उपभोक्तावादी संस्कृतिले समाज संकटमा छ। यस्तो बेला हामी उत्पादन प्रणालीमा जोडिइहाल्नुपर्ने होइन? अनावश्यक उत्सव मनाउने र उपभोग मात्रै गर्ने खालको यान्त्रिक मानव भएर बस्ने बेला हो यो?
ज्योतिषीको सुझाव मुताबिक चन्द्रशमशेरको शासन अवधिताक, झन्डै सवा शताब्दी (१२१ वर्ष) पहिले 'विक्रम संवत्'ले वैधानिकता पायो। यही संवतको दुई हजार बयासी सालको चौथो अर्थात् साउन महिनामा हामी विचरण गर्दैछौँ। प्राकृतिक रूपमा यो समय मौसम मनसुनको मध्यान्तर हुनुपर्ने हो। तर नेपालका अधिकांश भूभागमा रासायनिक मलकै अभावबीच धान रोपी कृषक फुर्सदिला भएका छन्। मधेस प्रदेशको कतिपय ठाउँमा खडेरीका कारण पिउने तथा सिँचाइ पानीको अभावले अझै हाहाकार छ। (विगत दुई दिनयता भने पानी परेका कारण किसान केही खुसी छन्।) 'सुक्खा र विपद् संकटग्रस्त क्षेत्र' घोषणा गरिएको सो प्रदेशमा धान रोपिएका खेतहरूमा धाँजा फाटेका छन् त, कतै रोपाइँ नै हुन सकेको छैन।
यही महिना कांग्रेस र कम्युनिस्टहरूले क्रमशः ६, ७ गते ४३औं एवं ४७औं बीपी र पुष्पलाल स्मृति दिवस आयोजना गरे। बजारिया उरन्ठेउला गीत तिजको छेकोमा सामाजिक सञ्जालदेखि टेलिभिजनसम्म भने सिन्धुलीवासी उर्मिला हायुका परिवार अन्धविश्वासले दपेटिएर पोखरा पुगेका छन्। (उनीहरू दपेटिनुमा अविकास र अवसर अभाव पनि कारण हुनसक्छ।) बजारका कपडा पसलमा 'बोल बम' अंकित गेरु रङ्गे टिसर्ट, जाँगे र रुमाल छ्यापछ्याप्ती झुन्डिएका छन्। महिला केन्द्रित सौन्दर्य प्रसाधन र कपडा पसल वर्षा यामको वनभन्दा बेसी हरियाली भएका छन्, जहाँ ठेलमठेल भिड छ।
साउनलाई महत्वका साथ 'श्रावण' बताउँदै, शहरबजारमा सांस्कृतिक अल्गोरिदले वशीभूत, खासगरी महिला, कमसेकम हप्ताको एक दिन हरियो पहिरनमा हातमा थाली लिई घण्टौँसम्म लाइन बसेर शिवलिंगको दर्शनमा जुटेका देखिन्छन्। ८१.१९% हिन्दु धर्मावलम्बी भएको भनिएको नेपालमा धार्मिक आस्था र परम्पराका नाममा गरिने विभिन्न क्रियाकलापले समाजमा के कस्तो अर्थ-सांस्कृतिक असर पर्छ भन्नेबारे प्रस्तुत आलेख मुखर हुने प्रयत्न गर्छ।
हिन्दू धर्मालम्बी महिला सदियौँयता साउने सोमबारको निराहार व्रतमा अभ्यस्त बनाइएका छन्, बनेका छन्। पुस्ता-दरपुस्ता मिथकीय शिवलिङ्ग अगाडि उभिएर पुकारिरहेका छन्, "मैल शिवजस्तै जीवनसाथी पाऊँ। मेरा पति शिवजस्तै होउन्" आदि। यद्यपि, कथाका उन्मुक्त र 'बुटी-अम्मली' शिवजीजस्तै जीवनसाथीले यस लोक र युगका जिम्मेवारी धान्न सक्लान् या नसक्लान्, बहसको अर्को विषय हुनसक्छ। नेपाली महिलाले खोजेजस्तै 'स्वामी' नभेटाए पनि रक्सीको तालमा तथानाम गाली गर्दै कुट्ने र हैकम लाद्ने लोग्नेहरू कतिपय महिलाले पाएकै छन्।
स्कन्द र शिवपुराणको निर्देशनअनुसार साउने सोमबार, सोह्र सोमबार एवं सोम प्रदोषको कठोर व्रत बसेका महिलाले अपेक्षित आशीर्वाद पाएको भए सम्भवतः महिला मुक्ति आन्दोलनको मक्सद धेरै अघि पूरा हुने थियो। नेपाली र भारतीय महिला विश्वमै 'श्रेष्ठ' कहलिएका हुन्थे। तिनको राजनीतिक, आर्थिक र सामाजिक हैसियत पुरुषभन्दा धेरै अघि हुन्थ्यो। नभए पनि बराबर हुन्थ्यो।
हजारौं वर्ष पुलिङ्गको पूजा आराधनामा लागेका अरबौँ व्रतालुमध्ये कतिले स्त्रीयोनी र स्त्री जीवनलाई उत्तिकै श्रद्धा र समर्पण गर्ने 'पतिदेव' पाए होला? प्रश्न यता पनि उठाउन सकिन्छ। तर संसारका सबैजसो धार्मिक सम्प्रदायमा तिनको आस्थामाथि प्रश्न नउठाउन युगौँदेखि उर्दी छ। भावनामा चोट पर्ला भन्नेमा त्रस्त हुँदै जोगिएर बहस गर्नुपर्ने बाध्यता छ। लेखक सोही गरिरहेछ।
प्राकृतिक हरियाली र वनजङ्गल अवलोकनले मानव शरीरमा डोपामाइन र एन्डोर्फिनको स्राव अप्रत्यक्ष रूपमा बढाउन सक्छ। त्यसो हुँदा असार साउनजस्ता हरियाली महिना मानव र प्राणी जगतका लागि हितकारी देखियो भन्न सकिन्छ। तर बजारले यही मौकामा अनावश्यक कपडा र सौन्दर्य प्रसाधन खरिद गरिराख्ने कुलत सिर्जना गरेको छ, जसको पासोमा हाम्रा आफन्त छन्। अत्यावश्यक भन्दा उपभोक्तावादी संस्कृतिको पदचाप पछ्याउने लतले मानिसको प्रगतिमा बाधा पुर्याउने निश्चित छ। यसमा एकदमै कम बहस भएको छ।
आर्थिक रूपमा कमजोर वर्गका लागि त यस्ता अभ्यासले अलगावको भाव र असक्षमताको महसुस गराउने डर हुन्छ। आठ हजार वर्षको अपराधी पितृ सत्ताको लम्बाई नाइल नदी भन्दा लामो छ, यसलाई खण्डित गर्न उच्च मनोबलका साथ पलपलमा भिड्नु पर्नेछ। भिड्ने युगान्तकारी जिम्मेवारी पाएका आधुनिक महिलाले काँच र कपडामा अल्झनु आवश्यक देखिँदैन।
पितृ सत्ताको राजा पुरुषले महिलालाई रैती तुल्याइ युगौँदेखि अविच्छिन्न शोषणको भारी बोकाएझैँ धार्मिक सत्ताले महिलासँगै पुरुषको पनि सातो लिएकै छ। मै हुँ भन्ठान्ने पुरुष मानसिक रूपमा कति कायर, विक्षिप्त र प्रताडित छ भन्ने थाहा पाउन कि भट्टी पसल कि त यस्तै तीर्थाटनमा पुग्नु पर्ने हुन्छ।
दम्भी पुरुष मनको बह पोख्न र आँसु झार्न हत्तपत्त पाउँदैन। आँसु झारिहाले नामर्दको लाञ्छना उसले खेप्नुपर्छ। त्यसैले उ आँसु झार्ने र बह पोख्ने अलि सहज ठाउँ खोज्छ। भट्टी पसलमा उसले भँडास र असन्तुष्टि पोख्छ भने तीर्थाटनमा विक्षिप्तता। त्यसैले उ अहिले 'कावँड' यात्रामा छ।
निराशा, असन्तुष्टि, आत्मग्लानिजस्ता कमजोर मनस्थितिले पनि मान्छेलाई ज्ञात वा अज्ञात शक्तिको भक्ति भावतर्फ डोर्याउने गर्छ। आफूले गरेका कुकर्मको प्रायश्चित र त्यस 'पाप'बाट निवृत्तिको लागि कतिपयले भक्तिको मार्ग रोज्दा हुन्। कतिलाई भक्तीमार्गको संगीत र भेटघाटको माहौलले पनि यसतर्फ आकृष्ट गरेको हुनसक्छ।
साउन महिना मासु र मदिरा व्यवसायी तथा नाइ/हजामको निम्ति न्यून व्यापार हुने महिनाको रूपमा चिनिन्छ। यो महिनाभर अधिकांश हिन्दु पुरुषले कपाल नकाट्ने र मदिरा मासु सेवन नगर्ने प्रचलन छ। के खाने वा नखाने भन्ने विषय नितान्त व्यक्तिगत रुचिमात्रै नभई सांस्कृतिक/भौगोलिक अवधारणाले निर्धारण गर्छ। विज्ञान पछ्याउँदा खानपानलाई स्वास्थ्य स्थितिले समेत निर्धारण गर्छ। यो एक महिनाको अवधिमा मान्छेहरूले यस क्षेत्रमा अपनाएको 'सात्त्विक' भोजनको अभ्यास हेर्ने हो भने भिगन (दहीदूधसमेत नखाने शाकाहारी) बन्ने र मदिरा त्याग्नेको शंख्या नेपाल-भारतमा बर्सेनि ह्वात्तै बढ्दो हो। तर त्यस्तो देखिँदैन। किनकि यसलाई केबल कर्मकाण्डका रूपमा अपनाइएको छ। एक महिना माछामासु र रक्सी नखाएपछि पुण्यको ग्राफ बढिगयो! बाँकी महिनालाई कुरा खत्तम।
हाम्रो सामाजिक गतिविधिलाई गमेर हेर्ने हो भने उपभोक्तावादको दलदलमा सबै यसरी भास्सिन पुगेका छौं कि अब सामान्य सामर्थ्यले जमिनसम्म पुगेर ठिङ्ग उभिन सक्ने स्थितिमा छैनौं। 'उत्पादन र उपभोग' प्रक्रिया बिचको अन्तरसम्बन्ध राष्ट्रिय अर्थतन्त्रमा के-कस्तो हुन्छ भन्नेबारे आम नागरिकसम्म पर्याप्त बहस पुर्याइएको छैन, जुन राजनीतिक फटाइँगिरी हो। विदेशमा मानव श्रम निर्यातमार्फत भित्रिने विप्रेषण नै देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा मुख्य हिस्सा बन्न पुगेको सर्वविदितै छ।
उत्पादन प्रक्रिया अवरुद्ध गर्ने र भित्रिएको विप्रेषण आवश्यक-अनावश्यक वस्तु खरिद गरी पुनः विदेश फिर्ता पठाउने आर्थिक दुष्चक्रले विदेशी मुद्रा सञ्चितिमा नकारात्मक असर पर्न गएको छ। निश्चित वर्गका दलालले नाफा कुम्ल्याउन बनाएको अर्थतन्त्रले देशलाई व्यापार घाटामा पुर्याएको छ। बिचौलिया तप्काले लुट्ने र उनीहरूकै तजबिजमा राजनीति सञ्चालित हुने अर्थात् नीति निर्माण एवं कार्यान्वयन हुने देश नेपाल हो भन्न अब धक मान्नु पर्दैन। उपभोक्तावादी संस्कृतिले हाम्रो समाज नै संकटापन्न अवस्थामा पुगेपछि हामी उत्पादन प्रणालीमा जोडिइहाल्नुपर्ने होइन? आवश्यकभन्दा धेरै अनावश्यक चाडपर्व/उत्सव मनाउने उत्सवप्रेमी व्यक्ति र उपभोग मात्रै गर्ने यान्त्रिक मानवजस्तो भएर बस्ने बेला हो र यो?
अर्को गम्भीर विषय, पुराना पुस्ता त रुढीवादमा जकडिएकै छन्, नव पुस्तालाई हामीले प्रगति वा अधोगति कता प्रवृत्त गराउँदै छौं? परम्परा र कर्मकाण्डको पुरानै महिमा गाउँदै छौं या त्यसमा सुधार र आमूल सांस्कृतिक परिवर्तनका लागि पहल गरिरहेका छौं? अन्धभक्ती र अवैज्ञानिकता चिर्दै समयसापेक्षी वैज्ञानिक विचार अवलम्बन गर्न हामी तयार छौँ कि छैनौं? वैज्ञानिक तर्क र 'प्रश्नभन्दा माथि'को आस्थाको महासंग्राममा हामी आज्ञाकारी बन्दैछौं कि प्रतिरोधी?
यी यावत प्रश्नका चाङलाई अब क्रमशः मसिनो ढंगले छिचोल्दै जानु किञ्चित ढिला गर्नु हुँदैन। धर्मान्धता, रुढीवाद र उपभोक्तावादी संस्कृतिलाई क्रमशः त्याग्दै जानु प्रगतिशीलतातर्फ सोझिनु हो। विज्ञानको यस युगमा समेत त्यति हिम्मत गर्न सकिएन भने हाम्रो दुनियाँ अझै अन्धकारमय बन्दै जाने देखिन्छ। पितृसत्ताले निर्माण गरेको स्त्रीद्वेषी अनुशासनको जालो रछ्यानमा मिल्काउनुको बदला यसकै रसातलमा चुर्लुम्म डुब्नु अर्को पुस्ताप्रतिको धोकाधडी हुन जान्छ।
अतः भुत्ते बनाइएको हाम्रो चेतनाको धारलाई ज्ञानको आरनमा गालेर अर्जाप्न पर्ने समय आएको छ। धारिलो चेतले छेदन गर्नु छ, शासक वर्गद्वारा पालित-पोषित उत्पीडनकारी पछौटे चेत। बनाउनु छ समतामूलक नवीन समाज।
(उकालोको विचार खण्डमा छापिएका सामग्री लेखकका निजी विचार हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
