घरेलु क्रिकेटमा ‘हेलिकप्टर सट’ले चर्चित सिद्धान्तले राष्ट्रिय टोलीमा स्थान बनाउन नसकेको ६ वर्ष भयो। यद्यपि, त्रिवि मैदानमा जारी नेपाल टी२० लिगमा छक्काका लागि उनको ब्याट हेलिकप्टर शैलीमा घुमिरहेकै छ।
काठमाडौँ– सन् २०१६ को टी२० विश्वकप नेपालले खेल्न नपाउने निश्चित भइसकेको थियो। छनोट प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले आयरल्यान्ड, हङकङ र पपुआ न्यू गिनीसँग हारिसकेको थियो। पहिलो खेलमा अमेरिकालाई जितेको नेपालले नामिबियासँग अंक बाँडेको थियो।
समूह चरणको अन्तिम खेलमा जर्सीविरुद्ध दुई अंक पाउनु या गुमाउनुले कुनै अर्थ राख्दैन थियो। तत्कालीन कप्तान पारस खड्काले महत्त्व नभएको उक्त खेलमा युवा ‘अलराउन्डर’ सिद्धान्त लोहनीलाई टी२० अन्तर्राष्ट्रियमा डेब्यू गराए। नेपालको लरखराएको ‘ब्याटिङलाइन’को मध्यक्रम सम्हाल्न मैदान उत्रिएका लोहनी नायक बने।
दबाबका बीच गरेको डेब्युमा दुई छक्कासहित टिमका लागि सबैभन्दा बढी २७ रनको योगदान दिए। २० वर्षका लोहनीको खेल देखेर नेपाली दर्शक त खुशी थिए नै, कमेन्टेटरले उनलाई भारतीय क्रिकेट टोलीका तत्कालीन कप्तान महेन्द्र सिंह धोनीसँग तुलना गर्न भ्याए।
उनको छक्का प्रहार गर्ने शैलीलाई कमेन्टेटरले ‘हेलिकप्टर सट’को संज्ञा दिए। यस्तो सट धोनीले प्रहार गर्थे।
उक्त खेलमा सकारात्मक संकेत दिएका लोहनी नेपाली टोलीका लागि आशाको केन्द्र बनेर उदाउने धेरै समर्थकहरूले अनुमान लगाएका थिए। तर भइदियो उल्टो। करिअरको शुरूआती चरणमा रहेका उनी त्यसपछि राष्ट्रिय टोलीमा पर्न नै सकेनन्। राष्ट्रिय प्रतियोगिताहरूमा पनि उनको प्रदर्शन गतिलो हुन सकेन।
काठमाडौँमा जारी नेपाल टी२० लिग खेलिरहेका उनलाई आफ्नो प्रदर्शनले बारम्बार झस्काइरहन्छ। “बीचको समय गाह्रो नै थियो, चोटले पनि सतायो। प्रदर्शन गर्ने मौका पाइनँ। आफूमा केही परिवर्तन ल्याउनु पर्छ जस्तो लागेको थियो, धेरै कुराहरू परिवर्तन गरेँ पनि”, पोखरा एभेन्जर्सबाट खेलिरहेका उनी भन्छन्।

जर्सीविरुद्ध खेल्नुअघि लोहनीले नेपालमा यू–१९ राष्ट्रिय प्रतियोगिता र सन् २०१४ मा यू–१९ एसिया कप खेलिसकेका थिए। एसिया कपको समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा युएईलाई ४ विकेटले पराजित गर्दा लोहनीले १२ बलमा ४ चौकासहित १२ रन बनाए। तर, भारतविरुद्धको दोस्रो खेलमा भने उनी चल्न सकेनन्। कुलदीप यादवले २०.१ ओभरमा फ्याँकेको बलमा उनी शून्य रनमा विकेटकिपर सञ्जु स्यामसनको हातबाट ‘कट बिहाइन्ड’ भए।
त्यसपछि उनले समूह चरणको अन्तिम खेलमा पाकिस्तानविरुद्ध मौका नै पाएनन्। पाकिस्तानसँग १३२ रनले पराजित भएको नेपाल समूह चरणबाटै बाहिरियो। टोली नेपाल फर्किएलगत्तै उनले एक दिवसीय सिनियर राष्ट्रिय प्रतियोगितामा भने आफ्नो जादु छरे।
विराटनगरका लागि खेल्ने उनले पोखराविरुद्ध १९ बलमा नै अर्धशतक पूरा गरेपछि फेरि चर्चामा आए। सो खेलमा उनले २५ बल खेल्दै ६ चौका र ६ छक्कासहित ६७ रन जोडेका थिए। यही प्रदर्शनले उनका लागि सिनियर राष्ट्रिय टोलीको ढोका खुल्यो।
‘मिस्टर ३६०’ को उपनाम पाएका साउथ अफ्रिकाका ब्याट्सम्यान एबी डी भिलियर्सको ‘डाइ हर्ट फ्यान’ लोहनी आईसीसी टी२० विश्वकप छनोट खेल्न आयरल्यान्ड जाने नेपाली टोलीको १५औँ सदस्य भएका थिए।
त्यस टोलीमा कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लसहित प्रदीप ऐरी, विनोद भण्डारी, शक्ति गौचन, सोमपाल कामी, करण केसी, सुवास खकुरेल थिए। त्यस्तै अनिल मण्डल, जितेन्द्र मुखिया, राजेश पुलामी, सागर पुन, वसन्त रेग्मी र शरद भेषवाकरजस्ता अनुभवी खेलाडी पनि थिए। यद्यपि, टेलिभिजन हेरेर क्रिकेट सिकेका लोहनी प्लेइङ ११ मा परेर ‘म्याच फिनिसर’को रोल पाउनेमा आशावादी थिए।
आयरल्यान्ड उड्नुअघि सञ्चारकर्मीसँग उनले भनेका थिए, “एबी डी भिलियर्सलाई हेरेर क्रिकेट सिकेको हुँ। जति सकिन्छ रिभर्स स्विप, स्विच हिट र हेलिकप्टर सटहरू खेल्न प्रयास गर्थेँ। विराटनगर र लोकल प्रतियोगिताहरूमा यस्ता सटहरूको प्रयोग गरेँ र बिस्तारै लाग्दै गयो। राष्ट्रिय प्रतियोगितामा पनि त्यसलाई प्रयोग गरेँ, त्यहाँ पनि सफल भएँ।”
आयरल्यान्डमा शुरूआती ६ खेलमा उनले मौका पाएनन्। पहिला खेलमा अमेरिकासँग ६ विकेटको जित हात पारेको नेपालले दोस्रो खेलमा वर्षाका कारण नामिबियासँग अंक बाँड्यो। तेस्रो खेलमा आयोजक आयरल्यान्डसँग ८, पाँचौँमा हङकङसँग ५ र छैटौँ खेलमा पपुआ न्यू गिनीसँग ८ विकेटले पराजित भएर प्रतियोगिताबाट नै बाहिरिएको थियो।
सन् २०१४ मा बंगलादेशमा आयोजना भएको आईसीसी टी२० विश्वकपमा नेपालले हङकङविरुद्ध ८० र अफगानिस्तानविरुद्ध ९ रनको जित निकालेको थियो। त्यसको दुई वर्षपछि भएको अर्को विश्वकपको छनोट खेलमा अमेरिकाबाहेक अरूसँगको खेलमा १०० रन पनि कटाउन सकेको थिएन। तर, अन्तिम खेलमा उनै लोहनीको २७ रनको योगदानले नेपालले १०५ रन बनायो।
पपुआ न्यू गिनीविरुद्धको खेलमा ओपनर तथा अलराउन्डर सागर पुन घाइते भएपछि लोहनीले मौका पाएका थिए। जर्सीसँगको खेलमा पनि नेपाल एक समय १०० रनभन्दा कम स्कोरमा समेटिने अवस्थामा पुगिसकेको थियो। १७.३ ओभरमा शरद आउट भएपछि सातौँ नम्बरमा ब्याटिङमा आएका लोहनीले १०० रन कटाउन मद्दत गरे। त्यसक्रममा उनले दुई छक्का र दुई चौका प्रहार गरे।

दोस्रो छक्काका लागि हेलिकप्टर सट प्रहार गरे। त्यो हेरेर दंग परेका कमेन्टेटर जोन्टी रूड र इयान बिसपले लोहनीलाई धोनीसँग तुलना गरे। उक्त प्रदर्शनपछि बिसपले रूडलाई सोधे, “लोहनीको खेल कस्तो लाग्यो?”
रूडले भने, “लोहनी युवा खेलाडी हुन्। तर, आजको खेलमा उनीमाथि कुनै दबाब थिएन। उनले खेलमा नेपाललाई कायम राखे। यस्तै खेल्दै गए क्रिकेटमा उनको भविष्य बन्ने छ।”
नेपालले जर्सीसँग ७ विकेटले खेल गुमाए पनि कप्तान खड्का लोहनीसँग खुशी देखिए। “सिद्धान्त योङ किड हो। उसले पाएको मौकालाई सदुपयोग गर्दै राम्रो इनिङ्स खेल्यो”, खेलपछि पारसले भनेका थिए।
नेपाललाई दोस्रोपटक विश्वकप छनोट गराउने आशा बोकेर आयरल्यान्ड हुइँकिएका लोहनीको त्यो आशाले उडान भरेन। तर, उनले प्रतियोगितामा गरेको प्रदर्शनले भने खुबै चर्चा पायो। जुन उनले पनि अहिलेसम्म बिर्सन सकेका छैनन्।
“म टेनिस बलले क्रिकेट खेलेर यहाँसम्म आइपुगेको हुँ। त्यसले मलाई हिटिङको लागि एकदमै सहयोग गरेको थियो”, उनी सम्झिन्छन्, “तर, हेलिकप्टर सट हान्दा बल उडिरहेको थिएन।”
पोखरा एभेन्जर्सबाट पहिलो संस्करणको नेपाल टी२० लिग खेलिरहेका उनले ७ इनिङ्समा १०० रन बनाएका छन्। उनले समान खेलबाट १०४ रन बनाएका अनुभवी ब्याटर कुशल भुर्तेललाई पछ्याइरहेका छन्।
जारी प्रतियोगितामा आशा गरिएको ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल भुर्तेल, देव खनाल, अर्जुन साउद र गुलशन झाजस्ता नेपाली टोलीबाट खेल्दै आएका खेलाडीले रन बटुल्न सकेका छैनन्। त्यसैले पनि लोहनी उनीहरूलाई उछिन्दै नेपाली टोलीमा फर्किने आशामा छन्।
“नेपाली टोलीमा फर्किने मेरो एउटा ठूलो सपना छ। जसरी भए पनि पुनरागमन गरौँ भन्ने सोचले खेलिराखेको छु। यसका लागि मैले राम्रो प्रदर्शन गर्नुपर्छ”, उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
