नेपाल टी-२० लिग : विराटनगरमाथि लुम्बिनीको जित

लुम्बिनीले दिएको १२३ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा सबै विकेट गुमाउँदै ११० रनमा समेटिएको छ।

काठमाडौँ- कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा लुम्बिनी अलस्टारले नेपाल टी-२० लिगमा छैटौँ जित निकालेको छ। आइतबार सम्पन्न दोस्रो खेलमा लुम्बिनीले विराटनगर सुपर किंग्सलाई १२ रनले पराजित गरेको हो।

लुम्बिनीले दिएको १२३ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा सबै विकेट गुमाउँदै ११० रनमा समेटिएको थियो। विराटनगरका ओपनर अर्जुन साउदले सर्वाधिक ४१ रन बनाए। सुस्त शुरूआत गरेका उनले ४५ बलमा ४ चौका प्रहार गरेका थिए।

तल्लोक्रमका विवेक यादवले १० बलमा १ चौका र २ छक्कासहित १९ रन बनाए। गौरन्शु शर्मा १२ र पृथु बास्कोटाले ११ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

लुम्बिनीका ह्यारी टेक्टर तिलक भण्डारी र शैडली भ्यान शल्कविकले २/२ विकेट लिए। किशोर महत, हर्मित सिंह र दीपेन्द्रसिंह ऐरीको नाममा १/१ विकेट रह्यो।

त्यसअघि पहिलो ब्याटिङ थालेको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२२ रन बनाएको थियो। लुम्बिनीका लागि दीपेन्द्रले सर्वाधिक ५० रन बनाए। उनले ४२ बलमा ६ चौका प्रहार गरे।

कुशल भुर्तेल, अनिल शाह र ह्यारी टेक्टरले १३/१३ रन बनाए। विराटनगरका नन्दन यादव, सूर्य तामाङ र विवेक यादवले २/२ विकेट लिए। राज नमन र केओन जोसेफको नाममा १/१ विकेट रह्यो। जितसँगै लुम्बिनीले ७ खेलबाट १२ अंक जोडेको छ। 

लुम्बिनी अंक तालिकाको शीर्ष स्थानमा छ। विराटनगरले समान खेलबाट ६ अंक जोडेको छ। विराटनगर अंक तालिकामा पाँचौँ स्थानमा छ।