वर्षौं दुःख गरेर, बिदेसिएर, पसिना बगाएर, माया प्रेम बाँड्दा नजोगिने सम्बन्ध एउटा मनुवाले 'पुतली खेलेर' कसरी जोगिन्छ? यसको आधार के हो? यस्तै प्रश्नले मेरो मथिंगल घुमिरहन्छ।
कुनै समस्या, संकट या दुःख आइपर्दा आम मानिस बाआमा सम्झन्छन्। बाआमाबाट पनि पार नलाग्ने अवस्थामा या सिकायत गर्न सम्भव नहुने विषयमा शायद आम मान्छेले भगवान् सम्झन्छन्। संकटमा भगवान् पुकार्न हामीलाई बाल्यकालदेखि नै सिकाइएको हुन्छ। मान्छेले भगवानलाई बिन्तीभाउमात्रै चढाउँदैन, मेरो यो समस्या सुल्झ्यो या काममा सफल भएँ भने तिमीलाई फलानो थोक दिउँला भन्दै भगवानसँग भाकल पनि गरिन्छ। भगवान् छन् या छैनन्, बहसको अर्को विषय वैज्ञानिक र दार्शनिक पाटो हो। भगवानपछि, खासगरी नेपाल भारतका आम मान्छेले सम्झने अर्का पात्र ज्योतिषी हुन्। भाग्य र भविष्यको फल बताउने दाबी गर्ने व्यक्ति हुन् यी।
आफूले जुध्दै गरेको समस्याको समाधान खोज्न कतिपय मानिस ज्योतिषीको शरण पुग्छन्। एउटा प्रचलित भनाई छ–हातको रेखामा भाग्य नखोज, भाग्य तिनको पनि हुन्छ, जसको हात हुँदैन। हुन पनि हो, हातै नहुने व्यक्तिहरूले विश्वमा तहल्का मच्चाएका छन्। हातबिनै जन्मेकी अस्ट्रेलियाकी जेसिका कोक्स गोडाकै भरमा हवाइजहाज उडाउँछिन्। हातबिनै जन्मेका जापानका हिरोतादा ओतोताके बेस्टसेलिङ किताब लेखेर मान्छेलाई उत्प्रेरित गरिरहेका छन्। अमेरिकाका म्याट स्टुट्जम्यान हातबिनै जन्मेका हुन्, जो खुट्टाको प्रयोगले धनुर्विद्यामा विश्व कीर्तिमान राखेका छन्। नेपालमै जन्मेका सुदर्शन गौतम त्यस्ता व्यक्ति हुन्, जसले दुई हातबिनै सगरमाथा चढेर हस्तरेखाले कसैको भविष्य तय गर्दैन भन्ने देखाए।
परिवार, आफन्त र साथीसंगीबाट ज्योतिषी र ग्रहदशाका कुरा सुन्दै आएका व्यक्तिहरू पारिवारिक, आर्थिक र मानसिक समस्याबाट गुज्रँदा ज्योतिषीकहाँ पुग्छन्। प्रशस्त पैसासमेत खर्च गर्छन्। भूतदेखि भविष्यसमेत बताउँछन्, ज्योतिषीहरू। व्यक्तिको आर्थिक र सामाजिक पृष्ठभूमि थाहा पाएपछि भूतका कतिपय कुरा अनुमान मात्रै गर्दा पनि मिल्न जान्छन्। भविष्यबारे त जे बताइदिए पनि भइगयो। ज्योतिषीहरू यी दुवै काम गर्छन्। वर्तमानबाट बिरक्तिएका धेरै मान्छेलाई आफ्नो भविष्य पक्कै सुखमय होला भन्ने अनुमान/भरोसा हुन्छ।
ज्योतिषीले सुन्दर भविष्यको कहानीसँगै भएभरका समस्या पनि देखाइदिन्छन्। वर्तमानमा संघर्षरत मान्छे भविष्यका समस्या देखेर फेरि कहालिन्छ र त्यसको समाधानको लागि के गर्न सकिन्छ भनेर तिनै ज्योतिषी/जान्नेवालाहरूसँग उपाय सोध्छन्। सकेसम्म धेरै ग्राहक डराओस् भनेर मौका पर्खेर बसेका उनीहरू अब मजासँग 'भल्नरेबल कस्टमर' (कमजोर ग्राहक) सँग पूजा/ग्रहशान्ति आदिका नाममा कुस्त पैसा उठाउँछन्। ग्राहकले आँखा बन्द गरेर पैसा खर्च गर्छन्। तर अन्त्यमा न जीवनका जटिल समस्या न सहज समाधान निस्कन्छन्, न बाँकी रहन्छ गोजीको पैसा। केही दृष्टान्त यहाँ पेस गरौं:
सम्बन्ध जोगाउन शारीरिक सम्पर्कको प्रस्ताव
केही वर्ष अगाडिको कुरा हो। छिमेकी बहिनीको विवाह भयो। विवाहपश्चात् श्रीमानसँग उनको सम्बन्ध खासै सुमधुर रहेन। प्रशस्त पैसा खर्च गरेर गरेको विवाहबाट सन्तुष्ट नभएपछि काठमाडौँको शंखमुलस्थित सटर खोलेर बसेका कुनै ज्योतिषीकहाँ गई आफ्ना सबै समस्या सुनाइन्। ज्योतिषीले उनलाई उनको सम्बन्ध प्रगाढ बनाइदिने बाचासहित बेलाबेला बोलाइरहे। कहिले ग्रहका पूजा गरे, कहिले के के भन्दै अल्झाए। केहीपछि ज्योतिषीले ती बहिनीको सम्बन्ध बचाउन आफूले विशेष औषधि तयार पारेको र सो औषधी ती बहिनीको शरीरभरि आफैले दल्नुपर्ने बताए। यसबाट बहिनीले ज्योतिषीको खराब नियत बुझिन् र त्यहाँ जान छाडिन्। तर अब उनले अन्यत्र 'सच्चा ज्योतिषी'को खोजी गर्न भने छोडिनन्।
केही महिनापछि फेरि कसैको सल्लाहअनुसार चाबहिलस्थित अर्को ज्योतिषीकहाँ पुगिन्। त्यहाँ पनि ज्योतिषीले ती बहिनीको सम्बन्ध जोगाउन आफूले 'कडा शास्त्रीय र जस्तोसुकै उपाय'समेत गर्ने बताए। चार पटक सम्म उक्त ज्योतिषीकहाँ गएपछि ज्योतिषीले एक पटक साँझको समय एक्लै आफ्नो घरमा बोलाए। अघिल्लो प्रकरणमा झैं यिनले पनि खराब नियतले त बोलाएनन् भन्ने ठान्दाठान्दै उनी ज्योतिषीकहाँ पुगिन्। कतै त्यसले आफ्नो समस्या समाधान गर्न पो सक्छ भन्ने ठानेर भनेकै ठाउँ पुगिन्।
ज्योतिषीले आफूसँग शारीरिक सम्पर्क राखे त्यसको शक्तिले सम्बन्ध टिक्न सक्छ भनेर सिधै भने। ज्योतिषीको यस्तो हर्कतले उनलाई के गरौं र कसो गरौं भयो। पछि यसबारे सल्लाह गरौँला भने त्यस यौनपिपाशुबाट उनी उम्किन्, तर यी दुई ज्योतिषीकहाँ पुग्दासम्म उनको ६०/७० हजार खर्च भइसकेको थियो।
यी बहिनी एक प्रतिनिधि पात्र हुन्। बहिनीझैँ अनेक समस्याले जकडिएका कतिपय मान्छे ज्योतिषीले बोलेकै भरमा आफ्नो सुन्दर भविष्य स्थापित हुन्छ भन्ने ठान्छन्। नेपालका ठुला शहरका सडक र चोकतिर हिँड्दा ठाउँ ठाउँमा बोर्डमा लेखिएको हुन्छ– यहाँ मोहनी लगाइन्छ, मानसिक समस्याको उपचार गरिन्छ आदि। बोक्सी र टुनामुनालगायत अन्धविश्वास र अपराधजन्य कर्मको संकेत पनि तिनले दिन्छन्। खासमा यिनीहरूले अन्धविश्वास र अपराध नै बढाउने हुन्।
अरू त त्यस्तै हो, मोहनी लगाउने कुराले मेरो ध्यान खिच्छ। तर कसैसँग सम्बन्ध बचाउन 'मोहनी' लगाउनुपर्छ? त्यसले काम गर्छ? वर्षौं दुःख गरेर, बिदेसिएर, पसिना बगाएर, माया प्रेम बाँड्दा नजोगिने सम्बन्ध एउटा मनुवाले 'पुतली खेलेर' कसरी जोगिन्छ? यसको आधार के हो? यस्तै प्रश्नले मेरो मथिंगल घुमिरहन्छ।
छनलाई हाम्रो उखान छ-भाग्यमा छ भन्दैमा डोकोमा दूध दुहेर अडिँदैन। यस उखानले आधाजसो भाग्यवादी दृष्टि पेस गरे पनि कर्म (काम) गर्न पनि उत्तिकै जोड दिन्छ। खासमा जीवनका जटिलता र समस्याको समाधान मेहनत र परिश्रममै छ। रहस्य, फलादेश र भाग्यका कुरा अल्छीका लागि सुहाउँछ, कर्मजिवीलाई होइन। तर नेपाली समाज यति भाग्यवादी छ कि सामान्यभन्दा सामान्य काममा पनि कर्मकाण्ड गर्ने र 'हेराउने' अभ्यास छ। ज्योतिषीहरूले पनि इन्टरनेटदेखि हरेक ठाउँमा आफ्नो प्रशस्त विज्ञापन गरेकै छन्। भाइरल ज्योतिषीहरू टिकटकमै बसेर दुनियाँको चिनाटिप्पन उठाइरहेका छन्, अनि दुनियाँबाट गिफ्ट र खातामा पैसा।
नबिकेको जग्गा
घरनजिकै बस्ने एक छिमेकीको जग्गा बर्षौंदेखि बिक्रीमा छ। अचेल रियल स्टेट च्याउ उम्रेसरी छँदैछन्। तर जति रियल स्टेटमा प्रचार गरे पनि उनको जग्गा बिक्री हुन सकेन। अन्त्यमा उनले जग्गा बिक्री किन भएन भनेर जान्न ज्योतिषीको परामर्श लिन गए। ती महिला ज्योतिषीले जग्गामा कसैको आँखा लागेको कारण सो बिक्री नभएको बताइन्। यस पहिले ज्योतिषीमा विश्वास नगर्ने ती पुरुषले आफ्नो जग्गा बिक्री हुने आसमा ज्योतिषीले भनेबमोजिम सबै गरे। तर पनि उनको पैसा मात्रै गयो, काम भने भएन। झनै घाटामा पो परे मेरा छिमेकी।
सुन लगेर बेसार फिर्ता
निकै वर्ष पहिला भारतबाट 'प्रख्यात ज्योतिषी' आएर ठमेलको एक होटेलमा बसेका थिए। नेपाल आएका उनले देशका चर्चित अखबारहरूमा आफ्ना विज्ञापन छपाएका थिए। ज्योतिषीका भ्रमपूर्ण विज्ञापन छापेर जनमानसमा भ्रम छर्न योगदान गर्थे मिडिया। अचेल भारतीय ज्योतिषीको बिगबिगी कम छ, हामी यस्तो धन्दामा आत्मनिर्भर भइसकेका छौँ। उसो त अहिले पनि अनेकन् मिडिया र डिजिटल एप्स/प्लेटफर्महरूमा 'फलादेश'हरू छापिएकै छन्।
'बिग्रेको सम्बन्ध सुधार्ने, कमजोर विद्यार्थीको पढाइमा सुधार ल्याउनेलगायत शक्ति रहेको' भनेर त्यस ज्योतिषीबारे चर्चा भइरहेको थियो। मेरी एउटी साथीको आमाले पनि उक्त ज्योतिषीबारे थाहा पाउनु भएछ। तिनलाई छोरीको पढाइबारे चिन्ता थियो। छोरीको पढाइ मध्यम स्तरको थियो। उहाँ भोलिपल्टै ठमेल जानुभएछ। छोरीको पढाइमा सुधार आउने आशामा सबै विवरण त्यस व्यक्तिलाई खुलाउनुभएछ। समस्या सुनेपछि करिब ४५ वर्षका गेरुबस्त्रधारी ती पुरुष ज्योतिषीले आमालाई सुनको डल्लो ल्याएर आफूलाई दिन भनेछन्। कताकताबाट जुगाड गरेर सुनको सानो डल्लो भोलिपल्टै ज्योतिषीलाई भेटेर दिनु पनि भएछ आमाले। तर त्यस छट्टुले छोरी स्कुल जाने बेला यो सुनको लेप उनको निधारमा लगाइदिनु भन्दै अर्को दिन बेसारको लेप बनाएर ल्याएर दिएछ।
सामान्य लेखपढ मात्रै गर्नुभएको ती आमालाई आफू ठगिएको त्यस बेला थाहा भयो, जति बेला निधारमा लगाउँदा पनि सो लेपको रङ गएन। यसरी पनि ज्योतिषीहरूले चमत्कार गरेकै छन्।
अचेल विज्ञान पढ्ने विद्यार्थी धेरै छन् गाउँ हरमा। तर विज्ञान दीक्षित तिनैको बिहे गर्ने बेला भने तिनका बाआमासमेत 'ज्योतिष-विद्या'मा भर पर्छन्। चिना नजुरेको र ग्रह दशा नमिलेको भन्दै राम्रोसँग स्थापित सम्बन्धहरूसमेत बिचैमा टुंग्याइन्छ। यद्यपि, दिगो जीवनको रहस्य मेहनत, सम्झौता र विनम्रतामा टिक्छ। चिनाको मिल्तीले दाम्पत्य जीवन जोगाउने होइन, दम्पतीको समझदारीले हो। भाग्य कसैले तय गर्ने कुरा होइन। ज्योतिषीले बनाएका शास्त्रीय रेखाको निचोड जेसुकै आओस्, मानिसले परिश्रम नगरी सुखै छैन।
तैपनि, मेरो भविष्य के होला भन्ने कौतुहलता भने सबैमा हुन्छ। अत्यधिक मेहनत गर्दासमेत असफलता हात पर्दा कतिपय मान्छे ज्योतिषी भेट्न पुग्छन्। कतिपय जोडीचाहिँ आफूहरूबाट नियमित रूपमा छोरी जन्मिएपछि ज्योतिषीले चमत्कार गरेर गर्भमा छोरा सिर्जना गराउन सक्छन् कि भन्दै पनि पनि यस्ता अड्डातिर धाउँदा रहेछन्।
बिहान उठ्नासाथ हामीमध्ये कतिको आँखा राशिफलमा जाँदो हो। अनलाइनबाटै चिना हेर्नेको लर्को पनि ठुलै छ। तर भविष्य थाहा पाउने र हेर्ने नाममा प्रस्ट ठगीकर्म चल्दै छ। दुनियाँको भविष्य बदल्न बसेका ज्योतिषीले आफ्नैचाहिँ भविष्य देखेका छन् त? अनि ज्योतिषको विश्वास गरी बेपरवाह पैसा खर्च गर्नेको भविष्य साँच्चै सुन्दर र उज्ज्वल बनेको छ त?
आफूलाई ज्योतिषी बताउनेका माथिका कर्म/परिणामले त त्यस्तो बताउँदैन। झाँक्री, बिजुवा, धामी, झोपा/झोपे, तान्त्रिक र ओझाहरूका कर्तुत र कर्तव्यका उदाहरण त भेटाइसाध्य छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||

Yahi jyotishi ko chakkar maa 25 barsha Nouri vibe gariyo, ahile vihe navaye ekai patak 32 barsa maa yog chha. Bihe huna gaaro huncha vanthe. Aba hataar hataarai padhaai nasaki, dimaag le paripakka navayi bihe gariyo, baru 32 barsha maa 24 barsha vandaa raamri thiye, maintained thiye, dimaag le paripakka thiye career thiyo, paisaa thiyena 😀
Suvekshya Chaudhari
1 month, 2 weeks ago