भस्मासुर जमात एनपीएल नै बिथोल्ने ध्याउन्नमा छ, यसका लागि यथाशीघ्र पारसको क्रिकेट सत्ता ढाल्न चाहन्छ। मन्त्री यिनै भस्मासुरहरूको चंगुलमा छन्, यथाशीघ्र छानबिनभन्दा पनि एनपीएल रोक्न लागिपरेका छन्।
जे नहुनुपर्ने थियो, अथवा होला कि भन्ने डर थियो– आखिर त्यही भइछाड्यो। नेपाल प्रिमियर लिग (एनपीएल) र आयोजनाको हिरो पारस खड्का विवादको भुमरीमा परिछाडे। विवादको घाउ गहिरिँदै गर्दा एनपीएलकै भविष्य अन्योलमा पर्ने त होइन भन्ने चिन्ता सर्वत्र छ।
पारदर्शिताको प्रश्नले घेरिएका नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस र एनपीएल विवादले इन्डियन प्रिमियर लिग (आईपीएल)का परिकल्पनाकार तथा साकारकर्ता ललित मोदीको डेढ दशक पुरानो विवाद सम्झाइदिएको छ।
आईपीएल आयोजनका लागि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)लाई मनाउन ललितले धेरै पापड बेले। बीसीसीआई तयार भएपछि यो प्रतियोगितालाई आकर्षणको केन्द्र बनाउन शाहरूख खान, प्रीति जिन्टा, शिल्पा शेट्टीजस्ता बलिउड सेलेब्रिटीका साथै सेलेब्रिटी व्यवसायी विजय माल्यालगायतलाई आईपीएल टिममा लगानी गर्न राजी गराए। ठूलो व्यापारी परिवारमा जन्मिएका ललितले व्यक्तिगत सम्बन्धलाई आईपीएल सफलताको लागि खन्याए।
मसालेदार यो प्रतियोगिताको पहिलो सिजन (सन् २००८) नै ‘ब्लक ब्लस्टर्स’ बन्यो। खेल प्राइम टाइममा पार्न डे–नाइट हुनेगरी खेलाइयो। सन् २००७ को टी२० विश्वकप भारतले नै जितेको परिप्रेक्षमा पहिलो सिजनले आशातीत सफलता पायो। सन् २०११ को एक दिवसीय विश्वकप पनि भारतले जितेपछि आईपीएलको लोकप्रियता अझ चुलियो।
आईपीएलसँग भिड्न कोही नआउने अवस्था बन्यो। ठूलो बजेटका बलिउड सिनेमाको रिलिज डेट सर्न थाल्यो। आईपीएल अब बलिउडभन्दा ठूलो ब्रान्ड बन्यो भने, यसको परिकल्पनाकार ललित बलिउडका कुनै सुपरस्टारजस्तै सेलेब्रिटी। उनी म्यागेजिनका कभरमा छाउन लागे।
आईपीएलको आम्दानीले बीसीसीआई नै मालामाल भएपछि उसले ललितलाई ‘खुला साँढे’ हुन दियो। उनी त अझ बीसीसीआईभन्दा शक्तिशाली देखिन थाले। त्यति मात्रै होइन, सरकारसँगै भिड्न थाले।
सन् २००९ मा आमचुनावका कारण गृहमन्त्री पी. चिदाम्बरमले सुरक्षा दिन नसकिने बताएपछि ललितले आईपीएल दक्षिण अफ्रिका पुर्याए। उनले ‘गृहमन्त्री आईपीएललाई दक्षिण अफ्रिकाबाट भारतमा ल्याउन मसँग भिख मागिरहेका छन्’ सम्म भने।
ललित कतै नाराज नभईदिऊन् भनेर स्टार खेलाडी सतर्क हुन्थे। उनको विरोध गर्दा सामाजिक बहिष्कारमा परिने खतरा मिडियालाई समेत थियो। उनी आईपीएल र बीसीसीआईभन्दा माथि देखिन्थे।
तर यस्तो ‘दबगंई’ सधैँ रहँदैन, उम्लिएपछि पोखिन्छ नै। राप, ताप, प्रताप सेलाउन समय लाग्दैन। सन् २०१० मा पुग्दा उनी घेरिन थाले। त्यो वर्ष आईपीएलमा ‘पुणे वारियर्स’ र ‘कोच्ची टस्कर’ टिमका रूपमा थपिएका थिए।
लिलामीको प्रक्रिया पूरा गरी आएको कोच्चीको फाइल सदर गर्न आनाकानी गरिरहेका ललितले बीसीसीआईको हस्तक्षेपपछि हस्ताक्षर त गर्दिए, विवाद पनि निकालिदिए। उन्मादले मैमत्त भइसकेका उनले दबाबमा फाइल सदर गर्नपरेको झोँकमा कोच्ची टिममा सुनन्दा पुष्कर (तत्कालीन विदेश राज्यमन्त्री शशी थरुरकी त्यति बेला गर्लफ्रेन्ड, जसले थरुरसँग विवाह नै गरिन्, पछि आत्महत्या गरिन्) ७० करोड बराबरको शेयर सित्तैमा (गोल्डेन शेयर) पाएको भनेर सामाजिक सञ्जालमा लेख्दिए।
प्रतिपक्षले दबाब बनाएपछि थरुर पदबाट राजीनामा गर्न बाध्य भए। शेयर होल्डिङको प्याटर्न नै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिदिएपछि कोच्चीले गोपनीयता हनन गरेको भन्दै ललितविरुद्ध बीसीसीआईमा उजुरी दियो। सामाजिक सञ्जालमा लेख्ने हैन, लिलामीअघि नै कागजपत्रको दुरुस्त जाँचपड्ताल गर्नपथ्र्यो भन्ने विवाद शुरू भयो।
एक जना राज्यमन्त्रीकै विरुद्ध धावा बोलेर ललितले सरकारसँगै पंगा लिइसकेका थिए। अब सरकारले पनि जवाफी फायरिङ खोल्दियो। आयकर विभाग र प्रवर्तन निर्देशनालय (ईडी)ले बीसीसीआईमै छापा मार्न थाले। आईपीएलका लिलामी, टेलिभिजन आदिका अधिकार बेचेका हजारौँ हजार करोडका कागजपत्र गायब थिए।
ललितले प्रक्रिया पूरा नगरी मनमौजी आर्थिक कारोबार गरेको खुलासा हुन थाल्यो। यस्तै, लिलामीमा गोप्य सूचना (इनसाइड इन्फरमेसन) शेयर गरी निकटवर्तीलाई सघाएको आरोप थपियो। कोलकाता, राजस्थान र पन्जाबका लगानीकर्तामा उनका नातेदारहरू समेत भएको आरोप लाग्यो।
अब उनीउपर सेल कम्पनीमार्फत लगानी ल्याएको, तिनको लगानी ल्याउँदा विदेशी विनिमय कानून उल्लंघन गरी सम्पत्ति शुद्धीकरण गरेको आरोप लाग्यो। जुवा ऐन आकर्षित हुने दाबी आउन थाल्यो। विवादै विवादमा घेरिएका ललितलाई बीसीसीआईले आईपीएलको कमिश्नरबाट निलम्बन गर्दियो।
अब खैरियत छैन भन्ने बुझेपछि उनी लन्डनतिर भागे। सन् २०१३ मा त उनलाई बीसीसीआईले आजीवन निलम्बनको निर्णय ठोक्दियो। बीसीसीआईले आईपीएल ललितको परिकल्पना थियो भन्ने नै अस्वीकार गरे पनि मिडियाका साथै क्रिकेट विश्लेषकहरूले ललितको योगदानलाई अस्वीकार गरेका छैनन्।
एनपीएलको सफल आयोजनसँगै सन् २००८ का ललित मोदीझैँ चम्किएका पारस खड्का केही महिनाभित्रै सन् २०१० तिरका ललितझैँ प्रश्नहरूले घेरिएका छन्। प्रश्नभन्दा माथि कोही छैन, जबाफदेही हुनबाट उम्किन मिल्दैन।
आर्थिक कारोबारका क्रममा प्रक्रियामा त्रुटि भए पनि नियतमै कुनै शंका नगर्न पारसले भनेका थिए। पारदर्शिताबारे उठेका प्रश्नहरूबारे उनले उकालो अफिसमै आएर आफ्नो कुरा राखेका थिए। “समयाभावका कारण प्रक्रिया नपुगेको हुनसक्छ, तर मेरो नियत सफा थियो,” उनले दोहोर्याइ/तेहर्याइ भनेका थिए।
प्रक्रियामा केही तलबितल मात्रै हो वा गम्भीर आर्थिक विचलन छ भन्ने त अधिकारप्राप्त निकायले छानबिन गरी भन्ला। एनपीएल नै अवरुद्ध गरी आफ्नो रोटी सेक्न उद्यत भस्मासुर प्रवृत्ति यति बेला उत्साही छ। र तिनै भस्मासुरहरूको घेरामा देखिन्छन् खेलकुदमन्त्री तेजुलाल चौधरी।
अलिअघि उनले राष्ट्रिय खेलकुद परिषद्मा सदस्य बनाएका आफ्नै लगानीको स्कुलका प्रिन्सिपललाई एनपीएलको छानबिन गर्ने जिम्मेवारी दिए। हालै एनपीएल तयारीका काम नै रोक्न चिठी लेख्न पनि लगाए। प्रधानमन्त्रीले नै एनपीएल तयारी अघि बढाउनुस् भने पनि मन्त्री भस्मासुरहरूको घेराबाट निस्किन खोजेका छैनन्।
कुनै निर्माणको परियोजनामा अनियमितताको अनुसन्धान शुरू भए निर्माणकै काम रोक्ने हैन, अनियमितताको छानबिन गर्ने, निर्माणको काम पनि अघि बढाउने हो। एनपीएलमा पनि गर्नुपर्ने त्यही हो। छानबिन चलिरहन्छन्, अर्को सिजनको तयारी पनि भइरहन्छ, हुनुपर्छ। अनियमितताको अनुसन्धानले एनपीएल प्रभावित हुनुहुँदैन।
आईपीएलको अगुवाइ गरिरहेका ललित मोदीउपर छानबिन शुरू भयो, उनी भागे। तर आईपीएल त प्रभावित भएन। यसको १८ सफल सिजन समाप्त भइसकेको छ। भारतीयहरूका लागि गर्वलायक एउटा आयोजन बन्न पुगेको छ।
यहाँ त भस्मासुरहरू एनपीएलको आयोजन मात्रै होइन क्रिकेटको विकास नै आफ्नो निजी फाइदाका लागि हुनपर्छ भन्ठान्छन्। लिग आयोजना गरी एकै शटमा काठमाडौंँमा बंगला ठड्याइसकेकाहरू समेत रहेको भस्मासुर जमात एनपीएल नै बिथोल्ने ध्याउन्नमा छ। यसका लागि यथाशीघ्र पारसको क्रिकेट सत्ता ढाल्न चाहन्छ। मन्त्री यिनै भस्मासुरहरूको चंगुलमा छन्। यथाशीघ्र छानबिनभन्दा पनि एनपीएल बिथोल्नेमा केन्द्रित छन्।
आफ्नै स्कुलका प्रिन्सिपललाई जिम्मा दिएर छानबिनको नाटक गरेका मन्त्रीले अब नौटंकी बन्द गरून्। एनपीएलको अनियमितताबारे अख्तियारमै उजुरी परेको छ, छानबिन हुँदै होला। नभएको भए, बरु यथाशीघ्र अनुसन्धान गरिदिन अनुरोध गरे हुन्छ। मुद्दा लैजाने प्रमाण जुटे उसैले अभियोजन गर्छ, व्यक्तिहरू निलम्बित हुन्छन्। तिनका ठाउँमा अरू आउँछन्। तर मन्त्रालयले उच्चस्तरीय वा निचस्तरीय छानबिनको नौटंकी नगरे हुन्छ।
यस्ता समस्याको दिगो समाधान गर्न चाहिँ नेपाली समाज देवत्वकरण र दैत्यकरणको लतबाट मुक्त हुनैपर्छ। जुनसुकै व्यक्ति वा परियोजनाको गुण–दोष हेरी तारिफ र आलोचना (गाली होइन) हुनुपर्यो।
मान्छेलाई एकैचोटी देउता बनाएको छ, टाउकोमा बोकेको छ, कसैले प्रश्न गर्दा मेरो देउतालाई प्रश्न गर्छस् भनेर आक्रमणमै उत्रेको छ– अन्तिममा ए देउता भनेको त दैत्य पो रैछ भनेर भुईंमा फ्यात्त फ्यालेको छ। नेपाली समाजमा यस्तै चरित्र हाबी छ। राम्रै गरिरहेको देखिएकालाई पनि कमजोरी देखिएपछि प्रश्न गर्न थालिहालौँ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||

आईपीएल को मात्र इन्फो धे रे भो। एनपीएल रोकना मंत्री टोली को प्रयास मा अझई डिटेल मा लेखन पर्यों।
Sumit KC
3 months, 1 week ago
Lalit Modi is compared with Paras Khadka by the so called Investigative Journalist of Ukaalo (Maybe primarily funded by USAID and INGOs to promote Christianity and Anti Hindu Propaganda in Nepal). Why was Ukaalo created? To create false propaganda against People working for the betterment of the country and sports? Why haven't you been able to convince people with your News but only backed by some Money lenders ? Don't publish News in the sake of creating NEWS, get your factual right. Pakistan won the T20 WC 2009 and India won the 2007 edition.
TU GROUND
3 months, 1 week ago
समाचार लेख्न पाए भन्दैमा जे पनि लेख्छन्। खोज पत्रकारितालाई भारतले कहिले विश्व कप जितेको पनि थाहा रहेनछ।
Cricket Club
3 months, 1 week ago
Pakistan won the ICC T20 WC 2009 and India won the 2007 inaugural edition. Please get your fact checked
Fact checker
3 months, 1 week ago