएँ। लाग्थ्यो–धिरेन्द्रको कुरा बुझिरहेको छु। तर भुक्तमान पढेपछि मात्र थाहा भयो, मैले केवल सुनेको थिए, तर गहिराइमा पुगेको थिइनँ।  

जीवनसंगीनी जोगाउन धिरेन्द्रले गरेको संघर्षको एक दशकबारे यो पुस्तक नआएको भए सायद उनीभित्रका दुःख र सङ्घर्षहरू केही साथीहरूसँगका कुराकानीमै सीमित हुने थिए। तर उनले आफ्नो अनुभूति र पीडालाई पुस्तकाकार दिए। यसले उनीभित्रको पीडालाई त हलुका गर्‍यो होला, तर त्योभन्दा ठुलो कुरा पाठकलाई हाम्रो प्रणाली र सरकारको रवैया बुझ्ने अवसर दियो। 

भुक्तमान एक व्यक्तिको कथासँगै साझा अनुभव पनि हो। हामी पनि बेलाबेला अस्पतालको चक्कर लगाउँछौँ। अस्पताल नभए कुनै न कुनै सरकारी कार्यालय त जानै पर्छ। त्यो बेला बिरलैले सहजताको अनुभूति गर्छन्। विधि र प्रक्रियाका नाममा सेवाग्राहीलाई अलमल्याउने काम हुन्छ, जब ती सबै प्रक्रियाले पीडामाथि पीडा थप्छ, त्यस बेला मात्रै हामी प्रणालीको असली असर देख्छौ। 

यो पुस्तक पीडा, आँसु र अभावको दस्ताबेज हो। तर यसले लोकप्रियतावादी शासन, अव्यवस्थित प्रणाली, व्यवहारविहीन मानवीयता र निराशाको घेराभित्रै पनि एक व्यक्तिको अदम्य साहस उजागर गर्दै बाँच्न र संघर्ष गर्ने प्रेरणा दिन्छ। भुक्तमान केवल आत्मकथा होइन, हाम्रो वर्तमान शासन प्रणालीको दस्ताबेज हो।

भुक्तमान्❤️

salik Bhandari

3 months, 4 weeks ago