चितवनमा बौलाहा कुकुरको टोकाइबाट २५ जना घाइते

इच्छाकामना- ३ का माझगाउँ, नागदह, ढाप, चिसापानीमा बौलाहा कुकुरले आतंक मच्चाएको गाउँपालिकाकी उपाध्यक्ष माया सिलवालले बताएकी छन्।

फाइल तस्वीर

चितवन– बौलाहा कुकुरको टोकाइबाट चितवनको इच्छाकामनामा २५ जना  घाइते भएका छन्।

इच्छाकामना गाउँपालिकाका विभिन्न गाउँमा बौलाहा कुकुरले उनीहरूलाई टोकेको हो। वडा नं ३ का माझगाउँ, नागदह, ढाप, चिसापानीमा बौलाहा कुकुरले आतंक मच्चाएको गाउँपालिकाकी उपाध्यक्ष माया सिलवालले बताइन्।

“घरमा काम गरिरहेका र बाटामा हिँडिरहेका व्यक्तिलाई  बौलाहा कुकुरले टोकेको थियो”, उनले भनिन्, “उनीहरूलाई दुई घण्टामै कुकुरले टोकेर घाइते बनाएको थियो।” घाइतेमध्ये २० जनाको कुरिनटार स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरिएको छ।

गम्भीर घाइते पाँच जनालाई भने उपचारका लागि भरतपुर अस्पताल लगिएको उपाध्यक्ष सिलवालले जानकारी दिइन्। पालिकाले सो कुकुर नियन्त्रणमा लिएर परीक्षणका लागि पठाइएको उनेका भनाइ छ।

कुकुरले टोकेका सबैलाई स्वास्थ्य संस्थामा सम्पर्क राख्न स्वास्थ्य शाखा प्रमुख वासुदेव सापकोटाले अनुराेध गरे।