अबिच्युरी

आउँदै जाँदै गर्नु है सबलाई रामराम

प्रेमविनोद नन्दनले शीतल कादम्बिनीसँग सवालजवाफ गर्दाको एउटा सेर कालजयी पनि बन्यो। उक्त सेर थियो– किन सोध्यौ मेरो उमेर सत्तरी कि सत्र, सक्छौ भने लेखे हुन्छ अझै प्रेमपत्र।

सदाझैँ गत सोमबार (भदौ २) बिहानै आँखा खुले। सिरानी छेउछाउमै भएको मोबाइल समात्दा ५:५२ बजेको थियो। उठ्नेबित्तिकै सबैभन्दा पहिले मोबाइलमा समय हेर्छु। त्यसपछिको तालिका समाचार हो। हाम्रो पात्रो एपमा गएर 'उज्यालो रेडियो' खोलेँ, रेडियो बज्न थाल्यो।

पृष्ठभूमिमा रेडियो बज्दै गर्दा फेसबुक खोलेँ। सरर स्क्रोल गर्दा सहन प्रधानको पोस्टमा आँखा पुग्यो, हातका औँला अडिए। पढेँ, आइतबार राति ९:२५ बजे अग्रज स्रष्टा प्रेमविनोद नन्दन (९०) को निधन भएको रहेछ। बिहानै नमिठो खबर पढ्दा मन बेचैन भयो। पछिल्ला केही वर्षयता बिरामी भएर उहाँ घरमै हुनुहुन्थ्यो, हिँडडुल थिएन। एक मनले भन्यो-उहाँलाई बल्ल दीर्घ शान्ति मिल्यो। 

पृष्ठभूमिमा रेडियोमा 'कायाकैरन' बज्न सुरु भइसकेको थियो। फेसबुकलाई २/४ पटक स्क्रोल गरेँ। बालकृष्ण थपलिया, हेरम्बकुमार असीमलगायतका पोस्ट पनि आइसकेका थिए नन्दनबारे। म हत्तपत्त लेख्न सक्दिनँ कसैको मृत्युबारे। तर एक छिनपछि भने 'सम्पूर्ण किताब'को आइडीबाट नन्दनको देहावसानको सूचना सहितको पोस्ट गरेँ, उहाँको एउटा गीतसहित। गीत युट्युबमा सुन्दै मोबाइलमै टाइप गरेँ:

बस्छु म त हिमालको छायामा
गाउँछु गीत नेपालको मायामा

कहीँ छैन यो हँसिलो हिमालझैँ हाम्रो
कहीँ छैन यो रसिलो नेपालझैँ राम्रो
जहाँ जाऊँ अघि लाग्छ यो नेपाली माया
जताततै फैलिदिन्छ यो हिमाली छाया

यो छायामा फैलिएर मलाई खुल्न देऊ
यो मायामा गहिरिएर मलाई फुल्न देऊ
कोहीदेखि डर्ने छैन हिमालै छ भने 
कहिल्यै पनि मर्ने छैनौँ नेपालै छ भने ..

पोस्ट गरिसक्दा सामाजिक सञ्जाल नन्दनका तस्वीरले भरिइसकेको थियो। थुप्रैले उहाँको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली लेखिरहेका थिए। मोबाइललाई विश्राम दिएर नुहाई धुवाइमा लागेँ। त्यसपछि घरबाट निस्केँ। अरुबेला सोझै पसल (सम्पूर्ण किताब) जाने म उक्त दिन नन्दन निवास पुगेँ। सोमबारको दिन भएर होला मेनरोड सुनसान थियो। सोमबार नारायणगढ बजार बन्द हुने भएकोले कुनै पसल पनि खुलेका थिएनन्।

नन्दनको घर बाहिर पनि कोही थिएनन्। ढोका खुला थियो, म सरासर भित्र गएँ। मथुरा दाइ (कान्छा छोरा) सहित ८/१० जना आफन्तजन हुनुहुन्थ्यो। सहन प्रधान पनि त्यहीँ हुनुहुँदो रहेछ। सोझै उहाँनजिकै पुगेँ र भनेँ, 'फेसबुकमा सुरुमै सरको पोस्ट आयो र थाहा पाएँ।' 

श्वासप्रश्वाससम्बन्धी रोगबाट लामो समययता पीडित नन्दनलाई केही असहज भएपछि चार दिन अगाडि नै चितवन मेडिकल कलेज भर्ना गरिएको रहेछ। बिमारलाई जित्दै आउनुभएका उहाँ यस पटक भने हार खानु भयो र स्मृतिमा शेष रहनुभयो। 

आफन्तजनहरू अस्पताल जानुभयो। म आफ्नो पसल गएँ। पसल सरसफाइ गरी ८ बजे पुनः नन्दन निवास आएँ, नन्दनको पार्थिव शरीर घर ल्याइसकिएको थियो। अन्तिम कर्म सकेर ९ बजेतिर उहाँको शरीरलाई नारायणी कला मन्दिर लगियो। उक्त संस्थाका उहाँ पूर्व अध्यक्ष हुनुहुन्थ्यो। कला मन्दिरसँग आबद्ध सबैजसो शवयात्रामा सहभागी हुनुहुन्थ्यो। आफन्तजन, स्थानीय, छरछिमेक, साहित्यकार, पत्रकार र शुभेच्छुक सबैको उपस्थिति थियो कला मन्दिरमा। सबैले नन्दनको पार्थिव शरीरमा पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली अर्पण गर्नुभयो। श्रद्धाञ्जलीका क्रममा नन्दनकी कान्छी छोरी बेगम श्रेष्ठले एउटा गीत गाई बुवाप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो। नेपाली चलचित्र मोहनीको यो गीत नन्दनले लेख्नुभएको थियो। शम्भुजित बास्कोटाको सङ्गीत रहेको सो गीतमा आवाज उदितनारायण झा र आदित्यनारायणको थियो:

यो गाउँको ठिटो म, कान्छा मेरो नाम
आउँदै जाँदै गर्नु है सबलाई रामराम।

आम ग्रामीण गाउँको कान्छो नामको ठिटोले आउने जानेलाई 'रामराम'को अभिवादन गरिरहेको यो गीत एक जमानाको सुपरहिट गीत थियो। कैयौँ विद्यालयले यस गीतमा आफ्ना विद्यार्थीलाई नचाएका छन्। एक किसिमले भन्दा खस-पहाडी-नेपाली भाव यस गीतमा छ, गाएका छन् सप्तरी भारदहका उदित र उनका छोरा आदित्यले। आज उदित र आदित्य बलिउडका जानेमाने गायक हुन्। 

नन्दनले नेपाली सिनेमाका लागि दर्जनौँ गीत लेख्नुभएको छ। उहाँ गायक, सङ्गीतकार र कलाकारसमेत हुनुहुन्थ्यो। छिन्नलता गीत पुरस्कार, चितवन साहित्य परिषद् (चिसाप) प्रतिभा पुरस्कार, नारायणी प्रज्ञा पुरस्कारदेखि लिएर राष्ट्रिय स्रष्टा सम्मान पाउनुभएको थियो उहाँले। १९९२ साल जेठ १९ गते तनहुँको बन्दिपुरमा जन्मनुभएका नन्दन पछिल्लो समय चितवनको नारायणगढमा बस्दै आउनुभएको थियो।

१० बजेतिर शवयात्रा कला मन्दिरबाट देवघाटतर्फ लाग्यो। चितवन, तनहुँ र नवलपरासीको संगम तथा कालीगण्डकी र त्रिशूलीको दोभान देवघाटधाममा नन्दनको अन्त्येष्टि भयो। देवघाटमा दिनहुँ ३/४ वटा देखि दर्जन जति शवको दाहसंस्कार यहाँ हुन्छ। नन्दनको दाहसंस्कार हुँदै गर्दा वरिपरि अरू दुई वटा शव त्यही अवस्थामा थिए। मलामी आउने र फर्कनेहरू लगातार थिए। चितामाथि जल्दै गरेका स्रष्टा नन्दनले हामी सबैलाई भनिरहेका हुँदा हुन् : आउँदै जाँदै गर्नु है, सबलाई रामराम।
***
नन्दनसँग साहित्यिक कार्यक्रमकै दौरान दोहोरो चिनजान गर्ने मौका पाएको हुँ। सानै छँदा हामी रेडियो नेपालमा उहाँका गीत सुन्थ्यौँ। एक समय नेपाल शरहदभित्र नेपाली भाषाको रेडियो भन्नु नै रेडियो नेपाल थियो। रेडियो नेपालमा गीत बज्दा गायक, रचनाकार, संगीतकार सबैको नाम पढिन्थ्यो। रेडियो सुनेर ती सबै नाम कण्ठस्थ हुन्थ्यो हामीलाई। गीत पनि कण्ठ हुन्थ्यो। कान्छी, सन्तान, कर्जा र मोहनीलगायतका चलचित्रका गीत खुबै बज्थे रेडियो नेपालबाट। रचनाकारमा नन्दनको नाम आउँथ्यो। यो नाम आफैँमा प्रिय लाग्थ्यो।

२०५८ साल कात्तिकमा भरतपुरमा सिनर्जी एफएम स्थापना भयो। सिनर्जी एफएम चितवन जिल्लाकै पहिलो एफएम रेडियो हो। एफएम खुलेपछि यहाँ साहित्यिक कार्यक्रम बज्न थाले। यिनै कार्यक्रममार्फत यहाँका सर्जकहरूको लेखन र साहित्य कर्म बाक्लिन थाल्यो। रेडियोले आयोजना गर्ने भेटघाट एवम् रचना वाचन कार्यक्रम होस् र साहित्यिक संस्थाले आयोजना गरेका कार्यक्रम होउन्, सबैमा स्रष्टाहरूको नियमित उपस्थिति हुन थाल्यो। यही मेसोमा नन्दनसँग परिचित हुन पाइयो। 

त्यस समय नन्दनलाई सिनर्जी एफएमको `अनुराग´ कार्यक्रममा विशेष रूपले निम्त्याइयो। कार्यक्रम प्रस्तोता अर्जुनमणि पौडेलले 'अनुराग' कार्यक्रममार्फत स्थानीय स्रष्टाका गजल मात्रै पढेनन्, प्रेमविनोद नन्दन र शीतल कादम्बिनीलाई जोडी बनाएर गजलमा सवालजवाफ समेत गराए। एउटा कालखण्डमा गीतकारका रूपमा ख्याति कमाउनु भएका नन्दन चितवनमा एफएमको स्थापनापछि गजलको क्षेत्रमा `हिट´ हुनुभयो। शीतलसँगको यो सवाल जवाफलाई धेरैले रुचाए। नन्दनले शीतलसँग  सवालजवाफ गर्दाको एउटा शेर कालजयी पनि बन्यो :

किन सोध्यौ मेरो उमेर सत्तरी कि सत्र,
सक्छौ भने लेखे हुन्छ अझै प्रेमपत्र।

***
नन्दनसँग साहित्यिक यात्रामा लामै समय जोडिने अवसर पाएँ। नारायणगढको पाण्डे पुस्तक पसल र मास्के पुस्तक भण्डारमा कार्यरत रहँदा दूरीको हिसाबले पनि हामी नजिक हुन पुग्यौँ। कार्यक्रमको सूचना र निम्तो दिन प्रायः म उहाँको घर जाने गर्थेँ। हामी टेम्पो चढेर पश्चिम चितवनको गुञ्जानगर पुगेर साहित्यिक कार्यक्रममा सहभागी भएका छौँ। बस चढेर टाँडी र कावासोती पनि पुगेका छौँ। हाम्रो यात्रामा सँगै रहने अर्को मुख्य पात्र गोविन्दराज विनोदी हुनुहुन्थ्यो। उहाँहरूको छत्रछायामा हिँड्दा हामीलाई आनन्द लाग्थ्यो। 

आज स्मरणमा रहनुभएका नन्दन र म धेरै पटक एउटै मोटरसाइकलमा यात्रा गरेका छौँ। कहीँ कार्यक्रम हुँदा र उहाँलाई जानुपर्दा मसँग बाइकमा जान उहाँ सजिलो मान्नुहुन्थ्यो। उहाँ जत्तिको विशिष्ट प्रतिभाको नजिक भएर साहित्यिक रसस्वादन गर्न पाउँदा आफूलाई भाग्यमानी ठान्छु।

(लेखक चितवनस्थित 'सम्पूर्ण किताब'सँग आबद्ध छन्।)