आईसीयू बाहिर छोराको धड्कन सुनिरहेका सूर्यबहादुर

बानेश्वरको सडकमा प्रहरीले चलाएको गोली धर्मेन्द्रको फोक्सो र कलेजोमै लाग्यो। बीच सडकमा ढलेर गुहार मागिरहेका कालिकोटका उनलाई सर्लाहीका भीम यादवले उठाएर अस्पताल पुर्‍याए।

काठमाडौँ– सिभिल अस्पतालको एमआईसीयू कक्षभित्र कालिकोट सुभकालिका गाउँपालिका–६ का २२ वर्षीय धर्मेन्द्र शाही अहिले आफ्नै जीवनसँग लडिरहेका छन्। फोक्सो र कलेजोमा लागेको गोली शल्यक्रिया गरेर निकालिएको छ। तर उनको शरीर अझै कमजोर छ। अक्सिजन मास्कले उनको सासलाई हल्का दबाइरहेको छ, टाउको वरिपरि जोडिएका तार र मेसिनहरूले निरन्तर उनको अवस्था नापिरहेका छन्। कोठाभित्र कहिलेकाहीँ बज्ने हल्का बीप–बीपले सबैलाई सम्झाइरहन्छ—उनी अझै संघर्षरत छन्, बाटो अझै बाँकी छ।

शान्त शय्यामा टोलाइरहेको उनको अनुहार, अर्ध–बन्द ओठ, स्थिर शरीर, तर भित्र निरन्तर चलिरहेको लडाइँ। हरेक टप्किरहेको सलाइनको बुँद मानौँ उनको जीवनको समय बनेर शरीरभित्र बगिरहेको छ। चिकित्सक र नर्सहरू छेउछाउ व्यस्त छन्—औषधि दिन्छन्, अक्सिजन मिलाउँछन्, कहिले स्क्रिनको अंक हेर्छन्।

तर यो लडाइँ केवल उनको मात्र होइन। एमआईसीयू बाहिर बुबा सूर्यबहादुर कुर्सीमा झुकेर बसेका छन्, अनुहारमा रातभरको अनिदो झल्किन्छ। आँखाभित्र गहिरो थकान छ, तर प्रार्थनासँग अडिएको आशा पनि छ। धर्मेन्द्रका भाइबहिनी चुपचाप बसेका छन्—बोल्न सक्दैनन्, ढोकातर्फ नजर गइरहेका उनीहरूका आँखा कुनै शुभ समाचार आउने अपेक्षा गरिरहेका छन्। बेलाबेला उनीहरूले बुबालाई ढाडस दिन्छन्।

एमआईसीयू अहिले दुर्गमको एउटा साधारण परिवारका लागि ठूलो परीक्षा बनेको छ।

दुर्गमबाट काठमाडौँसम्म
कर्णाली प्रदेशको दुर्गम जिल्ला कालिकोटको सुभकालिका गाउँपालिका–६, यहाँ जीवन गासबासको चिन्ताले भरिएको छ। यातायात, गुणस्तरीय शिक्षा र आधारभूत पूर्वाधार सीमित छन्। तर यस्तै कठिन परिस्थितिमा पनि सूर्यबहादुर शाहीले आफ्ना छोराछोरीको उज्यालो भविष्यका लागि अडिग निर्णय लिए। उनी गाउँको प्राथमिक विद्यालयमा राहत शिक्षक हुन् र खेतीकिसानी उनको अर्को आम्दानीको स्रोत हो।

सूर्यबहादुरले आफ्ना जेठो छोरा धर्मेन्द्र, अर्का एक छोरा र छोरीलाई काठमाडौँ पढ्न पठाए। धर्मेन्द्रकी श्रीमती पनि अहोरात्र यही काममा व्यस्त थिइन्। घरमा हुने सबै कठिनाइ सम्झँदै धर्मेन्द्र र उनका भाइबहिनीहरूले शहरमा बसेर पढाइमा ध्यान दिन थालेका थिए। धर्मेन्द्र बानेश्वरस्थित इलाइट सीए कलेजमा अध्ययन गर्दै थिए। काठमाडाैँमा उनी आफ्ना भाइबहिनीका लागि अभिभावकसमेत थिए।

null

भदौ २३ गते धर्मेन्द्र कलेज पोशाकमा किताब र नोटबुक बोकेर कलेजतर्फ गएका थिए। पढ्न नभएर जेनजी आन्दोलनमा सहभागी हुन त्यस दिन कलेज हिँडेका धर्मेन्द्रले देशका समस्यामा आफ्ना आवाज पनि उठाउने निर्णय गरे। भ्रष्टाचार र सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धले उनलाई चिन्तित बनाइरहेको थियो। धर्मेन्द्र कहिलेकाहीँ आफ्ना बुवा र भाइबहिनीसँग यस विषयमा स–साना चिन्ताहरू बाँड्थे, उनीहरूले पनि यो समस्या गहिरोसँग बुझ्ने प्रयास गर्थे।

कलेज पुगेको केहीबेरमै उनी आफ्ना साथीहरूसँग आन्दोलनका लागि बानेश्वर पुगेका थिए। तर, बानेश्वरको सडकमा प्रहरीले गोली चलायो। दुर्भाग्यवश, गोली उनको फोक्सो र कलेजोमा लाग्यो। सडकमा ढलेका धर्मेन्द्रले “मलाई बचाउ, मलाई बचाउ” भन्दै सहयोग मागे। उनको आवाज सर्लाहीका भीम यादवको कानमा ठोक्कियो। भीमले धर्मेन्द्रलाई उभिएकै मुन्तिर सम्हाल्दै सिभिल अस्पताल पुर्याए। यादवलाई पनि पाखुरामा गोली लागेको थियो। त्यो समय कसैलाई बचाउने वा सुरक्षा गर्ने अवस्था थिएन। जो भाग्न सके, जोगियो; जो सकेन, उसले पीडा सहनु पर्यो।

आफू घाइते भए पनि, भीमले धर्मेन्द्रलाई सडकबाट अस्पतालसम्म पुर्याउँदा दृश्य युद्धमैदान जस्तै थियो। अस्पतालभित्र, चिकित्सकहरू आन्दोलनमा घाइते भएका अन्यलाई उपचारमा व्यस्त थिए। भीमले हारगुहार गर्दै धर्मेन्द्रलाई चिकित्सकको जिम्मा लगाए। चिकित्सकले धर्मेन्द्रको पहिलो चरणको उपचार सकेपछि, उनको कलेजमा खबर गर्न भ्याए। धर्मेन्द्रको गलामा भिरेको परिचयपत्रले चिकित्सकलाई खबर गर्न सजिलो भएको थियो।

छोराका लागि सूर्यबहादुरको कठिन यात्रा
कलेजले धर्मेन्द्रबारे खबर गरेपछि सूर्यबहादुरको रात अँध्यारो भय र पीडाले भरियो। कलेजले सिधै भन्यो, “तपाईंको छोराको छातीमा गोली लागेको छ।” त्यतिबेला राति करिब ९ बजिसकेको थियो। धर्मेन्द्र खाना खाएर सुत्ने तयारीमा थिए। तर गाउँमा बसेका बुबा सूर्यबहादुरको हृदय एकाएक डर र चिन्ताले भरियो। करिब १० मिनेट उनी बोल्न सकेनन्। आँखामा आँसु, मनमा पीडा—सबै थाम्न खोजे तर असफल भए। परिवारका सदस्यहरूले अनेक उपाय गरेर उनलाई होसमा ल्याए। होसमा आएपछि उनले काठमाडौँमा रहेकी जेठी छोरीलाई फोन गरे। जेठी छोरीले शान्त पार्दै भनिन्, “तपाई आउनुहोस्, तर नआत्तिनुहोस्।”

सूर्यबहादुर केही नबोली घरबाट हिँडे। करिब ६ घण्टा पैदल हिँडेर कालिकोटकै श्रीघाट पुगे। उनले सम्झिए, “अँध्यारो थियो। छोरालाई चाँडै भेट्न पाए हुन्थ्यो भन्दै कामना गर्दै अघि बढिरहेँ। कुन आत्मबलले म अघि बढेँ, थाह छैन।” रातको चिसो हावा र तनको थकानले उनलाई झुक्याइरहेको थियो, तर हृदयमा छोराको जीवनको आशा अझै बलियो थियो। 

null

श्रीघाट पुग्दा उनले सुर्खेत जाने एउटा बलेरो पाए। तर १५ हजार रूपैयाँ तिर्ने शर्तमा। भदौ २४ गते बिहान ३ बजे सुर्खेत पुगे पनि अब काठमाडौँ कसरी पुग्ने? सरकारले त्यसै दिन बिहानै निषेधाज्ञा घोषणा गरेको थियो। सुर्खेतबाट कुनै सार्वजनिक यातायात काठमाडौँतर्फ निस्केन। अन्ततः ४० हजार रूपैयाँ तिरेर सूर्यबहादुर काठमाडौँ पुग्न सफल भए। उनले सम्झिए, “त्यति लामो यात्रामा न मलाई भोक लाग्यो, न त प्यास। बरु छोराको अवस्था बुझ्न र कहिले अस्पताल पुग्छु भनेर घडी हेरिरहेँ।”

काठमाडौँ ओर्लिएपछि भदौ २५ गते बिहान ३ बजे सिधै सिभिल अस्पताल पुगेका सूर्यबहादुरले आईसीयूमा राखिएको छोराको अनुहार देखे। धर्मेन्द्र बोल्न सक्दैनथे। टाउको वरिपरि जोडिएका तार, सलाइनको बुँद, अक्सिजन मास्क सबैले जीवनसँग लडिरहेको संकेत दिइरहेका थिए।

चिकित्सकले कलेजोमा पनि गोली लागेको जानकारी दिएपछि सूर्यबहादुर झन् आत्तिएका थिए। मनमनै भगवानसँग प्राथना गर्दै छोराको स्वास्थ्यलाभको कामना गरिरहे। अप्रेसन चाँडो गर्नका लागि डाक्टरलाई भनिरहे। त्यसपछि होसमा आएका धर्मेन्द्र अहिले पनि बोल्न सक्ने अवस्थामा छैनन्।

सूर्यबहादुरलाई ठूलो डर छ– छोरोले आफ्नो र राष्ट्रका लागि देखेको सपना पूरा नहुने हो कि भन्ने। सूर्यबहादुर सम्झिन्छन्, “धर्मेन्द्र पढाइमा मेहेनत गर्थे, देशको चिन्ता गर्थे। अब अस्पतालमा कति समय बस्नु पर्ने हो, संवेदनशील अंगमा गोली परेको छोराको स्वास्थ्य भविष्य कस्तो होला? यी सबै चिन्ताले मेरो तन–मन गलेको छ।”

‘प्रधानमन्त्रीले नभेट्दा दुःख लाग्यो’
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की शनिबार ट्रमा सेन्टरमा जेनजी आन्दोलनका घाइतेको स्वास्थ्य अवस्था बुझ्न सिभिल अस्पताल पुगेकी थिइन्। प्रधानमन्त्री कार्की अस्पतालबाट बाहिरिएपछि अस्पतालभित्र छिर्दा केही घाइेतहरूले प्रधानमन्त्रीले भेटेपछि आफूहरूलाई हौसला मिलेको बताउँदै थिए।

तर, धर्मेन्द्रलाई भेट्न प्रधानमन्त्री नआएको भन्दै सूर्यबहादुर शाहीले मन दुखाएका छन्। अस्पतालका एक चिकित्सकका अनुसार, त्यहाँ सबैभन्दा गम्भीर घाइते धर्मेन्द्र शाही नै थिए। “बिहानैदेखि प्रधानमन्त्री अस्पताल आएर सबै घाइतेको स्वास्थ्य अवस्था बुझ्न खबर हामीले पाएका थियौं। यहाँ आएर सबै घाइतेलाई एकएक गरी भेट्नु भयो, तर मेरो छोरालाई भेट्न उहाँ आउनु भएन। यो कुराले मलाई निकै दुःख लागेको छ,” सूर्यबहादुरले भावुक हुँदै भने। धर्मेन्द्रलाई एमआईसीयुमा राखेको कारणले प्रधानमन्त्रीले भेट्न नआउनु भएको हो कि भन्ने हाम्रो प्रश्नमा सूर्यबहादुरले थपे, “छोरालाई नभेटे पनि मलाई त भेट्न सक्नुहुन्थ्यो नि। या त चिकित्सकहरूले हाम्रोबारेमा जानकारी दिनु भएन, या त प्रधानमन्त्रीले नै हामीलाई बेवास्ता गर्नुभयो।”

सूर्यबहादुरका अनुसार यदि प्रधानमन्त्रीले उनलाई मात्र भेटेको भए, ठूलो हौसला मिल्थ्यो। धर्मेन्द्रका भाइ सुनिलले भने, “प्रधानमन्त्रीले हामीलाई नभेटे हुन्थ्यो, तर बुवालाई एक मिनेट भेटेको भए पनि हामी खुसी हुने थियौं।”

२० वर्षीय सुनिलले आँसु झार्दै सुनाए, “देशमा भ्रष्टाचार अन्त्य होस्, युवाहरूले नेपालमै अवसर पाऊन् भनेर दाइ आन्दोलनमा सहभागी भएको थियो। तर गोली लागेर घाइते भएपछि, एक पटक पनि प्रधानमन्त्रीले भेट्न नआउँदा परिवारमा पीडा थपिएको छ।”