विदेशमा अध्ययन गरेर फर्किएका युवाको योगदानले देशमा अपूर्व अवसर सिर्जना गर्न सक्छ। हाम्रो शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, सामाजिक न्याय तथा विज्ञान र प्रविधिका क्षेत्रमा सुधार ल्याउन सक्छ।
विदेश पढ्न जान चाहने खासगरी युवाको गन्तव्य र शिक्षाबारे अभिभावक-विद्यार्थीसँग परामर्श गर्नु, आवश्यक कागजात र प्रक्रियाका लागि सहजीकरण गर्नु मेरो दैनिकी हो। झन्डै आधा दशकको ‘मातृछुट्टी’पछि पेसागत क्षेत्रमा फर्कँदा यो क्षेत्र केही नौलो लागेको थियो, तर दिनहुँ अभिभावक, विद्यार्थीसँग शैक्षिक तथा आर्थिक परामर्श गर्दै गर्दा बिदेसिन चाहने धेरै नेपाली विद्यार्थीसँग साक्षात्कार भइरहेकै हुन्छ।
अध्ययनका लागि बिदेसिन चाहने विद्यार्थीको संख्या दिन प्रतिदिन बढ्दो छ। विश्वव्यापीकरणका कारण अवसर र ‘एक्सपोजर’को तीव्र चाहना सबैमा हुनु स्वाभाविक हो। संसारभरका युवामाझ ‘बाहिरी विश्व’ हेर्ने, पढ्ने र अवसर खोज्ने लहर चलेको छ। यहाँ पनि नहुने भएन। हरेक वर्ष हजारौँ विद्यार्थी अस्ट्रेलिया, अमेरिका, क्यानडा, जापान, युकेलगायत विभिन्न देश जाने प्रवृत्ति बढ्दो छ। यो प्रक्रियामा शैक्षिक परामर्श सेवाले तिनलाई आवश्यक सहजीकरण र तयारीमा महत्त्वपूर्ण भूमिका खेलिरहेका छन्। यद्यपि, कतिपयले व्यावसायिक धर्म निर्वाह नगरेका दृष्टान्त पनि बेलाबेला भेट्टाइन्छन्।
कतिपय आफ्नै रुचिले त कतिपय लहलहैमा विदेश जान या आफ्ना सन्तान विदेश पठाउन चाहन्छन्। त्यस्ता अभिभावक र विद्यार्थीका अनुभव नजिकबाट सुन्न पाएको छु। यसरी हेर्दा जसरी पनि बाहिरिन चाहनेको संख्या बढ्दोझैँ देखिन्छ। तर ज्ञान, सीप र दक्षता आर्जन गर्ने कुरा कुनै भूगोलभित्र सीमित नहुने भएको हुँदा यसलाई नकारात्मक ठान्नुपर्ने केही छैन। विदेश पढ्न गएका विद्यार्थीले आर्जन गरेको ज्ञान र सीपलाई यही भूगोल र समाजमा प्रयोगका निम्ति हामी, हाम्रो समाज र सरकारले काम गर्न सक्छौ कि सक्दैनौँ? मूल प्रश्न यो हो।
महत्त्वपूर्ण प्रश्न उठ्छ– विदेश गएका युवा नेपाल फर्कनै पर्छ? उनीहरूको खास मक्सद ज्ञान आर्जन हो कि विदेशमै स्थायी बसोबास? अनौपचारिक रूपमा भन्नुपर्दा मूल रूपमा विदेशमै बस्ने तिनको मक्सद हो। उनीहरू किन फर्कने? फर्कन राज्यले कुनै औपचारिक आह्वान गरेको छ? आश्वस्त पार्न सकेको छ? यी पनि प्रश्न हुन्। तर सबै नेपाली देश फर्कनै पर्छ भन्ने पनि होइन। विश्वव्यापीकरणको यस युगमा जोसुकै सक्षम व्यक्ति विश्वको जुनसुकै कुनामा काम गर्न स्वतन्त्र छ। आजकालका धेरै युवा विदेश जान चाहनुका पछाडि विभिन्न कारण छन्। उच्च शिक्षा, राम्रो जीवनस्तर र पेसागत अवसरमा वृद्धि मुख्य कारण हुन्।
अध्ययनका लागि विदेश जाने युवाले त्यहाँको शैक्षिक प्रणाली, जीवनशैली र विभिन्न प्रकारका व्यवस्थापन र प्राविधिक विधि बुझ्छन्। फरक खालका सिप हासिल गर्छन्। त्यसले दृष्टिकोणमा केही बदलाव पक्कै आउँछ। नेपालमा हुर्केर, हाई स्कुल र क्याम्पस सकेर विदेशमा त्योभन्दा उच्चस्तरको शिक्षा लिएर प्राज्ञ-परिपक्व भइसकेपछि त्यो सबै ज्ञान विदेशमै प्रयोग गर्ने या जन्मभूमिमा? जन्मभूमि महत्त्वपूर्ण कि अध्ययनभूमी?
हाम्रो 'ब्रेन ड्रेन' हेर्दा त्यसको उत्तर जन्मभूमि नै हो। सम्भव भएसम्म यही देशमा फर्कनु कमसेकम यो देश र देशवासीका लागि प्रितिकर कुरा हो। विदेश गएपछि मूल संस्कृति, चाडबाड र जीवनको भावनात्मक पक्ष धेरै हदसम्म कमजोर हुन्छ। त्यसका लागि पनि अनुभव बटुरले नेपालीहरू देश फर्केकै राम्रो।
नेपाल फर्केर देशका लागि योगदान दिन विदेशबाट प्राप्त ज्ञान र सीपलाई सान्दर्भिक क्षेत्रमा लागू गर्नु महत्त्वपूर्ण छ। नेपालमा शिक्षामा सुधार गर्न, स्वास्थ्य सेवामा प्राविधिक सुधार गर्न, कृषि क्षेत्रलाई आधुनिक बनाउन र सूचना प्रविधिको विकासलाई थप सुदृढ बनाउन विदेश अध्ययन गरेका युवाले महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्। अल्छ्याइँमा अल्झेका कतिपय युवालाई जाँगरिलो बनाउन पनि विदेशको संघर्षमय कथाले भूमिका खेल्न सक्छ।
वित्तीय वर्ष २०७९/८० मा १,१२,२५६ विद्यार्थीले विदेश अध्ययनका लागि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) प्राप्त गरेका थिए। यसमा, जापानका लागि ३४,७३१ विद्यार्थी, क्यानडाका लागि १५,९८२ विद्यार्थी, अस्ट्रेलियाका लागि १४,३७२ विद्यार्थी, बेलायतका लागि १३,३३९ विद्यार्थी, र अमेरिका तथा दक्षिण कोरियाका लागि क्रमशः ११,२६१ र ६,८८९ विद्यार्थीहरू एनओसी प्राप्त गरेर विदेश गएको नोटीस बोर्ड नेपालको तथ्याङ्कमा छ।
पहिले पनि 'देशान्तर'को चर्चा हुन्थ्यो। अन्तर्राष्ट्रिय ज्ञान, प्राविधिक सीप र अन्तरसांस्कृतिक अनुभव गर्न पाउँछन् विदेश जाने विद्यार्थीले। तर, प्राप्त शिक्षा र अनुभवलाई केवल विदेशमै राख्नु उचित होइन। मातृभूमिप्रति हाम्रो जिम्मेवारी हुने हुँदा स्वदेश फर्कनु केवल व्यक्तिगत निर्णय होइन, जन्मेको देशप्रतिको दायित्व हो।
…
उच्च शिक्षाका लागि विदेश जाने युवाको संख्या दिनानुदिन बढ्दै गर्दा नेपाली नागरिकले बहुआयामिक ज्ञान, सीप र अनुभव पाइरहेका छन्। फरक संस्कृति सँगको अन्तरघुलन र मिलनले हाम्रो मानसिकता र दृष्टिकोणमा समेत ठूलो परिवर्तन ल्याउँदै छ।
विदेश गएपछि हामीले आफ्ना सीमा थाहा पाउँछौँ। सिक्ने र बुझ्ने क्षमता कति छ हामीमा भन्ने बोध हुन्छ। कमसेकम फर्स्ट वर्ल्डका देशमा पढ्न जाँदा त्यहाँबाट प्राय: विश्वस्तरीय शिक्षा नै पाइन्छ। यी विश्वविद्यालयमा शिक्षकका दक्षता र विद्यार्थीका शैक्षिक विकासका अवसर धेरै फरक हुन्छन्।
कुनै पनि देशको परिभाषाले त्यहाँको भूगोल मात्र समेट्दैन, त्यहाँका मान्छेको जीवनस्तर, तिनले पाउने सम्मान, अवसर, त्यहाँको नागरिक-सुरक्षा र तिनले पाउने ज्ञानको सामूहिक स्वरूप नै देश वा राष्ट्र हो। त्यसो हुँदा सक्षम, सभ्य र मेहनती नागरिक देशको परिचय हो। जति धेरै अध्येता, रिसर्चर, सुसंस्कृत नागरिक, उति भव्य मुलुक। यसरी विदेशमा पढेलेखेका र अध्ययन गरेका नेपाल आउँदा तिनको ज्ञान, सिप, सभ्यता पनि यतै भित्रिन्छ।
विदेशबाट फर्केका युवाले यी क्षेत्रमा योगदान गर्न सक्छन्:
क. नेपालमा सूचना प्रविधिको क्षेत्रमा अहिल्यै पनि रोजगारी सिर्जना भइरहेको बुझिइन्छ। त्यस क्षेत्रमा विदेश अध्ययन गरेर आएकाहरूले यहीँबाट अन्यत्रका स्टाफ परिचालन गरेर होस् या अन्यत्रको काम यहीँ बसेर गर्न सक्छन्। नयाँ सफ्टवेयर, एप्लिकेसन र प्रविधि समाधान हामीलाई चाहिएकै छ।
ख. प्रविधिको क्षेत्रमा उत्कृष्ट शिक्षा र तालिम प्राप्त गरेर आएकाहरूको नेपालमा खाँचो छ। पहाड र तराईमा समेत बाँझो जमिन छ। कतै सुख्खा त कतै सिँचाइले छोएको। दुवै खालका जमिनमा फलफूललगायत अन्य नगदे बाली लगाउने सन्दर्भमा पनि विदेशबाट फर्केका युवाको ज्ञान महत्त्वपूर्ण हुन्छ। पहाडी भूभागमा अहिले पनि ढुवानीको जटिलता कायमै छ। खेतबाट घरमा र घरबाट बजारसम्म उत्पादन पुर्याउने क्रममा विदेशमा अनेकन् प्रविधिको उपयोग भएको देखिन्छ। विदेशी फर्ममा अध्ययन र कर्म गरेर आएकाबाट सो ज्ञान सिक्न सम्भव छ।
ग. स्वास्थ्य सेवा क्षेत्रमा पनि विदेशमा अध्ययन गरेर आएका चिकित्सक र स्वास्थ्यकर्मीले ठूलो योगदान गर्न सक्छन्। विदेशमा स्वास्थ्य सेवा प्रणाली र चिकित्सा प्रविधिको अध्ययन गर्दा नेपालका अस्पताल र स्वास्थ्य केन्द्रमा सुधार ल्याउन मद्दत पुर्याउन सक्छ।
घ. विदेशमा अध्ययन गरेका युवाले साना र मझौला व्यवसायको लागि नयाँ–नयाँ र सहज उपाय, नयाँ उत्पादन र सेवा ल्याउन सक्छन्, जसले नेपालको अर्थतन्त्रमा योगदान पुर्याउन सक्छ। यसले युवा शक्ति र उद्यमता क्षमता विकासमा मद्दत पुर्याउन सक्छ।
यीबाहेक थुप्रै क्षेत्रमा विदेशको शिक्षा, अनुभव, ज्ञान र अन्तरघुलनको काम आउन सक्छ। तर सबैभन्दा महत्त्वपूर्ण कुराचाहिँ विदेश गएकालाई फेरि यता फर्काउनु नै हो। पाँच वर्षमा एकचोटी नेपाल आउनेलाई वर्ष–वर्ष दिनमा आइरहने बनाउन सके र वर्ष दिनमा आउनेलाई स्थायी रूपमै यतै बसाउन सके त्यसले ’ब्रेन गेन’ (मानव संसाधनमा फाइदा) हुनेछ।
विदेश अध्ययन गरेर फर्केका युवाको योगदानले नेपालको समृद्धि र विकासमा अपूर्व अवसर सिर्जना गर्न सक्छ। हाम्रो शिक्षा प्रणाली, स्वास्थ्य सेवा, कृषि, उद्योग, विज्ञान र प्रविधि, सामाजिक न्याय र प्रशासनका क्षेत्रमा सुधार ल्याउन सक्छ। त्यसपछि नेपाललाई एउटा समृद्ध र आत्मनिर्भर राष्ट्र बनाउन झनै सम्भव हुनेछ।
तर यसका लागि ‘देश फर्क युवा, नफर्की हुन्न तिमी, तिमी फर्के सुन फल्छ’ भन्ने खालका भावनात्मक कुरा र गीतले मात्रै हुँदैन। विदेशमा पढाई र अन्य अनुभव भएकालाई, स्थायी रूपमा नागरिक भई बस्न थालेकालाई समेत सहज हुनेगरी नियम/कानून बदलिनुपर्छ। दोहोरो नागरिकताको कुरा उठिरहेको सन्दर्भमा त्यसले लगानी र अवसर बढ्ने देखिन्छ भने त्यो पनि लागू गर्नुपर्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
