‘भगवान्ले दण्ड दिन्थे भने त हामीजस्तो छाउ नमान्नेलाई पनि दिँदा हुन्। छाउ नमान्दासमेत म दोस्रो पटक सांसद भएँ त! भगवान्ले त मलाई राम्रै गरिराखेका छन्। यसको मतलब यो सबै कुरीति हो।’
माओवादीभित्र प्रस्ट वक्ताका रूपमा चिनिने रेणु चन्द राष्ट्रियसभा सदस्य हुन्। पहिलो संविधानसभा निर्वाचनमा बैतडीबाट सभासद् निर्वाचित भएकी चन्द 'खाेल्नैपर्छ बन्द ओठ, फाल्नै पर्छ छाउपडी गोठ'जस्ता नारा लिएर २०५८-६० तिर पश्चिम नेपालमा सञ्चालित अभियानमा समेत जनयुद्धको कार्यकर्ताका रूपमा सामेल भइन्।
नेपाली समाजको राजनीतिकसँगै सांस्कृतिक रूपान्तरणको मुद्दा उठाएको उनको दल माओवादीले पहिलेझैँ अचेल सामाजिक-सांस्कृतिक रूपान्तरणको लागि खासै प्रयत्न नगरेको भन्ने आरोप लाग्ने गरेको छ। कर्णाली र सुदूरपश्चिम क्षेत्रमा अझै कायम छाउपडी सामाजिक विकृति हो। केही दिन पहिले छाउगोठमा सुत्ने क्रममा सर्पले डसेर एक युवतीको ज्यान गयो। प्रत्येक जसो वर्ष यस्ता खबर सार्वजनिक हुने गरेका छन्। यही कुरीति र त्यसको सुधारबारे प्रकाश अजातले सभासद् चन्दसँग गरेको कुराकानी:
छाउपडी के हो? छाउपडी र अन्य क्षेत्रमा मानिने महिनावारी, 'नछुने' वा 'छुई'बीच के फरक छ?
प्राकृतिक रूपमा महिनावारी हुने प्रक्रियालाई त्यस क्षेत्रमा छाउ भनिन्छ। महिनावारी भएका महिला बस्न/सुत्न बनाइएको खास प्रकारको गोठ नै छाउपडी गोठ हो। अन्यत्र महिनावारी भएकी महिलालाई घरभित्रै राखिन्छ। काठमाडौँमा छाउगोठको चलन नभए पनि महिनावारी भएका महिलालाई डाइनिङ टेबलमा खान खान र घरभित्रकै पूजा कोठामा जान दिइन्न। विभेद त त्यो पनि हो। तर छाउपडी विभेदको उच्च रूप हो। त्यहाँ किशोरी/युवती/महिलालाई महिनावारी हुँदाका केही दिन गोठमा राखिन्छ र पोसिलो खानाबाट समेत वञ्चित राखिन्छ। तर तिनलाई कामचाहिँ सबै गराइन्छ। महिनावारी भएकी महिलालाई दहीदुध दियो भने दूध दिने जनावर मर्छ, त्यसमा केही क्षति हुन्छ भन्ने अन्धविश्वास समेत छ।
बैतडीमा जन्मनुभयो तपाईं। किशोरी हुँदाताक तपाईंले पक्कै छाउपडी मान्नुभयो होला! अहिले मान्नुहुन्छ कि हुन्न?
अलि फरक अनुभव रह्यो मेरो। म भारतको मुम्बइमा जन्मेँ। त्यसो हुँदा मेरा बाआमाले छाउपडी प्रथा सिकाउनुभएन। मेरो समुदायमा छाउपडी हुन्छ भन्ने कुरा त २०५८ सालमा अछाम आएपछि मात्रै थाहा पाएँ। त्यहाँ एउटा रोचकझैँ लाग्ने तर सारमा उही अन्धविश्वासजन्य अभ्यास गरियो। सुदूरपश्चिमका अरू ठाउँमा महिनावारी हुनुलाई 'बाहिर भएको' भनिन्छ। अछाममा चाहिँ 'छाउ भएको' भन्छन्।
म कसैको घरबाहिर उभिइराखेको थिएँ। घरभित्र नगएको देखेर त्यस घरका मान्छेले सोधे, "तपाईं बाहिर हुनुभएको हो?" म त घरबाहिरै थिएँ। म बाहिरै छु भनेर उत्तर दिएँ। आखिर म घरभित्र थिइनँ त्यतिखेर। अन्यथा बुझेर तिनले मलाई आफ्नो घर छिर्न दिएनन्। महिनावारीको विभेदसँग त्यो नै मेरो पहिलो जम्काभेट थियो। म महिनावारीको छुवाछुत मान्दिनँ, मेरो छोरीले मान्दिनन्। हाम्रो परिवारमा कसैले मान्दैनन्। गलत अभ्यास हामीले आफ्ना बच्चालाई सिकाएका पनि छैनौँ।

आफूलाई कम्युनिस्ट भन्नेहरू र तपाईंकै सहयात्री महिला कमरेडहरूले समेत यो कुरीतिको अभ्यास गरिरहेको देख्नुभएको छ?
देखेको छु। महिनावारीको छुवाछुतलाई कसुरजन्य अपराध हो भनेर सरकार, संविधान र कानूनले भनिसक्दा पनि यो किन खतम भएको छैन? किनभने समाजका जान्नेबुझ्ने भनिएका, लोकतान्त्रिक भनिनेदेखि कम्युनिस्ट पार्टीका मान्छे, शिक्षक र आफ्ना नामका अगाडि प्राडा लगाउनेहरूले समेत यो कुसंस्कारलाई निरन्तरता दिएका हुनाले नै यो समाजमा जीवित रहेको हो।
यो कुप्रथा पालन गरिएन भने बच्चा बिरामी पर्छन्, परिवारका सदस्य मर्न सक्छन्, गाईबस्तु मर्छन् वा बिरामी पर्छन्, परिवारलाई आर्थिक नोक्सान हुन्छ भनेर लामो समयदेखि बताइएको छ। त्यो मनोविज्ञानले राजनीति गर्ने महिला र शिक्षकहरूका दिमागमा समेत घर गरेको छ। तिमीले यो प्रथा मानेनौ भने यस्ता दुर्घटना घट्न सक्छन् भनेर मनोवैज्ञानिक रूपमा लामो समयदेखि अत्त्याइएका/प्रशिक्षित गरिएका कारण समाजका जान्नेबुझ्ने भनिएकाले समेत यो कुरीति मानिरहेका हुन्। कहिलेकाहीँ परिवार र पशुधनमा नोक्सान जसकोमा पनि हुन्छ। महिलाले छाउ नबारेको अवस्थामा त्यस्ता घटना भए महिलालाई स्वतः दोषी करार गरिने भएका कारण पनि महिला डराउँदै यसलाई निरन्तरता दिन विवश भएका हुन्।
महिलाको महिनावारीलाई लिएर गरिने चार दिने छुवाछुत र जातीय छुवाछुतको कारण धार्मिक र सांस्कृतिक नै हुन्। उसो हो भने धर्म र संस्कृतिमा व्यापक सुधार जरुरी देखियो, होइन?
अहिलेको अभ्यास धर्म नै हो कि होइन भनेर छुट्टाउनुपर्ने देखिन्छ पहिलोचाहिँ। मूल ग्रन्थहरूमा त यस्तो विभेदजन्य अभ्यास उल्लेख छैन। तलतलका ग्रन्थहरूमध्ये कुन मान्ने भन्नेबारे हामीले नै विवेक प्रयोग गर्नुपर्यो। धेरै परम्परा त हामीले आफ्नो सुविधाअनुसार नै बनाएका छौँ। नेपालको सिंहदरबार कुनै समय दक्षिण एसियाकै सबैभन्दा ठुलो दरबारका रूपमा चिनिन्थ्यो, त्यहाँ सयौँ कोठा थिए, तर त्यसमा एउटा पनि शौचालय थिएन। घर पवित्र स्थान हो र त्यस स्थानमा शौचालय हुनुहुँदैन भन्ने अभ्यास र परम्परा थियो हाम्रो।
तर अहिले त हाम्रो घरभित्रै शौचालय छ। त्यसको मतलब परम्परा त मान्छेले आफ्नो सुविधाअनुसार बनाउने र बदल्ने विषय हो। त्यो तथ्य पटक पटक प्रमाणित भएको छ। पहिला हामी गाई पाल्थ्यौं, सम्पत्ति र धार्मिक गौरवको सूचक थियो गाई। मान्छेहरू गाई नै दान गर्थे, जसलाई गौदान भनिन्छ। अहिले चाहिँ कतैबाट गोबर खोजेर ल्याएर त्यसको सानो डल्लो बनाएर त्यसमा दुबोको पुच्छर बनाई त्यसैलाई गाई सम्झी पैसा चढाई 'गौदान' गरिन्छ। त्यसो हुँदा मान्छेले आफ्नो अनुकूलताअनुसार बदल्ने विषय हो परम्परा र रीतिरिवाज।

तर महिलालाई शोषण गर्ने औजारको रूपमा रहेका छाउपडीजस्ता अभ्यास बदल्नचाहिँ समाजले कन्जुस्याइँ गरेको देखिन्छ। बरु त्यस्ता औजारमा त उल्टै सान लगाइराखेको छ समाज। यहीँनिर समस्या हो। धर्म र परम्परामा भन्दा हाम्रो सोचमा समस्या हो।
र, विभेदलाई देउतासँग जोड्ने काम व्यापक भइरहेको छ। "हामी त केही भन्दैनौं तर, देउता लाग्छ" भन्ने गरिन्छ। कस्ता देवता हुन् ती जो महिलालाई मात्रै दुःख दिन्छन्? ती देवता महिलाका पनि होइनन् र? पुरुषका मात्रै देवता हुन् र ती? केही कथामा इन्द्रको पाप महिलाले व्यहोर्नु परेका सन्दर्भ पनि भेटिन्छन्। त्यसो हो भने अर्काको पाप बोकेर हिँड्ने मान्छे हुन् महिला?
आफूलाई देशको सबैभन्दा क्रान्तिकारी दाबी गर्ने माओवादी पार्टीले सांस्कृतिक विकृतिहरूको सुधारमा काम गर्न किन सकेन?
राजनीति र अन्य क्षेत्रमा महिला सहभागिताको कुरा गर्दा केही न केही सुधार भएको देखिन्छ। तर छाउपडीजस्ता कुप्रथालाई धर्मसँग जोडिदिएका हुनाले त्यसको सुधारमा एउटा मात्रै संगठन, समुदाय वा क्षेत्रको प्रयासले नहुने रहेछ। सती प्रथा पनि आजको दिनको छाउपडीजस्तै बलियो थियो उतिखेर। उतिखेर जबरजस्ती अफिम खुवाएर महिलालाई पोलिन्थ्यो, यहाँ गोठमा राखेर महिलालाई मारिँदै छ। त्यसो हुँदा सतिप्रथा हटाउनजत्तिकै मेहनत छाउपडी हटाउन लाग्नेवाला छ।
जनताको तल्लो तहसम्म पुगेर काम गरिरहेका राजनीतिक दलको मूल दायित्व हो यस्तो प्रथा हटाउने विषय। अर्को कुरा, कानुनी पक्षमा राम्रो उपलब्धि हासिल भए पनि कानुन लागू नहुनु समस्या भयो। कानुनको प्रभावकारी कार्यान्वयन भएन। महिनावारीमा छुवाछुतजन्य कसुर गर्न पाइँदैन भन्नेबारेको जानकारी कतिपय जनतामाझ अझै पुगेको छैन।
जातीय छुवाछुतको मुद्दामा झैं भोटर भड्केलान् भन्ने त्रासका कारण यो मुद्दामा बोल्न सकस भएको हो यहाँहरूलाई?
भोटको डरले पनि यस्तो भएको हो। छाउपडीलाई देउतासँग जोडिदिएका कारण छाउपडी कुप्रथाको विरोध गर्नु देवताको विरोध गर्नु हो भन्ने आशयमा जनसाधारणले प्रवर्द्धन र 'प्रोपोगेट' गर्ने देखिन्छ। त्यही डरका कारण मेरो क्षेत्रमा काम गर्ने घाघडन भन्दा घाघडान राजनीतिक नेताहरूले समेत छाउपडीको विरोध गरिराख्न सक्नुभएको छैन। उहाँहरूलाई भोटको डर छ।
एक त उहाँहरूले विरोध गर्नुभएन, जो उहाँहरूको दायित्वमै पर्थ्यो। दोस्रो, विभेदलाई जलप लगाएर त्यसैलाई निरन्तरता दिने कुरा पो गर्नुहुन्छ उहाँहरू! एयर कन्डिसन भएको या सुविधा सम्पन्न गोठ बनाऊँ पो भन्नुहुन्छ! महिनावारी भएकी महिलालाई भित्र कोठामै राखौं भन्नुहुन्छ। के भनेको यस्तो? यसरी छाउपडी उन्मुलनको हाम्रो अभियानलाई झनै अप्ठ्यारो बनाइदिइरहनुभएको छ।
यो त राजनीतिक दलका मान्छेका कुरा भयो, तिनलाई भोटको डर छ। जसले आफ्ना नामका अगाडि प्राध्यापक/डाक्टर (प्राडा) लगाएका छन्, तिनलाई केको डर? तीमध्ये कतिपयले महिनावारी मान्ने/नमान्ने विषय व्यक्तिगत भएको समेत बताउँछन्। प्राध्यापक वा शिक्षकले गरेको अभ्यास तिनका विद्यार्थीहरूले सिक्छन् र आउँदा पुस्ताहरूमा त्यो हस्तान्तरण गर्छन् भने त्यो कसरी प्राडाहरूको मात्रै निजी अभ्यासको कुरा भयो? मानौँ, यो कसैको निजी विषय नै रहेछ भने किन सार्वजनिक रूपमा म महिनावारी भएका कारण स्कुल आउँदिनँ भनेर ढोल पिटिइन्छ? किन आवश्यक पर्यो अत्यन्त निजी विषयको सार्वजनिकिकरण?

महिला पत्रकार र एनजीओकर्मीलगायतले नै यो अभ्यास गरिराख्नुभएको छ। "म चार दिन चाहिँ पूजा गर्दिनँ, मन्दिर जान्न" भनेर आफूले अभ्यास गरिरहेको अन्धविश्वासको महिमा मण्डन गर्नुहुन्छ नि उहाँहरू?
त्यही अचम्म लाग्छ। अझ लाजको कुरा के छ भने महिनावारी बार्ने कुरालाई आराम गर्न महिलाका लागि छुट्टाइदिएको समय भनेर कतिपयले बखान पनि गर्छन्। जबकि, गाउँघरमा घरबाहिरका काम र भारी बोक्ने कामहरू सबै महिलाले गरिराखेका हुन्छन्। शहरका महिलाले घरका लुगाफाटा धुनेदेखि, घर र कौसीको सरसफाइ सबै यही बेला गर्ने गर्छन् भने तिनले कसरी आरामको मौका पाए? यो कस्तो बिदा हो, जहाँ पोसिलो खान पनि पाइँदैन र अरू दिनभन्दा धेरै काम गर्नुपर्छ?
छाउ गोठमा बस्दा मात्रै सर्पले टोक्ने भन्ने हुन्छ र?
छाउपडी गोठ यतिसम्म असहज हुन्छ कि त्यसलाई गोठ भन्न पनि मिल्दैन। यो अभ्यास मान्ने प्रत्येक घरले एउटा छाउगोठ बनाएका हुन्छन्। ढुंगा र माटोले बनाएको कमसल प्रकृतिको संरचना हो छाउगोठ। हेला गरेर बनाइएको ठाउँ हो त्यो। म त त्यसलाई स्लटरहाउस (वधशाला) भन्छु। खुट्टा तन्काएर सुत्न पनि असहज हुन्छ त्यसमा।
जुन दिन महिला त्यहाँ बस्न जाने हो, त्यही दिन मात्र त्यहाँ लिपिन्छ। अरू दिन त्यहाँ मान्छे नबस्ने हुनाले किराफट्याङ्ग्रा आदिले त्यसलाई आफ्नो वासस्थान बनाएका हुन्छन्। मुसाहरू त्यहाँ बसिरहेका हुन्छन्। मुसा खोज्दै सर्प त्यहाँ जाने हुन्। डराएको सर्पले मान्छेलाई टोक्ने गरेको हो। त्यसमाथि रगतको गन्धले कतिपय जंगली जनावरलाई आकर्षित गर्छन् र तिनले मान्छेलाई आक्रमण गर्न सक्छन्। जनावरलाई त दोष लगाउन मिलेन, उनीहरू आफ्नो प्राकृतिक स्वभाव र आवश्यकताका कारण त्यहाँ जान्छन्।
अर्को विडम्बना के छ भने, छाउ भएको महिलालाई छुन हुँदैन भन्छ समाज, तर यही मौका छोपेर तिनको बलात्कार गर्न कतिपय व्यक्ति छाउगोठ गइरहेको हुन्छ। सम्बन्धित व्यक्ति वा परिवारसँग पहिले कुनै विवाद रहेछ भने त्यही मौकामा छाउ बसेको व्यक्तिलाई आक्रमण गर्न पनि गइरहेको हुन्छ। हिन्दीमा आसान सिकार (सहज सिकार) भनिन्छ, छाउगोठमा किशोरी, युवती र महिलाहरू आसान सिकार बन्छन्। अझ, दुधे बच्चाका आमाहरू छाउ हुँदा तिनका बच्चा पनि आमासँगै गोठमा राखिन्छन्। सर्पले त सानो बच्चा रहेछ भनेर छाड्दैन। सधैँ सर्पले नटोक्ला, तर त्यति असहज ठाउँमा बच्चालाई आमासँगै सुताउने कुरा त बच्चाको बाल अधिकारदेखि मानव अधिकारसम्मै हननको कुरा भयो।
अन्य धर्म संस्कृतिमा पनि यस्तो खाले अभ्यास थियो भनेर कतिपयले भन्छन् नि!
अन्यत्र पनि यस्तो अभ्यास थियो, तर यो प्रथा सुरु हुँदाताक यसलाई उत्सवका रूपमा मनाइँदो रहेछ। कतिपय समाजले महिला प्रजननका लागि योग्य भएको अवसरलाई उल्लासका रूपमा मनाउन थालिएको रहेछ। हाम्रोमा पनि गुन्यु चोलोको संस्कृति छ। पछि आएर कुप्रथाको रूपमा यो विकास भयो।
अर्को कुरा, अरू धर्मालम्वीले के गरे भन्दा पनि हामीले के गर्ने भनेर सोच्नुपर्यो। धर्मगुरुहरूले पनि यो विषयमा अब बोल्नुपर्यो। पहिले पहिले महिनावारी हुँदा पुल तर्नसमेत जान नदिने अभ्यास थियो। बाजुरा बुढीगंगा पालिकाका केही स्कुले विद्यार्थीलाई छाउ हुँदा खोला तर्न नहुने विषयले अप्ठ्यारो पार्यो। बीचमा पुल छ, वारिपारि गाउँ र स्कुल। यो केही पहिलाको मात्रै कुरा हो, पालिकाले त्यहाँका धामी र पण्डाहरू जम्मा गरेर कुराकानी गरेर उपाय खोजे। धामी र पण्डाले भगवानसँग पुलबाट महिनावारी भएका महिला तार्ने अनुमति लिएको बताए। भन्नुको अर्थ धार्मिक/सांस्कृतिक नियमहरू संसोधनीय रहेछ नि! यो धेरै अघिको कुरा होइन।

मान्छे पूर्ण रूपमा भौतिकवादी हुने हो भने त छाउपडी र जातीय विभेदजस्ता धेरै कुरीति र अन्धविश्वास समाजबाट हराउनेछन् भन्ने पो देखियो त! के भन्नुहुन्छ?
सबै कुप्रथा छाड्न भौतिकवादी हुनुपर्ला, तर यो कुरीति छाड्न भौतिकवादीसम्म पनि हुनुपर्दैन। मानवतावादी मात्रै भए पुग्छ। कसैले एउटा मान्छेलाई चार दिनसम्म जोखिमपूर्ण र असहज वातावरणमा मर्न छाडिदिन कसरी सक्छ? त्यो पनि आफ्नो परिवारको प्रिय मान्छेलाई? देख्दै नदेखेको देउता, हुँदै नभएको आकाशवाणीको भरमा आफ्नो प्रिय मान्छेलाई मर्न पठाउनुपर्ने कुरा त खराब दृष्टिकोण हो।
नेपालबाट संसारका अन्य विकसित देश पुग्दासमेत महिनावारी र छाउपडीको विभेदकारी अभ्यास सँगै लिएर गएका छन् कतिपय नेपालीले। उहाँहरूलाई के भन्नुहुन्छ?
शिक्षित भएर पनि यो कुरीति हटेन। हट्दो रहेनछ! जान्ने सुन्ने भनिएकाले नै यसलाई निरन्तरता दिएकाले यो कुरीति बाँचेको हो। भगवानका नाममा र भगवानलाई दोष दिएर यो चलन जारी राखिएको हो। भगवानले दण्ड दिन्थे भने त हामीजस्तो छाउ नमान्नेहरूलाई पनि दिँदा हुन्! छाउ नमान्दासमेत म दोस्रो पटक सांसद भएँ त! भगवानले त मलाई राम्रै गरिराखेका छन् त! यसको मतलब यो सबै कुरीति हो।
अन्त्यमा भन्नु केही छ?
यो कुप्रथा हटाउन सबै क्षेत्रबाट पहल गर्नुपर्यो। पाको उमेर मान्छेहरूसँग यसबारे बहस चलाएर खासै उपलब्धि हुने देखिएन। यो विषयले उहाँहरूको मनोविज्ञानमा यसरी जरा गाडेको छ कि उहाँहरूलाई अलिकति दबाब दिँदा पनि उहाँहरूमध्ये कतिपय मानसिक रूपमा बिरामी हुनुहुन्छ। त्यसो हुँदा अबको नयाँ पुस्ताले भने यो कुप्रथा मान्दैनौँ भनेर अभियान चलाउनुपर्यो। र, यसमा समाजका अगुवाहरूले मद्दत गरिदिनुपर्यो।
रिसाए पनि रिसाउन् हाम्रा देउता। देउता रिसाए तिनलाई मनाउने तरिका पनि बनाउन सकिइहाल्छ। हाम्रै देउता हुन्, एकचोटी हेरिहालौँ।
एउटा अनुभव सुनाऊँ। कुनै गाउँका कुनै ब्राह्मणसँग कुनै जमानमा हाम्रा ठकुरी पुर्खाले गाई मागेछन्। नदिएपछि तिनले हाम्रा पुर्खाले गाई नै मारिदिए रे। अनि हाम्रो सिंगो समुदायलाई नै 'गाई मारेको पाप' लाग्यो रे। त्यो गाउँमा हाम्रो जाति/समुदायलाई दहीदुध नदिने अभ्यास थालिएछ!
संयोगले जनयुद्धताक म त्यही गाउँ पुगेँ। कसैले दूधको गिलास ल्याएर दिँदै गर्दा मेरो थर सोधियो। आफ्नो थर बताएपछि दूधको गिलास फिर्ता लगियो। किन दूध फिर्ता लगेको भनेर सोध्दा यसको पृष्ठभूमि थाहा लाग्यो। तर राति भने दूधको गिलास लिएर आउनुभयो त्यस घरकी दिदी। मैले "अहिलेचाहिँ मलाई दूध दिँदा तपाईंका देवता रिसाउँदैनन्?" भनेर सोधेँ। "देवतालाई म उचायन (जरिवाना) चढाउँछु" भन्नुभयो। देउता खुसी पार्ने अनेकन् उपायहरू रहेछन् त!
यसो हुँदा आजका कन्टेन्ट क्रिएटर, पत्रकार, शिक्षक र राजनीतिकर्मी सबैले यो कुप्रथा हटाउन कसिएर लाग्नुपर्छ। स्कुल, समुदायदेखि टिकटकका आफ्ना सामाग्रीमा समेत यसबारे भनौँ। यसलाई हटाउन जोडतोडका साथ लागौँ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
