जिल्ला प्रशासन तथा प्रहरी कार्यालयको गैरकानूनी गतिविधिले भ्रष्टाचार र तस्करी मात्र मौलाएको छैन, पर्साका नागरिकले सास्तीसमेत पाएका छन्। प्रशासनले बिनाकारण पनि थुनामा राखेर स्थानीयलाई आतंकित बनाएको छ।
वीरगन्ज– असार २४ गते, मंगलबार। दिउँसो ३ बजे। वीरगन्जस्थित जिल्ला प्रहरी कार्यालयको प्रांगण। तल धोती, माथि रङ खुइलिइसकेको कुर्तामा खुइलिएकै गम्छा भिरेका जयनारायण साह (७५) अपराध अनुसन्धान शाखाबाट निस्किए।
प्रेम पनि भनिने जयनारायणका आँखा धस्सिएका थिए। दाह्री सेताम्मे। उनको पछिपछि रुवाबासी गर्दै पाँच महिला बाहिर आए। सँगै चार पुरुष र तीन बालबालिका पनि थिए। बालबालिका भयभित थिए। अन्य चार पुरुष चिन्तित। उनीहरू जयनारायणको परिवारका सदस्य थिए।
वीरगन्ज माहानगर–२० रहपतगन्जका जयनारायणका छोरा अशोक (३२) सात दिनदेखि थुनामा थिए। उनलाई अभद्र व्यवहारको मुद्दामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश अर्यालले थुनामा पठाएका थिए। तर अभद्र व्यवहारको कसुर लगाउनुको कारण अचम्मलाग्दो थियो।
अशोकले जिल्ला र उच्च गरी दुई तहको अदालतबाट लेनदेन मुद्दा जितेपछि सीडीओ अर्यालले बोलाएर ऋणीसँग मिल्न दबाब दिए। उनले मानेनन्। यसैलाई ‘अभद्र व्यवहार’ भनेर सीडीओले थुनामा पठाए।
अशोकलाई उपस्थित गराउन जिल्ला प्रसाशन कार्यालयको मिटर व्याजी शाखाबाट प्रहरी चौकी सुगौलीमा पत्र पठाइएको थियो। प्रहरीले खबर गरेपछि असार १९ गते उनी जिल्ला प्रशासन गए। उनैले साँझ फोन गरेर परिवारलाई आफू थुनामा पठाइन लागेको बताए।
बुबा जयनारायणले भने, “करिब ५ बजेको होला, छोराले आफ्नो पलिवार (श्रीमती)को मोबाइलमा फोन गरेर मसँग दुई शब्द कुरा गर्यो, सीडीओ सा’बले प्रहरीमा पठाउन लागेको बतायो र फोन काटियो।”
बुबा जयनारायणले फेरि फोन गरे, तर अशोकको मोबाइल बन्द भइसकेको थियो। उनको त्यो रात छोराकै चिन्तामै बित्यो।
सीडीओलाई भेटेर दुखेसो राख्न र छोरालाई छोड्न आग्रह गर्न भोलिपल्टदेखि उनी लगातार पाँच दिन धाए, तर भेट भएन। छैटौँ दिन सीडीओले १ मिनेट भेट दिए र ‘भोलि छुटिहाल्छ, जानुस्’ भनेर पठाए।
अर्को दिन जयनारायण जिल्ला प्रहरी कार्यालयबाट निस्किँदै गर्दा आफन्तसहित भेटिए। त्यसको दुई दिनपछि असार २६ गते अशोक ५ हजार रुपैयाँ धरौटीमा थुनामुक्त भए।
अशोकको पुस्तैनी पेसा मुह्री (भुजा) बनाउने र गेडागुडी भुट्ने हो। करिब आधा किलो अन्न भुट्नुअघि प्रारिश्रमिकबापत त्यसबाट एक मुठी झिक्ने चलन छ। यही पेसाबाट भएको आम्दानीको बचतलाई गाउँमै कपाली तमसुक बनाउन लगाएर छोराले व्याजमा लगाएको जयनारायण बताउँछन्।
“यतिका वर्षको भएँ, चौकी जानु परेन। अहिले आएर बिनागल्ती छोरा थुनियो,” उनले भने, “हामीले मुद्दा जितिसकेपछि असुल गराउन पो सहयोग गर्नुपर्ने, दिएको सावाँको पनि आधा पैसा लिन सीडीओले किन भनेका होलान्, दैवलाई थाहा छ।”
जयनारायणले बोरा काटेर बनाएको झोला भिरेका थिए। झोलामा छोरा अशोकले मुद्दा जितेको जिल्ला र उच्च अदालतका कागज थिए। ती कागज सीडीओलाई देखाएका पनि थिए।
उच्च अदालत जनकपुरको वीरगन्ज इजलासबाट छिनिएको मुद्दाको अभिलेखअनुसार पोखरिया नगरपालिका–७ सतवरिया बस्ने पृथ्वी चौहनले २०७५ असार ९ मा अशोकसँग ३ लाख १ हजार रुपैयाँ लिएको कपाली तमसुक बनाएका रहेछन्। उक्त रकम र व्याज फिर्ताका लागि अशोकले पृथ्वीविरुद्ध २०८० असार २५ गते पर्सा जिल्ला अदालतमा मुद्दा दिए। अदालतले २०८० असोज ९ गते अशोकको पक्षमा फैसला गर्दै पृथ्वीको जग्गा रोक्का गर्न पर्सा मालपोतलाई आदेश दियो।
पृथ्वी उच्च अदालत गए। तर त्यहाँबाट पनि २०८१ फागुन २२ गते जिल्लाकै फैसला सदर भयो। त्यसपछि, पृथ्वीले जिल्ला प्रशासन कार्यालय पर्सामा रहेको अनुचित लेनदेन (मिटर व्याज) शाखामा निवेदन दिए। निवेदनकै आधारमा सीडीओ अर्यालले अदालतको फैसला विपरीत ऋणीसँग मिल्न अशोकलाई दबाब दिए।
अशोकका अनुसार, उनले मिटर व्याजको जस्तो चर्को दर नभई १० प्रतिशत दरमा रकम फिर्ता चाहेका छन्। दुवै तहका अदालतले पनि १० प्रतिशत दरमा सावाँ र व्याज फिर्ता गर्नुपर्ने फैसला गरेका छन्। तर फैसलापछि पनि उनी आफै नौ दिन थुनामा बस्नु पर्यो।
अभद्र व्यवहारको मुद्दाको सुनुवाइ सीडीओले नै गर्छन्। अशोक भन्छन्, “मैले उहाँको (सीडीओको) धेरै कुरा बुझ्न सकिनँ, अदालतको फैसलाअनुसार मेरो ३ लाख १ हजार रुपैयाँ र त्यसको १० प्रतिशतको व्याजसहित फिर्ता चाहियो भनेपछि उहाँले थुन्न लगाउनु भयो।”
पर्साका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले पनि अशोकलाई लेनदेनको नभई अभद्र व्यवहार मुद्दामा सीडीओकै आदेशमा पक्राउ गरिएको बताए। सीडीओ अर्यालले चाहिँ अनुचित लेनदेन व्यवस्थापनका लागि कानूनी स्पष्टता नभएको दाबी गरे।
अशोक मात्र होइन, यस्तै अरू तीन/चार वटा मुद्दामा आफूले मानिसहरूलाई थुनामा पठाएको अर्यालले सुनाए। मिटरव्याजसम्बन्धी विवाद निरुपणको असल उद्देश्यले फरक कानून लगाउनु परेको उनको दाबी छ।
अशोकले १ लाख मात्र दिएर ३ लाख १ हजार रुपैयाँको कागज गराएको पृथ्वीको गुनासोका कारण आफूले मिल्न भनेको सीडीओ अर्याल बताउँछन्। अदालतबाट अशोकले मुद्दा जितिसकेको विषय आफूलाई थाहा नभएको र मेलमिलापका लागि दिएको सुझाव ठाडै इन्कार गरेकाले अभद्र व्यवहारमा मुद्दा चलाएको उनको जिकिर छ।
असली पीडितसँग भेट्दैनन् सीडीओ
कालिकामाई गाउँपालिका–५ बिरिञ्चिबर्वाका विक्रम ठाकुर लोहार भारतको जम्मु–काश्मीरस्थित हिन्दुस्तान पेन्सिल्स कम्पनीमा मजदुरी गर्थे। मजदुरी गरेरै केही पैसा जम्मा गरेका थिए। २०७२ सालमा उनले ३१ कट्ठा जग्गाको बाली व्याजबापत खाने शर्तमा छिमेकी गाउँ कट्टी बलुवाका प्रमोद राउत बरई र उनका भाई अमोदलाई ४ लाख रुपैयाँ दिएका थिए।
२०७५ सालमा विक्रमले गाउँ फर्केर गाईपालन थाले। शुरूमा सात वटा गाई पालेका उनलाई व्यवसाय बढाउन थप पैसा चाहियो। उनले बरई दाजुभाईसँग पैसा फिर्ता मागे। उनीहरूले ३१ कट्ठाको बाली आम्दानी भइरहेकाले बरु बैंकबाट ऋण लिन सुझाव दिए। बैंकको प्रक्रिया पूरा नभएसम्मका लागि आफूहरूले ऋण खोजी दिने प्रस्ताव गरे।
बैंकको ऋणका लागि आफूहरूले चिनजानका मान्छेसँग कुरा बढाइदिएको आश्वासन पनि दिए। “सानै उमेरदेखि इण्डिया बसेको मान्छे, यहाँको बैंक र अड्डाहरूबारे मसँग जानकारी थिएन। उहाँहरूले सघाउने भनेपछि बैंकबाट ऋण पाउन सहज हुन्छ भन्ने लागेको थियो,” विक्रम भन्छन्।
प्रमोदले उनकै साला सन्तोषप्रसाद चौरसियासँग ३ लाख रुपैयाँ मिलाइदिए। सन्तोष र विक्रमकी श्रीमती पुना देवीबीच २०७६ मंसिर ८ गते लेनदेन भयो। तर उनीहरूले ३ लाखको पाँच गुणाले हुन आउने १५ लाख रुपैयाँको कागजमा सही गराएको विक्रमले दिएको मिटर व्याजसम्बन्धी उजुरीमा उल्लेख छ।
कागज बनाउँदा स्थानीय तहबाट प्रमाणित गराउन नपर्ने गरी पुरानो मिति (२०७५/०३/०८ गते) उल्लेख गरे। विक्रमका अनुसार, बरई दाजुभाईले ग्लोबल आईएमई बैंकको एउटा खाली चेकमा उनको हस्ताक्षर पनि गराएर राखे।
कोरोना माहामारीको बन्दमा दूधबाट हुने आम्दनी घट्दै गयो। यता बरई दाजुभाईले सालोबाट दिलाएको ३ लाख रुपैयाँ फिर्ता माग्न थाले। उनले अरूसँग सापटी लिएर २०७७ असार २ गते २ लाख रुपैयाँ र त्यसपछि पटकपटक गरी १ लाख ३२ हजार रुपैयाँ फिर्ता दिए। तर सन्तोषले पञ्चभलाद्मीको अगाडि दैनिक २ हजार ५०० रुपैयाँ व्याजको हिसाब निकाले।
गाउँमा पञ्चायती बस्दा विक्रमले २०७२ सालमा दिएको ४ लाख फिर्ता नलिने र बाली खाइरहेको ३१ कट्ठा खेत फिर्ता गर्ने सहमति भयो। बरई दाजुभाईले पनि चेक र तमसुक फिर्ता गर्नुपर्ने भयो। तर विक्रमले चेक र तमसुक फिर्ता पाएनन्। उनले दुई वर्षमा ३ लाख रुपैयाँको व्याज ७ लाख ३२ हजार तिरिसकेका थिए।
प्रमोदका साला सन्तोषले २०७७ कातिक २० गते विक्रमकी श्रीमती पुनादेवीविरुद्ध बारा जिल्ला अदालतमा लेनदेनको मुद्दा हाले। खाली चेकमा अमोद राउत बरईको नाममा ९ लाख ९० हजार उल्लेख गरी बाउन्स गराए। अनि २०७७ फागुन ५ गते पर्सा जिल्ला अदालतमा चेक अनादरको मुद्दा पनि दर्ता गराए।
२०७८ साउनमा बारा जिल्ला आदालतबाट लेनदेन मुद्दा र २०७९ जेठ २ मा चेक अनादर मुद्दा जितेर बरई दाजुभाईले पुनादेवीको नामको चार कट्ठा १४ धुर ७ कन्वा घडेरी तथा विक्रमका बुबा अम्बिका ठाकुर लोहारको नाममा रहेको ३ कट्ठा ३ धुर जग्गा लिलाम गराए। उनीहरूले यी जग्गा ११ लाख २० हजारमै आफन्त नगवाका श्रीकुसुन चौहानलाई लिन लगाए।
स्थानीयका अनुसार जग्गाको चलनचल्तीको मूल्य करिब ९० लाख छ। तर अझै बाँकी बिगो अपुग रहेको जाहेरी दिएपछि विक्रमकी श्रीमती पुनादेवी गत मंसिर ८ गतेदेखि थुनामा छिन्।
गाउँको पञ्चायतीमा सामेल कालिकामाई–५ का पूर्व वडाध्यक्ष पवन तिवारी ३ लाख रुपैयाँ ऋणले विक्रमको सर्वस्व जाने अवस्था आएको बताउँछन्। “वास्तवमा अनुचित लेनदेनसम्बन्धी मुद्दामा सीडीओले पाएको अधिकार यस्तै पीडितहरूलाई न्याय दिलाउन हो। तर यिनले त्यहाँबाट कुनै सहयोग पाएनन्,” उनी भन्छन्, “सोझो मान्छे छ, बरई दाजुभाइले भनेको मान्दै जानु उसको गल्ती भयो।”
२०८१ जेठमा मिटर व्याजीविरुद्ध निवेदन अह्वान भएपछि उनले पनि दिए। जिल्ला प्रहरी कार्यालयमा दिएको निवेदन गत पुसमा जिल्ला प्रशासनको मिटर व्याजी शाखामा आइपुगेको थियो, तर सुनुवाइ नै भएको छैन। पर्साको सीडीओ बनेर आएका अर्याललाई पनि उनले भेटे। तर कुनै कारबाही अघि बढेन।
जिल्ला प्रसाशनले भने मिटर व्याजसम्बन्धी मुद्दामा द्रुत सुनुवाइ भइरहेको जनाएको छ। पर्सामा २०८१ जेठ १६ देखि साउन ४ सम्ममा मिटर व्याजसम्बन्धी ८३६ उजुरी दर्ता भएका थिए। अर्याल सीडीओ भएर २०८१ कातिक १२ गते पर्सा आउनु अगाडि करिब चार महिनामा सात वटा उजुरी मात्र फर्छ्यौट भएका थिए।
पछिल्लो आठ महिनामा थप १९४ वटा मुद्दा फर्छ्यौट भएको जिल्ला प्रशासनको तथ्यांक छ। स्रोतका अनुसार विचौलियाहरूको माध्यमले अगाडि बढ्ने लेनदेनको मुद्दामा अहिले फटाफट सुनुवाइ भइरहेको छ। तर विक्रमजस्ता पीडित भने भौतारिइरहनु परेको छ।
कालिकामाई–४ का वडाध्यक्ष सञ्जयकुमार साह विक्रमको मुद्दा गाउँमै मिलाउने प्रयास गरिए पनि सफल नभएको बताउँछन्। उनका अनुसार विक्रमले ३ लाख मात्र लिएको भनिरहे पनि बरई दाजुभाइले २५/२६ लाख रुपैयाँ दिएको दाबी गरिरहेका छन्।
विक्रम भने ३ लाखको बदला झण्डै १ करोड बराबरको सम्पत्ति दिँदा पनि आफ्नी श्रीमती जेल बस्नुपरेको दुखेसो गर्छन्। उनी भन्छन्, “मेरो विषयको सुनुवाइ कहिले हुने थाहा छैन। चार महिनादेखि अनवरत धाइरहेको छु।”
सीडीओ अर्यालसँग विक्रमको मुद्दाबारे जिज्ञाशा राख्दा ‘पठाइदिनुस्, भेटिहाल्छु’ भन्ने प्रतिक्रिया दिए। आफूलाई मिटर व्याजसम्बन्धी सबै मुद्दाबारे थाहा नहुने र त्यसका लागि अनुचित लेनदेनसम्बन्धी बेग्लै शाखा रहेको उनको भनाइ छ। विक्रमको विषयमा पनि आफूलाई थाहा नभएको उनले बताए।
असम्बन्धितलाई थुना
जिल्ला प्रहरी कार्यालयले मुद्दासँग असम्बन्धित व्यक्तिलाई पनि थुन्ने गरेको पाइएको छ। दाजु–भाउजूको सम्बन्धविच्छेद मुद्दामा असार १९ गतेदेखि भाइ सुनील साह २३ दिनसम्म थुनिएका छन्।
पर्साको बहुदरमाई नगरपालिका–४, बहुआरी घर भएका अनिल र रौतहटको ईशनाथ नगरपालिका–४ की काजलबीच २०८० जेठ १७ गते विवाह भएको थियो। अहिले अनिलकै फिरादमा पर्सा जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा विचाराधीन छ। अनिल भने अमेरिकामा छन्।
काजलका बुबा रामवीर साहले घरमै आएर गालिगलौज र धाकधम्की दिएको भन्दै गत चैत ६ गते अनिलका भाइ सुनीलले जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिए। तर दुवै पक्षबीच मिलापत्र भयो।
फेरि रामवीरको जाहेरीमा प्रहरीले सुनीललाई ठगी मुद्दा चलाएर थुनामा राख्यो। यद्यपि, दुई परिवारबीच सम्बन्धविच्छेदको मुद्दाले झगडा उत्पन्न भएको हो। तर रामवीरले सुनीलविरुद्ध न्याय सेवामा जागिर लगाइदिने नाममा ठगी गरेको उजुरी हालेका थिए।
रामवीर नेपाल प्रहरीमै कार्यरत सहायक प्रहरी निरीक्षक हुन्। उनी अहिले पर्सामै कार्यरत छन्।
असार २५ गते जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा भेट्दा सुनीलले आफूलाई दाजुभाउजूकै विषयमा कुरा गर्न भन्दै महिला तथा बालबालिका शाखामा बोलाएर थुनामा राखिएको बताए। केटी पक्षको तर्फबाट माग भएको ३५ लाख रुपैयाँ दिन नसकिने बताएपछि ठगीसम्बन्धी कागज दिएर थुनिएको उनको भनाइ छ। प्रहरीले रामवीरको परिवारलाई नै साथ दिएको उनले बताए।
अमेरिकाबाट मोबाइल सम्पर्कमा आएका अनिलले आफ्नो छोडपत्रको मुद्दा प्रभावित पार्न पहुँचका आधारमा भाइलाई थुनेर दबाब दिइएको बताए। उनले भने, “यो मुद्दाका कारण पछि सरकारी जागिरका लागि पनि मानिस अयोग्य हुनसक्छ, एक जना निर्दोषमाथि कसरी यस्तो ठूलो अन्याय गर्न सकेको होला प्रहरीले!”
पर्साका एसपी गौतम मिश्रले भने सुनीलको खातामा पैसा जम्मा भएको देखिएकाले बैंक स्टेटमेन्टको आधारमा अनुसन्धान भइरहेको बताएका थिए। “अदालतमा सम्बन्धविच्छेदको मुद्दा पनि रहेको पछि मात्र थाहा पाइएको हो, तर त्यस सन्दर्भमा नभई ठगीको मुद्दामा समातिएको हो,” सुनील थुनामै भएको बेला मिश्रले उकालोसँग भनेका थिए, “अनुसन्धानमा के देखिन्छ, त्यसअनुसार हुन्छ।”
सुनीलले भने आफ्नो बुबा जीवितै हुँदै उनी र सम्धी रामवीरबीच लेनदेनको पैसा आफ्नो खातामा जम्मा भएको र त्यसको सबै जानकारी आफूलाई नभएको बताए। “लिने मान्छे बितिसके, दिने मान्छेले लेनदेनको हिसाब भए भन्नुपर्ने हो,” उनले भने, “जम्मा गर्ने बेला फोन गरीगरी खाता माग्ने, अहिले दुई वर्षपछि आएर मलाई ठगी भनेर फसाउने?”
रामवीरसँग सम्पर्क गर्दा उनले छोटो प्रतिक्रिया मात्र दिए। “हिजो (असार २६ मा) पञ्चायतीपछि मिलिसकेको छ, सुनील छुटिहाल्छन्,” उनले भने। तर पञ्चायतीपछि पनि उनी दुई हप्ता थुनिए।
अनिल र काजलको वैवाहिक विवाद मिलाउन बिहेमा भएको खर्चलगायतको रकम फिर्ता गर्ने सहमति भएको मध्यस्तकर्तामध्येका एक पूर्व प्रदेशसभा सदस्य राजेश्वर साह तेलीले बताए।
अदालत लाने मुद्दामा आफै निर्णय
न्यायिक निकायसमक्ष पेस गर्नुपर्ने मुद्दामा प्रहरीले कतिपय आरोपीलाई उन्मुक्ति दिएको भेटिएको छ। प्रहरीले वीरगन्ज नाकाबाट स्रोत नखुलेको ४ लाख ५० हजारसहित असार २५ गते दिउँसो तीन जनालाई पक्राउ गरेको थियो। भारतबाट नेपालतर्फ आउँदै गर्दा बारा घर भएका वीरेन्द्रकुमार साह, वीरेन्द्रकुमार गुप्ता र भारत पूर्वी चम्पारणका सुरज कुमार सीमाक्षेत्रबाट पक्राउ परेका थिए।
भोलिपल्ट प्रहरीले तीन जनालाई नै छाडिदियो। उनीहरूलाई मुद्दा नचलाइ ९ लाख रुपैयाँ लिएर छोडिएको स्रोतको दाबी छ। उनीहरूलाई हुण्डी कारोबारको आरोपमा समातिएको र पछि मुद्दा के भएको भन्ने याद नभएको एसपी मिश्र बताउँछन्।
स्रोत नखुलेको रकम (हुण्डी) सहित कोही पक्राउ परे मुलुकी अपराध संहिता, २०७४ को दफा १२५(क) बमोजिम जिल्ला अदालतबाट म्याद थप लिई अनुसन्धान गर्नुपर्छ। एसपी मिश्रले यो विषयमा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सुवास भट्टसँग बुझ्न भने। भट्टले मुद्दा फाँटमा बुझ्नु पर्ने र बुझेर खबर गर्ने बताए। पछि सम्पर्कमै आएनन्।
असुलीमुखी ‘पुलिसिङ’
पछिल्लो समय पर्सामा प्रहरीले सीमा वारपार हुने चोरी निकासी/पैठारीमा ‘लाइन’ दिने, तस्कर तथा तिनका भरियाहरूसँग पैसा उठाउने र बजारमा असुलीकै उद्देश्यले जनशक्ति परिचालन गर्ने गरेको छ। एक स्थानीय व्यापारी पर्सा, बारातिर सर्धैँ तस्करी हुने बताउँछन्।
ती व्यापारीका अनुसार, सीमामा तस्करी कम वा बढी हुने विषय प्रहरी नेतृत्वको कार्यकुशलता र स्वच्छतामा भर पर्छ। उनी भन्छन्, “कहिले प्रहरी अस्वाभाविक लचक भएको देखिन्छ, त्यति बेला तस्करी बढ्छ। पछिल्लो समय तस्करीजस्ता गतिविधि अलि ज्यादै नै भएका छन्। टेलिफोन अडियोहरू नै लिक भएका छन्।”
त्यस्ता अडियो खोजी गर्दै जाँदा भारतीय बस्तु भित्र्याएर गैरकानूनी ढंगले काठमाडौँ, पोखरालगायत शहर पठाउने एक कारोबारी र सई लोकेन्द्र पण्डितबीचको संवाद फेला पर्यो।
लोकेन्द्रः हजुर नमस्ते,
कारोबारीः सर, एक चोटि भन्दिनू न सर।
लोकेन्द्रः हिहिहि, के भन्दिने?
कारोबारीः के भन्दिने, हजुरलाई थाहै छ। अब होली लास्टै आइसक्यो सर, म त लास्टै मरिसके सर। सबले गर्नेले गरिरहेका छन्।
लोकेन्द्रः पख्नु न, सई साहेब आए त्यहाँ? वरिष्ठ सई साहेब आए?
कारोबारीः म त त्यहाँ गएको छैन सर, ज्वरोले घरमा हो।
लोकेन्द्रः ल, पख वेट गर ल।
कारोबारीः सब जनाले काम गरिरहेका छन्। सर, सब जनाले काम गरिरहेका छन्।
लोकेन्द्रः म फोन गर्छु क्या, लाटो। धेरै फोन नगर न। फाइनल गरिदिन्छु है, ल!
लोकेन्द्र पण्डित पर्सामा एसपी मिश्रको नजिकका जुनियर प्रहरी अधिकारी हुन्। उनको अर्को पनि टेलिफोन संवाद बाहिरिएको थियो। प्रहरी जवान सुनील पटेलसँग उनी कुरा गरेको सुनिन्छ।
लोकेन्द्रः खुद्रा मुद्रा मैले राख भन्या थिएँ नी त तिम्लाई!
प्रहरी जवानः हजुर, हजुर।
प्रहरी जवानः खुद्रा मुद्रा भनेपछि कति? खुद्रा मतलब कति? दुई हजार, तीन हजारवाला कि बढीवाला?
लोकेन्द्रः त्यस्तो होइन। त्योभन्दा बढीवाला हो।
प्रहरी जवानः छैन। एक जनाको त्यो...
लोकेन्द्रः मलाई यहाँ सुन, मलाई अफ्टर फाइभ भेट एक फेरा, अफिसमा आएर। बुझ्यौ? बुझ्यौ? भेट्छौ नी?
प्रहरी जवानः हुन्छ सर।
लोकेन्द्रः ल भेट। अनि सुन त!
प्रहरी जवान: हजुर...
लोकेन्द्रः अनि यो आईसीपी ट्रान्सपोर्टहरूले सहयोग...
प्रहरी जवानः आईसीपी र ट्रान्सपोर्ट? ट्रान्सपोर्टले दिन्छ होला सर।
लोकेन्द्रः हो? ल भरे, आउन यहाँ, अनि सल्लाह गरौँला।
प्रहरी जवानः हस, हस सर।
अरू अनेक अडियोहरू बाहिरिएका छन्। अर्को एउटा अडियोमा खुद्रा सामान तस्करी गर्ने एक जनाले फोनमै प्रहरीसँग मोलमोलाइ गरेको सुनिन्छ। प्रहरी हवल्दारले कारोबारीलाई ‘शनिबार आउन भनेको थियौ नी?’ भनेर याद गराउँछन्। कारोबारीले रकम सोध्छ। प्रहरी हवल्दारले आफ्नै विचारले गर्न सुझाउँदै ‘मोबाइलमा यस्तो कार्य गर्ने हो र?’ भन्छन्।
अर्को अडिओमा कारोबारीले २५ सय धेरै हुने भन्दै रेट कम गर्न भन्छन्। प्रहरी हवल्दारले २ हजार माग्छन्। अर्को अडिओमा प्रहरी हवल्दारले फोन गरेर भन्छन्, “यस्तै काम गर्ने हो? तिम्रै भरोसाले बसिरहेको छु। अब घुम्न गइहालौँ र?”
कारोबारीले १ हजार दिन तयार रहेको र २ हजार, २५ सय दिन नसकिने बताउँछन्। प्रहरी हवल्दारले मोबाइलमा अल्टर नबोल्न हपार्छन् र भेट्न बोलाउँछन्। यस्ता आधा दर्जन अडियो उकालोलाई उपलब्ध गराउनेले प्रहरी प्रधान कार्यालयमा पनि पठाएको, तर कारबाही भएको नसुनिएको बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
